कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

हराउँदै क्याम्पिङ ट्रेक

पदयात्रा मार्गमा मोटरबाटो पुग्दा र सार्वजनिक जग्गामा होटल तथा लज बन्दा पर्यटकको रूचि र उनीहरुले नेपालमा गर्ने खर्चमा गिरावट
दीपक परियार

पोखरा — अघिअघि डोकोभरि बन्दोबस्तीका सामान बोकेर पहाड चढ्दै गरेका भरिया । पछिपछि गाइडको लयमा हिँड्दै गरेका विदेशी पर्यटक । शेर्पाले बास बस्ने ठाउँमा टेन्ट टाँग्छन् । भान्सेले भान्सा तयार गर्छन् । पारिलो घाम लाग्ने बारीका पाटाभरि रंगीचंगी टेन्ट देखिन्छन् । बिहानै उठेर टेन्टबाहिर सुनौला हिमालको दृश्य हेर्दै तातो चिया/कफी पिउनुको आनन्द लिन पर्यटकले ‘क्याम्पिङ ट्रेक’ रोज्छन् । 

हराउँदै क्याम्पिङ ट्रेक

खर्चिला पर्यटकको रोजाइमा पर्ने गरेको क्याम्पिङ ट्रेक परम्परा अहिले भने विस्तारै हराउँदै गएको छ । माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा सुस्ताएको क्याम्पिङ ट्रेक अझै लयमा फर्किन सकेको छैन । हिमालको फेदीतिर सोझिने पदमार्गमा मोटरबाटो पुगेका छन् । सार्वजनिक जमिन होटल र लजले भरिएपछि पर्यटकले सस्तोमै पदयात्रा उम्काउन थालेका छन् ।

पाका ट्रेकिङ गाइड शेषकान्त शर्मा तीन दशकअघिको क्याम्पिङ ट्रेक सम्झिएर अझै रोमाञ्चित हुन्छन् । अहिले चल्तीका पदयात्रा मार्गमा पहिले होटल, रेस्टुरेन्ट थिएनन् । अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण फेरोमा उनले क्याम्पिङ ट्रेक नै चलाएका थिए । त्यतिबेला लमजुङको वेंशीसहरबाट मनाङ, थोरोङ पास, मुक्तिनाथ हुँदै कास्कीको वीरेठाँटी निस्कन २१ दिन लाग्थ्यो । पोखरा वरपरका रोयल ट्रेक, पञ्चासे ट्रेक ३ दिनमा सकिन्थ्यो ।

क्याम्पिङ ट्रेकमा छोटोमध्येका यी लोकप्रिय थिए । घान्द्रुकमै पनि सन् २००३ सम्ममा क्याम्पिङ ट्रेक प्रचलनमा रहेको उनलाई सम्झना छ । होटल, लज भएकै ठाउँमा पनि क्याम्पिङ ट्रेक जानु पर्यटकलाई प्रतिष्ठाको विषय हुन्थ्यो । ‘०६० तिरबाट टेन्ट, प्रेसर कुकर बोकेर डाँडाकाँडा उक्लँदा सेना, प्रहरीले दुःख दिने गर्थे,’ द्वन्द्वकालीन समय सम्झिँदै उनले भने, ‘झन् पदयात्रा मार्गमा बाटो खन्ने क्रम सुरु हुन थालेपछि क्याम्पिङ ट्रेक सुस्तायो ।’

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा तीन दिनको पदयात्रा जाँदा भदौरेमा अन्तिम रात बास पर्थ्यो । विदेशी पाहुना आफ्नो गाउँमा आउने थाहा पाएपछि क्याम्प राख्ने स्थललाई विवाह घरजस्तै सिंगारिन्थ्यो । ‘गाउँभरिका केटाकेटी त्यहाँ जम्मा हुन्थे । आफ्नो वेशभूषामा ठाँटिएर आउने, नाचगान गर्ने गर्दा माहोल नै अर्कै हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘पाहुनाले जति पैसा दिए पनि खुसी हुन्थे । अहिले लाखौं खर्च गर्दा पनि त्यस्तो माहोल भेटिँदैन ।’

सन् १९८७ मा भरियाका रूपमा ट्रेकिङमा प्रवेश गरेका शर्मा सन् १९९१ मा टाइगर माउन्टेन समूहमा आबद्ध भए । १९९८ मा गाइड लाइसेन्स लिए । ट्रेकिङका सुरुवाती समय उनी क्याम्पिङ ट्रेकमा गए । शरदमा उनी दुई समूह लिएर थोरोङ पास पुग्थे । हिउँदभरि पोखरा वरपरका तीनराते क्याम्पिङ ट्रेकमा पर्यटक लैजान्थे । सन् १९९८ देखि २००५ को समय क्याम्पिङ ट्रेकको उत्कर्षको बेला थियो । ‘यति धेरै ट्रेक जान्थ्यौं कि हामीलाई कपडा धुने फुर्सद पनि हुने थिएन,’ यसो भन्दा उनका आँखामा तेज देखियो ।

अन्नपूर्ण सात पास पदयात्रा मार्गका क्याम्पिङ ट्रेकमा पर्यटकका लागि आवश्यक बन्दोबस्तीका सामान बोकेका भरिया । तस्बिर सौजन्य : प्रेम राई

एकैछिनमा अनुहार मलिन बनाएर भने, ‘अहिले वर्षमा एकाध मात्रै त्यस्ता ट्रेक हुन्छन् ।’ उनी पर्यटक लिएर क्याम्पिङ ट्रेकमा डोल्पो, धवलागिरि क्षेत्र पुगेका छन् । यी क्षेत्रमा अहिले पनि क्याम्पिङ ट्रेक चल्छ । डोल्पोमा तिब्बती संस्कृति, हिउँ चितुवाको बासस्थानको अवलोकनमा पर्यटकले विशेष चाख राख्छन् । तर पहिलेजस्तो दुःख काटेर, लामो समय पदयात्रामा बिताएर, पदयात्रामै दाह्री कपाल लामो बनाएर घुम्ने पर्यटक अहिले आउँदैनन् । छोटो समय लिएर लज तथा टि हाउस ट्रेकमै पर्यटक रमाउन थालेका छन् ।

लज ट्रेकले पर्यटकको बसाइ अवधि छोट्टिएको छ । पर्यटकले गर्ने खर्च पनि घटेको छ । नेपाल पर्वतारोहण संघ गण्डकीको अध्यक्ष समेत रहेका शर्माका अनुसार तीन साताको क्याम्पिङ ट्रेक अहिले एक साताको लज ट्रेकमा छोटिएको छ । क्याम्पिङ ट्रेकमा दिनमा पर्यटकको दुई सय डलरसम्म खर्च हुन्छ । लज ट्रेकमा अधिकतम एक सय डलरले पुग्छ । ‘क्याम्पिङ ट्रेक गर्दा दुईजनालाई १० जनासम्म कामदार लैजानुपर्थ्यो ।

गोरखा, धादिङ, रामेछाप, रुकुम, रोल्पाबाट भरिया आएका हुन्थे । पर्यटकको पैसा दूरदराजसम्म पुग्थ्यो । एक सिजनको ट्रेकले वर्षभरि परिवार पालिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले लज ट्रेकमा निश्चित व्यवसायी मात्रै लाभान्वित भएका छन् । पर्यटकले गर्ने खर्च निश्चित मान्छेको हातमा गयो ।’ क्याम्पिङ ट्रेक गर्दा स्थानीयकै उत्पादन विक्री हुने गरेकामा अहिले पदयात्रा मार्गमा भएका होटल, लजले बजारबाट किनेर लैजानुपर्ने अवस्था रहेको उनले सुनाए ।

अस्वस्थ प्रतिस्पर्धाले पर्यटकको खर्च घट्यो

कास्कीको मर्दी हिमाल पदयात्रा मार्गमा डेढ दशकअघिसम्म एउटा पनि होटल थिएन । सन् २००० मा मर्दी हिमाल ट्रेक गर्दा पोखराका थ्री सिस्टर्स एड्भेन्चर ट्रेकिङ प्रालिले क्याम्पिङ ट्रेक चलाएको सञ्चालक लक्की कार्की क्षत्रीलाई अझै सम्झना छ । अहिले मर्दी हिमाल पदयात्रा मार्गमा बग्रेल्ती होटल तथा लज खुलेका छन् । ‘अहिले पदमार्गमा जताततै होटल, लज खुलेका छन्,’ उनले भनिन्, ‘पदयात्री पर्यटक पनि त्यसैमा रमाउन थालेका छन् । सहजता खोज्न थालेका छन् ।’

महँगो हुने, झन्झटिलो हुने र पछिल्लो समय सुविधा खोज्ने पर्यटक आएकाले पनि ट्रेकिङ कम्पनीले क्याम्पिङ ट्रेक चलाउन छाडेको उनको तर्क छ । ‘खर्चालु पर्यटक नआउने होइनन्, आउँछन् तर ट्रेकिङ कम्पनीबीचको प्रतिस्पर्धाले पदयात्रा सस्तियो,’ उनी भन्छिन्, ‘ट्रेकिङ कम्पनीबीच मूल्यमा एकरूपता हुन्थ्यो भने पर्यटकले अझैं पनि खर्च गर्छन् । कम्पनीको प्रतिस्पर्धाको फाइदा पर्यटकले लिएका छन् ।’ भुटानमा मूल्यमा एकरुपता हुँदा खर्चालु पर्यटक पनि उत्तिकै पुगिरहेको उदाहरण उनले दिइन् । पदमार्गमा होटल, लजकै कारण पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको उनले बताइन् ।

क्याम्पिङ ट्रेकमा पछिल्लो समय विदेशी पर्यटकले नै कम चासो देखाएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीको दाबी छ । शिविर राख्ने स्थलमा स्थानीय तहले पूर्वाधारको व्यवस्था गरे अझै पनि क्याम्पिङ ट्रेक चलाउन व्यवसायी इच्छुक रहेको उनले बताए । ‘मुख्य कुरा पदयात्रा मार्गमा मोटर बाटो पुग्नु भएन,’ उनी भन्छन्, ‘स्थानीयले क्याम्पिङ स्थलसम्म दाउरा, पानीको व्यवस्था गर्नुपर्छ । भर्जिन गन्तव्य र वैकल्पिक पदमार्गको पहिचान गरेर क्याम्पिङ ट्रेकका लागि जोगाउनुपर्छ ।’ अन्नपूर्णको उत्तरी आधार शिविरलगायत केही पदयात्रा मार्गलाई क्याम्पिङ ट्रेकका लागि टानले प्रवर्द्धन गरिरहेको उनले जनाए ।

वैकल्पिक ट्रेक ब्युँताउने प्रयास

सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोगले दलबलसहित उत्तरी मोहडाबाट अन्नपूर्ण आरोहण गरे । आठ हजार मिटर अग्लो हिमाल विश्वमै पहिलोपल्ट हर्जोगले आरोहण गरेपछि नेपालमा पदयात्रा पर्यटनको सुरुआत भएको मान्न सकिन्छ । सन् १९५२ मा स्विट्जरल्यान्डका भू–वैज्ञानिक टोनी हेगनले भरिया, भान्से लिएर पाइतालाले नेपाल नापे । हेगनले विश्वमाझ नेपालको भूगोललाई परिचित गराए ।

पदयात्रा पर्यटनबाटै नेपालको पर्यटनले गति लिन थाल्यो । विस्तारै पदयात्रा मार्गमा मोटरबाटो पुग्न थाले । सन् २००३/००४ बाट यसको सुरुआत भयो । होटल, लज खुल्न थाले । सार्वजनिक जमिन र संरक्षण क्षेत्रमा स्थानीयले होटल खोले । क्याम्पिङ ट्रेकबाट सुरु भएको व्यावसायिक ट्रेक विस्तारै टी हाउस/लज ट्रेकमा परिणत भए ।

पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शर्माका अनुसार अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रा मार्गमा छोम्रोङभन्दा माथि होटल थिएनन् । सन् १९८५ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएर सन् १९९२ मा औपचारिकता पायो । त्यतिबेलादेखि एक्यापको अनुमतिमा होटल खुल्न थाले ।

कास्कीको नयाँपुलबाट पदयात्रा सुरु गरेर जोमसोम पुग्न र पोखरा फर्किन २८–२९ दिन लाग्थ्यो । एउटै क्याम्पिङ ट्रेकले एक महिना भुलाइदिन्थ्यो । पारिलो ठाउँमा बिहान टेन्टबाट निस्कनेबित्तिकै टल्किएका हिमाल देख्दा पर्यटक खुसीले रोएको, चिच्याएको, उफ्रिएर खुसी मनाएको जस्ता कैयौं दृश्यका उनी साक्षी छन् । ‘पहिला टेन्ट गाड्ने ठाउँमा अहिले होटल बनेका छन् । होटल पछाडि घाम नपर्ने ठाउँमा लगेर पर्यटकलाई टेन्टमा राख्ने कुरा भएन,’ उनले भने, ‘क्याम्पिङ ट्रेक पहिला बाध्यात्मक पनि थियो । अहिले सुविधा आएको छ ।’

मोटर बाटो नपुगेको र होटल, लज नभएका वैकल्पिक पदयात्रा मार्गमा फेरि क्याम्पिङ ट्रेक ब्युँत्याउने अभियानमा उनी छन् । गएको भदौमा उनी कास्कीको सिक्लेसबाट मनाङको तिमाङ हुँदै मुस्ताङको ठिनी निस्किए । ९ दिनको पदयात्रामा उनले तीन पास नामुन ला (४८५० मिटर), काङ ला (५३०० मिटर) र मेसोकान्तो पास (५३६० मिटर) पार गरे । पर्यटकसँग भने यो पदयात्रा मार्ग पार गर्न २३ दिन लाग्छ । उनले सिक्लेसबाट कोरी, दूधपोखरी हुँदै तिमाङ निस्कने टोनी हेगन पदमार्ग (गुरुङ सम्पदा पदमार्ग) को १० दिनको प्याकेज बनाए ।

यस पदमार्गमा सिक्लेबाट तिमाङ नपुगिन्जेल कुनै होटल, लज छैनन् । क्याम्पिङ ट्रेक गर्नुपर्छ । दसैंको छेकोमा उनले आफू आबद्ध कम्पनी माउन्टेन लिजेन्ड प्रालिबाट १८ जना विदेशी पदयात्री लिएर गए । १८ पर्यटकका लागि लागि ७० जना नेपाली कामदार खटिएका थिए । तर मौसम बिग्रिएपछि सिक्लेसबाटै पर्यटक फर्किए । ‘अहिले पर्यटकले पनि थोरै समय लिएर आएका हुन्छन्, लामो ट्रेकमा उनीहरूको रुचि हुँदैन,’ उनले भने, ‘आठ–दस दिनको क्याम्पिङ ट्रेक प्रवर्द्धन गर्न सक्दा फेरि पहिलेको जस्तै माहोल बन्न सक्छ ।’ कास्कीकै पिपर, साँदल क्षेत्र क्याम्पिङ ट्रेकका लागि सम्भावनायुक्त भएको उनले बताए ।

वैकल्पिक पदमार्ग र क्याम्पिङ ट्रेक ब्युँताउन लागि परिरहेका अर्का ट्रेकिङ गाइड एवं व्यवसायी हुन्, प्रेम राई । साढे दुई दशकअघि संखुवासभाबाट पोखरा आएर भरिया हुँदै ट्रेकिङ गाइड बनेका उनी हाल प्रेम्स नेपाल ट्रेक कम्पनी चलाउँछन् । आफ्नो जीवनकालको ८० प्रतिशत ट्रेकिङ उनले अन्नपूर्ण क्षेत्रमा बिताएका छन् । अन्नपूर्ण फेरोमा मोटर बाटो पुगेर तीन साताको ट्रेक एक सातामा छोटिएपछि उनी वैकल्पिक पदमार्गको खोजीमा जुटे । जर्मनीका पदयात्री आन्द्रेस डे रुइटरसँगको भेटपछि उनको अभियानले सार्थकता पायो ।

नेपाली साथीमार्फत उनले सन् २००६ मा आन्द्रेसलाई भेटेका थिए । आन्द्रेस सन् १९८६ देखि नेपाल आइरहेका थिए । उनी ४२ पल्ट नेपाल आएर पदयात्रामा निस्किएका छन् । पछिल्लो समय पदयात्रा मासिँदै गएपछि आन्द्रेस पनि चिन्तित थिए । प्रेम र आन्द्रेस वैकल्पिक पदयात्रा मार्ग बनाउन कसिए ।

सन् २००९ मा मनाङमा बाटो पुग्यो । अन्नपूर्ण फेरोको पदयात्रा पहिले लमजुङको बेंसीसहरबाट सुरु हुन्थ्यो । अहिले टंकी मनाङ–खाङसारसम्म मोटर बाटो पुगेको छ । मुस्ताङपट्टि मुक्तिनाथसम्म मोटर पुग्छ । सन् २०११ मा प्रेम र आन्द्रेसले वैकल्पिक पदमार्गको अन्वेषण गरे । बेंसीसहरबाट सुरु भएर म्याग्दीको तातो पानी निस्कने यो रुटलाई कहीँकहीँ मात्रै मोटर बाटोले छुन्छ । वेंशीसहरबाट भुलभुले, बाहुनडाँडा, चिप्ला हुँदै जगत, ताल, नाँचे, तिल्चे, ताचै, तिमाङ, चामे, उपल्लो पिसाङ, घ्यारु, ङावाल, जुलु टंके फाँट हुँदै भ्राक, याकखर्क फेदी, थोरोङ पास हुँदै मुक्तिनाथ निस्कन मिल्छ । त्यहाँबाट झोङ, पुथाक, कागबेनी, ठिनी, मार्फा, टुकुचे, लार्जुङ, नौरीकोट, फुदुर्चो ताल, सेकुङ ताल, कोसेठाँटी, कालोपानी, घाँसा, भलेवास, घराप, नार्च्याङ हुँदै तातोपानी निस्कन तीन साता लाग्छ ।

यो जोडीले अन्नपूर्ण क्षेत्रका अन्य भेगमा पनि वैकल्पिक पदयात्रा मार्गको अन्वेषण गरेको छ । पदयात्रा मार्गमा संकेत चिह्न राखिएका छन् । बाटोमा पोतिएका रातो/सेतो रङले वैकल्पिक पदमार्गको मुख्य मार्ग संकेत गर्छ भने सेतो/नीलो रङले सहायक मार्ग भन्ने बुझाउँछ । ‘हामीले यसरी रङमार्फत पदयात्रा मार्ग चिनाउँदा प्रभावकारी भएको छ,’ राईले भने, ‘मैले यही रुटमा पर्यटक लैजाने गरेको छु ।’

अन्नपूर्ण क्षेत्रका वैकल्पिक पदयात्रा मार्गको विवरण समेटेर आन्द्रेस र प्रेमले ‘ट्रेकिङ द अन्नपूर्ण सर्किट’ किताब नै लेखेका छन् । सन् २०११ मा अंग्रेजीमा छापिएको यो किताबको चौंथो संस्करणसम्म प्रकाशित भइसकेको छ । आन्द्रेसले आफ्नो वेबसाइटमार्फत नेपालको प्रवर्द्धन गरिरहेका छन् । नयाँ पदयात्रा पहिचान गरे पनि कतिपय स्थानीय तहले डोजर लगाइसकेको राईको अनुभव छ । भन्छन्, ‘हामीले हिँड्ने बाटो बनाएर आयौं, अर्कोपल्ट जाँदा डोजर खनिसकेको हुन्छ । मोटर बाटो नै अहिले पदयात्रा पर्यटनको मुख्य चुनौती हो ।’

राईले अन्नपूर्णका सात पासबारे आफ्नै कम्पनीको वेबसाइटमा अंग्रेजीमा लेख लेखेका थिए । उनको त्यही लेख पढेर गत अक्टोबरमा इटालीका दुई जना इन्जिनियर नेपाल आए । राईले उनीहरूलाई ‘अन्नपूर्ण सेभेन पासेस’ मा क्याम्पिङ ट्रेक लगे । दुई जनाका लागि ११ कामदार खटिए । यो पदयात्रा मार्गमा हिमालका बीचमा सात वटा अग्ला भन्ज्याङ पर्छन् ।

मनाङको तालबाट सुरु हुने पदयात्रा नाँचे गाउँ, डोना ताल, गोवा त्रिपल पास (४५०० मिटर), गोवा गाउँ, ताचै, कुचुम्रो पास (४९०० मिटर), ढोका पास (४६२४ मिटर), मेटा हुँदै फू गाउँ पुग्छ । फू पास (५०६० मिटर) र नार पास (५३८० मिटर) कटेर छुङखास खर्क पुगेपछि टेरिला पासमा जोडिन्छ । नार गाउँबाट काङ्ला पास (५३२० मिटर) कटेपछि ङावाल गाउँ, मनाङ गाउँ, तिलिचो ताल हुँदै मेसोकान्तो पास (५२०० मिटर) पुगिन्छ । त्यहाँबाट मनाङको ठिनी गाउँ हुँदै फर्किन २८ दिन लाग्छ ।

यो पदयात्रा मार्गलाई प्रवर्द्धन गर्न सके खर्चालु पर्यटकबाट फाइदा लिन सकिने राई बताउँछन् । ‘यसमा ८० प्रतिशत क्याम्पिङ ट्रेक हो,’ उनले भने, ‘समय नहुने पर्यटकलाई दुई साताको प्याकेज पनि बनाउन सकिन्छ ।’ पदयात्रा मार्गमा मोटरबाटो पुर्‍याउनबाट रोक्न स्थानीय तहनै संवेदनशील हुनुपर्ने उनको तर्क छ । भन्छन्, ‘विकासलाई रोक्न कठिन छ तर भएकालाई नमास्नतिर सचेत हुनुपर्छ ।’

प्रकाशित : पुस २८, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?