अर्थतन्त्रका समस्या समाधानमा सरकार प्रभावकारी दिशामा अघि बढ्दै छ : प्रधानमन्त्री दाहाल 

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले युवा जनशक्तिलाई उत्पादन, रोजगारी तथा उद्यमका अवसरमा लगाउनु सरकारको चुनौती रहेको बताएका छन् । त्यस चुनौतीलाई सामना गर्नका लागि सरकारले तत्काल संरचनागत सुधार गर्ने जानकारी दिएका छन् । 

अर्थतन्त्रका समस्या समाधानमा सरकार प्रभावकारी दिशामा अघि बढ्दै छ : प्रधानमन्त्री दाहाल 

सोमबार काठमाडौंमा आयोजित ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार सुरु गर्ने कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक्तालाई सरकारले सम्बोधन गर्ने बताएका हुन् ।

'यो आवश्यक्तालाई बुझेर पहिलो मन्त्रिपरिषद्‌बाट नै अर्थतन्त्र सुधार्ने निर्णय गरेका छौं । अर्थतन्त्तलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरक रुपमा घनीभूत गराउने निर्णय लिएका छौं । अर्थतन्त्रका समस्या समाधानका लागि हामी छिटो, छिटो प्रभावकारी दिशामा अघि बढ्दैछौं,' उनले भने, 'सरकारको न्यूनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारिएको छ । सुशासन, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तर निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।'

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

वित्तीय सेवाहरूको बिस्तारमा डिजिटल बैंकिङको अवधारणा भित्रिएको भन्दै प्रधानमन्त्री दाहालले त्यसको सही गर्दै बहुभाषिक र बहुसांस्कृतिक ढंगले बैंकिङ सेवा विस्तार गर्न जोड दिए । ‘बैंक तथा वित्तिय संस्थाहरु देशको आर्थिक गतिशीलताका संवाहक हुन् । बैंकिङ क्षेत्रको बिस्तार सुदृढीकरणले दिएको अवसरको सही उपयोग गर्नसके ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्रलाई गति मिल्नेछ । आम नागरिक र व्यवसायीहरुको उत्थानशीलता समेत बढ्नेछ,' उनले भने, 'हामी सुशासन कायम गर्दै उच्च विकासतर्फ समृद्धि हासिल गर्ने दिशामा अघि बढीरहँदा यसको निमित्त परिचालन हुनसक्ने निक्षेप बाहेकको श्रोत पनि महत्वपूर्ण रहन्छ । देशमा रेमिट्यान्सको योगदान बढ्दै जाँदा रेमिट्यान्सको कारोबारलाई भरपर्दो र सुरक्षित गर्नसमेत बैंक क्षेत्रको ठूलो भूमिका रहेको छ । अब ठूला परियोजनामा मात्र होइन, नविनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी छ ।'

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह गरेका थिए । ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरूको मनोबल बढ्ने उनको भनाइ थियो । त्यकास लागि भूमिका खेल्न ग्लोबल आईएमई बैंकले अग्रता लिनुपर्ने उनको आग्रह थियो ।

मुख्यसचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक संकेत देखखापरेका बताए । उनले अर्थतन्त्रका सूचकहरूमा सुधार आएको बताउँदै दुई बैंकबीचको मर्जरले अर्थतन्त्रमा राम्रो योगदान दिने बताए । उनले भने, 'निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन । सरकारले साथ दिनेछ, दिँदै आएको छ । निजी क्षेत्रको मनोबल कसरी अघि बढाउने भन्नेमारेमा प्रधनमन्त्रीको प्राथमिकता छ । निजी क्षेत्रले मनोबल उठाएर एक जुट भइ काम गर्ने हो भने लगानी प्रवर्द्धन गर्ने कुरामा इच्छित कुरा प्राप्त गर्नेछौँ ।'

प्रकाशित : पुस २५, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?