सांसद जयसवालका चालक नियन्त्रणमा


काठमाडौं, वीरगन्ज — गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा भएको वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी निकुञ्जले नियन्त्रणमा लिएको हो ।

निकुञ्जआडमै रहेको प्रदेश सांसद प्रमोदकुमार जयसवालको घरबाट सखुवा प्रसौनी– १ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे सांगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई मृत हरिणसहित अवैध हातहतियारसहित नियन्त्रणमा लिएको थियो । वन्यजन्तुको अवैध सिकार तथा तस्करीमा प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो ।
अवैध रुपमा शिकार गरेर मारिएको जरायो सोही गाडीमा तस्करहरुले हालेर भाग्दै निकुञ्जका सुरक्षाकर्मीलाई लक्षित गरेर गोली हानेर भागेका थिए । जवाफी फायरिङमा उक्त गाडीको टायरमा गोली लागेपछि जंगल आडैमा रहेको सखुवा प्रसौनी गाउँपालिका–१ स्थित अकुनिया गाउँमा गाडी रोकेर भागेका थिए ।
उनीहरू गाडीलाई बीच बाटोमै छाडेर अवैध तस्करीमा सेल्टरको रुपमा प्रयोग हुँदै आएको सांसद जयसवालको घर गएका थिए । उक्त घरबाट उनीहरुसहित चोरी सिकार गर्न प्रयोग हुने बन्दोबस्तीका सामान र हतियारसहित जरायोको सिंहसहितको टाउको र हातहतियार बरादम भएको थियो ।
निकुञ्जका वार्डेन अशोक रामका अनुसार सांसद जयसवाल बयान दिन निकुञ्ज कार्यालय आएको बेला चालक मियाँलाई नियन्त्रणमा लिइएको थियो । वार्डेन रामले कान्तिपुरसित भने, ‘उक्त घटनामा प्रत्यक्ष रूपमा संलग्नता देखिएका चालक मियालाई माननीय ज्यूले बयान दिन आउँदा सँगै ल्याउनुभएको थियो । त्यही बेला हामीले नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं ।’
उक्त घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न देखिएका हालसम्म ८ जनाको बयान लिइएको रामले जानकारी दिए । सांसद जयसवालसहित उनका भाइ एवं सखुवा प्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले बयान दिएका छन् । उनीहरूले आफूलाई निर्दोष रहेको दाबी गर्दै बयान दिएको निकुञ्ज स्रोतले बताएको छ ।
तस्करीमा प्रयोग भएको बन्दुक वाग्मती प्रदेशअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५(२)का सांसद श्याम खड्काको भएको खुल्न आएको छ । तस्करीको घटनामा सांसद खड्काको नाम पनि जोडिएपछि निकुञ्जले पत्र काटेर बयान दिनका लागि बोलाएको छ । उनी बुधबार दिउँसोसम्म बयान दिन आइपुगेका छैनन् । वार्डेन रामले भने,‘ हामीले अस्ती पत्र काटेर उहाँलाई बयानका लागि बोलाएका हौं । अहिलेसम्म आइपुग्नु भएको छैन । ’
सांसद खड्काको अकुनिया गाउँमा निजी रुपमा माछा फार्म सञ्चालन गरेको स्रोतले बताएको छ । हाल निकुञ्ज कार्यालय बरामद भएका समानाहरु भेरिफिकेसनका गरिरहेको छ । यस्तै, घटनामा संलग्न देखिएका सबैको बयान लिने काम भइरहेको छ ।
पक्राउ परेका पूर्व सैनिक अधिकारीको देखियो करोडौंको कारोबार
पर्सा निकुञ्जमा भएको वन्यजन्तुको अवैध चोरीसिकारीको घटनामा रंगेहात पक्राउ परेका नेपाली सेनाका पूर्व हवल्दार दामादोर अधिकारीको अस्वभाविक कारोबार देखिएको छ ।
उनको बैंक खातामा अस्वभाविक रुपमा लाग्ने कागज प्रमाण समेत फेला परेकाले उनको खाता सिज गर्नुपर्ने र सबै कारोबार बन्द गर्नुपर्ने निष्कर्ष अनुसन्धान टोलीले निकालेको छ । अधिकारीबाट अनुसन्धान टोलीले विभिन्न बैंकको चेकसमेत बरामद गरेको छ ।
निकुञ्ज टोलीले पक्राउ परेकाहरूबाट २ लाख ९२ हजार नगदसमेत बरामद गरेको थियो ।
प्रकाशित : पुस २०, २०७९ १४:१५