कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संसद्लाई प्रतिपक्षविहीन बनाउने खेल

प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण बनाउने देउवाको रणनीति, देउवाको पहललाई लिएर कांग्रेसमा चर्को विरोध

काठमाडौँ — पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन कांग्रेस सभापति शेरबहादुर देउवा ‘सकारात्मक’ बनेका छन् । यस विषयलाई लिएर कांग्रेसभित्र तीव्र विवाद भइरहेकै बेला प्रधानमन्त्री दाहालसँग सोमबार साँझसमेत भेट गरी देउवाले ‘बचन’ दिएका हुन् । 

संसद्लाई प्रतिपक्षविहीन बनाउने खेल

‘मंगलबार पार्टी पदाधिकारी र संसदीय दल बैठकले रोक्न सके बेग्लै कुरा हो, नत्र सभापतिजी र केही शीर्ष नेता विश्वासको मत दिने पक्षमा हुनुहुन्छ, त्यही कुरा प्रधानमन्त्रीलाई जानकारी गराउने काम भयो,’ देउवानिकट स्रोतले भन्यो ।

सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेमा पार्टीको संस्थापनइतर खेमाका नेता शेखर कोइराला र आफ्नो समूहका नेतासँग परामर्शमा रहेका देउवाले सोमबारको भेटअघि प्रधानमन्त्री दाहालसँग पनि उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलामार्फत संवाद गर्दै आएका थिए । दाहाल र देउवाबीचको भेटमा पनि खड्का र सिटौला सहभागी थिए । देउवा निवास धुम्बाराहीमा करिब सवा घण्टा चलेको छलफलमा विश्वासको मत र त्यसपछिको राजनीतिक परिस्थितिका विभिन्न आयामबारे छलफल भएको थियो ।

देउवाले सहमति खोज्न मंगलबार संसदीय दलको बैठकअघि नेता कोइराला र पदाधिकारीलाई निवासमा डाकेका छन् । नेताहरूबीच सहमति जुटाएर संसदीय दलको बैठकबाट निर्णय गराउने उनको तयारी छ ।

देउवाले प्रधानमन्त्री दिन नमानेकै कारण दाहाल कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसहितका दलसँगको समीकरणबाट पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसपछि पनि देउवा र दाहालबीच कुनै राजनीतिक घोचपेच र आरोप–प्रत्यारोप चलेको छैन ।

उपसभापति खड्काले सभापतिले विश्वासको मतका लागि बचन दिएको कुरा सत्य नभएको बताए । ‘प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिँदै छु, कांग्रेसले मत दिने निर्णय गरोस् भन्नुभयो, सभापतिज्यूले मंगलबार बिहान नेताहरू र संसदीय दलको बैठक बोलाएकाले त्यहीं छलफल गर्छु र दलको बैठकपछि निर्णयमा पुग्छु भन्नुभएको छ,’ खड्काले कान्तिपुरसँग भने, ‘अरू राजनीतिक विषयमा पनि सामान्य र सौहार्दपूर्ण कुराकानी भए ।’ अरू विषय भने उनले खोतल्न चाहेनन् ।

स्रोतका अनुसार दाहालले कांग्रेससँगको सहकार्यमा काम गर्न आफूलाई ‘कम्फर्टेबल’ हुने अनुभव सुनाएका थिए भने आफूले प्रधानमन्त्री नछाडेकामा देउवाले गल्ती महसुस गरेका थिए । ‘विश्वासको मतमा भोट माग्न आए पनि दुई नेताबीच केही घोचपेच र रमाइला कुराकानी पनि भए,’ देउवानिकट स्रोतले भन्यो, ‘माओवादीसँग विश्वासको वातावरण बनाइराख्नुपर्छ भन्नेमा सभापतिज्यू हुनुहुन्छ । त्यस हिसाबले पनि विश्वासको मत दिनुपर्छ भन्ने तर्क उहाँको हो ।’ देउवाको यो तयारीमा नेताहरू रामचन्द्र पौडेल, कोइराला, खड्का, सिटौला, विमलेन्द्र निधिसहितका नेता सकारात्मक छन् तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सांसदको ठूलो पंक्ति प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् ।

महामन्त्री थापाले फरक समीकरणबाट सरकार बनिसकेपछि कांग्रेसले प्रतिपक्षमा बस्नसमेत हिम्मत नगर्नु अराजनीतिक हुने बताए । ‘कांग्रेस संसदीय व्यवस्थाको पक्षपाती हो । प्रतिपक्ष भनेको प्राविधिक कुरा मात्रै होइन, राजनीतिक कुरा पनि हो । कांग्रेसले राजनीतिक भूमिका पनि निर्वाह गरेन भने संसद् र सरकारले भूमिका निर्वाह गर्न सक्दैन,’ उनले भने ।

‘अहिलेको अवस्थामा सरकारलाई विश्वासको मत दिनु भनेको कांग्रेससँग संसदीय आचरण पनि नरहनु हो । रणनीतिक हिसाबले पनि कांग्रेस यति कमजोर हुनुपर्ने कुनै कारण छैन । भोलिका दिनमा विकल्प खुला भएमा विश्वासको मत नदिएकै कारण ढोका बन्द हुने होइन । समर्पण गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।

विश्वासको मत दिनुपर्छ भन्नुका पछि कांग्रेसले दुई महिनापछि हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेको छ । त्यसपछि एमालेबाट माओवादीलाई अलग गराएर सत्ता फर्काउने अर्को रणनीति कांग्रेसको छ । देउवाले पार्टी नेताहरूसँग अहिले विश्वासको मत दिँदा कांग्रेसले राष्ट्रपति पाउने कुरा बताइरहेका छन् । विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण बन्ने विश्वास देउवामा छ । उनलाई यस्तो विश्वास जाग्नुका पछाडि भारतको आडभरोसा रहेको नेताहरू बताउँछन् । ‘हिजो पनि प्रधानमन्त्री नछाड्नुहोस्, एमसीसीमा जस्तै प्रचण्ड घुस्रिएर आउँछन् भनेका थिए, अहिले पनि सभापतिलाई त्यस्तै विश्वासमा पारिएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘भारतकै भरमा पर्दा पटक–पटक पार्टी र नेतृत्व फस्दै आएको छ । अहिले फेरि प्रमुख प्रतिपक्षबाट पनि च्युत हुने खेल कांग्रेसले खेल्दै छ ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुनै पदसँग विश्वासको मत साट्नु गलत हुने बताए । ‘सरकार र संसद् नै विघटन हुने अवस्था निर्माण भएमा राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिने कुरा स्वाभाविक हुन्छ तर अहिले त्यस्तो सम्भावना नभएका बेला कुनै पदसँग विश्वासको मत साट्न सकिन्न । कांग्रेसले प्रतिपक्षमा बस्ने प्रस्ट निर्णय लिनुपर्छ ।’

एमाले र माओवादीबीच गठबन्धन हुँदा एमालेले राष्ट्रपति र सभामुख लिने सहमति छ । कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्रीसहित शक्तिका मुख्य पद गुमाएर अहिले एउटा पदको झिंगेदाउमा विश्वासको मतको पक्षमा जानु गम्भीर गल्ती हुने बताए । ‘कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाउनु गम्भीर हो, यो अवस्था आउँछ भन्ने बुझेर पहिल्यै गठबन्धन जोगाउनुपर्थ्यो, अहिले सबै हातबाट गुमिसकेपछि एउटा पदका लागि विश्वासको मत दिने कुरा ठूलो भूल हुन्छ,’ केसीले भने ।

कांग्रेसले प्रतिपक्षको हैसियतसमेत समाप्त गर्ने बाटो रोज्नु आत्मघाती हुने अर्का नेता प्रदीप पौडेल बताउँछन् । ‘संसद् प्रमुख प्रतिपक्षको हो र यो नै संसद्को सौन्दर्य हो, संसद्को नेतृत्व नै प्रमुख प्रतिपक्षले गर्ने हो, हामी प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्नुपर्छ, सरकार बन्ने र अघि बढ्ने जे प्रक्रिया हो, त्यसमा सहभागी हुनु आवश्यक छैन,’ उनले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ ।’

कांग्रेसले सरकारलाई विश्वासको मत दिएमा प्रमुख प्रतिपक्षको हैसियत पाउने कि नपाउने भन्ने प्रश्न पनि अहिले पार्टीभित्र बहसमा छ । कांग्रेसका केही नेताहरूले २०५१ सालमा मनमोहन अधिकारीलाई विश्वासको मत दिएर पनि प्रमुख प्रतिपक्षमा बसेको उदाहरण दिँदै त्यो हैसियत नगुम्ने तर्क अघि सारिरहेका छन् ।

संघीय संसद्मा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले संसद्मा न्यूनतम १० प्रतिशत हैसियत भएकामध्ये सबैभन्दा बढी सदस्य रहेको दललाई मात्रै प्रमुख प्रतिपक्षको हैसियत प्राप्त हुने व्यवस्था छ । मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलले मात्रै प्रमुख प्रतिपक्षको हैसियत पाउने प्रावधान ऐनमा छ । विश्वासको मतमा समर्थन दिनु भनेको मन्त्रिपरिषद् गठन गर्नका लागि समर्थन दिनु हो । कानुन व्यवसायी राधेश्याम अधिकारीले मत हालेपछि कानुनी रूपमा प्रमुख प्रतिपक्षको हैसियत गुम्ने तर भूमिका नगुम्ने बताए । सरकारलाई मत दिएर नैतिक रूपमा पनि प्रमुख प्रतिपक्षको हैसियत खोज्न नमिल्ने नेताहरू बताउँछन् । संस्थापन पक्षका सांसद रामहरि खतिवडाले अर्को समीकरणमा सरकार बनिसकेपछि कांग्रेसले प्रमुख प्रतिपक्षको बाटो छोड्नु अराजनीतिक कदम हुने बताए । ‘संसद्को पहिलो बैठकमै सभापतिज्यू प्रमुख प्रतिपक्षको लहरमा बस्न थालिसक्नुभएको छ, अब सरकारलाई समर्थन दिएर त्यही हैसियत पनि गुमाउन हुन्न,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?