१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एकाएक खुल्यो उपत्यकाको आकाश

माघ १५ सम्म पानी नपर्ने मौसमविद्को प्रक्षेपण, हिउँदे बालीलाई प्रत्यक्ष असर पर्ने आँकलन
गोविन्द पोखरेल

काठमाडौँ — केही दिनयता धुम्मिएको काठमाडौं उपत्यकाका शनिबार मध्याह्नदेखि खुला देखिएको छ । उपत्यकाको आकाश खुलेसँगै निरन्तर ओरालो लागेको तापक्रम केही बढ्ने मौसमविद्हरुले बताएका छन् ।

एकाएक खुल्यो उपत्यकाको आकाश

शुक्रबार रातिदेखि पश्चिमी वायु सक्रिय भएसँगै उपत्यकाको आकाशमा भएको धुलाका कणहरु पनि बहेको मौसविद् एवं त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा विनोद पोखरेलले बताए । उनले भने, ‘पश्चिमी वायु सक्रिय हुँदा वायुमण्डलमा थिग्रिएको धुलाका कण पनि बहायो ।’

उनका अनुसार अहिले प्रवेश गरेको पश्चिमी वायुमा पानीको बाफ (मोइस्चर) छैन । यो अवस्था अझै एक हप्तासम्म रहने उनले जानकारी दिए । यस्तै, पानी पर्ने सम्भावना पनि कम रहेको मौसिमविद् पोखरेलले जानकारी दिए ।

यो अवस्था अझै केही दिन रहे देशका विभिन्न स्थानमा डढेलोको पनि सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले विगत केही दिनदेखि अधिकतम तापक्रम सरदरभन्दा घटिरहेको परिप्रेक्ष्य पश्चिमी वायुको प्रभावले बढ्ने बताइन् ।

‘अधिकतम तापक्रम सरदरभन्दा घटिरहँदा तराईलगायत केही क्षेत्रहरुमा बाक्लो हुस्सु र शीतलहरको अवस्था देखिएको थियो,’ कडेँलले कान्तिपुरसित भनिन्,‘पश्चिमी वायुको प्रभावसँगै अब विस्तारै अधिकतम् तापक्रम बढ्न थालेको छ । अब चिसोबाट केही राहत मिल्छ । ’

जाडोयाममा उपत्यकाको हावामा हुने प्रदूषणको मात्रा राम्रोसँग बहन नपाउँदा बाक्लो हुस्सु तथा प्रदूषण देखिने गरेको छ । यस्तै, जमिनको तापक्रम चिसो हुने र माथिको हावा तातो हुँदा हावा जमिनभन्दा धेरै माथिसम्म जान सक्दैन । जसका कारण धुलाको कण मिसिएको हावा जमिनभन्दा केही मिटरमाथि सम्म जाँदा प्रदूषणको एउटा तह देखिने मौसिमविद् पोखरेलले बताए ।

केही मुलुकहरुमा चिसोको समयमा हावाहुरी आउने गरे पनि नेपालजस्तो भौगोलिक अवस्था भएको क्षेत्रमा हावाको बहाव कम हुन्छ । उपप्राध्यापक पोखरेलले भने, ‘अरु देशमा हावाहुरी पनि देखिन्छ चिसो मौसममा । हाम्रोमा हिमालले हावा रोकिदिन्छ र उच्च चापीय रेखा यही ठाउँमा बनिन्छ । उच्च चापीय क्षेत्र हुँदा स्थिर अवस्था बनिन्छ र हावा बहन नपाएपछि प्रदूषणको मात्रा बढेको देखिन्छ । ’

सहप्राध्यापक पोखरेलका अनुसार १५ दिनसम्म अझै पानी नपर्ने हुदा हिउँदेबालीलाई प्रत्यक्ष असर पुग्ने बताए । उनले भने, ‘माघ १५ गतेसम्म पानी पर्ने सम्भावना देखिँदैन । यसको असर चाही हिउदै बालीमा देखिन्छ । डढेलेको पनि सम्भावना पनि छ । ’

प्रकाशित : पुस २३, २०७९ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?