१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वन्यजन्तु तस्करीमा सांसद खड्का पनि मुछिए

प्रहरी, सीआईबी र निकुञ्जले छुट्टाछुट्टै अनुसन्धान गर्दै, जरायो मार्न प्रयोग भएको बन्दुक खड्काको नाममा

काठमाडौं, पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवैध सिकार घटनामा वाग्मती प्रदेशसभाका सांसद श्याम खड्का पनि मुछिएका छन् । खड्का काठमाडौं क्षेत्र नम्बर ५(२) बाट निर्वाचित कांग्रेसका प्रदेश सांसद हुन् ।

वन्यजन्तु तस्करीमा सांसद खड्का पनि मुछिए

पुस पहिलो साता निकुञ्जको टोलीले पर्सा ३(१) का मधेस प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी–१ स्थित घरमा ५ जनाबाट मारिएका दुई जरायो, दुई गाडी, हतियार र गोली, नगदलगायत बरामद गरेको थियो । घटनामा सांसद जयसवालका दाजु सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल पनि तानिएका छन् । निकुञ्जको टोलीले सोमबार जयसवाल दाजुभाइको बयान लिएको छ । यो घटनामा जोडिएका वाग्मतीका सांसद खड्कासँग बयान लिनका लागि निकुञ्जको टोलीले पत्र काटेको छ । जरायो मार्न प्रयोग भएको बन्दुक सांसद खड्काको नाममा रहेको खुलेको छ । स्रोतका अनुसार सखुवा प्रसौनी–१ मा खड्काको माछापोखरी छ ।

निकुञ्जले बरामद गरेको प्र २०३ ००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी जयसवाल इन्टरप्राइजेजको नाममा छ । उक्त फर्म सांसद जयसवालका दाजु प्रदीपको नाममा छ । निकुञ्जका वार्डेन अशोक रामले सांसद जयसवालको बयान लिइएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया चाँडै नै टुंग्याएर मुद्दा दायर गर्ने बताएका छन् । उक्त घटनामा संलग्नताका आरोपित उपेन्द्र यादव, कुमार तामाङ, विकास सहनी र चालक सलुन मियाँ फरार छन् । उनीहरूको खोजी भइरहेको छ । निकुञ्जको टोलीले पक्राउ परेका झापस दास थारू, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी र म्लाङ दोङ तामाङको बयान लिइसकेको छ । उनीहरूले दिएको बयानका आधारमा निकुञ्जले सांसदद्वय जयसवाल र खड्कालाई पत्र काटेको थियो । सांसद जयसवालले सोमबार बयान दिएका छन् भने खड्का बयान दिन निकुञ्ज कार्यालय पुगेका छैनन् ।

निकुञ्जको टोलीले १२ बोरको बन्दुक, ९ राउन्ड गोली, नाइट भिजन राइफल स्कोप, बोर साई केस, बन्दुक राख्ने दुईवटा झोला, राइफल साइटको ब्याट्री कम्पार्टमेन्ट बरामद गरेको थियो ।

यो घटनाको अनुसन्धान निकुञ्जसहित जिल्ला प्रहरी र सीआईबीले पनि आ–आफ्नो तरिकाले गरिरहेका छन् । निकुञ्जले वन्यजन्तु चोरी तस्करीमा, प्रहरीले खरखजना तथा हातहतियार र सीआईबीले उनीहरूको संलग्नताको नेटवर्क हेरिरहेको स्रोतले बताएको छ ।

वार्डेन रामले यो घटनालाई आफूहरूले गम्भीर रूपमा लिएको बताउँदै दोषीलाई नछाडिने बताएका छन् । ‘अनुसन्धान गर्ने अवधि ४५ दिनको छ । हामी अनुसन्धान छिटै टुंग्याएर मुद्दा छिट्टै दायर गर्छौं,’ उनले कान्तिपुरसित भने । दोषी देखिएका सबैविरुद्ध मुद्दा दर्ता हुने उनले बताए । निकुञ्जको नियमित गस्ती टोलीले पुस ४ को राति निकुञ्जनजिकको प्रदेश सांसद जयसवालको घरबाट सखुवा प्रसौनी–१ का ३७ वर्षीय झापस दास थारू, ४४ वर्षीय विशाल सहनी, काभ्रे साँगाका ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना–२ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई नियन्त्रणमा लिएको थियो ।

टोलीले चोरी सिकारमा प्रयोग भएको सेतो रङको बोलेरो गाडी पनि बरामद गरेको थियो । निकुञ्जको कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गुडिरहेको उक्त गाडीबाट चौरभेया रेन्जपोस्ट र सेनाको संयुक्त गस्ती टोलीमाथि गोली प्रहार भएको थियो । सेनाको टोलीले जवाफी फायर गर्दा गाडीको टायर पन्चर भएको थियो । प्रदेश सांसद जयसवालको नाममा रहेको उक्त गाडी पछि अकुनिया गाउँमा भेटिएको थियो ।

एउटा घरलाई सेल्टर बनाएर संगठित रूपमा चोरी सिकार गर्ने किसिमले बन्दोबस्तीका सामान र हतियारसहित सांसद जयसवालको घरबाट जरायोको सिङसहितको टाउको र हातहतियार फेला परेको थियो । निकुञ्जका अनुसार पक्राउ परेका विशाल सहनी यसअघि गाँजा तस्करमा कारबाहीमा परेका हुन् भने अधिकारी पूर्वहबल्दार हुन् । यादव वन्यजन्तु चोरी सिकारमा संलग्न र विशाल सहनी सार्पसुटर रहेको निकुञ्जले जनाएको छ । सहनी चेक बाउन्स मुद्दामा समेत फरार रहेको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए । गाउँपालिकाको राजस्वको ९ लाख रुपैयाँ दाखिलाका लागि सहनीले दिएको चेक बाउन्स भएपछि प्रहरीमा जाहेरी दिइएको यादवले बताए ।

सेनाको जवाफी कारबाहीमा सखुवाप्रसौनी–५ बलुवाका उपेन्द्र यादवको खुट्टामा गोली लागेको थियो । उनी पनि फरार छन् । घटनाको भोलिपल्टदेखि सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल फरार थिए । निकुञ्ज प्रशासनले अनुसन्धानका क्रममा बयानका लागि पत्र काटेपछि उनी गत शनिबार गाउँमा देखिएका थिए । ‘आरोपितलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनले अनुसन्धान र सोधपुछ गर्नुपर्ने हो,’ सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवले भने, ‘संगठित रूपले हुँदै आएको वन्यजन्तु चोरी सिकारीमा संलग्न रहेका आरोपितहरू बाहिर घुमिरहेका छन् ।’

निकुञ्जको टोलीले काठमाडौं–१७ का सञ्जिन शाहीको नाममा रहेको बा५ख ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी, १२ बोर बन्दुक, नाइटभिजन राइफल, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने दुईवटा झोला, दुई थान आइफोन, मोबाइललगायत सामग्री पनि बरामद गरेको थियो । घटनाको प्रकृत्ति हेर्दा, एउटा घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी संगठित रूपमा भइरहेको देखिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीले पनि त्यही पुष्टि गरेका छन् । सिकारी टोलीले ड्रोनको समेत प्रयोग गर्ने गरेको पाइएको छ । सांसद जयसवालले घटना भएको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताउँदै आएका छन् । उक्त घटनामा आफ्नो संलग्नता नभएको र स्थानीय प्रकाश केसीलाई उक्त घर भाडामा दिएको बयान उनले दिएका छन् । केसीले भने सांसद जयसवालले गलत आरोप लगाएको बताए । ‘जयसवालको त्यो घरनजिकै मेरो घर छ,’ हाल गाउँपालिकाको दमकल चालक रहेका उनले भने, ‘उहाँहरू पहिले खानपिनका क्रममा आउँदा परिचय भएको थियो । उनका भाइ गाउँपालिका अध्यक्ष हुँदा मलाई ड्राइभरको जागिर दिएका थिए । केही महिनापछि त्यो घरमा बाख्रा फार्म राखेर मलाई रेखदेखको जिम्मा दिएका थिए । गएको वैशाखदेखि म त्यो घरमा गएको छैन ।’

प्रकाशित : पुस १९, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?