शंखरापुर सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीय आन्दोलित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शंखरापुर सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीय आन्दोलित

सबस्टेसन निर्माण स्थान्तरण गर्न मिल्दैन : प्राधिकरण
लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा अपर तामाकोसी जलविद्युत् आयोजनाको सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीय बासिन्दा १० दिनदेखि आन्दोलनरत छन् ।


बोझेनीमा ४०० केभीको तामाकोसी–काठमाडौं प्रशारण लाइन अन्तर्गत सबस्टेसन निर्माण, २२०/१३२/११ केभीको चाँगुनारायण–लप्सीफेदी सबस्टेसन निर्माण आयोजना निर्माणाधीन अवस्थामा छ । पुस १७ गतेबाट सबस्टेसनका लागि जहरसिंह पौवाबाट बोझेनीसम्मको ३ किलोमिटर सडक सर्भेको काम थालेको थियो । उक्त सडक सर्भेको काम सुरु भएसँगै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

आयोजनाले पूर्ण जानकारी नदिई झुक्याएर, धम्क्याएर बस्ती नै उठाउने गरी सबस्टेसन बनाउन लागेको दाबी गर्दै यस भेगका स्थानीय बासिन्दाले दुई वर्षदेखि नै विरोध गर्दै आएको आन्दोलनमा सक्रिय समान नेपालका प्रवक्ता आरके तामाङ बताउँछन् ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा घेराभित्र जबर्जस्ती सबस्टेसन निर्माणको काम थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। सबस्टेसन निर्माणस्थल बोझेनीमा सशस्त्र प्रहरीका डीएसपी तथा नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरी सर्भे गरिरहेको छ । ‘आयोजनाले पूर्ण जानकारी नदिई जग्गा अधिग्रहण गर्‍यो, दीर्घकालीन असर र क्षतिको विषयमा स्थानीय जग्गाधनीलाई नबुझाई केही टाठोबाठो व्यक्तिलाई हातमा लिएर मुआब्जा थमाइयो,’ स्थानीय अभियन्ता फूर्वा लामाले भने, ‘धम्कीपूर्ण ढंगले राज्यले प्रहरी प्रशासन लगाएर धरपकड गरिरहेको छ, त्यो मान्य हुँदैन । सबस्टेसन निर्माण स्थान्तरण हुनुपर्छ ।’

उक्त सबस्टेसन निर्माणको लागि बोझेनीमा योजना बन्नुअघि मण्डनदेउपुरको हलिदेमा अध्ययन गरी सार्वजनिक सुनुवाइ गरिसकेको भए पनि त्यहाँको स्थानीयको विरोधमा लप्सीफेदीमा सारेको लामा बताउँछन् ।

सबस्टेसनका लागि ५० जना जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्ष माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरी वितरण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति वापत करिब ५० करोड रुपैयाँ वितरण गरिसकेको छ । ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको लप्सीफेदी बोझनीमा विद्युत् प्रसारण आयोजनाले सबस्टेसन निर्माणका लागि २०७४ मा जग्गा अधिग्रहण गरिसकेको छ ।

उक्त सबस्टेसनले अपर तामाकोशीसँगै चाँगुनारायण लप्सीफेदी सबस्टेसन निर्माण जोड्नेछ । लप्सीफेदी बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको सबस्टेसनमा तीनतिरबाट ४०० केभी क्षमताको ‘हाईभोल्टेज’ प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ । सबस्टेसन निर्माण क्षेत्रको तीनतिरबाट ४६/४६ फिट जग्गा मुआब्जा बिना नै प्राधिकरणले लिएको समेत स्थानीय शम्भू चौलागाईंले बताए । सबस्टेसन निर्माण स्थान्तरणको माग गर्दै स्थानीयले अपर तामाकोसी जलविद्युत् पीडित संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन् । समान नेपाल, ढुङह्युल तामाङ लोप्तेन छोगछेनलगायतको स्थानीयलाई समर्थन छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको राजीनामाको माग गर्दै विरोध गरिरहेका छन् । आफूहरुले लिएको जग्गाको मुआब्जासमेत फिर्ता गर्ने भन्दै बोझेनीवासीले सबस्टेसन निर्माण स्थान्तरणको माग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भने बोझेनीका प्रभावित स्थानीय बासिन्दाको जायज मागलाई सम्बोधन गरी सबस्टेसन निर्माणको काम अगाडि बढाइएको र सबस्टेसन स्थान्तरण गर्न नसकिने जानकारी दिएको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आईई) लगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै उत्तम रहेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए ।

‘जिल्ला प्रशासनको रोहबरमा जग्गाको मुआब्जा तोकी वितरण गरेपछि सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम सुरु भइसकेको छ, सबस्टेसन स्थान्तरण गर्न सकिँदैन,’ उनले भने ।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । लप्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा रहेको प्राधिकरणले जनाएको छ । नयाँ खिम्ती–काठमाडौं ४०० केभी तथा लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारणलाइन र चार वटा सबस्टेसन निर्माणका लागि अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ छ । आयोजना निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) सँग २०६८ चैतमा पहिलो र २०७४ भदौमा दोस्रो ऋण सम्झौता भई ठेक्का प्रक्रियाबाट काम सुरु भएको थियो ।

प्रकाशित : पुस २६, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

जसले सामुदायिक विद्यालयलाई बनाए अब्बल

लिला श्रेष्ठ

भक्तपुर — यसअघि छोराछोरीको पढाइ बुझ्न आउने अभिभावक बुधबार हातमा फूल, खादा, माला बोकेर सुकसुकाउँदै विद्यालय हाता प्रवेश गरिरहेका थिए । विद्यार्थी विद्यालयको बरन्डामा बसेर रोइरहेका थिए । शिक्षक आफैं सम्हालिन सकेका थिएनन् ।

विद्यालय प्रांगणमा उपस्थित स्थानीय, शिक्षासेवी, राजनीतिज्ञ, जनप्रतिनिधिलगायत व्यक्तित्व एकले अर्कालाई सम्हाल्ने अवस्थामा नै थिएनन् ।

यो दृश्य भक्तपुर नगरपालिका–३ तेखापुखुमा अवस्थित मेधा माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगाधर हाडाको हृदयाघातबाट निधन भएपछि श्रद्धाञ्जलीसभाको हो । हाडाको निधनले भक्तपुरवासीले शिक्षाको मियो ढलेको महसुस गरेका छन् ।

‘शिक्षा क्षेत्रको एक धरोहरलाई गुमायौं,’ विद्यालयका व्यवस्थापन समितिका पूर्वसदस्य रामेश्वर भुजूले भने । हाडाको सोमबार बिहान विद्यालय जाने क्रममा हृदयाघातका कारण बाटोमै निधन भएको हो । ‘बिहान विद्यालय जाने क्रममा गाह्रो महसुस भएछ र मोटरसाइकल रोकेर पानी किनेर खान खोज्दाखोज्दै ढल्नुभएछ,’ नेपाल शिक्षक संघ भक्तपुरका उपाध्यक्ष एवं गंगाधरका भाइ रामले भने, ‘भक्तपुर अस्पताल पुर्‍याउँदा उहाँको निधन भइसकेको थियो ।’

हाडा २०६१ फागुन ५ मा साविक कन्या माध्यमिक विद्यालय (हालको मेधा मावि) मा शिक्षकका रूपमा प्रवेश गर्दा विद्यार्थी संख्या ८० थियो । एसएलसी परीक्षामा त्यो वर्ष सबै विद्यार्थी फेल भएका थिए । त्यसअघि पनि एसएलसीको नतिजा निल थियो । कक्षा १, २, ३ मा जम्मा ४ जना विद्यार्थी थिए ।

‘पटक–पटक निल भएपछि त्यो वर्ष पनि विद्यार्थी अनुत्तीर्ण भए निमाविमा झार्ने पत्र प्राप्त भइसकेको थियो,’ भुजूले भने, ‘हाडा सर आउनुभएपछि विद्यार्थी बढ्यो, नतिजामा सुधार भयो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।’

अंग्रेजी शिक्षक उनलाई तत्कालै सहायक प्रधानाध्यापक बनाइएको थियो । उनैको मिहिनेत, शिक्षकको समन्वय र सहकार्यले यो विद्यालय जिल्लामै उदाहरणीय बनेको छ । जिल्लाका सामुदायिक मात्र नभई संस्थागत विद्यालयको प्रतिस्पर्धी मानिएको उक्त माविले एक दशकयता एसएलसी/एसईई परीक्षामा शतप्रतिशत उत्तीर्ण गराउँदै आएको छ । नयाँ शैक्षिक सत्रमा मेधामा विद्यार्थी भर्ना गराउन चाहनेको चाप प्रत्येक वर्ष बढ्दो छ ।

‘उहाँको जीवन शिक्षा सुधारमै बित्यो,’ भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भनिन्, ‘मेधालाई मेधावी बनाएर देशकै उत्कृष्ट विद्यालयका रूपमा चिनाउने काम उहाँले गर्नुभयो ।’ २०२३ कात्तिक ७ मा जन्मिएका हाडा नेपाल शिक्षक महासंघ भक्तपुरका पूर्वअध्यक्ष र नेपाल शिक्षक संघ भक्तपुरका निवर्तमान अध्यक्षसमेत थिए ।

‘घरपरिवारलाई भन्दा बढी समय विद्यालय र विद्यार्थीलाई दिने उहाँले सामुदायिक विद्यालय सुधारका लागि सधैं लड्नुभयो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य बाबुराजा जोशीले भने, ‘उहाँको सम्मान तथा शिक्षकको प्रेरणाका लागि प्रतिष्ठान खोल्न आवश्यक छ ।’

बुधबार सयौंको संख्यामा उपस्थित विद्यार्थी, अभिभावक, स्थानीय, अन्य विद्यालयका शिक्षक, जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षासेवीले उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित : पुस १४, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×