कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गर्भवती खोज्दै घरघर

स्वास्थ्य उपकरण र औषधिसहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि बस्तीमा
‘घरमै आएर निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा धेरै खुसी लाग्यो । बल्ल सरकार भएको महसुस भयो । एकपटक मात्रै आएर हुँदैन, फेरि पनि आउनुपर्छ ।’
वीरेन्द्र केसी

अर्घाखाँची — शितगंगा नगरपालिका–१ सुवर्णखालकी सरस्वती पौडेल आठ महिनाकी गर्भवती छन् । स्वास्थ्य परीक्षण गर्न भिडियो एक्सरे बोकेर घरमै चिकित्सकसहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि पुग्दा उनी दंग परिन् ।

गर्भवती खोज्दै घरघर

यसअघि एकपटक बुटवल र चारपटक स्थानीय स्वास्थ्य चौकीमा पुगेर जाँच गराएकी थिइन् । छैटौं पटक घरमै स्वास्थ्यकर्मी आएर जाँच गरिदिए । ९ महिनामा आठपटक जाँच गर्नुपर्ने उनलाई हेक्का छ ।

‘घरमै आएर निःशुल्क परीक्षण गरेर आवश्यक सरसल्लाह, खाने तरिका सिकाउँदा धेरै खुसी लाग्यो,’ उनले भनिन्, ‘बल्ल सरकार भएको महसुस भयो । एकपटक मात्रै आएर हुँदैन, फेरि पनि आउनुपर्छ ।’ प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. शुभेच्छा शर्मा, नर्स सिर्जना घिमिरे र स्वास्थ्यकर्मी दामोदर ढकाल, लक्ष्मण पाण्डेलगायतको टोली भिडियो एक्सरे मेसिन, औषधि बोकेर गाउँ पुगेका हुन् ।

नगरको वडा १ को सुवर्णखालमा १४, वडा २ को सीतापुरमा २३, वडा ४ को ठाडा अमराईमा ११, वडा ५ मा १३, वडा ६ मा २७ र वडा ७ मा १७ जना गर्भवतीको स्वास्थ्य जाँच गाउँमै गरिएको नर्स घिमिरेले बताइन् । वडा ८ को जुकेनामा मंगलबार अबेरसम्म स्वास्थ्य जाँच गरिएको थियो ।

‘हामीले गर्भवतीको स्वास्थ्य जाँचसँगै उनीहरूको अवस्थाका बारेमा पनि भन्छौं, तीन/तीन महिनामा भिडियो एक्सरे, फलोअप गर्नेबारे सल्लाह दिन्छौं,’ घिमिरेले भनिन्, ‘अहिलेसम्म तुरुन्तै बुटवल जानुपर्ने अवस्थाका गर्भवती गाउँमा छैनन् । केही सामान्य र केहीले नियमित भिडियो एक्सरे गर्नुपर्ने छन् ।’ उनीहरूलाई चाउचाउसहित जंगफुड खानु हुँदैन भनेको उनले बताइन् । टोलीले पोषणतत्त्व माछामासु, अण्डा, दूध, दही, फलफूल, भटमासलगायतका खानेकुरा खान सल्लाह दिने गरेको छ । ‘गाउँमै उत्पादन भएका खाद्यवस्तु र तरकारी खान विशेष सल्लाह दिएका छौं,’ उनले भनिन् ।

चिकित्सकसहित शितगंगा नगर प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत भविन्द्र खनालसहित सम्बन्धित वडाका वडाध्यक्षसहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली यतिबेला गाउँमा गर्भवती खोज्दै हिँडेको हो । ‘गरिबीका कारण नियमित स्वास्थ्य जाँच गराउन नपाएर गर्भवतीको अकालमै ज्यान जाने खतरा नहोस्, बच्चाको स्वास्थ्य नबिग्रियोस् र राम्रो होस् भनेर गर्भवती खोज्दै गाउँ पुगेका हौं,’ नगर उपप्रमुख भाटले भनिन्, ‘नगरका १४ वडाकै गाउँमा पुगेर सबै गर्भवतीको परीक्षण गर्छौं । नगरले बजेट छुट्याएर गर्भवतीको स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरेका हौं ।’

गाउँमा पैसा नभएर धेरै गर्भवती स्वास्थ्य परीक्षण गर्न पनि जान सकेका छैनन् र गर्भवतीको स्वास्थ्यजस्तो संवेदनशील कुरामा जनप्रतिनिधि चिकित्सक लिएर घरघरै आउनु राम्रो काम भएको स्थानीयले बताए । ‘डाक्टरसहित स्वास्थ्यकर्मी गाउँमै आएर तपाईं गर्भवतीको स्वास्थ्य जाँच गर्न आएका हौं भन्दा अचम्मै लाग्यो,’ स्थानीय जानका पौडेलले भनिन्, ‘गर्भवती महिला हर्षित हौं । जाँचसँगै पेटमा रहेको बच्चा र आमालाई स्वास्थ्यसम्बन्धी शिक्षा दिँदा जोखिमबाट जोगिने कुरा पनि थाहा पाइयो ।’

गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भनेर स्वास्थ्य कार्यालयले सूचना जारी गरेको छ । तर, आर्थिक अवस्था कमजोर भएकै कारण धेरै महिला स्वास्थ्य जाँच गर्नबाट वञ्चित छन् । यहाँका गर्भवतीहरू स्वास्थ्य जाँचका लागि सन्धिखर्क, ठाडा, बुटवल र कपिलवस्तुसम्म पुग्नुपर्ने बाध्यता थियो ।

प्रकाशित : पुस २८, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?