सगरमाथा पुग्ने छोटो बाटो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा पुग्ने छोटो बाटो

काठमाडौंबाट लुक्ला नगई पदमार्ग पछ्याउनेका लागि रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दूधकुण्ड हुँदै टासिलाप्चा पदमार्ग सोलुखुम्बुको थामेमा जोडिन्छ
केदार शिवाकोटी

दोलखा — हिमाल काटेर सगरमाथा जाने एक मात्रै पदमार्गका रूपमा रहेको ‘टासिलाप्चा पास’ पदमार्ग खुलेको छ । रोल्वालिङ उपत्यका हुँदै टासिलाप्चा पासबाट सगरमाथा जाने मार्ग खुलेको हो । हिमाल पार गरेर जान निकै कठिन यो मार्ग खुलेसँगै रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्प हुने भएको छ ।


५ हजार ७ सय मिटर उचाइको यो पदमार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो ।

‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत पर्ने पदमार्ग बनेपछि कोभिडपछि रोल्वालिङ उपत्यकामा विदेशी पर्यटकको चहलपहल पनि बढेको छ । मुलुकका मुख्य १० पदमार्गलाई समेटिएर बनाइएको ‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत उच्च हिमाली एभरेस्ट–रोल्वालिङ टासिलाप्चा पदमार्ग मुख्य मानिन्छ । हिमाली क्षेत्रको फरक–फरक भाषा, संस्कृति, रहनसहन, जीवनशैली हेर्न पनि टासिलाप्चा पदमार्गलाई गाइडहरू निकै आकर्षक मान्छन् । यो वर्ष ३९ देशका १ हजार १ सय ३५ विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न पुगेका छन् । जसमा सबैभन्दा बढी जर्मन नागरिक छन् ।

रोल्वालिङ उपत्यकामा कोभिडपछि धेरै संख्यामा विदेशी पर्यटक आएको संरक्षण क्षेत्रकी पर्यटन सहायक याङटी शेर्पाले बताइन् । ‘संरक्षण क्षेत्रको तथ्यांकमा सन् २०२२ मा झन्डै १२ सय विदेशी पर्यटक रोल्वालिङ क्षेत्र पुगेका छन्,’ उनले भनिन्, ‘पर्यटन विभागबाटै स्वीकृति लिएर आएका थप पर्यटकको तथ्यांक राखेका छैनौं । आएकामध्ये आधा टासिलाप्चा पास भएर सगरमाथा जाने गरेका छन् ।’ कोरोना महामारी सुरु हुँदाको वर्ष रोल्वालिङ क्षेत्रमा विदेशी पर्यटकको आवागमन ठप्प थियो । टासिलाप्चा पास पदमार्ग निर्माणसँगै ठाउँ–ठाउँ पर्यटकका लागि बस्न सक्ने ओत बनाइएपछि सन् २०२३ मा थप पर्यटक बढ्ने अपेक्षा गरेको उनले बताइन् । रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दूधकुण्ड हुँदै टासिलाप्चा पदमार्ग सोलुखुम्बुको थामेमा जोडिन्छ । उक्त पदमार्ग पर्यटन विभागले ४ करोड लागतमा निर्माण गरेको हो । पदमार्ग भएर हिँड्ने पर्यटकका लागि १० वटा प्रतीक्षालयसहित बास बस्ने सेल्टर बनाइएका छन् । विगतमा यो पदमार्गमा बास बस्ने ठाउँ थिएनन् ।

यसैगरी पदमार्ग बनाउन नसकिने अप्ठ्यारा भीरमा ‘फारता’ अर्थात ढुंगा खोपेर फलामे भर्‍याङ र नरम तारका डोरीहरू हालिएको टासिलाप्चा पदमार्ग निर्माण समितिका अध्यक्ष दावाछिरिङ शेर्पाले बताए । उनका अनुसार विगतमा विदेशी पर्यटक र स्थानीय गाइड, भरिया टासिलाप्चा पास पार गरेर खुम्बु क्षेत्र ओहरदोहर गर्थे । पछि खुम्बु क्षेत्रका लागि काठमाडौंबाट सिधा हवाई यात्राको सुविधा जोडियो । टासिलाप्चा क्षेत्रबाट खुम्बु हिँडेर जानेलाई जोखिम भयो । बीचमा बास बस्न समस्याका कारण टासिलाप्चा सुनसान बन्यो । टासिलाप्चा पदमार्ग बनेपछि भने विदेशी पर्यटक बढेको उनले बताए । ‘बेदिङबाट च्छो–रोल्पा, दूधकुण्ड थाकरिङ हुँदै यो पदमार्गबाट सगरमाथाको खुम्बु क्षेत्र थामे पुगिन्छ,’ उनले भने, ‘विगतमा बाटो नबन्दा निकै कठिन भएकाले विदेशी पर्यटक निकै कम हुन्थे, थामे पुग्नै ७ दिनसम्म लाग्थ्यो ।’ कुनै समय जिरी हुँदै सगरमाथा पैदल जाने पर्यटक हाल यो पदमार्ग भएर जाने गरेका उनले बताए । हिमालै हिमाल पार गरेर हिँडने यो पदमार्ग भएर हिँड्ने पर्यटकको आकर्षण टासिलाप्चातर्फ छ,’ उनले भने, ‘खासगरी च्छो–रोल्पा हिमताल पनि पार गरेर जानुपर्ने भएकाले रोजाइमा परेको हो ।’ हिमाल चढ्न रुचाउने विदेशी पर्यटकको मुख्य आकर्षण रोल्वालिङ क्षेत्रमा पर्छ । पदमार्ग भएर हिँड्ने र हिमाल चढ्ने पर्यटकका लागि टासिलाप्चा हुँदै सगरमाथा बेसक्याम्प जाने गरेका छन् ।

कोभिडको २ वर्ष सुनसान बनेको रोल्वालिङ उपत्यकामा सन् २०२२ मा विदेशी पर्यटकको आगमन बढेको हो । विदेशी पर्यटकको आवागमन बढेसँगै बेदिङ र नामा रहेका होटल व्यवसायी उत्साहित छन् । टासिलाप्चा पदमार्ग खुलेपछि सगरमाथा जाने पर्यटकको चहलपहल पनि बढेको होटल व्यवसायीसमेत रहेका दाबाले बताए । ‘सुनसान बनेको यो क्षेत्र पदमार्ग बनेपछि विदेशी मात्रै नभएर स्वदेशी पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘मुख्य सिजनमा झन्डै ४ हजार बढी स्वदेशी पर्यटक च्छो–रोल्पा र दूधकण्ड पुगेका छन् ।’ तर, टासिलाप्चा पास पदमार्ग भएर भने विदेशी पर्यटक मात्रै हिँड्ने गरेको उनले बताए । उक्त क्षेत्र पुग्ने पर्यटकले दैनिक सय डलर खर्च गर्ने गरेका छन् । टासिलाप्चा पास पुग्ने पर्यटकले रोल्वालिङ क्षेत्रमा रहेका साना हिमाल आरोहणसमेत गर्ने गरेका छन् ।

टासिलाप्चा पास नजिकैको ६ हजार १ सय मिटर फरछ्यामु पिक आरोहण विदेशी पर्यटकको आकर्षणमा पर्ने गरेको छ । उक्त पिक चढेपछि अर्को दिन टासिलाप्चा पास भएर खुम्बु पदमार्गी जाने गरेका छन् । खासगरी हिमालयन ट्रेकिङ गाइडको प्रशिक्षण क्रममा उक्त शिखरमा आरोहण गराइन्छ । टासिलाप्चा पास विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र पदमार्ग सुधार र सेल्टर निर्माण गरिएको पर्यटन विभागका उपसचिव सचिन्द्रकुमार यादवले बताए । ‘पहिलो चरणमा सेल्टर अप्ठ्यारा भीरमा सिँढी र कतिपय स्थान सोलिङ गरेर पदमार्गमा सेल्टरहरू बनाइएको छ,’ उनले भने, ‘१० मुख्य पदमार्गमा पर्ने भएकाले आवश्यकताअनुसार थप पूर्वाधार निर्माण गरिनेछ ।’ टासिलाप्चा पासमा निधन भएका आरोही डभिड लामाको सम्झनामा ढुंगामा आकर्षक ‘बिवाक’ (पदयात्री आश्रयस्थल) बनाइएको छ । अस्ट्रियाका नागरिक जोसेफ आइनवाकरले उक्त बिवाक पदयात्रीका लागि निर्माण गरिदिएका हुन् ।

प्रकाशित : पुस २४, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तेनी ढुंगा खानी खोसिने डर

केदार शिवाकोटी

आलम्पु, दोलखा — कहालीलाग्दो भीरमा ट्याकटुक्क आवाज गुन्जिरहन्छ । वारिको आवाज पारि ठोक्किएर सुनिएको त्यो आवाज ढुंगा कुदिरहेकाले चलाएको घनको हो । अनकन्टार कहालीलाग्दो भीरमा गएर निकालेको ढुंगा बेचेर दैनिकी चलाउनु आलम्पुका सीमान्तकृत थामी समुदायको पुर्ख्यौली पेसा हो । झन्डै २ सय परिवार यही ढुंगा खानीमा आश्रित छन् ।

यही खानीबाट घरखर्च धान्ने कालुमान थामी यतिबेला अक्क न बक्क छन् । उनको आम्दानीको स्रोत भनेकै स्लेट अर्थात् घर छाउने ढुंगा बनाउनु हो । दिनभरि उनले २० देखि २५ फिटसम्म ढुंगा निकालेर छिल्छन् । गाउँमै पुगेका ठेकेदारलाई प्रतिफिट ३० देखि ३५ रुपैयाँमा बेच्छन् ।

संरक्षण क्षेत्रले पुर्ख्यौली खानी दर्ता गरेर मात्रै सञ्चालन गर्नु भनेपछि उनी बिलखबन्दमा परेका छन् । ‘ढुंगा खानी बन्द गर्ने हल्ला छ,’ उनले भने, ‘अब के खाने, के गर्ने ?’ आलम्पुका ७ सय ४९ घरधुरीमध्ये ७ सय ११ घर सिमान्तकृत थामी समुदायका छन् । जो खानीका भरमा गुजारा चलाउँछन् । खानी बन्द गर्ने हल्लाले आलम्पुका थामी समुदाय चिन्तित छन् ।

‘खानी दर्ता गर्न हाम्रो पहुँच पुग्दैन,’ उनले भने, ‘पुर्ख्यौली खानी कसैले दर्ता पो गर्छ कि भन्ने त्रास छ ।’ आलम्पु भन्नेबित्तिकै ढुंगा खानीको गाउँले परिचित छ । यही गाउँबाट कुदिएका ढुंगाले जिल्लाभरका घरका छाना छाउने गरिन्थ्यो । भूकम्पपछि जिल्लाभरका घरका छाना जस्ताले छाउन थालियो । घरका ढुंगा अर्थात् स्लेट निकाल्ने सिमान्तकृत थामी समुदाय घर बनाउने र छाउने कालिगडका रूपमा समेत परिचित छन् । २०१३ सालबाट उक्त खानीबाट स्लेट ढुंगा निकाल्न थालिएपछि जिल्लाभरि नै घरका छाना ढुंगाले छाउन थालिएको हो ।

अध्ययनका अनुसार झन्डै २ सय वर्षलाई पुग्ने स्लेट उक्त खानीमा छ । यो क्षेत्रमा भएका खानीलाई थामी समुदायले घर लौरी अंशबण्डा लगाएका छन् । हरेक परिवारको आफ्नै खानी छ । आफ्नो भागमा परेको खानीबाट मात्रै ढुंगा निकाल्न पाउने नियम छ । भीरबाट निकालिएको ढुंगाको मध्य भागमा भेटिन्छ कालो स्लेट । उक्त स्लेटलाई विभिन्न नापमा आकार बनाएर बेच्ने गरिन्छ । ढुंगाको कापबाट निकालिएको कालो ढुंगा नै स्लेट हो । अरु ढुंगा काम लाग्दैन ।

आलम्पुका मकर थामी ५० वर्ष लागे । १३ वर्षको उमेरबाट उनले पुर्ख्यौली पेसा थामे । उनले जानेकै भीरबाट ढुंगा निकाल्नु र त्यसलाई आकार दिन हो । यही पेसाबाट उनले घर धानेका छन् । सामान्य लेखपढसमेत नजानेका उनलाई ढुंगा खानी दर्ता गर्नुपर्छ भन्ने थाहा नै छैन । ‘हाम्रो भनेकै यही खानी हो,’ उनले भने, ‘बन्द गर्ने हल्ला छ रे, गरिब मान्छे कहाँ गएर खानी दर्ता गरौं ?’ भूकम्पपछि जिल्लाभरका घरका छानाजस्ताले छाउन थालियो । आलम्पुका ढुंगा बिक्न छाडे । भूकम्पको २ वर्षपछि खानी पुनः सञ्चालनमा आएपछि स्लेट घरका पिँढी, भर्‍याङलगायतमा प्रयोग गर्न थालियो । खानी बन्द गर्ने हल्लाले आलम्पुका थामी समुदाय चिन्तित छन् । खानी दर्तासँगै निकासी पुर्जीसमेत संरक्षण क्षेत्रले अनिवार्य गरेपछि बेच्न ठिक्क परिएका स्लेट पनि अलपत्र छन् । वर्षभरिको मिहिनेतले तयार गरिएको ढुंगा लिन ठेकेदार नआएपछि उनीहरू बेखर्ची भएका छन् ।

संरक्षण क्षेत्रले निकासीको पुर्जी नदिएपछि ढुंगा लिन आउने ठेकेदार आउनै छाडेको वडा अध्यक्ष टहलबहादुर थामीले बताए । २ सयभन्दा बढी परिवारको झन्डै डेढ करोड बराबरको ढुंगा बिक्री नभएर त्यसै बसेको उनले बताए । ‘धेरै परिवारले खानीबाट निकालेका ढुंगा बिक्री नभएर बसेको छ,’ उनले भने, ‘ढुंगा निकासी सहज बनाइदिन संरक्षण क्षेत्रलाई आग्रह गरेका छौं ।’

वर्षमा मुस्किलले ७ महिना खानी सञ्चालन हुन्छ । अन्य बेलामा पहिरोको डरले खानीमा कोही जाँदैनन् । यही खानीबाट कमाएको पैसाले घरव्यवहार धान्ने र बालबच्चा पढाउने गरेको भीममाया थामी बताउँछिन् । खानी बन्द हुने त्रासले धेरै युवा वैकल्पिक रोजगारी खोज्दै सहरतिर हानिएका छन् । खानी बन्द हुने हल्ला चलेपछि ऋण गरेर भीममायाले श्रीमान्लाई पनि खाडी मुलुक पठाएको ४ महिना लाग्यो । ‘हाम्रो हातमुख जोड्ने भनेकै खानी थियो,’ उनले भनिन्, ‘यो पनि बन्द हुने हल्ला चलेपछि ऋण काढेर श्रीमान्लाई विदेश पठाए ।’

चीनसँग सीमा जोडिएको आलम्पु सधैं खाद्यान्न संकट पर्ने गाउँ पनि हो । आलु, कोदो र गहुँ यहाँ मुख्य बाली हुन् । यी बाली मुस्किलले ३ महिना खान पुग्ने स्थानीय कालुमान बताउँछन् । ‘खानीकै भरमा वर्षभरि पेट पाल्ने खाद्यान्न जोहो हुन्छ,’ उनले भने, ‘यो पनि हामीबाट खोसेर बन्द गरियो भने भोकभोकै मरिन्छ ।’ घरनजिकैको रोजगारी खोसिने हल्ला चलेपछि अधिकांश युवा भविष्य खोज्दै भारततिर पनि गएको उनले बताइन् । ‘५ सयभन्दा बढी स्थानीय खानीमा काम गरिरहेका हुन्थे,’ भीममायाले भनिन्, ‘खानी बन्दको हल्ला चलेपछि धेरैले रोजगारीका लागि गाउँ छाडेका छन् ।’ उक्त खानीबाट ढुंगा निकाल्न सक्नेले महिनामा ३० हजारसम्म बुझ्ने गरेको उनले सुनाइन् ।

सरकारी जग्गामा भएका कारण दर्ता गर्नुपर्ने कानुनी अड्चन भएकाले पुर्जी दिन नसकिएको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताए । संरक्षण क्षेत्रमा परे पनि अझै वातावरणीय मूल्यांकन हुन सकेको छैन । ‘खानी विभागमै दर्ता गर्नुपर्ने वा पराम्परागत भएकाले संरक्षण क्षेत्रले नै अड्चन फुकाउन सक्छ भनेर लिखित सुझाव पठाएका छौं,’ उनले भने, ‘तत्कालका लागि खानीमा आश्रित परिवारको ढुंगा निकासीका लागि पहल भए पनि कानुनी अड्चनकै कारण पुर्जी दिन सकेका छैनौं ।’ खानी विभागको कार्य क्षेत्र भएकाले दर्ता अनिवार्य भएकाले पनि के गर्ने भन्ने अन्योल भएको उनले बताए । ‘अल्पकालीन रूपमा हाल निकासी हुन नसकेको ढुंगा निकासीका लागि सहजीकरण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘तर दीर्घकालीन रूपमा खानीको विस्तृत अध्ययन गरेर मात्रै अधिकार प्राप्त क्षेत्रले हेर्ने गरी उपाय निकाल्न पर्ने देखिन्छ ।’

प्रकाशित : पुस १७, २०७९ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×