राजकुमार ह्यारीको बायोग्राफी विद्रोह

मंगलबार सार्वजनिक हुने ह्यारीको पुस्तक ‘स्पेयर’ ले खुलासा गरेका रहस्यमय पाटाबारे जान्न सर्वसाधारणहरु व्यग्र प्रतीक्षारत छँदै छन्, खुलासा भएका सीमित प्रसंगले नै बेलायती राजसंस्थालाई विवादमा भुमरीमा धकेलेको छ 
घनश्याम खड्का

काठमाडौँ — नयाँ वर्षको हर्ष र उल्लासमा विश्व समुदाय झुमिरहेका बेला बेलायती राजपरिवारमा भने निकै सन्नाटा छाएको छ । राजकुमार ह्यारीको सार्वजनिक हुन लागेको पुस्तक ‘स्पेयर’ ले दरबारभित्रका नखुलेका पाटाको खुलासा गरेका खबरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका हेडलाइन भरिएका छन् । तर दरबार भने यसबारे प्रतिक्रियाविहीन देखिएको छ । 

राजकुमार ह्यारीको बायोग्राफी विद्रोह

मंगलबार सार्वजनिक हुन लागेको पुस्तकको प्रतीक्षा कतिसम्म छ भने विश्वबजारमा एकैपटक आएको माग धान्न कठिन भएको वितरकहरूले प्रतिक्रिया दिन थालेका छन् । भनौं, वर्षौंपछि पूरै संसारले कुनै पुस्तक बजारमा आउने दिनलाई यति अधैर्य भएर पर्खिरहेको छ । यसअघि पुस्तक बिक्रीको दुनियाँमा तहल्का मच्चाएको जेके रोलिङको तिलस्मी पात्र ह्यारी पोर्टरका शृंखलाले पाठकलाई यस्तै कुतकुती लगाउँथे । पुस्तक बजारमा आउनुअघि नै प्रकाशकलाई लाखौंको संख्यामा अग्रिम खरिदका प्रस्तावहरू आउँथे । अहिले राजकुमार ह्यारीको पुस्तक स्पेयरले त्यसलाई माथ गरिदिएको छ । विशुद्ध स्वैरकाल्पनिक कथाकुथुंग्रीले जेलिएको ह्यारी पोर्टर र सनसनीपूर्ण खुलासाले भरिएको राजकुमार ह्यारीको जीवनी पढ्ने पर्खाइले ल्याएको हुटहुटीबीच आकाशजमिनको फरक छ । ह्यारी पोर्टरले कल्पनाको तिलस्मी संसारमा रमाउने पाठकलाई तताएको थियो भने राजकुमारको पुस्तकले बकिङ्घम दरबारका अग्ला पर्खालहरूभित्रको गुप्त रहस्य जान्ने लोभले मानिसलाई व्यग्र पारिदिएको छ ।

स्पेयर एकै पटक १६ भाषामा आउन लागेको छ, जसको अंग्रेजी संस्करणको मूल्य ८२ पाउन्ड (१३ हजार ११८ रुपैयाँ) पर्छ । पुस्तक महँगो भए पनि बिक्रेताहरूले चाहेजति संख्यामा पाउन सकिरहेका छैनन् । आखिर पुस्तकमा त्यस्तो के छ ? जे पढ्नका लागि मानिसहरू यतिबिघ्न आतुर छन् ? पुस्तकभित्रका सामग्रीबारे टिप्पणी गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्यारीको आत्मकथामा बेलायती राजपरिवारभित्रको आपसी घृणा, स्वार्थ र वैमनस्यताका अचम्म लाग्दा किस्सा छन् ।

ह्यारीलाई सिंहासनको उत्तराधिकारी उनका दाजु विलियमले सन् २०१९ दरबारभित्रै पिटेको सनसनीखेज खुलासा पुस्तकको सामग्रीलाई सबभन्दा पहिले बेलायती अखबार गार्जियनले सार्वजनिक गरेको थियो ।

ह्यारीका अनुसार विवाद बढ्दै गएपछि विलियमले उनलाई कठालामा समातेर भुइँमा पछारिदिएका थिए भने उनकी पत्नी मेघनलाई ‘अप्ठ्यारी, अशिष्ट, खस्री’ आइमाई भनेर गालीगलौज गरेका थिए ।

प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसले लामो तयारी र ठूलो व्यापारिक चाखका साथ सावधानीपूर्वक सार्वजनिक गर्न लागेको पुस्तकमा अरू पनि निकै चाखलाग्दा विवरण छन् । जनवरी १० अगाडि कुनै पनि हालतमा बजारमा उपलब्ध नगराउने प्रकाशक संस्थाको ‘कडा सावधानी’ का बाबजुद गार्जियनले एक प्रति हात पारेपछि छापिएको समाचारले एकाएक ह्यारीको जीवनकथाबारे विश्वव्यापी चासो तानेको हो । प्रकाशककै स्पष्टीकरणलाई पत्याउने हो भने स्पेनमा केही दिनयता जनवरी १० भन्दाअघि नै ‘भूलवश बिक्री नै हुन थालेको’ पुस्तक विश्वका अरू सञ्चारमाध्यमले रातारात उठाएर यसबारे अहिले एक सय एक सनसनीखेज समाचार बनाउन थालेका छन् ।

पुस्तकको शीर्षक स्पेयर अर्थात् जगेडा बेलायती राजपरिवारको रिवाजसँग जोडिएर राखिएको छ । राजाको जेठो छोरा राज्यको हकदार हुने तर अरू छोराले चाहिँ केही नपाउने चलन छ । कथाचित जेठोको मृत्यु भएमा वा उत्तराधिकारीको क्रमबाट झिकिन पुगेमा उसपछिको भाइले राज्य पाउँछ । राजा बन्न पाउँला कि भन्ने थोरै आस र पाउँदिन भन्ने ठूलो विश्वासले ऊ अनेक द्वन्द्वबाट गुज्रन्छ र नानाभाँती काम गर्न पुग्छ । ह्यारीको पुस्तक पढ्दा उनी पनि त्यही भुमरीबाट गुज्रन पुगेको प्रतीत हुने विश्लेषकहरूको दाबी छ ।

१९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चार्ल्स र उनकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान् हुन् । अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक थिए । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारको अभिजात्यपूर्ण रिवाजले कहिल्यै मन पराएन । परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि दुई सन्तान आर्ची र लिलिबेट माउन्टबेटन–विन्डसरका साथ तीन वर्षअघि ह्यारी दम्पतीले शाही परिवारको वरिष्ठ सदस्यको पद त्याग गरेर समाचारका हेडलाइन तताएका थिए । मेघनको जन्मस्थान दक्षिणी क्यालिफोर्नियामा सामान्य जीवन बिताउन पुगेका उनले गुजारा चलाउन प्रकाशकसँग ठूलो रकम लिएर आफ्नो अतितलाई पुस्तकका रूपमा ल्याउन मञ्जुरीनामा दिएका थिए ।

पत्नी मेघनसँगै उनी मार्च २०२१ मा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको बहुप्रचारित अन्तर्वार्ताका लागि पनि बसेका थिए । गुजाराकै लागि ह्यारीले विन्फ्रेसँग मिलेर मानसिक स्वास्थ्यसँग सम्बन्धित वृत्तचित्र शृंखला ‘द मी यु कान्ट सी’ पनि निर्माण गरे । त्यसपछि उनले आफूमाथि बनेको वृत्तचित्र ‘ह्यारी एन्ड मेघन’ का लागि पनि समय दिए ।

युवराज विलियमसँगै लन्डनको केन्सिङ्टन बरबार र ग्लुसेस्टरसायरको हाइग्रोभ भवनमा हुर्केका ह्यारीको बाल्यकाल बाबुआमाका साथ भएका औपचारिक भ्रमणहरूसँग पनि जोडिन्छ । उनकी आमा डायना आफ्ना छोराहरूले फराकिलो दायराको जीवन पाऊन् भन्ने चाहन्थिन् । त्यसैले जहाँ जाँदा पनि दुवैलाई सँगै लैजाने उनको प्रयत्न हुन्थ्यो । त्यसै हुनाले अघिल्लो पुस्ताको शाही बच्चाहरूको तुलनामा ह्यारी र विलियमले सामान्य जीवनको राम्रो सुझबुझ पाएका थिए । सन् १९९६ मा बाबुआमाको सम्बन्धविच्छेद भएपछि १२ वर्षका ह्यारी अलिक एक्लाजस्ता हुन पुगे । अर्को वर्ष पेरिसमा कार दुर्घटनामा उनकी आमाको मृत्यु भएपछि त उनलाई त्यसले निकै व्यथित तुल्यायो ।

स्कुले जीवनपछि ह्यारीले घुमघाम र कामकाजी अनुभव बटुलेर बिताए । उनले सन् २००५ मा रोयल मिलिटरी एकेडेमीमा सामेल भएर सैनिक तालिम लिन थाले । त्यसको अर्को वर्ष ह्यारी सामेल भएको पल्टन इराक युद्धका लागि खटाइयो जसमा बेलायतको राजकुमारलाई पठाउने कि नपठाउने भन्नेबारे व्यापक बहस हुन पुग्यो । अन्तमा बेलायती रक्षा मन्त्रालयले ह्यारीलाई आफ्नो रेजिमेन्टका साथ इराकमा तैनाथ गर्ने घोषणा गर्‍यो । तत्कालीन ब्रिटिस सेनाका प्रमुख, जनरल सर रिचर्ड डन्नाटका अनुसार इराकमा एक सैनिक कमान्डरका रूपमा खटिने निर्णय राज्यको नभएर ह्यारीको व्यक्तिगत इच्छा थियो । त्यसको एक वर्षपछि ह्यारीको पदोन्नति लेफ्टिनेन्टका रूपमा भयो ।

युवा भएपछि अचानक युद्धमा चाख राख्न थालेका ह्यारीले त्यसपछि क्यानाडा र बेलायतको संयुक्त सैन्य तालिममा पनि भाग लिएका थिए, जसलाई बेलायत सरकारले सकेसम्म गोप्य राख्न खोजेको थियो । इराकपछि ह्यारीले लिएको तालिमलगत्तै बेलायती रक्षा मन्त्रालयले नाटो नेतृत्वको अफगान युद्धमा उनलाई पठायो । अफगानिस्तानमा क्यानाडा र बेलायत दुवै देशका सेनाले भाग लिइरहेका थिए । तर त्यसबारेको समाचार सार्वजनिक भएपछि बेलायती रक्षा मन्त्रालयले उनलाई युद्धबाट फिर्ता बोलायो । अफगानिस्तान र इराकमा लगातार सैनिक नेतृत्व गरेका ह्यारी आफ्नो काका प्रिन्स एर्न्ड्युपछि युद्धग्रस्त क्षेत्रमा खटिने शाही परिवारको पहिलो सदस्य हुन पुगे । उनका काका एर्न्ड्युले फकल्यान्डको युद्धमा सैनिक हेलिकोप्टर उडाएका थिए । बहादुरीपूर्ण काम गरेको भन्दै उनकी काकी एनीले ह्यारीलाई मे २००८ मा पदक नै दिएकी थिइन् ।

पछि हेलिकोप्टर उडाउन सिकेका ह्यारी अपाचे हेलिकोप्टर चलाएर अफगानिस्तान पुगेको केही दिनमै २०१२ को सेप्टेम्बर १० मा तालिवानबाट घेरिन पुगेको सनसनीपूर्ण समाचार बाहिरिए । धेरै ठूलो शक्ति लगाएर बेलायती सेनाले तालिवान आक्रमणमा परेको उनको क्याम्पबाट ह्यारीलाई सुरक्षित स्थानमा सार्न सफल भएको थियो । यो छोटो अवधिमै ह्यारीले कम्तीमा २५ जना मानिसलाई आफ्नै हातले मारेको खुलासा पुस्तकमा गरेको जनाइएको छ । उनले अफगानिस्तानमा अपाचेको हतियार प्रणाली सञ्चालनलाई भिडियो गेम खेल्ने कलासँग तुलना गरेका थिए । अपाचे हेलिकोप्टर चलाउँदा आवश्यक परेका बखत गोली चलाउनुपरेको उनले पुस्तकमा स्विकारेका छन् । आफ्नो संस्मरणात्मक पुस्तकमा उनले के पनि खुलासा गरेका छन् भने उनले युद्धका ६ वटा मिसनहरूमा उडान भर्दा तालिवानलाई मानिसका रूपमा हेरेनन् बरु ‘चेसका प्यूसाहरू’ का रूपमा बोर्डबाट हटाए । आफूले कति संख्यामा मान्छे मारें भन्ने प्रश्नको कुनै महत्त्व नभएको उनले पुस्तकमा खुलाएका छन् ।

‘यो संख्या (मारिएका मानिसको) होइन, जसले मलाई कुनै सन्तुष्टि दियो,’ उनले लेखेका छन्, ‘तर, न त यो संख्या थियो, जसले मलाई लज्जित सर्मिंदा महसुस गराएको थियो ।’ पुस्तकको यो प्रसंग आउनुबित्तिकै अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले ‘ह्यारीले गरेको अफगानिस्तानको पश्चिमी भूभागको त्यो कब्जा मानव इतिहासमा साँच्चै एक घीनलाग्दो क्षण भएको’ बताएका छन् ।

तालिवान आन्दोलनका एक नेता अनस हक्कानीका अनुसार ह्यारीले २५ मुजाहिद्दिनको ज्यान लिएको भनी दाबी गरेको दिन कुनै पनि तालिवानी लडाकु त्यस क्षेत्रमा मारिएका थिएनन् । ‘त्यसैले यो स्पष्ट छ, उनले सर्वसाधारणलाई मारेका थिए’ पुस्तकको अंशका सम्बन्धमा उनले हालै भनेका छन्, ‘यसले उनी र उनको परिवार दुवैलाई जोखिममा रोखेको छ ।’

ह्यारीको यो खुलासाले बेलायती सैनिक अधिकारीहरू क्रुद्ध बनेका छन् । उनीहरूले कुनै समय ह्यारीलाई काँधमा बोक्ने सैनिक संस्थामाथि नै लाञ्छना लगाएको आरोप पनि लगाएका छन् । ह्यारीको यस्तो कथनले जिहादीलाई बेलायती सैनिकमाथि आक्रमण गर्ने बित्थाको निहुँ मिलेको सैनिक अधिकारीहरूको टिप्पणी छ । यसरी उनको सैन्य जीवनको खुलासाले सिंगो बेलायती सेना अप्ठेरोमा परे पनि सन् २००५ देखि ०१५ सम्मको सैनिक सेवामा बिताएको समयलाई

ह्यारीले भने ‘आफ्नो जीवनको सबैभन्दा खुसीको समय’ भनी वर्णन गरेका छन् । अश्वेत कन्यासँगको विवाहपछि चिढिएको बकिङ्घम दरबारले सन् २०२० मा ह्यारीका लागि ‘आधिकारिक सैन्य नियुक्तिहरूसहित शाही कर्तव्यहरूबाट पछि हटाइएको’ घोषणा गरेको थियो । त्यसको एक वर्षपछि दरबारले ह्यारीलाई क्याप्टेन जनरल रोयल मरिनका रूपमा आफ्नो पद त्याग्न बाध्य पारेको थियो र उनका सबै मानार्थ सैन्य नियुक्तिहरू फिर्ता गरेको थियो ।

ह्यारीले आफ्नो पुस्तकमा सैन्य जीवनका यी सबै पाटाबारे खुलस्त वर्णन गरेका छन् । पुस्तकमा उनले १७ वर्षको उमेरमा आफूले कौमार्य गुमाएको खुलासा पनि गरेका छन् । उनका अनुसार एक रात पव छेउको चौरमा पुरानो घोडाहरूलाई माया गर्ने एक महिलासँग पहिलो यौनसम्पर्क भएको थियो । त्यी महिला अभिनेत्री एलिजाबेथ हर्ले भएको अनुमान व्यापक रूपमा गरिएपछि हर्लेले यसलाई अफवाह मात्र भनेर टिप्पणी गरेकी छन् ।

जिम्बावेकी धनाढ्यकी छोरी चेल्सी डेभीसँग ह्यारी २१ वर्षको हुँदा प्रेममा चुर्लुम्म डुबेको प्रसंग पनि पुस्तकमा भएको अखबारहरूको टिप्पणी छ । केही वर्षसम्म चलेको उनीहरूको प्रेम अभिनेत्री क्रेसिडा बोनाससँग ह्यारीको छोटो प्रेम सम्बन्धको सुरुवातपछि सकिएको थियो । अनेक युवतीहरूसँग गुज्रिँदै अघि बढेका ह्यारीलाई दरबारले पूर्णतः अपनाइरहेको थियो । तर, अमेरिकी अभिनेत्री मेघन मार्कलसँग २०१६ मा सुरु भएको उनको प्रेमले शाही परिवार क्रमशः उनीसँग टाढिन पुग्यो । इन्स्टाग्राममार्फत एक–अर्कासँग नजिकिन पुगेका उनीहरूको सम्बन्ध सार्वजनिक भएदेखि नै बेलायतका मूलधारका सञ्चारमाध्यमले आलोचनात्मक सामग्री पस्कन थालेका थिए भने सामाजिक सञ्जालमा उनीहरू ट्रोलिङमा पर्ने क्रम तीव्र हुन पुगेको थियो । सामान्य पृष्ठभूमिकी अश्वेत युवतीसँग सम्बन्ध जारी नराख्न ह्यारीलाई उनकै परिवारले ठूलो दबाब दियो । तर पनि मेघनसँगको प्रेमलाई ह्यारीले २०१८ मे १९ मा विवाहमा बदलिदिए । विवाहको अर्को वर्ष २०१९ को मे ६ मा उनीहरूको छोरा आर्ची माउन्टबेटन–विंडसरको जन्म भयो । दरबारले ह्यारी र मेघनको सम्बन्धलाई बेवास्ता गर्दै लगेपछि उनीहरूले २०२० मा शाही परिवारको वरिष्ठ सदस्यको हैसियत त्याग्ने घोषणा गरे । त्यसको केही महिना अमेरिकामा बिताएपछि उनीहरूले क्यानाडामा घर किने । २०२१ जुन ४ मा छोरी लिलिबेट माउन्टबेटन–विंडसरको जन्म भयो ।

शाही परिवारको सदस्यबाट अलग भई सामान्य जीवन बिताउन ह्यारी दम्पतीलाई खर्चको निकै जरुरत पर्न गयो । त्यसपछि उनीहरूले आफ्ना कुरा खुलासा गरेर र अन्तर्वार्ताहरूबाट पैसा लिएर गुजारा चलाउने क्रममा यो पुस्तक लेख्नुपर्ने बाध्यता आइलागेको उनका आलोचकहरूले टिप्पणी गरेका छन् ।

ह्यारीले एकपछि अर्को गर्दै दरबारका कुरा बाहिर ल्याउन थाले पनि उनका बाबु राजा चार्ल्स दुःखी थिए । अप्रिल २०२१ मा प्रिन्स फिलिपको अन्त्येष्टिका लागि दुवै छोराको भेट हुँदा उनले ‘मर्ने बेलामा दुःख नदेओ’ भनेको पनि पुस्तकमा खुलाएका छन् ह्यारीले । त्यस्तै किशोरावस्थामा विभिन्न ड्रग्स प्रयोग गरेको पनि उनले पुस्तकमा निर्धक्कसँग स्वीकार गरेका छन् ।

यसरी ह्यारीले आफ्ना अनेकन निजी अनुभवहरूलाई धूवाँदार रूपले सार्वजनिक गरेर दरबारलाई अप्ठेरोमा पारिरहेका बेला बकिङ्घम दरबार एकदम मौन छ । सीएनएनको टिप्पणी छ, ‘दरबारको यो मौनता घातक छ । किनभने दरबारले अनुत्तरित दाबीहरू छोड्नु भनेको ह्यारीको कथा शाही परिवारको हाम्रो सामूहिक स्मृतिको हिस्सा बन्नु हो ।’

प्रकाशित : पुस २४, २०७९ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?