कापी–कलमसँगै दाउरा- समाचार - कान्तिपुर समाचार

कापी–कलमसँगै दाउरा

दिवा खाजा कार्यक्रम लागू भएका प्यूठानका विद्यालयले विद्यार्थीलाई कक्षा आउँदा एउटा/एउटा दाउरा ल्याउन भनेका छन्
शमशेरविक्रम जीसी

प्यूठान — विद्यालय जाँदा झोलाभरि कापी–किताब बोक्नु नौलो होइन । यहाँको एउटा विद्यालयका छात्रछात्रा दिनहुँजसो कापी–कलमसँगै दाउरा बोक्छन् । प्यूठान नगरपालिका–८ बाटुलेस्थित जनविकास आधारभूत विद्यालयमा पढ्ने बालबालिकालाई किताबजत्तिकै दाउरा अनिवार्य छ । प्राथमिक तहका विद्यार्थी दाउरा बोकेर कक्षामा पुग्छन् ।

‘म्याडमले स्कुल आउँदा एक/एक वटा दाउरा ल्याउन भन्नुभएको छ,’ कक्षा ६ मा पढ्ने विक्रम नेपालीले भने, ‘नलगे हाजिर काटिन्छ भन्नुहुन्छ ।’

विद्यालयमा दिवा खाजा सुरु भएदेखि कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई दाउरा अनिवार्य गरिएको हो । खाजा पकाउन दाउरा चाहिन्छ । स्कुलले आफैं दाउरा व्यवस्था गरेको छैन । शिक्षकले विद्यार्थीलाई ‘दाउरा घरबाट ल्याउनू, नत्र खाजा पाक्दैन’ भनेका छन् । कतिपय शिक्षकले दाउरा नल्याए हाजिरी काटिने भनेका छन् । हाजिरी काटिने र भोकै परिने चिन्ताले झोलामा दिनहुँ दाउरा बोक्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

रित्तो हात विद्यालय जाँदै गरेका विद्यार्थी दिपान्सु सापकोटालाई ‘खै त दाउरा ?’ भन्दा उनले हिजो नै स्कुलनजिकै लुकाएर राखेको प्रतिक्रिया दिए । ‘दिनहुँ बोक्न झन्झट हुन्छ, त्यसैले उतै लुकाएर राखेको छु,’ उनले भने । बाटोमा दाउरा भेटिएपछि त्यसलाई लुकाएर अर्को दिनका लागि राख्ने गरेको विद्यार्थीहरू सुनाउँछन् । अभिभावक दामोदर भण्डारीले बालबालिकालाई दाउरा ल्याउन लगाउनुको साटो विद्यालयले अभिभावकलाई जिम्मा दिनु उचित हुने बताए । विद्यालयले गएको कात्तिकदेखि विद्यार्थीलाई घरबाट दाउरा ल्याउन भनेको प्रधानाध्यापक तुलसा आचार्यले बताइन् ।


‘स्कुलमै खाजा पकाएर खुवाउँछौं । खाजा पकाउन दाउरा चाहियो,’ उनले भनिन्, ‘सबैलाई अनिवार्य त हो तर तल्लो कक्षाकाले ल्याउँदैनन् ।’ उनका अनुसार दैनिक करिब ८० जना विद्यार्थीका लागि खाजा पकाउने त्यही दाउरा काम लाग्छ । विद्यार्थीले दाउरा ल्याए/नल्याएको तथ्यांक कक्षा शिक्षकले राख्छन् । ‘उपल्लो कक्षामा दाजु–दिदी हुनेलाई सजिलै छ । उनैले ल्याइदिन्छन्, बाँकी विद्यार्थी आफैंले दाउरा ल्याउने गरेका छन्,’ प्रधानाध्यापक आचार्यले भनिन्, ‘आइतबार विद्यालय आउँदा दाउरा ल्याउनु भन्छौं । हप्तैभरि खुरुखुरु ल्याउँछन् ।’

दिवा खाजा कार्यक्रम लागू भएका प्यूठानका केही विद्यालयका विद्यार्थीले यसैगरी घरबाट दाउरा बोकेर विद्यालय जाने गरेका छन् । विद्यालयमा दाउराको अभाव हुने र खाजा पकाउन दाउरा चाहिने भएपछि विद्यार्थीलाई घरबाट ल्याउन भन्ने गरिएको प्यूठान–९ मरेङको दुर्गा प्राविकी प्रधानाध्यापक शारदा भण्डारीले बताइन् । ‘पहिले–पहिले विद्यार्थीले मात्रै ल्याउँथे,’ उनले भनिन्, ‘अहिले त विद्यालयमा भएको एउटा रूख काटेर काम चलाएका छौं ।’ झिमरुक गाउँपालिका–१ सौतामारेस्थित जनचाहना प्राविले भने स्थानीय जंगलबाट दाउरा कटाएर ल्याउने गरेको प्रधानाध्यापक ताराप्रसाद घिमिरेले बताए । ‘स–साना विद्यार्थीलाई दाउरा बोकाउनु उपयुक्त लागेन,’ उनले भने, ‘त्यसैले विद्यालयकै स्रोतबाट जंगलमा मान्छे पठाएर दाउरा कटाउने र ल्याउने गरिएको छ ।’

प्यूठान नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद पोखरेल भने विद्यालय तहका बालबालिकालाई त्यस्ता कुनै पनि काममा लगाउन नपाइने बताउँछन् । विद्यालयमा गठित दिवा खाजा समितिले आवश्यक सबै व्यवस्था गर्नुपर्ने निर्णय रहेको उनले बताए । ‘खाजा समितिले काम गर्ने नीतिगत व्यवस्था छ,’ उनले भने, ‘विद्यार्थीलाई विद्यालय आउँदा दाउरा बोकाउनु गैरकानुनी हो । त्यसलाई तत्काल रोक्नुपर्छ ।’

प्रकाशित : पुस २३, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

अरिंगाल लागेपछि मौरी सखाप

शमशेरविक्रम जीसी

प्यूठान — जिल्लामा अहिले मह काढ्ने सिजन हो । धेरै किसानले मह काढेर बजार पठाउँथे । यस वर्ष अवस्था फरक छ । मह उत्पादन स्वात्तै घटेको छ । अरिंगालले मौरीलाई आक्रमण गर्न थालेपछि मह उत्पादन नभएको प्यूठान नगरपालिका–७ टिकुरीका मधुसूदन भण्डारीले बताए ।

‘अरिंगालले मौरीका घार नै रित्याए । अहिलेसम्म यस्तो भएको थिएन,’ उनले भने, ‘अहिले त एकै किलो पनि मह उत्पादन भएन ।’

अघिल्ला वर्षमा यो सिजनमा प्यूठानका किसानले १० क्विन्टलसम्म मह उत्पादन गर्थे । तर, यस वर्ष त जिल्लाभरिको जोड्दा सय किलो पुर्‍याउन समस्या भएको छ । मौरीको मह बेचेर अघिल्ला वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी गरेको भण्डारीले बताए । ‘अहिले त उल्टै नोक्सानी बेहोर्नु परेको छ,’ उनले भने, ‘मह उत्पादन भएन । त्यसबाट १० लाख घाटा लाग्यो ।’ ५ लाख रुपैयाँ बराबरका मौरी सकिए । अब यति मौरी ल्याउन ५ लाख रुपैयाँ थप लाग्ने उनको भनाइ छ ।

सानातिना मौरी व्यवसायीले पनि ५ लाख रुपैयाँसम्म नोक्सानी बेहोरेको अर्का किसान प्यूठान नगरपालिका–४ टारीका रामचन्द्र सुवेदीले बताए । ‘५ महिनाअघिसम्म करिब डेढ सय घार मौरी थिए,’ उनले भने, ‘अहिले त बारी पनि रित्तोजस्तै लाग्छ ।’ अहिले सुवेदीसँग २० घार मौरी मात्रै छन् । अरिंगालले अधिकांश घार नै खाली हुने गरी रित्याएपछि आफुहरू निराश बनेको उनले बताए ।

‘यस वर्ष प्यूठानमा मौरीमा अरिंगालको प्रकोप बढी देखियो,’ उनले भने, ‘त्यसबाट मौरी जोगाउनै सकिएन ।’ चरनका लागि निस्कने मौरीलाई अरिंगालले खाइदिंदा दुई तीन महिनामै घार रित्तिएको उनले बताए । ‘पहिलो शत्रु अरिंगाल नै भयो,’ उनले भने, ‘असोजमा परेको पानीले पनि मौरी नष्ट भए ।’ २० घार मौरी लगेर तराई झरेको उनले सुनाए । २ सय घार मौरी बोक्ने बानी लागेको आफूलाई यति थोरै संख्यामा मौरी लिएर तराई झर्दा उत्साह नमिलेको उनले बताए । ‘गत वर्ष १२ क्विन्टलसम्म मह उत्पादन भएको थियो,’ उनले भने, ‘यस वर्ष त मह नै काढ्नु परेन ।’

जिल्लामा यस वर्ष मह उत्पादन स्वात्तै घटेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका प्रमुख भास्कर पौडेलले बताए । अरिंगाल र वर्षातका कारण किसानका घार रित्तिएको उनले बताए । वार्षिक ३० हजार किलो मह उत्पादन हुने प्यूठानमा यस वर्ष १ हजार किलो पनि मह उत्पादन भएन । जसले १ करोड २० लाख रुपैयाँ घाटा जिल्लाले बेहोर्नुपरेको छ । ‘प्राकृतिक दुस्मनका कारण मह उत्पादनमा ह्रास आएको हो,’ उनले भने, ‘अर्को वर्षसम्म सुधार होला भन्ने छ ।’ किसानहरूले अरिंगालका गोला पोल्ने काम गरे पनि त्यसलाई नियन्त्रणमा लिन नसकेको बताए ।

जिल्लाबाहिरबाट चरनका लागि प्यूठान ल्याएका किसानको मौरीका घार पनि उल्लेख्य मात्रामा घटेको किसानहरू बताउँछन् । ३ हजार बढी मौरीका घार रहेको प्यूठानमा अहिले घारको संख्यामा पनि कमी आएको छ । यति संख्यामा घार घटे भन्ने जानकारी नभए पनि किसानका ८० प्रतिशत घार खालि भएको अर्का किसान डिमराज पोख्रेलले बताए ।

प्रकाशित : पुस १४, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×