अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाहसहित ६ पक्राउ

मातृका दाहाल

काठमाडौँ — अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ ।

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने पृथ्वी शाहसहित ६ पक्राउ

ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको बताए ।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका-६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाई हुन् ।

आरोपितविरुद्ध 'हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड' लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरित कारोबार गरेको लगायतका आरोप लगाइएको छ ।

त्यस्तै अमेरिकी नागरिक जुलिया होडेज लगायत विदेशीसँग एन्टी भाइरस नवीकरण वापत्को रकम पठाउन भन्दै झुक्याएको र जुलियाको कम्प्यूटरमा अनधिकृत पहुँच पुर्‍याई अमेरिकी डलर ट्रान्सफर गरेको त्यसक्रममा वायर स्क्याम गरी स्वीफ्ट मार्फत् अमेरिकी डलर ४६ लाख ४६ हजार ७ सय ३७ र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० र पाउण्ड स्टर्लिङ १२ हजार ८ सय २५ को शंकास्पद कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ ।

यो रकम फुकुवा गर्न पूर्वअर्थमन्त्री जनार्दन शर्मा सक्रिय बनेका थिए । राष्ट्र बैंकले यो रकम रोक्का गरेपछि शर्माले हस्तक्षेप गर्दै फुकुवा गर्न निर्देशन दिएका थिए । यो रकम फुकुवा गर्न गभर्नर महाप्रसाद अधिकारीले नमानेपछि उनलाई बर्खास्तको प्रक्रिया अघि बढाएका थिए । त्यसकारण गभर्नर अधिकारी निलम्बित बने । तर सर्वोच्च अदातलले अन्तरिम आदेश जारी गर्दै गभर्नर अधिकारीलाई कामकाजमा फर्काइदिएको थियो ।


प्रकाशित : पुस २२, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?