आँगनैपिच्छे तान

‘हातमा सीप नभएपछि के गरेर खान्छे भने र प्रश्न गर्थे, त्यसैले पनि सिक्यौं’
महेश केसी

रुकुम पूर्व — हिउँदको पहारिलो घाम ताप्दै भुमे–६ महतकी रामु बुढामगर तानमा बख्खु बुन्न व्यस्त थिइन् । भेडाको ऊनबाट बख्खुलगायत कपडा बनाउनु उनको दैनिकी हो । यहाँका धेरै महिला यसरी नै काम गरिरहेका भेटिन्छन् । उनले १२ वर्षको उमेरबाट ऊनका कपडा बुन्न थालेकी हुन् । ‘अहिले ६१ वर्षकी भएँ,’ उनले भनिन्, ‘१० वर्ष लागेपछि आमाले सिकाएर कपडा बुन्न लागेकी हुँ ।’

आँगनैपिच्छे तान

पहिले भेडा पालन प्रमुख पेसा हुन्थ्यो । त्यसैले ऊनबाट कपडा बुन्ने सीप धेरैको हातमा छ । प्रत्येक घरमा तान लगाएर ऊनबाट कपडा बनाउने गरिएको काँक्रीकी रम्बा पुनले सुनाइन् । उनका अनुसार महिलामा यो सीप अनिवार्यजस्तै मानिन्छ । ‘पुरुष भेडा चराउन खर्क जान्छन्,’ उनले भनिन्, ‘हामी घरमा बसेर राडी–पाखी बनाउँछौं ।’

६५ वर्षीया रम्बा पहिलेका दिन सम्झिँदा रमाइलो लाग्ने बताउँछिन् । ‘ऊ बेला त तानको सीप नभएकाको बिहे नै हुन गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘सीप नभए के गरेर खान्छे भनेर प्रश्न गर्थे, त्यसैले सिकियो ।’

पछिल्लो पुस्तामा तानबाट घरबुना कपडा बनाउने सीप हस्तान्तरण हुन सकेको छैन । थोरैले मात्र यस्तो सीप सिक्ने गरेको रम्बाले बताइन् । पछिल्ला पिँढीले नसिकेकामा उनलाई दुःख लागेको छ । भेडाको ऊनबाट घरबुना कोट, जुहारी कोट, इस्टकोट, पेटी, कम्मल, राडीपाखी, बर्की, टोपी र पटुकी आदि तयार पारिन्छ ।


भेडाको ऊनबाट बनाइएका कपडाले बर्खाको झरीबाट बचाउने गरेको तकसेराका दलबहादुर घर्तीले बताए । आफूहरू अहिले पनि भेडी गोठ जाँदा लगाउने कपडाका रूपमा ऊनबाट बनेका कपडा नै प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ । ‘भेडाको ऊनले झरी र चिसो छल्छ,’ उनले भने, ‘हामी त यही कपडा अहिले पनि प्रयोग गर्छौं । यो अरूभन्दा मजबुत हुन्छ । गोठमा बस्दा न्यानो पनि हुन्छ ।’ तान र घरबुना कपडा आफूहरूको सान र चिनारी भएको उनले बताए । पहिले–पहिले ऊनबाट जस्ताको तस्तै कपडा बनाइने भए पनि हिजोआज प्रशोधन गरी तानमा राखेर कपडा बनाउने चलन बढेको छ । ‘पहिला भेडाको ऊनलाई हातैले कातेर डोरी बनाइन्थ्यो र तानमा राखेर कपडा बनाउँथ्यौं,’ रम्बाले भनिन्, ‘अब त मेसिन प्रयोग हुन्छ । यसकारण काम गर्न पनि सहज छ, कपडा पनि आकर्षक बन्छन् ।’


रुकुम पूर्वमा भेडाको ऊन प्रशस्त पाइने भए पनि प्रशोधनका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको स्थानीय महिला बताउँछन् । गाउँमै ऊन प्रशोधन गर्ने प्रविधिको व्यवस्था भए यसले कपडामाथिको लागत घटाउने र बिक्री बढाउने उनीहरूको अनुमान छ । ऊनबाट बनेका कपडाको आकार–प्रकार र डिजाइनअनुसार १ हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको रामु पुन बताउँछिन् । तर, उत्पादन बेच्ने बजार र ग्राहकको कमी हुँदा चाहेअनुसारको मूल्य पाउन छाडेको उनको गुनासो छ । भेडाको ऊनबाट कपडा बनाउने सीपको प्रवर्द्धन गर्दै यसको संरक्षण, पुस्तान्तरण र बजारीकरणका लागि भूमे गाउँपालिकाले प्रत्येक वडामा तालिम दिने उपाध्यक्ष सविना बुढाले बताइन् ।


ऊनका कपडालाई बजारसम्म पुर्‍याएर यसप्रतिको आकर्षण बढाउन योजना बनाएर गाउँपालिका लाग्ने उनको प्रतिबद्धता छ । ‘भेडाको ऊनबाट बनेका कपडालाई हामी यस क्षेत्रको ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छौं,’ उनले भनिन्, ‘यसका लागि सीपको संरक्षण, पुस्तान्तरण र यसको सम्भावनालाई देखाउन जरुरी छ । त्यो हामी गर्छौं ।’

प्रकाशित : पुस २२, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?