कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ मा सहभागी हुन नेपाललाई भारतको निम्तो

नेपालबाट उपप्रधान तथा अर्थमन्त्री पौडेलले सम्बोधन गर्ने तयारी
भारतले शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी देशलाई आमन्त्रित गरेको छ
जगदीश्वर पाण्डे

काठमाडौँ — भारतले पहिलो पटक आयोजना गर्न लागेको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ मा नेपालको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने भएका छन् ।

‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ मा सहभागी हुन नेपाललाई भारतको निम्तो

विदेश सचिव विनयमोहन क्वात्राले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतले यही पुस २८ र २९ मा नयाँ र युनिक पहलमा ‘विशेष भर्चुअल शिखर सम्मेलन गर्न लागेको जानकारी दिएका थिए ।

उक्त सम्मेलनमा सहभागी हुनको लागि भारतले नेपाललाई पत्राचार गरेको थियो । सोही पत्राचार अनुसार नेपालबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गर्ने तय भएको परराष्ट्र र अर्थ मन्त्रालय स्रोतले बतायो ।

उक्त ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ को विषयवस्तु ‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ रहेको छ । उक्त विषयमा ग्लोबल साउथका मुलुकहरुलाई साझा मञ्चमा आफ्ना दृष्टिकोण र प्राथमिकताहरु साझा गर्न एक साथ ल्याउने परिकल्पना स्वरुप समिट आयोजना गरिएको सचिव क्वात्राले बताएका थिए ।

क्वात्रा अनुसार यस शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी देशलाई आमन्त्रित गरिएको छ । भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार उक्त समिटको पहल प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ को दृष्टिकोणबाट प्रेरित भएको हो ।

भारतले भ्वाइस अफ ग्लोबल साउथ समिट छलफलमा साझेदार देशहरूबाट उत्पन्न विषयहरुको बारेमा गर्ने जनाएको छ । समिटमा दस सत्र हुने छन् । पुस २८ मा चार सत्र र २९ मा छवटा सत्र हुनेछन् । प्रत्येक सत्रमा १० देखि २० देशका नेता/मन्त्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।

नेपालका उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने २८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसको लागि अर्थ मन्त्रालयले भिडियो रेकर्डको तयारी गरिरहेको छ । पौडेलले करिब ५ मिनेट लामो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नयाँ दिल्लीबाट आएको निम्तोलाई परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाएको थियो । त्यहि अनुसार अर्थ मन्त्रालयले तयारी गरिरहेको छ ।

त्यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्ध नभएका राष्ट्रहरुलाई जी–२० मार्फत उनीहरुका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

‘यो जी–२० का सदस्यहरुसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरुका आवाजलाई पनि उत्तिकै महत्त्व दिँदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई अनुरुप रहेको छ,’ विदेश मन्त्रालले जनाएको छ ।

प्रकाशित : पुस २५, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?