दाहालको क्रमभंगता

दौरा–सुरूवालसहित शपथ र पृथ्वी जयन्तीमा बिदा दिने तयारीले दाहालको रुपान्तरण अझै बाँकी छ भन्ने देखाउँछ 
मणि दाहाल

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त अघि सारेपछि ‘राष्ट्रिय एकता दिवस’ पुनः बहसमा आएको छ ।

दाहालको क्रमभंगता

राप्रपाको साथ छुट्दा सरकार नै संकटमा पर्ने जोखिम देखिएपछि सत्ता साझेदार दलहरूले राष्ट्रिय एकता दिवसको उद्घोष नगरे पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने तयारी गरेका छन् । २०६५ सालमा गणतन्त्र घोषणापछि पुस २७ को पृथ्वी जयन्तीसहितका बिदा कटौती गरिएको थियो ।

गोरखाका राजा पृथ्वीनारायण शाहले १८०० सालमा नुवाकोट आक्रमण गरी सुरु गरेको अभियान एकीकरण हो कि राज्य विस्तार भन्नेमा बहस हुँदै आएको छ । शाहको योगदानलाई सम्मान गर्ने वा नगर्ने विषयमा पनि मत विभाजित छ ।

२०७४ मा राप्रपा सम्मिलित सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो तर निर्वाचनपछि बनेको सरकारले कटौती गरेको थियो । सुरुमा २०६२/०६३ को जनआन्दोलनले ल्याएको परिवर्तनमा चित्त नबुझाउने सानो समूहले नागरिक तहमा पृथ्वी जयन्ती मनाउँदै आयो, पछि त्यसमा अन्य पनि जोडिँदै गए । जसमा समाजका विभिन्न तह र तप्का मानिसहरूको संलग्नता छ । जनआन्दोलनका प्रमुख परिवर्तन संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा रहेको राप्रपाले पृथ्वी जयन्तीलाई राजनीतिक मुद्दा बनाएको छ । राप्रपाले पृथ्वीनारायणलाई राष्ट्रपिता मान्ने गरेको छ ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेदेखि नै राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको छ । प्रधानमन्त्री दाहालले २६ गते मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव राख्ने तयारी छ । राप्रपाबाट विश्वासको मत सुनिश्चित गर्न सत्ता साझेदार दलले सरकारको साझा न्यूनतम कार्यक्रममै पुस २७ मा सार्वजनिक बिदा दिने तयारी गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले तयार पारेको कार्यक्रमको मस्यौदाको बुँदा नं. १६ मा ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ उल्लेख छ ।

दौरा–सुरुवालसहित शपथ र पृथ्वी जयन्तीमा बिदा दिने तयारीलाई कतिपयले पश्चगमनको यात्रा भनी टिप्पणी गरिरहेका छन् । माओवादीबाट छुट्टिएर गठन भएको नेकपा (बहुमत) का वरिष्ठ नेता हेमन्तप्रकाश ओली माओवादी राजनीतिक रूपमा पश्चगामी हुँदै गएको पछिल्लो गतिविधिले देखाएको बताउँछन् । ‘राजनीतिक रूपमा माओवादी पहिलेदेखि नै पश्चगामी थियो, अहिले सांस्कृतिक रूपमा पनि पश्चगामी भएको छ,’ उनले भने, ‘दौरा–सुरुवाल त माओवादीबाट निर्वाचित हुनुभएका उपराष्ट्रपतिले नै लगाउन सुरु गर्नुभएको हो ।’ माओवादी पृथ्वीनारायणप्रति नकारात्मक नभए पनि बिदा दिने निर्णय पश्चगामी शक्ति राप्रपासँगको सम्झौतामा आएको उनले टिप्पणी गरे ।

यसअघि दुई पटक प्रधानमन्त्री भएका बेला दाहालले सुट–टाई र भादगाउँले टोपी लगाएका थिए । उनले सार्वजनिक कार्यक्रममा दौरा–सुरुवाल लगाएकै यो पहिलो पटक हो । त्यसैगरी ज्योतिषबाट साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटारमा दाहालको प्रवेश भएको विषयमा पनि टिप्पणी भइरहेको छ ।

माओवादी उपमहासचिव हरिबोल गजुरेल भने सशस्त्र युद्ध सुरु गर्ने बेला नै पृथ्वीनारायणको नेपाल एकीकरणलाई सकारात्मक रूपमा लिएको बताउँछन् । पछिल्लो समय गठबन्धनमा राप्रपासमेत रहेकाले पृथ्वी जयन्तीमा बिदा दिनु स्वाभाविक भएको उनको भनाइ छ । ‘गठबन्धन सरकार भएको हुनाले सबैका चासो र मुद्दा समेटिने नै भए,’ उनले भने । पृथ्वीनारायणको राज्य विस्तार गर्ने क्रममा अन्य राज्यमाथि थिचोमिचो गरे पनि बेलायती साम्राज्यबाट नेपाललाई जोगाएर सकारात्मक भूमिका खेलेको माओवादीको विश्लेषण थियो ।

लिच्छवि राजा मानदेवले यसै क्षेत्रमा अहिलेको नेपालजत्रो देश बनाएका थिए । त्यसको सञ्चालन करिब ५ सय वर्षसम्म चल्यो । मल्ल राजाको समयमा फेरि टुक्राटुक्रामा विभाजन भयो । यक्ष मल्लले फेरि अहिलेको नेपालजति नै एकीकरण गरेका थिए तर त्यसलाई कायम राख्न सकेनन् । तीन छोरालाई राज्य विभाजन गरे । गोरखामा पृथ्वीनारायण १७९९ सालमा राजगद्दीमा चढ्दा काठमाडौं उपत्यकाभित्र तीन राज्य थिए भने सेना, बाइसे/चौबीसे गरी अहिलेको नेपाल हाताभित्र असंख्य राज्य थिए । त्यस समय भारतमा मुगल साम्राज्य पतन र इस्ट इन्डिया कम्पनीको नाममा बेलायती भारत आइपुगेका थिए । त्यसै समय पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरेका हुन् । उनको अभियानलाई बहादुर शाहले थप विस्तार गर्न पुगे ।

राजनीतिक विश्लेषक हरि शर्मा भविष्य बनाउने हो भने इतिहासको तर्कबाट माथि उठ्नुपर्ने बताउँछन् । ‘पृथ्वीनारायण शाहको ऐतिहासिकता नभई भूमिकाका बारेमा नेपाली समाजमा प्रश्न हो । एकथरीले दूरदर्शी र अर्कोले विस्तारवादी राजा भन्छन्, जे जस्तो भए पनि इतिहासको गर्तबाट उक्किन सकिँदैन,’ उनले भने, ‘भविष्यमा प्रगति गर्नका लागि इतिहासको तर्कबाट उम्किनुपर्छ तर हामी धेरै इतिहासमा अड्किरह्यौं ।’ उनका अनुसार नेपाल भन्ने वर्तमान स्वरूपका आधारमा पृथ्वीनारायण शाह रहे पनि अन्य पात्रसमेत छन् ।

यसलाई राजनीतिक विषय बनाएर दलहरूले आ–आफ्नो रोटी सेक्ने काम गरेको शर्मा बताउँछन् । ‘गणतन्त्र उन्मूलन गर्नुपर्छ भन्नेदेखि गणतन्त्रको स्थापनाका लागि बनेको पार्टी पनि गठबन्धनमा छ, यो खिचडी राजनीतिमा राष्ट्रिय बिम्बहरू पनि विवादित हुन्छन्,’ उनको प्रश्न छ, ‘मुलुकको खलबलिएको राजनीतिलाई यो राष्ट्रिय दिवसले एकै ठाउँमा ल्याउन सक्छ कि सक्दैन ? अर्थतन्त्र जुन अवस्थामा छ त्यसलाई यसले निराकरण गर्न सक्छ कि सक्दैन ? नेपाली भाषा साहित्यको खस्किँदो परिस्थितिमा यसको भूमिका के हुन्छ ?’

पुरानो राज्यसत्ता भत्काउन सशस्त्र संघर्ष गरेको माओवादीले त्यतिबेला आफूप्रति आकर्षण बढाउन जातीय मुद्दा अघि सारेको थियो । तत्कालीन नेकपा माओवादीसमेतको सहभागितामा ०६२/६३ को क्रान्ति सम्पन्न भएपछि जातीय मुद्दा चर्को रूपले उठ्न थाल्यो । त्यो पृथ्वीनारायणको भूमिकालाई हेर्ने दृष्टिकोणसँग जोडिन पुगेको छ । पहिलो संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले पहिचानसहितको प्रदेशको अवधारणा ल्याएको थियो । जसलाई अन्य राजनीतिक दलहरूले विरोध गरेका थिए ।

प्रकाशित : पुस २४, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?