उपकरण बिगार्दै थन्काउँदै, बिरामी निजीमा जान बाध्य- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
राजधानीकै ठूला अस्पतालको बिजोग

उपकरण बिगार्दै थन्काउँदै, बिरामी निजीमा जान बाध्य

प्रशान्त माली

काठमाडौँ — कान्ति बाल अस्पतालमा आन्द्रासम्बन्धी रोग पत्ता लगाउन प्रयोग गरिने फ्लोरोस्कोपी मेसिन बिग्रिएको १५ वर्ष बितिसक्यो । मुटुको परीक्षण गर्ने कोरियोग्राफी मेसिन थन्किएको दुई वर्ष पुग्यो । अस्पतालमा एमआरआई मेसिन छैन । भएको एउटा सिटी स्क्यान पनि बिहीबारदेखि थन्किएको छ । 

अस्पतालका अपरेसन थिएटर २७ वर्ष र ल्याबका सामान १० वर्ष पुराना छन् । ५२ शय्याको आईसीयू सञ्चालन गर्ने क्षमता रहे पनि ३४ शय्या मात्र सञ्चालनमा छ । बोलीको उपचार विधि ‘स्पीच’ थेरापी छैन । मिर्गौला बिग्रिएका बालबालिकाका लागि हेमोडायलसिसको पनि व्यवस्था छैन । आवश्यक मेसिन नहुँदा चिकित्सकहरू रेफर गर्न र बिरामी महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जान बाध्य छन् ।

०००

वीर अस्पतालमा २५ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ यता क्यान्सरको उपचार ठप्प छ । अस्पतालको १६ स्लाइसको सिटी स्क्यान मेसिन, फोक्सोको परीक्षण गर्ने पल्मोनरी फङ्सन टेस्ट मेसिन र चार वटा ग्यास्ट्रो इन्डोस्कोपी मेसिन पनि बिग्रिएर उपयोगविहीन छ । एमआरआई तथा सिटी स्क्यानको सेवा समयमै उपलब्ध नहुने समस्या विद्यमान छ । उपकरण र आवश्यक चिकित्सक अभावमा न्युरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि बिरामीले ३ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । प्रशासन शाखा प्रमुख सागर मिश्रले बजेट अभावका कारण बिग्रेको सिटी स्क्यान मर्मत गर्न नसकेको बताए । ‘मर्मत गर्न ३ करोड रुपैयाँ लाग्छ,’ उनले भने, ‘नयाँ खरिद गर्न बजेट छैन ।’

०००

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा एमआरआई मेसिन छैन । अस्पतालका अनुसार मेसिन नहुँदा गत वर्ष एमआरआई गराउन ४ हजारभन्दा बढी बिरामी अन्यत्र रेफर भएका थिए । नवजात शिशुको उपचारका लागि नियोनाटोलोजी विभागमा २४ घण्टे एक्सरे उपलब्ध नहुँदा बिरामी एक हजार रुपैयाँमा पाइने सेवाका लागि निजीमा तीन हजार तिर्न बाध्य छन् । गर्भमा रहेको बच्चाको समग्र अवस्था पहिचान गर्न उच्च गुणस्तरसहितको अल्ट्रासाउन्ड मेसिन आवश्यक पर्नेमा हाल कम क्षमताको पुराना दुई वटा मेसिन मात्र छन् । उक्त मेसिनबाट रोग निदान गर्न कठिनाइ हुने र गर्भवतीले ५/६ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ । अस्पतालका सूचना अधिकारी कैलाश घिमिरे एमआरआई खरिद गर्न मन्त्रालयमा बजेटका लागि पेस गरिसकेको बताउँछन् ।

राजधानीका ठूला अस्पतालको दुरवस्था बताउने यी केही उदाहरण मात्र हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको समस्या पनि उस्तै छ । दुई वटा एमआरआई मेसिनमध्ये एउटा बेलाबेलामा बिग्रिने कारण सेवाग्राही महँगो शुल्क तिरेर निजीमा भर पर्न बाध्य छन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बाल मुटु रोगीहरूका लागि १२ शय्या पर्याप्त छैन । बालबालिकाका लागि छुट्टै उपचार कक्ष, अपरेसन थिएटर तथा क्याथ ल्याब भवन निर्माण गर्ने हृदय रोग केन्द्रको योजना कागजमै सीमित छ । केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बालबालिकाका लागि उपचार कक्ष, अपरेसन थिएटर तथा क्याथ ल्याब भवन बनाउन लगत इस्टिमेटसहित डिजाइन मन्त्रालयमा पेस गरिसकेको बताए । ‘४ देखि ५ करोड रुपैयाँ आवश्यक पर्छ । बजेट विनियोजित भएमा निर्माण थाल्छौं,’ उनले भने । राष्ट्रिय हृदय रोग केन्द्रको अध्यक्षमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

अस्पतालको आम्दानी वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी छ भने सरकारी अनुदान चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छ भने अस्पतालको कुल १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खर्च हुँदा तलब, भत्ता मात्रै झन्डै साढे ४० करोड रुपैयाँ हुने गरेको छ ।

आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मानसिक अस्पताल लगनखेललगायतमा पनि समस्या उस्तै छ । यसलाई मध्यनजर गरेर नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले साताअघि सरकारका सचिवहरूलाई सरकारी अस्पतालमा बिरामीको उपचारलगायत ३० बुँदे निर्देशन दिँदै दैनिक सेवा प्रवाहमा जनताले फेरि सास्ती बेहोर्नुपरेमा विभागीय कारबाही गर्ने बताएका थिए । तर, राजधानीका अस्पतालको पछिल्लो तस्बिरले ती निर्देशन अझै सिंहदरबारभित्रै सीमित भएको प्रस्ट हुन्छ ।


वीर अस्पतालमा सिटी स्क्यान पर्याप्त नहुँदा पालो कुरिरहेका सेवाग्राही । उपकरण र आवश्यक चिकित्सक अभावमा न्युरो, हाडजोर्नीजस्ता शल्यक्रियाका लागि बिरामीले ३ महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।तस्बिर : दीपक केसी/कान्तिपुर

चालु आर्थिक वर्षमा संघीय सरकारको १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको वार्षिक बजेटमध्ये ५ दशमलव ७५ प्रतिशत अर्थात् १ खर्ब ३ अर्ब ९ करोड १३ लाख रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरिएको छ । तर, बजेटको उचित परिचालन र सेवा प्रभावकारिता भए/नभएको अनुगमन भने भइरहेको पाइँदैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले भने अस्पतालका प्रमुखहरूलाई बोलाएर उपकरण मर्मत गर्न भनिसकेको बताए । ‘मन्त्रालयबाट अनुगमन पनि भइरहेको छ,’ उनले भने ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा व्यवस्था भएअनुसार अस्पतालले शय्या संख्याअनुसार उपकरण, जनशक्ति र भौतिक पूर्वाधार तयारी अवस्थामा राख्नुपर्छ । तर, अस्थिर सरकार, राजनीतिक नियुक्ति, कर्मचारीमा ढिलासुस्ती, नियमनकारी निकायको बेवास्तालगायत कारणले अधिकांश ठूला अस्पतालले तोकिएको मापदण्डअनुरूप सेवा दिन सकिरहेका छैनन् । निर्देशिकाको दफा १३ मा व्यवस्था भएअनुसार स्वास्थ्य संस्थाले आफूले प्रदान गरेका सेवाहरूको निर्देशिकामा उल्लिखित मापदण्डबमोजिमको गुणस्तर भए/नभएको सम्बन्धमा प्रत्येक वर्ष स्वमूल्यांकन गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र अनुमति प्रदान गर्ने निकाय र अस्पताल रहेको जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयमा मन्त्रालयले तोकेबमोजिमको ढाँचामा पेस गर्नॅपर्दछ । उपदफा (५) मा मन्त्रालयले स्वास्थ्य संस्था र अनुमति प्रदान गर्ने निकायको समेत अनुगमन गर्न सक्ने व्यवस्था छ । उपदफा ७ मा निरीक्षण तथा अनुगमनका क्रममा दिएको निर्देशन पालना नगर्ने, निर्देशिकाबमोजिमको गुणस्तर तथा पूर्वाधार मापदण्ड पूरा नगर्ने र गुणस्तर परीक्षणको वार्षिक प्रतिवेदन पेस नगर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित अनुमति प्रदान गर्ने निकायले त्यस्तो स्वास्थ्य संस्थाले प्रदान गरिआएको सेवा पूर्ण वा आंशिक रूपमा तत्काल बन्द गर्न आदेश दिन सक्ने व्यवस्था छ । तर, यी कानुनी प्रावधान कागजमै सीमित छ ।

कान्तिमा बिग्रेको सिटी स्क्यान झन्डै साता दिन बित्न लागिसक्दा पनि अझै मर्मत भएको छैन । श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा उपचारार्थ दुईमहिने बालक मोहम्मद रेहानका अभिभावक तीन हजार रुपैयाँमा गर्न सकिने सिटी स्क्यानका लागि निजीमा ९ हजार रुपैयाँ तिर्न बाध्य छन् । रेहानका अभिभावक भन्छन्, ‘एक त महँगो अर्को भर्ना गरेको बिरामीलाई अस्पतालबाहिर लैजानुपर्दा निकै सास्ती बेहोर्नुपर्‍यो ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौला मेसिन मर्मत गर्ने क्रममा रहेको दाबी गर्छन् । ‘सामान आउने प्रक्रियामा छ,’ उनले भने, ‘एमआरआईबारे जाइका र मन्त्रालयबीच सम्झौता भएकाले मेसिन ल्याउन मन्त्रालयले पहल गरिरहेको छ ।’ कान्तिमा एमआरआई गर्नुपर्ने मस्तिष्कका नयाँ बिरामी दैनिक ५ देखि १० जना आउने गर्छन् । त्यस्तै, सिटी स्क्यान गर्नुपर्ने ८ देखि १० जनासम्म पुग्छन् । कान्तिमा सर्वसाधारणले भोग्नुपरेको दुःखलाई मध्यनजर गरेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एमआरआई, सिटी स्क्यान, भेन्टिलेटर, शरीरमा तरल पदार्थ पठाउन प्रयोग गरिने इन्फ्युजन पम्प र सिरिन्ज पम्प २०/२० वटा दिने भनेर स्वास्थ्य मन्त्रालयसँग २०७८ असार २५ मा सम्झौता गरेको थियो ।

पाटन अस्पतालमा दैनिक एक हजार जनासम्म बिरामी उपचारका लागि आउने गर्छन् । बिरामीको चापका कारण एक जना चिकित्सकले दैनिक सय जनासम्म जाँच गर्नुपर्ने अवस्था छ । बिरामीले उपचार गराउन ३ देखि ६ घण्टासम्म पालो कुर्नुपर्छ । अस्पतालमा दूरबिनको सहायताले गरिने शल्यक्रियाका लागि दुई महिना, नाक, कानको शल्यक्रिया र हेमोडायलसिस गराउन ६/६ साता, युरो सर्जरी गर्न दुई साता, इन्डोस्कोपी गर्न ३ साताभन्दा बढी कुर्नुपर्छ । विशेषज्ञ चिकित्सक तथा मेसिनरी उपकरण अभावका कारण डेन्टल, थोरासिक उपचार, कार्डियाक भास्कुलर, आँखाको लेजर, रेटिना केयर, लेप्रोस्कोपीलगायतका सेवा उपलब्ध छैन । अस्पतालमा रहेको पोर्टेबल अल्ट्रासाउन्ड, एनेस्थेसिया, ईसीजी, पोर्टेबल अक्सिमिटरलगायत उपकरण मर्मत नहुँदा सेवा प्रवाहमा असर परिरहेको छ । ती उपकरण मर्मत गरेर सेवा सञ्चालन गराउनतर्फ अस्पताल प्रशासन गम्भीर देखिँदैन ।

अस्पतालका निर्देशक डा. रवि शाक्यले थप सेवा विस्तार गर्न उपकरण, भवनलगायत निर्माण गर्न आवश्यक बजेटका लागि स्वास्थ्य मन्त्रालयमा पेस गरिसकेको बताए । ‘नक्सा बनाउनका लागि केही बजेट पनि विनियोजित भएको छ,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकहरू सीमित मात्रामा हुन्छन् । अपरेसनलगायतको सेवा पाउन पाटनमा मात्रै नभई विदेशमा पनि महिनौं कुर्नुपर्छ ।’ इमर्जेन्सी अपरेसन नरोकेको र कुरेर गर्न मिल्ने अपरेसन मात्र लाइनमा रहेको उनले बताए । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुअन्तर्गतका ११ मध्ये ९ वटा भवन जीर्ण छन् । ३ सय शय्याको अत्याधुनिक सुविधासम्पन्न केन्द्रीय सरुवा रोग अस्पताल बनाउने योजना वर्षौंदेखि रहे पनि अझै निर्माण भएको छैन । सरुवा रोगसम्बन्धी एक मात्र केन्द्रीय अस्पताल भएकाले बिरामीको चाप प्रत्येक वर्ष बढ्दै गएको छ । ओपीडीमा प्रतीक्षालय साँघुरो भएकाले बिरामीहरू बाहिर बाटोमा उभिन बाध्य छन् । इन्डोस्कोपी, हेमोडायलसिस, अटो एनालाइजरलगायत उपकरण अभावका कारण अस्पतालले बिरामीलाई थप सेवा उपलब्ध गराउन सकेको छैन ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अवस्था पनि सन्तोषजनक छैन । केन्द्रले मिर्गौला, कलेजो प्रत्यारोपण, मुटुको शल्यक्रिया र डायलसिसको लक्ष्य प्राप्ति गरेको छैन । पाँच सय जनाको डायलसिस गर्ने भने पनि तीन सयको पनि भएको छैन । केन्द्रमा डायलसिस गर्ने मेसिन पर्याप्त छैन । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफू आइसकेपछि धेरै सुधार गरिसकेको दाबी गरे । ‘हेटौंडा, सुर्खेत, धनगढी, भरतपुरमा प्रत्यारोपण विस्तार गर्दै छु,’ उनले भने, ‘पोखरामा सुरु भइसकेको छ ।’

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बालबालिकाका लागि उपचार कक्ष, अपरेसन थिएटर तथा क्याथ ल्याब भवन बनाउन लगत इस्टिमेटसहित डिजाइन मन्त्रालयमा पेस गरिसकेको बताए । ‘४ देखि ५ करोड रुपैयाँ आवश्यक पर्छ । बजेट विनियोजित भएमा निर्माण थाल्छौं,’ उनले भने । राष्ट्रिय हृदय रोग केन्द्रको अध्यक्षमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ । अस्पतालको आम्दानी वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी छ । सरकारी अनुदान चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छ भने अस्पतालको कुल १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खर्च हुँदा तलब, भत्ता मात्रै झन्डै साढे ४० करोड रुपैयाँ हुने गरेको छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी मेसिन व्यवस्थापनतर्फ भन्दा पनि खरिद गर्नमा बढी रुचि राख्नाले समस्या हुने गरेको बताउँछन् । कमिसनको चक्करले पनि सार्वजनिक अस्पतालको सेवा कमजोर बनेको उनको भनाइ छ ।

प्रकाशित : पुस २६, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प

लाखौं बिल रूजु गर्न बिमा बोर्डमा जम्मा १२ कर्मचारी
भुक्तानी नपाएको भन्दै अस्पतालले रोक्न थाले डायलाइसिससहितका सेवा
प्रशान्त माली

काठमाडौँ — विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा २ अर्ब ४७ करोड परिचालन गर्ने जिम्मेवारी स्वास्थ्य बिमा बोर्डले पाएको छ । तर, जनशक्ति अभावमा बिल रुजु गर्न नभ्याएको भन्दै बोर्डले भुक्तानी रोक्दा अस्पतालले सेवा बन्द गर्न थालेका छन् । 

विपन्न नागरिकको उपचारका लागि सरकारले दिने रकम स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले भुक्तानी गर्दै आएको थियो । गत वैशाखदेखि सरकारले त्यो रकम पनि स्वास्थ्य बिमा बोर्डमार्फत दिन सुरु गरेपछि नियमित भुक्तानीमा समस्या देखिएको हो । देशभरका अधिकांश स्वास्थ्य संस्थाले साउनदेखिको भुक्तानी पाएका छैनन् ।

बिमा बोर्डबाट भुक्तानी नपाएको भन्दै केही साताअघि नेपालगन्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द नै गरेको थियो जहाँ मिर्गौलाका १ सय ५८ जना बिरामीले डायलाइसिस गराउँदै आएका थिए । मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी २०७७ भदौदेखि डायलाइसिस सेवा चलाउँदै आएको थियो । तर, सम्झौताअनुसार डेढ करोड रुपैयाँ नपाएको भन्दै उक्त कम्पनीले सेवा ठप्प पारेको हो ।

नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. रेशमबहादुर राणाले पटक–पटक अनुरोध गर्दा पनि भुक्तानी नपाउँदा यस्तो अवस्था आएको बताए । ‘विपन्न कोषको मात्रै होइन, बिमा रकम पनि ५/६ करोड रुपैयाँ पाउन बाँकी छ, अन्य सेवा पनि ठप्प हुने स्थिति नआओस्,’ उनले भने, ‘अस्पतालका नाममा लाखौं रुपैयाँ ऋण भइसकेको छ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगन्जलगायत ठूला अस्पतालमा पनि समस्या उस्तै छ । यी अस्पतालले विपन्न नागरिकको उपचार गरेबापत बोर्डबाट क्रमशः २ करोड ६१ लाख, २ करोड, ३ करोड ८२ लाख, ७ करोड र ३ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासन महाशाखा प्रमुख अशोककुमार साहले पुसभित्र पनि भुक्तानी नपाए सेवा ठप्प पार्न बाध्य हुने बताएका छन् । ‘स्वास्थ्य बिमाको पनि करोडौं रुपैयाँ भुक्तानी पाउन बाँकी छ,’ साहले भने ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रका लेखा प्रमुख मनोज विष्टले तत्काल अपरेसन गर्नुपर्ने बिरामी मर्कामा पर्लान् भनेर अस्पतालले आफ्नै स्रोतले खर्च धानिरहेको बताए ।

‘विपन्नबाट सेवा लिन आउने दैनिक १० देखि १५ जनामध्ये ८/१० जनाको अपरेसन नै गर्नुपर्ने अवस्था हुन्छ,’ उनले भने ।

सरकारले समयमा भुक्तानी नदिएकै कारण प्रदेश, जिल्ला, नगर तथा विभिन्न संघसंस्थाको समन्वयमा सञ्चालित स्वास्थ्य संस्थामा पनि सेवा अवरुद्ध बनेको छ । अहिले लुम्बिनी प्रदेशका विभिन्न डायलाइसिस सेन्टरमा मिर्गौलापीडित उपचारबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । बुटवलमा मुख्य कार्यालय रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पाको तानसेन–५ बन्दीपोखरा र दाङको लमहीसम्म शाखा विस्तार गरेर सेवा प्रदान गरेको छ ।


भरतपुर अस्पतालको डायलाइसिस युनिटबाहिर पालो कुरेर बसेका बिरामी । तस्बिर : रमेशकुमार/कान्तिपुर

दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालले सेवा दिएका छन् तर साउनदेखि मंसिरसम्मको गौतम बुद्ध अस्पतालले ५ करोड ८८ लाख ६ हजार र राप्ती प्रतिष्ठानले ३१ लाख रुपैयाँ नपाउँदा सेवा ठप्प हुने स्थितिमा पुगेको जनाएका छन् । गौतम बुद्ध अस्पतालअन्तर्गत डायलाइसिस सेन्टरहरूमा ४ सय ४३ जना मिर्गौला र मुटुरोगी उपचाररत छन् । अस्पतालले बिरामीको चाप हेरेर चौबिस घण्टे सेवा दिने गरेको छ । राप्ती प्रतिष्ठानमा १५ वटा मेसिनबाट ४५ बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन् ।

गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले समयमा भुक्तानी नगरेपछि बिरामीका लागि अत्यावश्यक डायलाइजर, ट्युबिङ, फिस्टुला, पार्ट ए, पार्ट बी, स्लाइन, हेपारिन, सिरिन्जजस्ता सामान थप किन्न नसक्ने अवस्था आएको बताए । ‘सेवा बन्द गर्ने अवस्था आएमा सातामै २ सय ५० भन्दा बढी बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने हुन सक्छ,’ उनले भने, ‘सरकारले अध्ययन र तयारीबिना बिमाको रकमसमेत समयमा भुक्तानी दिन नसक्ने बोर्डलाई विपन्न नागरिक उपचार कोषको जिम्मा दिनु गलत हो ।’

घोराहीस्थित राप्ती प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले अब पनि भुक्तानीमा ढिला गरेमा सेवा ठप्प पार्न अस्पताल बाध्य हुने बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ओम अर्यालका अनुसार आर्थिक अभावका कारण बिग्रिएको मेसिन मर्मत गर्न सकेको छैन । ‘चार वटा मेसिनले २१ जनालाई सेवा दिन बाध्य छौं,’ उनले भने ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले असोजबाट ५ वटा मेसिनमार्फत डायलाइसिस सेवा सुरु गरेको थियो । अस्पतालमा धादिङ, रसुवा, नुवाकोट र काठमाडौंदेखि पनि मिर्गौलापीडित डायलाइसिसका लागि आउने गर्छन् । अस्पताल विकास समिति त्रिशूलीका अध्यक्ष राजु पण्डितले समितिले खर्च बेहोरेर सेवा दिइरहेको बताए । त्रिशूली अस्पतालमा डायलाइसिसका लागि दैनिक ४–६ जना बिरामी आउने गरेका छन् ।

संघीय सरकारले मेसिन खरिद गरेर पठाएपछि धनगढीको सेती अस्पतालले आफ्नै व्यवस्थापनमा पाँच महिनादेखि डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ । विगतमा अस्पतालमा सेवा उपलब्ध नहुँदा बिरामीले कष्टकर यात्रा गरेर सहरका ठूला अस्पताल धाउनुपर्ने बाध्यता थिए । केही महिनामै पहिलेजस्तो अवस्था आउन लागेकामा कञ्चनपुरको पुनर्वास–१ का मिर्गौलापीडित श्याम चन्द चिन्तित छन् । उनी भन्छन्, ‘सबै बिरामीले सहज सेवा पाइरहेका थिए । अब फेरि उही समस्याले सताउने देखियो ।’

कैलाली गोदावरीका बिरामी कित्थी विकले उस्तै चिन्ता व्यक्त गरे । सेती अस्पतालमा उनीहरूजस्तै ९० जना मिर्गौलापीडितले उपचार गराइरहेका छन् । सेती अस्पतालका लेखा अधिकृत बलदेव कपाडीले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन लामो समय गर्न नसकिने भन्दै सरकारलाई चाँडै रकम उपलब्ध गराउन अनुरोध गरे ।

धनगढीस्थित निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पतालले पनि डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । खासगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा डायलाइसिस गराउने सुविधा छैन । मिर्गौलापीडितले डायलाइसिस गराउन धनगढी नै आउनुपर्ने बाध्यता छ । धनगढीमा घर, डेरा नभएका पहाडी जिल्लाका बिरामीलाई उपचार गराउन निकै खर्चिलो अवस्था छ । सेती प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाईमा कार्यरत जयराज जैसीले सेवा बन्द भएमा बढी मर्का दुर्गमका बिरामीलाई पर्ने बताए । ‘उनीहरूलाई यातायात खर्च र कोठा भाडाकै भार खेपिनसक्नु हुन्छ,’ जैसीले भने ।

सरकारले मिर्गौला बिरामीको उपचारका लागि प्रतिडायलाइसिस २ हजार ५ सय रुपैयाँ दिने गरेको छ । विपन्न नागरिक उपचार कार्यक्रममार्फत सरकारले मिर्गौला प्रत्यारोपण गर्न ४ लाख, अल्पकालीन रूपमा मिर्गौला काम नगरेको बिरामीलाई डायलाइसिसबापत १ लाख रुपैयाँ, प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधोपचार तथा प्रयोगशाला खर्चबापत १ लाख, प्रत्यारोपणपश्चात् १ लाख रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशालाबापत बढीमा ५० हजार, हेमोडायलाइसिस बढीमा साताको दुई सेसन र त्यसभन्दा बढी गर्नुपर्ने अवस्थामा प्रतिसेसन २ हजार ५ सय रुपैयाँ, संक्रमित भएका बिरामीलाई डायलाइसिस उपचार सेवाबापत प्रतिसेसन शोधभर्ना ४ हजार रुपैयाँ दिने व्यवस्था छ ।

त्यस्तै क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया रोग लागेकालाई १/१ लाख रुपैयाँ दिने प्रावधान छ । दीर्घ तथा घातक रोगको उपचार गरेबापतको रकम पनि समयमा नपाएको अस्पतालहरूले बताएका छन् ।

२०७२ मा स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता भुक्तानी नभएका कारण अस्पतालहरूले बिमा कार्यक्रम बेला–बेलामा स्थगित गर्दै आएका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७८ मंसिरमा बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । त्यसअघि असारमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जले ८ करोडभन्दा बढी रकम सरकारको स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी नपाएको दाबी गरेको थियो ।

विपन्नको उपचार गर्ने अस्पतालहरूको नवीकरण कुन निकायले गर्ने भन्ने व्यवस्था कार्यविधिमा नभएकाले अस्पताललाई भुक्तानी दिन समस्या भएको बताउँछन् स्वास्थ्य बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला । ‘विपन्न कार्यक्रमअन्तर्गत दिइँदै आएको कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बिमामा आबद्ध गर्ने कार्यविधि २०७८ बनाउँदा त्यस्तो उपचार गर्ने अस्पतालहरूको नवीकरण कुन निकायले गर्ने भन्ने कुरा उल्लेख गर्न छुटेछ । यही कारणले भुक्तानीमा समस्या भएको हो,’ उनले भने । तर तत्कालका लागि मन्त्रालयले नै नवीकरण गर्ने गरी पत्र प्राप्त भएको पनि उनले बताए ।

बोर्डमा जनशक्ति अभाव भएकाले पनि भुक्तानीमा ढिलाइ भएको उनले बताए । ‘दाबी भुक्तानीको रुजुलगायतको काम गर्ने जम्मा १२ जना मात्र कर्मचारी छन्,’ उनले भने, ‘अस्पतालहरूले नियमअनुसार प्रमाणित बिलहरू नराखी भुक्तानी माग गर्ने गरेकाले पनि अस्पतालहरूलाई रकम पठाउन ढिला हुने गरेको छ ।’ तैपनि गत भदौसम्मको भुक्तानी दिन बोर्डको तयारी रहेको उनले बताए ।

स्वास्थ्य बिमा बोर्ड स्वास्थ्य बिमा ऐन, २०७४ अनुसार स्थापना भएको स्वायत्त संस्था हो । बोर्डले आवश्यकताअनुसार कर्मचारी मात्र नभई विज्ञहरू पनि नियुक्त गर्न सक्छ तर विनियमावली बनाउन ढिला गर्दा बोर्डमा कर्मचारी थपिएका छैनन् । अहिले बोर्डको मुलुकभर ३ सय ८२ जना कर्मचारी छन् । सीमित संख्याका कर्मचारीले ७७ वटा जिल्लामा लागू भएको कार्यक्रमको बिललगायत कागजात रुजु गर्नुपर्छ ।

कार्यकारी निर्देशक डा. बसौलाका अनुसार थप ९ सय जना कर्मचारी आवश्यक छ । बोर्डका प्रशासन प्रमुख बाबुराम खनालले विनियमावली एक पटक बनाए पनि नमिलेका कारण फेरि बनाउनुपर्दा ढिलाइ भएको दाबी गरे । ‘चाँडै नै टुंग्याएर मन्त्रालय पठाउँदै छौं । ओ एन्ड एम सर्भे भइसकेको छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बोर्डका लागि दरबन्दी स्वीकृत भइसकेको बताए । ‘अब कर्मचारी नियुक्त गर्न बोर्डले मन्त्रालयसँग अनुमति लिइराख्नु पर्दैन,’ उनले भने ।

- रमेशकुमार पौडेल (भरतपुर), माधव अर्याल(पाल्पा), घनश्याम गौतम(दाङ),अर्जुन शाह (धनगढी) र प्रदीप मेन्याङ्बो (धरान)

प्रकाशित : पुस २२, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×