चेपुवामा महिला मन्त्रालय- समाचार - कान्तिपुर समाचार

चेपुवामा महिला मन्त्रालय

मन्त्रालय टुक्र्याएर तथा अस्वाभाविक पद सिर्जना गरेर राजनीतिक भागबन्डा पुर्‍याउने प्रवृत्तिले महिला मन्त्रालयको कार्यसम्पादन प्रभावहीन
विद्या राई

काठमाडौँ — सात वर्षअघि काठमाडौंको शंखरापुरमा निर्माणाधीन ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’को अनियमितता मुद्दा अझै किनारा लागेको छैन । ग्राम निर्माण गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘संकल्प नेपाल संस्था’ लाई ०७०/७१ र ०७१/७२ मा ६ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


यो विवादमा मुछिएकी संकल्प नेपालकी तत्कालीन अध्यक्ष कमला पराजुली हाल राष्ट्रिय महिला आयोग अध्यक्ष छिन् । अनियमितता छानबिनको माग गर्दै उच्च अदालत पाटनमा परेको रिट फैसला भएको चार महिना बितिसकेको छ ।

रिट फैसला भएको गत भदौ १ गते सत्यतथ्य छानबिन गर्न पाटन अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनात्मक आदेश दिएको थियो । ज्येष्ठ नागरिक ग्राम बनाउने नाममा राज्यकोष दुरुपयोग भएको विषयमा पत्रपत्रिकामा प्रकाशन भएर, स्थानीयबाट दबाब आएपछि गतवर्ष नियुक्ति पाएको एक महिनाभित्रै महिलामन्त्री उमा रेग्मीले छानबिन समिति बनाएर अध्ययन गराएकी थिइन् । स्थलगत अध्ययन गरेर समितिले बुझाएको प्रतिवेदन एक वर्षभन्दा बढी भइसक्दा पनि सार्वजनिक नगरेरै रेग्मी मन्त्रालयबाट बिदा भइसकिन् ।

सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार मन्त्रालयलाई महिला, बालबालिका तथा समाज कल्याणसम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनका साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका कार्यक्षेत्र १२ बुँदामा तोकिएका छन् । यसभित्र संवैधानिक निकाय राष्ट्रिय महिला आयोग पनि मन्त्रालयको जिम्मेवारीमा पर्छ । तर करोडौंको संरचना निर्मार्ण अनियमिततामा मुछिएकी व्यक्ति आयोग अध्यक्षमा रहेको विषयलाई मन्त्रालय र सरकारले अदेखा गर्दै आएका छन् ।

सरकार गठन क्रममा मन्त्रालय टुक्र्याएर तथा अस्वाभाविक पद सिर्जना गरेरै भए पनि राजनीतिक भागबन्डा पुर्‍याउने पुरानै प्रवृत्तिले गर्दा महिला मन्त्रालयको कार्यसम्पादन प्रभावहीन बन्न पुगेको समाजशास्त्री मीना पौडेल बताउँछिन् । विश्वभरका महिलाको अधिकारका लागि ‘बेइजिङ सम्मेलन’ बाट फर्केपछि सरकारले ०५२ असोज ६ गते महिला मन्त्रालयको स्थापना गरेको थियो । स्थापनाकालमा ‘महिला तथा समाज कल्याण मन्त्रालय’, ०५७ मा ‘महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय’ हुँदै ०७५ सालदेखि ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’ बन्यो । ०५२ असोज ६ देखि पछिल्लो नवगठित सरकारसम्म आइपुग्दा महिला मन्त्रालयले ४७ मन्त्री पाइसकेको छ । जसमध्ये १५ पटक तत्कालीन प्रधानमन्त्री र २ पटक उपप्रधानमन्त्रीले महिला मन्त्रालयको जिम्मेवारी लिए । पहिलो महिला मन्त्री तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि ४६ औं मन्त्री उमा रेग्मीको कार्यकालसम्म मन्त्रालयले २४ वर्ष ३ महिना ७ दिन मन्त्री पाएको थियो, जसमध्ये ५ वर्ष २३ दिन प्रधानमन्त्री र उपप्रधानमन्त्रीले कार्यभार आफैंसित राखे । ०५४ मंसिर १८ देखि ०७८ मंसिर ३ सम्म १४ राज्यमन्त्री, ०५२ मंसिर २३ देखि ०६३ वैशाख १९ सम्म ५ सहायकमन्त्रीसमेत भएका थिए ।

‘बेइजिङ सम्मेलनमा गएर बोलेर आएको भएर मन्त्रालय स्थापना गरेको हो, दातृ निकायलाई देखाउन र महिलालाई हाम्रो मन्त्रालय छ भनेर भ्रममा पार्ने काम मात्रै भएको छ,’ समाजशास्त्री पौडेल भन्छिन्, ‘नेपाली समाजमा महिलाको स्थिति जहाँ छ, राज्य संरचना पनि उस्तै छ ।’

महिला मन्त्रालयको वेबसाइटमा उपलब्ध ऐन, नियमावली, नीति, निर्देशिका/कार्यविधि, मापदण्ड, कार्ययोजना तथा कार्यप्रगति ९८ वटामध्ये ०७० सालअघि बनेका ३० वटा छन् । जसमध्ये अपांगता भएका व्यक्तिको राष्ट्रिय नीति २०७८ मस्यौदामा रहेको उल्लेख छ । अपांगताको क्षेत्रमा काम गर्दै आएका राजु बस्नेतले महिला मन्त्रालयको क्षेत्रभित्र पर्ने कम्तीमा पाँच वटा नीतिगत काम १० वर्षदेखि मस्यौदामै रहेको बताए । उनका अनुसार अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त प्रणालीसम्बन्धि निर्देशिका २०७८’ गत वर्ष पुनर्लेखन भए पनि पारित भएको छैन । अपांगता भएका व्यक्तिको राष्ट्रिय कार्ययोजना ०६३ देखि ०७२ को अध्यावधिक कार्ययोजनाको मस्यौदा चार पटक बनिसकेको छ । उक्त १० वर्षे नयाँ कार्ययोजना नबन्दा अपांगताको क्षेत्रमा सरकारको लक्ष्य स्पष्ट छैन । अपांगता भएका व्यक्तिको वृत्तिविकास र सहायतामा समस्या परेको छ । अपांगता भएका व्यक्तिका लागि ०७४ मा बनेको ऐन कार्यान्वयन नियमावली तीन वर्षपछि बन्यो तर ०५१ सालको नियमावलीको तुलनामा सेवासुविधा कटौती गरिएको भन्दै सर्वोच्च अदालतमा एक वर्षअघि रिट नै परेको छ ।

महिला मन्त्रालयका सचिवसमेत रहिसकेको खगराज बरालले मन्त्रालयले राज्यको खर्च भार थप्ने काम मात्र गरिरहेको बताए । ‘मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता र संघसंस्था हेर्ने हो, तर यी सबै काम अरू मन्त्रालयसँग अन्तरसम्बन्धित छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र भएकाले नेपालले महिला मन्त्रालय, विभाग बनायो भन्ने त भयो, तर स्थानीय तहले गर्ने काम महिला मन्त्रालयले गरेर बसेको देखिन्छ । नीति बनाउने भन्यो साना कार्यक्रम बनायो, जिल्ला घुमेर आयो, साधारण खर्च मात्रै बढ्यो ।’

पूर्वमन्त्री कमला पन्त महिला मन्त्रालयको कार्यक्षेत्र ठूलो भए पनि काम देखाउनका लागि बजेट र सेवाग्राहीसम्म संरचना नहुँदा कमजोर देखिन पुगेको बताउँछिन् । ‘महिला मन्त्रालयलाई फालिएकै मन्त्रालयको नजरले हेरिन्छ,’ उनले भनिन्, ‘पहिले जिल्लाजिल्लामा महिला तथा बालबालिका कार्यालय थिए, योजना कार्यक्रम थिए, अहिले ती छैनन्, बजेट छैन, स्थानीय तहले जिम्मेवारीबोध लिएका छैनन् ।’ पछिल्लो पाँच वर्षको सरकारको बजेट वक्तव्य हेर्ने हो भने महिला मन्त्रालयको कुल वार्षिक बजेट एक अर्ब हाराहारी हुने गर्छ ।

महिला मन्त्रालयसित समाज कल्याण परिषद्, बालकल्याण, वृद्धाश्रम लगायतको नीति, कानुन बनाउने, नियमन गर्ने अधिकार रहन्छ । तर समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डपलगायत स्थानका सरकारी जग्गाको भाडा, कर्मचारी भर्ना, दातृ निकायका परियोजना सञ्चालन जस्ता विषयमा मन्त्रालय विवादित बन्दै आएको छ ।

प्रकाशित : पुस २५, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

हतारको बिहेले पछुतो

देशभर गर्भवतीमध्ये १५–१९ वर्ष उमेर समूहका १४ प्रतिशत, कर्णाली प्रदेशमा २१ प्रतिशत, मधेसमा २० प्रतिशत
विद्या राई

काठमाडौँ — दुई वर्षअघि एसईई दिएपछि मुगु ताल्चाकी अस्मिता रावल र सदरमुकाम गमगढीनजिकै भामवाडाका सोविन्द्र रावलले भागी विवाह गरे । अस्मिता १६ र सोविन्द्र १८ वर्षका थिए । अहिले उनीहरू १६ महिनाकी छोरीको बाआमा भइसके ।

विवाह गरेपछि पढाइलाई निरन्तरता दिइरहेका भए पनि घरायसी मामला झेलिरहनुपर्दा बेलाबखत पछुतो भइरहन्छ अस्मितालाई । मंसिर अन्तिम साता उनकै घरको भेटमा भनिन्, ‘सानै उमेरमा बिहे गरियो, पहिला पढौंभन्दा दिमाग गएन । अहिले छोरी सम्हाल्नुपर्छ, घर सम्हाल्नुपर्छ, ढुक्कैले पढ्न भ्याइँदैन ।’ सासूससुरासितको संयुक्त परिवारबाट अलग भइसकेका छन् रावल दम्पती । ऐच्छिक नेपाली विषय लिएर कक्षा ११ मा पढिरहेकी उनी माइती अथवा सासूससुरालाई छोरी हेर्न लगाएर स्कुल जान्छिन् । सन्तानको सुख र घरव्यवहार धान्न उनका पति भने वैदेशिक रोजगारीमा जाने तरखर गर्दै छन् । ‘बुबाआमाले पनि खेतीपाती गरेरै जीवन बिताउनुभो, यस्तै भो,’ उनले भने, ‘अब हामीले छोरीको राम्रोको लागि पढाइ, लेखाइ गराउनुपर्‍यो, यहाँ रोजगारी नभएपछि विदेश जानैपर्ने भयो ।’

रावल दम्पतीको जस्तै उमेर नपुग्दैको विवाहले किशोरकिशोरीको शिक्षा प्राप्तिमा मात्रै होइन, उमेर नपुग्दै वयस्कहरूले जसरी सन्तान र परिवारको जिम्मेवारी सम्हाल्नुपर्ने हुदा सर्वाङ्गीण विकासमा नै अवरोध पुग्ने गर्छ । जनगणना–२०६८ अनुसार मुगु जिल्लामा कुल विवाहितहरूमध्ये ५७.०१ प्रतिशत १९ वर्षभन्दा कम उमेरका छन् । कम उमेरको विवाहदर बालकको तुलनामा बालिकाको दर झन्डै दोब्बर (६४.५२ प्रतिशत) छ । यहाँका विवाहित महिलाहरूले १५ देखि १९ वर्षको उमेरमै तीन सन्तान जन्माइसकेका हुन्छन् । हालै प्रकाशित ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२’ ले पनि १४ प्रतिशत महिला १५ देखि १९ वर्ष उमेर समूहका गर्भवती हुने गरेको देखाएको छ । प्रतिवेदन अनुसार १५ देखि १९ वर्षका गर्भवती किशोरीहरू सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र मधेस प्रदेशमा २० प्रतिशत छन् । वाग्मती प्रदेशमा ८ प्रतिशत छ । २०७६ मा महिला, कानुन र विकास मञ्चले तयार पारेको ‘बालविवाहविरुद्धको अधिकार’ सम्बन्धि सामाग्रीमा नेपालमा बालविवाहको दर बासस्थान, भौगोलिक क्षेत्र, शैक्षिकस्तर, घरपरिवारको आम्दानीको स्तर, जातजातिका आधारमा फरक छ । मुख्य गरी ग्रामीण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी छ । बालविवाहले गर्दा गरिबी र घरेलु दासत्वको दुष्चक्र चलिरहन्छ । विवाहको असर बुझे पनि सहमति जनाउने क्षमता हुँदैन ।

मुलुकी अपराध संहिता-२०७४ ले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । यसरी उमेर नपुगी विवाह गर्न/गराउन पाइँदैन । बालविवाह गरिसकेपछि गैरकानुनी हो भन्ने थाहा पाएकाहरू अपरिचितहरूसँग झट्टै खुल्दैनन् । अस्मिताले थपिन्, ‘पहिले ख्याल गरिएन, कानुन लाग्छ भन्ने बिहे गरिसकेपछि थाहा भयो । छोरी नि भइसकी बिहे फिर्ता गर्न मिलेन ।’ स्वास्थ्य सर्वेक्षणअनुसार अशिक्षित ३३ प्रतिशत र केही माध्यमिक शिक्षा लिएका ८ प्रतिशत महिलाहरूले १५ देखि १९ वर्षको उमेर समूहमा बच्चा जन्माउने सम्भावना बढी हुन्छ । ‘यसको असर महिलामा बढी हुन्छ, किनकि किशोरावस्थामै गर्भधारणपछि शिक्षा छुट्ने भो । महिलाको आर्थिक सशक्तीकरण हुन पाउँदैन, परनिर्भर हुनुपर्छ, यसले लैगिक हिंसा निम्त्याउँछ,’ महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा बालविवाहविरुद्धको अधिकारसम्बन्धी सामग्री लेखकहरूमध्येका सविन श्रेष्ठले भने, ‘विवाह दर्ता, बच्चाको जन्मदर्ता नहुने हुँदा कानुनी लडाइमा कठिनाइ भइदिन्छ । आङ खस्नेजस्ता प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, मातृमृत्युको उच्च जोखिम हुन्छ ।’

मानव विकास सूचकांकसम्बन्धी दुई वर्षअघि प्रकाशित प्रतिवेदनअनुसार प्रदेशहरूमध्ये कर्णालीमा सबैभन्दा बढी लैगिक असमानता सूचकांक ०.५५८ छ । कर्णाली प्रदेशमै बाल मृत्युदरमा सबैभन्दा बढी कुपोषणले १५.१ प्रतिशत गर्दा हुने गर्छ । सातै प्रदेशहरूमध्ये मधेस प्रदेश र कर्णालीमा बहुआयामिक गरिबी बढी छ । राष्ट्रिय योजना आयोगको गत वर्षको बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनअनुसार सातै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी गरिबी ३९.५ प्रतिशत छ । ७ वर्षअघि विवाह गरेका २६ वर्षीय रूपकर्ण थापा यही गरिबीको जालोमा छन् । खेतीकमाइले तीन महिना खान पुग्दैन । ग्रामीण पहुँच कार्यक्रमको सडक निर्माण योजनामा स्टोर किपरको कार्यअवधि सकिएपछि परिवारको पालनपोषणमा समस्या बल्झिएको छ ।

गमगढीदेखि पारि रुगाँ गाउँका थापाले १९ वर्षकै उमेरमा विवाह गरेका थिए । दुई छोरी र एक छोराका बाबु भइसके । कान्छी छोरी ३५ दिनकी भइन् । ‘घरपरिवार पाल्न, बच्चाको पढाइ खर्च जुटाउन मैले कमाउनुपर्छ, गाउँमा रोजगारी छैन, अब विदेश जाने सोचमा छु,’ उनले भने । उनले यसो भनिरहँदा सानै उमेरमा विवाह गरेर गल्ती गरेको भाव देखाउँथे । आठ वर्षअघि मुगुमा कार्यक्रम गर्न पुगेका संघसंस्थाका कर्मचारीहरूसित भेट्दा उनीहरूले आफूलाई पढ्न उक्साएको कुरा बेवास्ता गरेकामा दुःख माने । ‘यहाँ आएको सरहरूले पढ्न काठमाडौं जाऔं भन्नुभएको थियो, बिहे गरियो, पढाइ छुट्यो,’ थापाले भने, ‘अहिले पछुतो लागिरहेको छ । पढेको भए शिक्षक सेवातिर तयारी गर्न सकिन्थ्यो ।’ उनले एसईई उत्तीर्ण गरेका छन् । कक्षा ११ मा थिए तर पोहोर परीक्षा दिने बेलैमा आमा बितेपछि पढाइ रोकियो । उनकी श्रीमती २४ वर्षकी भइन् । उनले पनि पढाइलाई निरन्तरता दिन पाइनन् ।

प्रकाशित : पुस १९, २०७९ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×