पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा हुँदैन : ढुंगाना

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले निर्वाचनमा पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा नहुने बताएका छन् । उनले केन्द्रीय कार्यसमितिमै रहिसकेका नेताहरूले समेत पार्टीको निर्णयविपरीत गएर पार्टी र पार्टी संलग्न गठबन्धनका उम्मेदवारविरुद्व उम्मेदवारी दिएको भन्दै पार्टीमा अनुशासन संकटमा पर्दै गएको बताए ।

पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा हुँदैन : ढुंगाना

‘जोमाथि कारवाही भएको छ र प्रमाण पुगिसकेको छ उनीहरूको कारवाही फिर्ता हुँदैन, अन्तर्घात गर्नेहरूको हकमा प्रमाणलाई आधार मानेर कारवाहीको प्रक्रिया अघि बढाउँछौँ,’ ढुंगानाले भने ।

अनुशासन समितिले निर्वाचनमा पार्टीको विधान र निर्णयविपरीत जानेहरूलाई चुनावकै बेला कारवाही गरेको थियो भने अन्तर्घात गर्नेविरूद्व उजुरी माग गरेको छ । उजुरीहरूसँगै प्रमाण पनि संकलन हुने र त्यसको आधारमा कारवाही प्रक्रिया अघि बढाइने संयोजक ढुंगानाले बताए ।

निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्रसहित पाँच दलसँग गठबन्धन गरेको थियो । केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन–३ मा गठबन्धनविरुद्व उम्मेदवारी दिएका थिए । संयोजक ढुंगानाले केन्द्रीय सदस्य कोइरालाविरुद्वको कारवाही फुकुवा नहुने दाबी गरे । उनले निर्वाचनमा पार्टीको अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पनि विधानबमोजिम कारवाही गरिने बताए ।

अनुशासन समितिले यसअघि निर्वाचनको बेला नै अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ताहरुलाई सदस्यबाट निलम्बन गरिसकेको छ ।

प्रकाशित : पुस २१, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?