एकाएक खुल्यो उपत्यकाको आकाश
काठमाडौँ — केही दिनयता धुम्मिएको काठमाडौं उपत्यकाका शनिबार मध्याह्नदेखि खुला देखिएको छ । उपत्यकाको आकाश खुलेसँगै निरन्तर ओरालो लागेको तापक्रम केही बढ्ने मौसमविद्हरुले बताएका छन् ।
शुक्रबार रातिदेखि पश्चिमी वायु सक्रिय भएसँगै उपत्यकाको आकाशमा भएको धुलाका कणहरु पनि बहेको मौसविद् एवं त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बताए । उनले भने, ‘पश्चिमी वायु सक्रिय हुँदा वायुमण्डलमा थिग्रिएको धुलाका कण पनि बहायो ।’
उनका अनुसार अहिले प्रवेश गरेको पश्चिमी वायुमा पानीको बाफ (मोइस्चर) छैन । यो अवस्था अझै एक हप्तासम्म रहने उनले जानकारी दिए । यस्तै, पानी पर्ने सम्भावना पनि कम रहेको मौसिमविद् पोखरेलले जानकारी दिए ।
यो अवस्था अझै केही दिन रहे देशका विभिन्न स्थानमा डढेलोको पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले विगत केही दिनदेखि अधिकतम तापक्रम सरदरभन्दा घटिरहेको परिप्रेक्ष्य पश्चिमी वायुको प्रभावले बढ्ने बताइन् ।
‘अधिकतम तापक्रम सरदरभन्दा घटिरहँदा तराईलगायत केही क्षेत्रहरुमा बाक्लो हुस्सु र शीतलहरको अवस्था देखिएको थियो,’ कडेँलले कान्तिपुरसित भनिन्,‘पश्चिमी वायुको प्रभावसँगै अब विस्तारै अधिकतम् तापक्रम बढ्न थालेको छ । अब चिसोबाट केही राहत मिल्छ । ’
जाडोयाममा उपत्यकाको हावामा हुने प्रदूषणको मात्रा राम्रोसँग बहन नपाउँदा बाक्लो हुस्सु तथा प्रदूषण देखिने गरेको छ । यस्तै, जमिनको तापक्रम चिसो हुने र माथिको हावा तातो हुँदा हावा जमिनभन्दा धेरै माथिसम्म जान सक्दैन । जसका कारण धुलाको कण मिसिएको हावा जमिनभन्दा केही मिटरमाथि सम्म जाँदा प्रदूषणको एउटा तह देखिने मौसिमविद् पोखरेलले बताए ।
केही मुलुकहरुमा चिसोको समयमा हावाहुरी आउने गरे पनि नेपालजस्तो भौगोलिक अवस्था भएको क्षेत्रमा हावाको बहाव कम हुन्छ । उपप्राध्यापक पोखरेलले भने, ‘अरु देशमा हावाहुरी पनि देखिन्छ चिसो मौसममा । हाम्रोमा हिमालले हावा रोकिदिन्छ र उच्च चापीय रेखा यही ठाउँमा बनिन्छ । उच्च चापीय क्षेत्र हुँदा स्थिर अवस्था बनिन्छ र हावा बहन नपाएपछि प्रदूषणको मात्रा बढेको देखिन्छ । ’
सहप्राध्यापक पोखरेलका अनुसार १५ दिनसम्म अझै पानी नपर्ने हुदा हिउँदेबालीलाई प्रत्यक्ष असर पुग्ने बताए । उनले भने, ‘माघ १५ गतेसम्म पानी पर्ने सम्भावना देखिँदैन । यसको असर चाही हिउदै बालीमा देखिन्छ । डढेलेको पनि सम्भावना पनि छ । ’
प्रकाशित : पुस २३, २०७९ १७:२३