२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
टिप्पणी

बालेन्द्र शैली : हतपतको लतपत काम

गोविन्द पोखरेल

काठमाडौँ — वाग्मती करिडोरको थापाथली सडकखण्डमा डेढ महिनाअघि काठमाडौं महानगरपालिकाले रुद्रेस्वर महादेवको मन्दिर परिसरमा रहेको दुईतले सार्वजनिक भवन भत्काइदियो । नियम विपरित बनाइएको भन्दै उक्त सार्वजनिक भवनका झ्याल, ढोका, सटरमा महानगरपालिकाको डोजर चल्यो ।

बालेन्द्र शैली : हतपतको लतपत काम

भवन काम नै नलाग्ने अवस्थाको बन्यो । उक्त संरचना अहिलेसम्म महानगरले डोजर लगाएर छाडेको जस्तो छ त्यस्तै अवस्थामा छ । न भवन पूर्ण रुपमा भत्काएर साइट क्लियर नै गरियो न त भवन प्रयोग नै हुन सक्यो ।

थापाथली सडकखण्डमा डेढ महिनाअघि काठमाडौं महानगरपालिकाले रुद्रेश्वर महादेवको मन्दिर परिसरमा रहेको भत्काएको भवन । तस्बिरः अंगद ढकाल,कान्तिपुर

***

थापाथलीको सुकुम्बासी बस्तीलाई वैकल्पिक व्यवस्था बिना नै बल प्रयोग गर्न खोजेपछि झडप भयो । दर्जनभन्दा बढी नगर प्रहरी घाइते भए । सुकुम्बासीहरुमाथि उल्टै सामाजिक सञ्‍जालमार्फत प्रहार भयो । थापाथली किनारमा रहेका को वास्तविक सुकुम्बासी हो/होइन भन्‍नेबारे प्रमाण विरोध गर्ने मेयर बालेन्द्र शाहका सहयोगीहरूले निकाल्न सकेका छैनन् ।

***

एउटा प्रयोजनका लागि भनेर पास भएको भवन अन्य प्रयोजनमा प्रयोग भएको भन्दै महानगरले बल प्रयोग गरेर बेसेमन्टमा सञ्चालित व्यवसाय हटायो । पार्किङका लागि भनेर नक्सा पास भएको बेसमेन्टमा व्यवसाय सञ्चालन भएको भन्दै हटाइयो । तर धेरैजसो बेसमेन्टमा पार्किङ सञ्चालन हुन सकेका छैनन् । मेयर बालेन्द्र शाह इन्डोनेसिया भ्रमणमा जानुअघि हचुवाको भरमा दरबारमार्ग क्षेत्रमा विकल्प बिना नै पार्किङ हटाउन निर्देशन दिए । जुन अहिले विवादित बनेको छ ।

***

मेयर शाहले फुटपाथ मिचेर व्यवसाय गर्नेलाई हटाउने अभियान नै सञ्चालन गरे । फुटपाथ पैदलयात्रीको नै हो भन्दै सडकमा ठेला व्यवसाय र मकै पोलेर जिविकोपार्जन गर्नेहरुलाई नगर प्रहरी लगाएर हटाए ।

जिल्ला अदालत अगाडिको फुटपाथमा पार्किङ गरिएका सवारी र प्रवेशद्वार नजिकै सञ्चालन गरिएको व्यवसाय । तस्बिरः अंगद ढकाल/कान्तिपुर

तर, बिजुलबजार, बबरमहल, माइतीघरसम्मको सडकमा खण्डमा मिचिएको फुटपाथ अझै हट्न सकेको छैन । नेपालटेलिकम, काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथमा पार्किङ र व्यवसाय गर्न ‘छुट’ छ ।

***

व्यापार तथा व्यवसायिक संस्थाहरुले आफूले प्रयोग गर्दै आएको शौचालयलाई प्रयोग गर्न दिने भनेर सहमति भएपनि कार्यान्वयन अवस्था फितलो छ । महानगरसँग सम्झैता प्रचारबाजी गर्ने र स्टिकर टाँस्ने काम मात्रै भएको गुनासो आउन थालेको छ ।धेरैजसो शौचालयमा सर्वसाधरणको पहुँच पुग्न सकेको छैन ।

***

सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि भनेर ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याए पनि नतिजा दिन सकेको छैन । वातावरण विभागको फोहोर बोक्ने फुटोन र टिपरलाई रंगरोगन गरेर ‘पूर्वाधार एम्बुलेन्स’ लेखेर प्रचारप्रसार तर गरियो तर यी एम्बुलेन्सले खाल्डोमा गिटी र माटो हाल्नेबाहेक केही नै गरेका छैनन् ।

***

कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न भन्दै महानगरले सूचना जारी गरेपछि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । महानगर स्वयंमले नै फोहोर एकीकृत रुपमा संलकन गर्ने गरेको छ । फोहोर विसर्जनस्थल बन्चरेडाडा ल्यान्डफिल साइटमा सिसडोलमा विसर्जन गरेजसरी नै नुछुट्याइ गर्ने गरिन्छ

***

टुकुचा खोला खोज्ने भन्दै महानगरले विभिन्न ठाउँ खोस्रियो । कतिपय स्थानमा धेरै गहिरो खोस्रिएर भूमिगत बनाइएको खोला त देखायो तर सम्पन्न गर्न सकेन । जयनेपाल हलमा महानगरले खोस्रिएर खोला देखाएपनि त्यहाँ ठूलो भ्वाङ देखिँदा कुरुप अवस्था बनेको छ । न त महानगरले सबै खोला खोस्रिएर देखाउन सकेको छ न त खोस्रिएको ठाउँ पुर्न नै सकेको छ ।

हतपतको काम लतपत

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचित भएयता गरेका कामले चर्चा र जनसमर्थन पाए पनि तीमध्ये अधिकांश काम अपूरो रहेको यी केही उदाहरण हुन् । ६ महिनायता उनले चालेका अभियानको अवस्था हेर्ने हो भने त्यसमा पूर्वतयारी तथा दीर्घकालीन योजना रहेको पाइँदैन । अधिकांश हचुवाको भरमा चर्चा कमाउने उद्देश्यले प्रेरित भएको देखिन्छ । कतिपय योजनामा बालेन्द्रले विद्यासन्दुर शाक्यकै शैली अपनाएका छन् । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाउन शाक्यले पनि प्रयास गरेका थिए । तर, चौतर्फी विरोधपछि उनी पछि हटेका थिए ।

महानगरको कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्दै मेयर बालेन्द्र शाह । फायल तस्बिरः काठमाडौं महानगरपालिका

भत्किएको सडकलाई पूर्ण रुपमा मर्मत गरेर पहिल्यकै अवस्थामा ल्याउन सकिने भन्दै उनले ल्याएको ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन पूर्वतयारी बिना नै ल्याएको देखिन्छ । दुई वटा टिपरमा गिटी र बालुवा लोड गरेर खाल्डाखुल्डी पुर्ने काम मात्रै गरेको देखिन्छ । नगर प्रवक्ता नविन मानन्धरमा पनि पर्याप्त पूर्वतयारी नभएको स्वीकार्छन् । उनी भन्छन्, ‘पूर्वाधार एम्बुलेन्सबाट सबैभन्दा बढी पीडित नै मै हुँ जस्तो लाग्छ । जनअपेक्षा अनुसार काम नभएपछि फोन आएर हैरान हुन्छ । ’

फुटोन र टिपरमा यी ‘एम्बुलेन्स’ ले गिटीमात्रै बोक्छन् । हरेक गाडीमा १ जना चालक, दुई हेल्पर र एक जना सम्पर्क इन्जिनियर तोकिएको महानगरको पूर्वाधार विभागले जनाएको छ । यी गाडी महानगरको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन परिसरमा राखिएका छन् । बा १ ग २३४२ नम्बरको फुटोन गाडीको स्टार्ट इन्जिन बिग्रिएपछि बिहीबार मात्रै बनाइएको थियो । टेकु स्टेसनमा कार्यरत नगर प्रहरी उपरीक्षक पूर्ण चन्द भट्टले भने, ‘फोन आएपछि गाडी जान्छ । ग्राभेल हाल्ने काम मात्रै हुन्छ, कालोपत्रे चाहीँ हुँदैन ।’

पूर्वाधार एम्बुलेन्सको रुपमा प्रयोग गरिएको फुटोन गाडी टेकुस्थित ट्रान्सफर स्टेशनमा । तस्बिरः अंगद ढकाल

नगर प्रवक्ता मनान्धरले पूर्वाधार एम्बुलेन्सलाई गुणस्तरीय बनाउने तयारीमा लागेको बताए । चाँडै नै नयाँ सवारी र मिक्सिङ मेटेरियल बनाइने उनले बताए । बालेन्द्रका स्वकीय सचिव भुपदेव शाह पूर्वाधार एम्बुलेन्सको कन्सेप्ट अस्थायी रुपमा भत्किएका संरचना बनाउने मात्रै भएको बताए ।

मंसिर १२ गते बालेन्द्रको निर्देशनमा पूर्व तयारी बिना नै सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोजेपछि झडप भएको थियो । पूर्वतयारी र स्थानीय प्रशासनको सहयोग बिना नै बस्ती प्रवेश गर्न खोजेपछि महानगरका दर्जनभन्दा बढी प्रहरी घाइते भएका थिए । वाग्मती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा महानगरले बस्ती हटाउन खोजेको थियो । उक्त प्रकरणमा प्रहरी प्रशासन बल प्रयोग गर्न पछि हटेपछि महानगर एक्लै अघि बढेको थियो । एकातिर सुकुम्बासी आयोगसँग सुकुम्बासी समस्या समाधान गर्न सम्झौता गर्ने र अर्कोतर्फ बस्ती हटाउन खोजेको भन्दै बालेन्द्रको विरोध भएको थियो ।

थापाथलीको सुकुम्बासी बस्ती । काठमाडौं महानगरपालि यो बस्तीलाई 'अनाधिकृत संरचना' भन्ने गरेको छ । स्थानीय तहको चुनावमा मेयर बालेन्द्र शाह पनि यही बस्तीमा भोट माग्न पुगेका थिए । फाइल तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर

थापाथली प्रकरणमा आफ्नो कमजोरी ढाकछेप गर्नका लागि बालेन्द्रका सहयोगीहरूले वास्तविक सुकुम्बासी नै नरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल बनाए । तर हालसम्म उनीहरुको वास्तविक अवस्थाबारे भने सार्वजनिक गर्न सकेनन् । थापाथलीको बस्ती हटाउनका लागि बालेन्द्रले सुकुम्बासी बस्ती शब्द उल्लेख नगरी ‘अनाधिकृत संरचना’ भन्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री भएपछि उनले अनाधिकृत संरचना हटाउनका लागि भन्दै आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइदिन भन्दै कार्यकारी अधिकृतमार्फत पत्र पठाएका थिए । सुकुम्बासीको घरलाई ‘अनाधिकृत संरचना’ भनको भन्दै उनको आलोचना भइरहेको छ । सुकुम्बासी प्रकरणमा नगर प्रहरी घाइते भएपछि सुरक्षाकर्मीहरुका लागि महानगरले सुरक्षा सामग्री खरिद गर्ने तयारी गरेको छ ।

पूर्व तयारी बिना नै सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी बस्ती भत्काउन डोजर लिएर गएपछिको दृश्य । फाइल तस्बिरः अंगद ढकाल/कान्तिपुर

बस्ती हटाउने सवालमा बालेन्द्रले हतपतमा निर्णय गरेको देखिन्छ । भूमिआयोगसँग एउटा सम्झौता गर्ने तर व्यवहारमा अन्य काम गर्दा उनले चालेका कतिपय कदम विवादमा पर्ने गरेका छन् ।

यस्तै, महानगरपालिकाले ‘आउट सोर्सिङ’ मार्फत भर्ना लिएका नगर प्रहरी जवानमध्ये आधाजसो अयोग्य समेत रहेको पाइएको थियो। महानगरले युनिक सेक्युरिटिजसँग एक वर्षका लागि १ सय ६२ जना नगर प्रहरी जवान उपलब्ध गराउने समझदारी गरेको थियो । जसमा ४० वर्ष ननाघेका तथा यसअघि आर्मी, जनपद र सशस्त्र प्रहरी बलमा काम गरिसकेका व्यक्ति हुनुपर्ने थियो । तीमध्ये ८१ जना मात्रै योग्य थिए ।

फोहोर वर्गीकरणका लागि एकैपटक अभियान सञ्चालन गर्दा प्रभावकारी हुन नसकेको महानगरको वातावरण विभागले जनाएको छ । विभागकी प्रमुख सरिता राई पूर्वतयारी बिना नै अभियान सञ्चालन नगर्दा प्रभावकारी नभएको बताइन् । ‘हामीले एकैपटक अभियान सुरु गर्दा प्रभावकारी भएन । अब स्थानीयस्तरबाटै अभियान सुरु गर्नेछौं,’ उनले भनिन् । राईका अनुसार हाल महानगरले सहुलियत दरमा मल बनाउने ढ्वागं ‘कम्पोस्ट बिन’ बेचिरहेको छ ।

गत असार ३२ गते फोहोर वर्गीकरण अभियानमा सरिक हुँदै मेयर बालेन्द्र शाहलगायत । महानगर स्वयंमले नै फोहोरको वर्गीकरण र फोहोरबाट मल उत्पादन गरेको छैन । निजी कम्पनीहरुले फोहोर वर्गीकरण गरिरहेका छन् । फाइल तस्बिरः कामनपा

यस्तै, फोहोर वर्गीकरण नगर्नेलाई जरिवाना गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको महानगरले आपूmले बनाएको नियम आपैंm उल्लंघन गरिरहेको छ । महानगरले संकलन गर्ने फोहोरलाई वर्गीकरण नै नगरी विसर्जनस्थल पठाउने गरेको छ । महानगरले कुहिने फोहोरबाट मल उत्पादन गर्न सकेको छैन । केही निजी कम्पनीले भने फोहोरको वर्गीकरण गरेर कम्पोस्ट मल बनाइरहेका छन् ।

सार्वजनिक शौचालयका लागि महानगरसँग सयभन्दा बढी संघ–संस्था, व्यवसायहरुले सम्झौता गरेका छन् । तर, सम्झौता अनुसार स्टिकर लगाइएका सार्वजनिक शौचालय सर्वसाधरणले प्रयोग गरेको पाइँदैन । सार्वजनिक शौचालयको प्रभावकारिताको बारेमा महानगरले अनुगमन समेत गरेको थियो । उक्त अनुगमनको प्रतिवेदन आफूकहाँ आइनपुगको शाहका स्वकीय सचिव भुपदेव शाहले बताए ।

सार्वजनिक शैचालयका लागि समझदारी गरेपछि तस्बिर खिचाउँदै संघसंस्थाका प्रतिनिधिहरु । फाइल तस्बिरः कामनपा

महानगरका सहायक प्रवक्ता महेशकुमर काफ्लेले महानगर सार्वजनिक शौचालय निर्माणका लागि स्थान खोजिरहेको बताए । उनले कहाँ र कसरी बनाउने भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताए । ‘हामीले त्रिपुरेश्वर र स्वयम्भूमा सञ्चालन गरेका छौं । त्यस्तै खालको १५/२० वटा शौचालय म्यानेज गर्न सकिन्छ भन्ने छ,’ काफ्लेले कान्तिपुरसित भने ।

उनले संस्थाहरुसँग गरिएको साझेदारीमा सल्लाह लिने काम भइरहेको बताए । ‘सम्झौता गरेर सार्वजनिक शौचालयको स्टिकर मात्रै टाँस्ने काम भयो भन्ने पनि छ । तर पब्लिक उक्त शौचालयमा नै गएन भने हामीले सोच्नुपर्ने हुन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिका मातहतमा हाल आधा दर्जन पनि एमबीबीएस डाक्टर छैनन् । ३२ वटै वडामा विशेषज्ञ चिकित्सक राख्ने बालेन्द्रको योजना पनि पूर्वतयारी गरेको देखिँदैन । कार्यपालिका बैठकले सबै वडमा विशेषज्ञ चिकित्सक राख्ने निर्णय गरेपनि त्यसका लागि आवश्यक पर्ने उपकरण,संरचना महानगरसँग छैन । महानगरको शिक्षा तथा स्वास्थ्य समितिले यस सम्बन्धमा अध्ययन गरिरहेको जनाएको छ । विशेषज्ञ सेवाका लागि एउटा छुट्टै संरचना खडा गरेर उपलब्ध गराउने विषयमा छलफल पनि भइरहेको भुपदेवले बताए ।

न्युरोडमा डोजर लगाएर हटाइएको संरचना । महानगरले केही दिन भत्काइएको संरचना सडकमै राखेको थियो । चौतर्फी रुपमा विरोध भएपछि यत्रतत्र छरिएका संरचनाहरु एकहप्तापछि हटाइएको थियो । फाइल तस्बिरः कान्तिपुर

अन्यत्र स्थानका फुटपाथ क्लियर गरेको महानगरले काठमाडौं जिल्ला अदालत अगाडिको फुटपाथमा क्लियर गर्न सकेको छैन । उक्त स्थानमा व्यापार व्यवसाय तथा पार्किङ भइरहेको छ ।

जय नेपाल हलमा महानगरले खोस्रिएर खाल्डो बनाएको स्थानको बारेमा बुझ्न खोज्दा नगर प्रवक्ता मानन्धरले अदालतको आदेशले सम्याउन नपाएको बताए । ‘अदालतले जस्तो अवस्था छ त्यही छाड्नु भन्यो,’ मानन्धरले कान्तिपुरसित भने,‘अदालतले हामीलाई पहिला जसरी नै बना भनेन् अघि बढ् पनि भनेन । त्यही भएकाले जस्ताको तस्तै छाड्नुपरो ।’

जय नेपाल हल परिसररभित्र डोजर लगाएर खोस्रिएपछि देखिएको टुकुचा । ठूलो भ्वाङ जस्तो देखिएको यो ठाउँ न त पहिला जस्तै भएको छ न त टुकुचाका सबै भाग नै निकालिएको छ । खोस्रिएर छाडेको यो ठाउँ खाल्डो देखिँदा कुरुप बनेको छ । तस्बिरः अंगद ढकाल

प्रवक्ता मानन्धरले पुरै भत्काएर नयाँ संरचना बनाउने योजना भएपनि अदालतमा मुद्दा परेकाले अधुरै भएको बताए । बालेनले पुस १९ गते दरबारमार्गमा एक छेउमा गरिँदै आएको पार्किङ हटाउनका लागि निर्देशन दिए । पार्किङको वैकल्पिक व्यवस्था नहुँदै हठातमा हटाउदा व्यवसायीहरुले विरोध गरेका छन् । महानगरको राजस्व विभागले नै दरबारमार्ग क्षेत्रमा पार्किङको ठेक्का लगाएको थियो । यस विषयमा नगर प्रवक्ता नविन मानन्धरले भने, ‘महानगरले नै ठेक्का लगायो त महानगरले नै हटायने नि त । सडकमा पनि पार्किङ गर्न दिने हो त ? तपाईंहरु दिनुपर्छ भन्नुहुन्छ भने हामी भोलिदेखि नै सडकमा पार्किङ गर्न दिन्छौं । व्यवहारिक कुरा गर्नुहोस् न ।’

बेसमेन्टमा पसल सञ्चालन गरेको भन्दै महनागरले दरमार्गमा बन्द गराएका पसल । यहाँ न त पार्किङ भएको छ न त पसल नै सञ्चालन हुन पायो । तस्बिरः अंगद ढकाल ।

महानगरले यसअघि पनि दरबारमार्ग क्षेत्रमा केही भवनको बेसमेन्ट खाली गराएका थियो । अनुमति नलिइ बेसमेन्टमा व्यवसाय गरिएको भन्दै बालेन आफै गएर खाली गराएका थिए । तर, त्यसरी खाली गराइएका भवनमा अहिले न पार्किगंको व्यवस्था छ न व्यवसाय नै । दरबारमार्गका घरधनी र व्यवसायीहरुले पार्किगं लागि बेसमेन्ट नबनाएको भन्दै महानगरको कदमको आलोचना गर्दै आएका छन् ।

दरबारमार्ग क्षेत्रमा पार्किङ निषेध गरिएपछिको दृश्य । यहाँका अधिकांश संरचनामा पार्किङ नहुँदा सडक छेवैमा पार्किङ स्थल बनाइएको थियो । तस्बिरः दीपेन्द्र रोक्का/कान्तिपुर

घरवालाको अधिकार रहने भएकाले जबरजस्ती बेसमेन्ट पार्किङ गर भन्न पनि नमिल्ने प्रवक्ता मानन्धरले बताए । व्यवसायीहरु महानगरको दरबारमार्गको पार्किगं हटाउने कदमको अव्यवहारिक भन्दै विरोध गरेका छन् । यस्तै, विकल्प बिना नै पार्किङ हटाउँदा त्यस स्थानमा आउने सवारी साधनको पार्किङ गर्न कठिनाइ हुने र व्यवसायी नै प्रभावित हुने उनीहरुको भनाई छ ।

‘हाम्रो स्पिरिट नबुझिदिएको हो कि भन्ने छ’

मेयर बालेन्द्र शाहको सचिवालयले प्रभावकारी रुपमा काम भइरहेको बताएको छ । बालेन्द्रका स्वकीय सचिव भुपदेवले भने, ‘बाहिर अरुले के मूल्यांकन गर्छन् उहाँहरुको कुरा भयो । हामीले जेजस्तो स्थानीय सरकारलाई संविधानले दिएको अधिकार छ त्यसको आधारमा गरेको काम प्रभावकारी देखिन्छ ।’

दरबारमार्ग क्षेत्रमा खाली गराइएका बेसमेन्टमा व्यवसाय र पार्किङ कुनै पनि सञ्चालन नभएपनि भुपदेवले स्थानीयवासीले ‘स्पिरिट नबुझिदिएको’ बताए । उनले भने,‘हामीले बेसमेन्टमा भएका व्यवसाय हटाएका हौं । सटरहरु खाली राख्ने पनि पार्किङका लागि हो भन्ने बुझाउन खोजेका हौं ।’

बेसमेन्टमा पब सञ्चालन भएको भन्दै बन्द गराउन पुगेका मेयर बालेन्द्र, उनका स्वकीय सचिव भुपदेव शाह(पछाडि)लगायत । लन्डन पब रहेको पुरानो भवनमा अहिलेसम्म पार्किङ सञ्चालनमा आएको छैन । पार्किङस्थल अभाव भएकै बेला हचुवाको भरमा महानगरले दरबारमार्गमा पुस १९ गते पार्किङ निषेध गरेको छ । अहिले अन्नर्ण होटल र शेर्पा मलमा मात्रै पार्किङ स्थान छ । फाइल तस्बिरः कामनपा

बालेन्द्रले लोकसेवा आयोगबाट वैकल्पिक उम्मेदवारको सूचिमा रहेका इन्जिनियरलाई सिधै भर्ना गर्ने नियमलाई धेरै नै मन पराएका छन् । उनको सिको अन्य पालिकाले पनि गरेका छन् । उनले थालेका केही योजनाहरु राम्रै उद्देश्यका लागि देखिएपनि पर्याप्त तयारी बिना नै काम गर्दा विवादमा पर्ने गरेका छन् ।

प्रकाशित : पुस २२, २०७९ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?