१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेसलाई प्रतिपक्ष बन्न केको डर ?

दाहाललाई कांग्रेसले विश्वासको मत दिए प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन, देउवाले संवैधानिक नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद् सदस्य बन्ने मौका पनि गुमाउने

काठमाडौँ — आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर एकाएक सत्ताबाट विमुख बन्न पुगेको कांग्रेसलाई प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने निर्णय लिन धौधौ भएको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गर्‍यो भने कानुनी रूपमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ, शक्ति सन्तुलनका लागि कायम गरिएको व्यवस्थाका कारण संवैधानिक संरचना पनि कमजोर हुने जोखिम बढ्नेछ ।

कांग्रेसलाई प्रतिपक्ष बन्न केको डर ?

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । विश्वासको मत दिँदा एमालेसँग माओवादीलाई अलग गराएर सत्ता बदल्न सकिने उनीहरूको तर्क छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । उनीहरू दाहाललाई विश्वासको मत दिँदा पार्टी अर्को दुर्घटनामा पुग्ने चेतावनी उनीहरूले नेतृत्वलाई दिँदै आएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत दिँदा राष्ट्रपति र सभामुखको निर्वाचनमा नयाँ ध्रुवीकरण गर्न सकिने आशा कांग्रेस नेतृत्वमा छ । एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिने आधार बनाउन माओवादीले समेत कांग्रेसलाई विश्वासको मतका पक्षमा तान्न खोजिरहेको नेताहरूको भनाइ छ । गैरवामपन्थी ध्रुवीकरण गराएर विश्वासको मत लिँदा नै सत्ता बदल्ने प्रयास असफल भएपछि देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने दोस्रो विकल्पमा जाने प्रयासमा छन् ।

महामन्त्री शर्माका अनुसार सरकारलाई विश्वासको मत दिनुपर्छ भन्नुका पछि पार्टीभित्र दुई खाले धारणा छन् । पहिलो, प्रधानमन्त्री दाहालसहित माओवादीका सांसदहरू कांग्रेसको मतबाट समेत चुनिएको भन्ने सैद्धान्तिक भनाइ छ । दोस्रो, भविष्यमा सँगै हुन सकिन्छ, त्यसैले विश्वासको धागो बाँधिरहन विश्वासको मत दिनुपर्छ भन्ने तर्क छ । शर्मा भने कांग्रेस प्रमुख प्रतिपक्षकै हैसियतमा बस्ने बताउँछन् । ‘कुनै पदसँग साटेर कांग्रेसले विश्वासको मत दिने कुरा हुन्न । सही तरिकाले होस् वा गलत तरिकाबाट, अहिलेको अवस्थामा कांग्रेस प्रतिपक्षमा छ,’ उनले भने, ‘भोलिका दिनमा सरकार र संसद् विघटन हुने अनि राजनीतिक अस्थिरतातिर मुलुक जाने अवस्था बन्यो भने हाम्रो सहमति वा विश्वास बाहिरबाट सरकार बने पनि ०५१ मा मनमोहन अधिकारीलाई दिए जस्तै विश्वासको मत दिन सकिन्छ । तर अहिले त्यो खालको परिस्थिति छैन ।’ महामन्त्री शर्माले कामका लागि दाहाल सरकारलाई ‘साथ र हात’ दिन सकिने भए पनि कांग्रेस प्रस्टसँग प्रमुख प्रतिपक्षमा बस्नुपर्ने बताए ।

पार्टीभित्रका अनेक विरोध झेल्दै चुनावी गठबन्धनमा होमेर कांग्रेसलाई पहिलो दल बनाउँदा पनि सत्ताबाट विमुख हुनुपर्दा सभापति देउवा पछुताइरहेको र निकट भविष्यमै फेरि सत्तामा जान सकिन्छ भन्ने आशा उनमा रहेको संस्थापन पक्षका एक नेताले बताए । ‘सभापतिले सत्तामा चाँडै फर्कन्छौं भनेर नेता तथा कार्यकर्तालाई ढाडस दिइरहनुभएको छ,’ उनले भने, ‘सत्ता फुटबलकै एउटा खेलको रूप हो, मैदानभित्र छिरेपछि मात्रै खेल्न सकिन्छ भन्ने सोच उहाँमा परेको छ वा कुनै शक्तिले पारिदिएको छ ।’ यसमा रामचन्द्र पौडेल, शेखर कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितको दोस्रो तहका अधिकांश नेता सकारात्मक रहेको उनको भनाइ छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने विश्वासको मत दिने विषयमा पार्टीभित्र बृहत् छलफल भइनसकेको बताए । उनले मंगलबार बस्ने संसदीय दलको बैठकले निर्णय लिने र त्यसअघि पार्टीभित्र बृहत् छलफल हुने बताए । ‘विश्वासको मत दिने नै भनेर औपचारिक निष्कर्षमा कांग्रेस पुगेको छैन । पार्टीभित्र सामूहिक छलफलबाट निर्णय हुन्छ,’ उनले भने, ‘सत्तामा आउने स्थिति छ वा बनाउन सकिन्छ भने एउटा अवस्था हुन सक्छ, नत्र कांग्रेस विपक्षीमै हुन्छ ।’

‘संघीय संसद्मा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ ले संसद्मा न्यूनतम १० प्रतिशत हैसियत भएकामध्ये सबैभन्दा बढी सदस्य रहेको दल प्रमुख प्रतिपक्ष बन्ने व्यवस्था छ । मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठनमा समर्थन गर्ने दलले त्यस्तो हैसियत पाउन सक्दैन । संसद्मा १० प्रतिशत अर्थात् २८ जनाभन्दा बढी सांसद भएको राजनीतिक दल कांग्रेस, एमाले र माओवादी मात्रै छन् । एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री भइसकेका छन् भने कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिँदा संसद्मा कानुनी रूपमा प्रमुख प्रतिपक्ष रहँदैन ।

संवैधानिक निकायहरूको नियुक्तिमा सन्तुलन मिलाउन प्रमुख प्रतिपक्षी दलका नेतालाई संवैधानिक परिषद्को सदस्य राख्ने संवैधानिक व्यवस्था छ । संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने मुख्य भूमिका संवैधानिक परिषद्को हुन्छ । विश्वासको मत दिए कांग्रेस सभापति देउवाले त्यस्तो हैसियतसमेत गुमाउनेछन् । ‘सरकारलाई विश्वासको मत दिएको खण्डमा कांग्रेसले कानुनी रूपमा प्रमुख प्रतिपक्षीय हैसियत गुमाउँछ,’ संविधानविद् तथा कांग्रेस नेता राधेश्याम अधिकारीले भने, ‘उसको भूमिका पनि खुम्चिन्छ ।’ उनले लोकतन्त्रको सबलीकरण र सुदृढीकरणका लागि संसद्मा प्रमुख प्रतिपक्षको भूमिका सशक्त हुनुपर्ने बताए । ‘सरकारलाई उत्तरदायी र जिम्मेवार बनाउने, सरकारका गलत कामकुरालाई रोक्न कोसिस गर्ने, जनतामाझ गएर सजग बनाउने भूमिका प्रमुख प्रतिपक्षको हो,’ अधिकारीले भने, ‘संसद्मा खवरदारी गर्न चुक्दा अमेरिका जस्तो देशलाई त अप्ठ्यारो पर्दोरहेछ भने हाम्रोमा त कुरै भएन ।’

अधिकारीले विश्वासको मत दिनुको अर्थ सरकारलाई खबरदारी गर्ने कोही हुन्न भन्नचाहिँ नमिल्ने बताए । ‘केवल म प्रतिपक्ष हुँ भन्ने हैसियत रहँदैन,’ उनले भने, ‘जनताका सरोकारका विषय र सरकारका गलत कामकारबाहीको विषय सत्तारूढ दलकै हरेक सांसदले उठाउन सक्छन् । विश्वासको मत दिएपछि कांग्रेसको त्यस्तो भूमिका नै कमजोर हुन्छ भन्ने होइन ।’

कांग्रेसका केही नेता भने विदेशी शक्तिले नेताहरूको सत्ता आकांक्षामाथि खेलेर पार्टीलाई अर्को दुर्घटनातिर लैजाने प्रयास गरेको बताउँछन् । उनीहरूका अनुसार एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद दिन हुन्न भन्ने आधारमा भारतीय पक्षले कांग्रेस नेतृत्व र शीर्ष तहका केही नेतासँग सरकारलाई विश्वासको मत दिलाउन ‘लबिइङ’ बढाइरहेका छन् । नेतृत्व र केही शीर्ष नेता भारतकै पक्षमा लागेर तरंगित बन्ने गरेको एक नेताले बताए । ‘राष्ट्रपति वा सभामुख पदलाई विश्वासको मतसँग साट्न कदापि मिल्दैन । एमाले र माओवादीबीचको तीनबुँदे समझदारी भत्किएर अर्को राजनीतिक परिस्थिति खडा भए सरकारलाई विश्वासको मत दिन सकिन्छ,’ प्रमुख प्रतिपक्षमा बस्नुपर्ने अडान लिँदै आएका अर्का एक नेताले भने, ‘अहिले त्यस्तो परिस्थिति छैन । पार्टीलाई अर्को बुमर्‍याङ बनाउने काममा हाम्रा नेताहरू नफसुन् ।’

पाँचदलीय गठबन्धन जोगाउन नसकेर ठक्कर खाएका सभापति देउवा यसपटक आफ्नो बलमा मात्रै निर्णय गराउने पक्षमा देखिएका छैनन् । सबैसँग उनले परामर्श गरिरहेका छन् ।

प्रकाशित : पुस २५, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?