कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अनि विष्णुमाया लौरो टेकेर फर्किइन्

याङवरक, पाँचथर — फालेलुङ–१ का ७४ वर्षीय चन्द्रबहादुर थाम्सुहाङ ७१ वर्षीया दृष्टिविहीन श्रीमती विष्णुमायालाई डोर्‍याइरहेका थिए । विष्णुमायाको पटुका फुस्केर भुइँमा लत्रियो, चन्द्रबहादुरले पटुका सम्हाल्दै श्रीमतीलाई अघि बढाए ।

अनि विष्णुमाया लौरो टेकेर फर्किइन्

तीन वर्षदेखि दृष्टि गुमाएकी श्रीमतीलाई तीन घण्टा लामो बाटो हिँडाउँदै उनी आइतबार आँखा शिविरसम्म आइपुगेका थिए ।

मेची राजमार्गको गणेशचोकदेखि थर्पुसम्म टेम्पो, ट्याक्सीलगायत सवारी लगातारजसो ओहोरदोहोर गरिरहेका थिए । तर, चन्द्रबहादुरले हिँड्नुको बाध्यता सुनाए, ‘खल्तीमा पैसा पनि थिएन, टेम्पोले कम्ता महँगो भन्दैन, अनि त बूढाबूढी हिँडेरै आयौं ।’ विष्णुमायाको दुवै आँखामा मोतियाबिन्दु थियो । शिविरका नेत्र सहायक थेबेले मोतिबिन्दु पाकिसकेकाले शल्यक्रिया गर्न सुझाव दिए ।

धेरै पाकेपछि जलबिन्दु हुने र कहिल्यै देख्न नसक्ने भएकाले शल्यक्रिया गर्नैपर्ने भयो । श्रीमतीको आँखाको उपचार गराउन आएको मेसोमा थेबेले चन्द्रबहादुरको आँखामा पनि टर्च लगाएर हेरे । ‘तपाईंको पनि आँखामा मोतिबिन्दु भएको छ,’ उनले मेसिनमै राखेर आँखा हेर्दै थपे, ‘तपाईंको पनि पाकिसकेको छ, अप्रेसन गर्नुभएन भने जलबिन्दु हुने खतरा हुन्छ, आजै गर्नुहोस् ।’ थेबेले चन्द्रबहादुरको पनि विवरण तयार पारे । तर उनको चाहना आफ्नो नभएर श्रीमतीको आँखा खुलाउने थियो । ‘मेरो पनि गर्‍यो भने उसलाई कसले स्याहार्छ ?’ चन्द्रबहादुरले स्वास्थ्यकर्मीलाई सोधे । स्वयंसेविकाले आफूहरूले सहयोग गर्ने बताएपछि चन्द्रबहादुर पनि शल्यक्रिया गर्न राजी भए ।

श्रीमान्को सहारामा शिविरस्थल आएकी विष्णुमाया श्रीमान्को सहाराबिनै आफैं लौरो टेकेर हिँड्दै फर्किइन् । नेत्र सहायक सुवास सापकोटाका अनुसार उनको आँखा शल्यक्रिया गर्न निकै कठिन भयो । शल्यक्रियाअघि सिरिन्ज दिँदा आँखा र टाउको हल्लाउनु हुँदैन । नत्र नानीलाई खतरा हुन्छ । खतरा मोल्न कठिन भएकाले पहिला चन्द्रबहादुरको शल्यक्रिया गरियो । उनले आफ्नो अप्रेसन भएको र सुई लगाउँदा कमिलाले टोके जस्तो मात्रै हुने सुनाएपछि विष्णुमायाले दुखे पनि सहने र आँखा नहल्लाउने प्रतिबद्धता जनाइन् । त्यसपछि डा. रञ्जीतकुमार शाहले शल्यक्रिया गरिदिए । ‘दुवै पहिलो दिनमै देख्न सक्ने भएका छन्,’ डा. शाहले भने, ‘तीन वर्षसम्म नदेखेको आँखा केही दिन असजिलो त भइहाल्छ तर पाँच/सात दिनपछि पूरै देख्न सकिन्छ ।’ विष्णुमायाले अर्को आँखाको शल्यक्रिया अर्को शिविरमा गर्ने बताइन् ।

नेत्रज्योति संघ डिचेन डोङगला आँखा उपचार केन्द्रले ताप्लेजुङमा प्रत्येक छ महिनामा शल्यक्रिया शिविर चलाउँदै आएको छ । यो निःशुल्क हुन्छ । तर अझैसम्म पनि वर्षौंदेखि दुवै आँखा बन्द भएर बसेकाहरू आउने गरेको ताप्लेजुङका क्लिनिक इन्चार्ज काजी गुरुङ बताउँछन् । उनका अनुसार कोरोना संक्रमणका वर्ष शिविर सञ्चालन गर्न नसक्दा मोतिबिन्दुका बिरामी केही बढी देखिएका छन् । ‘थर्पुमा ताप्लेजुङ र पाँचथरका गरी ३६ जनाको शल्यक्रिया भयो,’ गुरुङले भने, ‘गत मंसिरमा ताप्लेजुङको फुङलिङमा गरेको शिविरमा १ सय ८ जनाको शल्यक्रिया भएको थियो ।’ ताप्लेजुङमा सञ्चालित शिविरमा ५४ देखि ७९ वर्षसम्मका ३ हजार ५ सयको मोतिबिन्दुको शल्यक्रिया भएको थियो ।

शिविरमै आएका नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्त श्रीमान्ले श्रीमती, श्रीमतीले श्रीमान्, बाबुआमाले छोराछोरी, छोराछोरीले बाबुआमा यसरी नै डोर्‍याएर ल्याउने वातावरण भए आँखाविहीन बस्नुपर्ने स्थिति कम हुने बताउँछन् ।

प्रकाशित : पुस २०, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?