राजधानीमै सडकको दुर्दशा

काम ढिला गर्ने ठेकेदारले कारबाहीको सट्टा संरक्षण पाउँदै
धेरै ठेक्का अलपत्र पार्नेमा शैलुङका अधिकारी
विमल खतिवडा

काठमाडौँ — बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक हेर्न संघीय राजधानीबाट बाहिरिइरहनु पर्दैन । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका विशिष्ट व्यक्ति ओहोरदोहोर गरिरहने सडकको स्तरोन्नति कार्य नै अलपत्र छ । काम ढिला गर्ने ठेकेदारले कारबाहीको सट्टा उल्टै संरक्षण पाएका छन्, अब नयाँ भौतिक पूर्वाधारमन्त्रीले के गर्छन् ? चासो यही छ । 

राजधानीमै सडकको दुर्दशा

उपत्यकामा दर्जनभन्दा बढी सडकका ठेक्का अलपत्र छन् । सबैभन्दा धेरै अलपत्र पार्नेमा शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारी पर्छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटी अधिकारीले ठेक्का लिएका कुनै पनि सडकको प्रगति सन्तोषजनक छैन । उनले बालाजु–रानीपौवा, कमलविनायक–नगरकोट, ढोलाहिटी–सुनाकोठी–चापागाउँ, त्रिपुरेश्वर–नागढुंगा, सुन्दरबस्ती–आदर्शनगर–चुनिखेल–जगडोल सडक दुरवस्थामा पुर्‍याएका छन् ।

अधिकारीले नै ठेक्का लिएको साततले–भण्डारी गार्मेन्ट–बालुवाखानी, आकाशेधारा–कृष्ण मन्दिर, सामाखुसी–रानीबारी, सिद्धार्थमार्ग–बुद्धनगर, रत्नराज्य स्कुल–पाण्डेश्वर मन्दिर सडकको पनि बिजोग छ ।

बालाजु–रानीपौवा सडक स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थप गर्दा पनि प्रगति नभएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । राजधानीको फोहोर लिएर सिसडोल जाने सडक वर्षौंसम्म नबनेपछि उक्त खण्डको योजनालाई टुक्र्याएर

मुड्खु–तीनपिप्ले खण्डमा नयाँ ठेक्का लगाइएको छ । चार महिनामा सक्ने गरी १५ करोड रुपैयाँमा ठेक्का गरिएको सडक निर्माणमा अहिले आयोजना कार्यालयले निगरानी गरिरहेको छ । शैलुङले जिम्मा लिएको १५.६६ किमि लामो कमलविनायक–नगरकोट सडकको स्तरोन्नति सुरु भएको आठ वर्ष भइसकेको छ । २०७१ जेठ २२ मा पहिलो सम्झौता भएकामा आठ पटक म्याद थप भइसकेको छ । त्यसमा आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिएका हुन् । सम्झौताअनुसार काम गरिएको भए २०७३ असार ३ मा नगरकोटको सडक पूरा भइसक्थ्यो । दुई वर्षमा सक्ने भनिएको सडकको काम आठ वर्षमा ८५ प्रतिशत मात्र भएको छ । निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ । सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ । यसबीच ठेकेदार कम्पनीले २९ करोड ७७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर–नगरकोटका सर्वसाधारणले धेरै पटक मन्त्रालय धाए, पटक–पटक सडकमै उत्रिएर आन्दोलन गरे, स्थानीय जनप्रतिनिधिदेखि आफ्नो क्षेत्रका सांसद भेटे । मन्त्रीको बाटो पनि छेके । विरोधस्वरूप सडकमै वडा कार्यालय चलाए । ठेकेदारको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसे । तर ठेकेदार टसको मस भएनन्, बरु ‘काम गर्छॅ’ भन्दै ढाँटिरहेका छन् ।

सडक स्तरोन्नति नभएकै कारण नगरकोट जाने पर्यटकका अगाडि देशको बदनामी भइरहेको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठका अनुसार निर्माण कम्पनीलाई पुस मसान्तसम्म समय दिइएको छ । ‘पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि ठेक्का तोड्ने अवस्थामा पुगेका थियौं,’ उनले भने, ‘यही जानकारी निर्माण कम्पनीलाई पनि गरायौं, त्यसपछि काममा केही प्रगति भएको छ । पुस मसान्तसम्म यो सडकको काम सक्नुपर्ने छ ।’ अन्तिम पटक दिइएको मौकामा काम नसके सिधै ठेक्का तोडिने उनको दाबी छ ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले–सरस्वतीकुण्ड सडकअन्तर्गत ढोलाहिटी–सुनाकोठी–चापागाउँ खण्डको ठेक्का पनि शैलुङकै जिम्मा छ । दिवा–शैलुङ जेभीले २०७५ साउन २६ मा सक्ने गरी २०७३ जेठ २६ मा संयुक्त ठेक्का लिएको हो । तर, ६ वर्ष बित्दा पनि सडक अलपत्र छ ।

दिवा–शैलुङ जेभीले ठेक्का लिएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको काम ७ वर्षमा पनि सकिएको छैन । बनिसकेको खण्डसमेत भत्किन थालेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीका अनुसार बिग्रिएको सडक मर्मत गर्न ठेकेदारले प्रतिबद्धता जनाए पनि काम अघि बढेको छैन । यो सडकलाई तीन खण्डमा ठेक्का लगाइएको छ । तीनवटै ठेक्का शैलुङले संयुक्त रूपमा लिएको हो । शैलुङले ठेक्का लिएको कपन खण्डको सडकमा पनि काम अलपत्र छ । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार त्यहाँको काम अन्तिम चरणमा छ ।

चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गत दक्षिणढोकाबाट उकालो लागेपछि सास्ती सुरु हुन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो सडकलाई चार खण्डमा विभाजन गरी ठेक्का लगाएको छ । लामो समयपछि बल्ल कालोपत्र सुरु गरिएको छ । यस खण्डको ठेक्का बज्रगुरु–बिरुवा–खानी जेभीले लिए पनि काम बिरुवा कन्स्ट्रक्सनले गर्दै आएको छ । २०७२ असोज १३ मा भएको सम्झौताअनुसार २०७५ वैशाख १४ भित्र निर्माण सक्नुपर्ने थियो । ४५ करोड ६९ लाखमा ठेक्का लागेकामा ३१ करोड ४६ लाख ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । तर, योजनाको लागत बढाएर ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ पुर्‍याइएको छ ।

चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गत दुई खण्डको काम सकिएको छ । तेस्रो खण्ड नारायणटारस्थित वाग्मती पुलदेखि थली उकालोसम्म पर्छ । बज्रगुरु–च्याङमिला–खानी जेभीले ठेक्का लिएको २.४ किमि लामो यो खण्डको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । सम्झौताअनुसार २०७५ पुस १४ मै विस्तार सकिनुपर्ने हो । तर चार पटक म्याद थपिइसकेको छ । ३१ करोड ८१ लाख ४७ हजारमा ठेक्का लागेकामा अहिले लागत ३६ करोड ४८ हजार रुपैयाँ पुगिसकेको छ । चौथो खण्ड ब्रह्मखेलदेखि सम्बुटारसम्म २.४६ किमि सडक विस्तारको ठेक्का बीटी–सुनकोसी–वर्ल्डवाइड जेभीले लिए पनि काम पूरा भइसकेको छैन ।

यता, नख्खुखोला–भैंसेपाटी सडक खण्डको हालत पनि उस्तै छ । नख्खुखोलाबाट भैंसेपाटीतर्फ उकालो लाग्दै गर्दा बिजोग छ । यो सडक दुई खण्डमा बाँडेर ठेक्का लगाइएको छ । पहिलो खण्ड नख्खुखोला–भैंसेपाटी–सोह्रखुट्टेको दूरी ३.५२ किलोमिटर छ । २०७३ असार ३० मा भएको ठेक्काअनुसार २०७५ कात्तिक ३० भित्र काम सकिसक्नुपर्ने हो । तर अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र छ । ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ३.५२ किमिमध्ये दुई किमि सडक मात्र कालोपत्र भएको छ । सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रुपैयाँ भए पनि अहिले लागत बढाएर ३० करोड ५ लाख रुपैयाँ पुर्‍याइएको छ । १९ करोड ९६ लाख ९६ हजार रुपैयाँ भुक्तानी नै भइसकेको छ । यस खण्डको ठेक्का आशिष–बिरुवा–सीएम जेभीले लिएको हो । संयुक्त ठेक्का भए पनि सुरुवाती जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको थियो । उसले काम नगरेपछि सीएम कन्स्ट्रक्सनले यसको काम गर्दै छ ।

सीएम कन्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ खानेपानीको पाइप फुटेपछि काम गर्न समस्या भएको बताउँछन् । ‘कालोपत्र गर्ने तयारी गर्दागर्दै पाइप फुटेर समस्या भएको हो,’ उनले भने, ‘पाइप व्यवस्थापन हुनासाथ काम गर्न समस्या छैन, पाइप फुटेर पानी आइरहँदा भने कालोपत्र गर्न मिल्दैन ।’ उनले जति चाँडो पाइप व्यवस्थापन हुन्छ, त्यति नै चाँडो सडक कालोपत्र गर्न सकिने दाबी गरे । अहिले सडकको चौथो पटक म्याद पुस मसान्तसम्म थप गरिएको छ । पुस सकिनै लाग्दा कालोपत्र सुरु भएको छैन ।

भैंसेपाटी क्षेत्रमा सरकारका विशिष्ट व्यक्तिहरूको बसोबास बाक्लो छ । उनीहरू सधैं यही सडक ओहोरदोहोर गर्छन् । तर उनीहरूले सडकको दुरवस्था देखेर पनि नदेखेजस्तो गर्दै आएका छन् । यही क्षेत्रमा बस्ने एमाले नेता विष्णु पौडेल अहिले उपप्रधान तथा अर्थमन्त्री छन् । त्यस्तै कांग्रेस नेता एनपी साउद सांसद निर्वाचित भएका छन् ।

अर्को खण्ड सोह्रखुट्टे–बुङमती–चुनदेवी सडकको अवस्था पनि उस्तै छ । सडक खनेर अलपत्र पारिएको छ । ठेक्का लागेको पाँच वर्ष पुग्दा बल्ल घर भत्काइँदै छ । ठेक्का भएको सडकको दूरी १.५५ किमि मात्रै छ । यसको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । यसमा प्रगति ७५ प्रतिशत मात्र छ । संयुक्त ठेक्का भए पनि वर्ल्डवाइड निर्माण कम्पनीले काम गरिरहेको यो सडकको चौथो पटक म्याद थपिएको छ ।

उपत्यकामा चाबहिल–जोरपाटी–साँखु, कलंकी–नागढुंगा, ढोलाहिटी–सुनाकोठी–चापागाउँ, जोरपाटी–सुन्दरीजल, नख्खुखोला–भैंसेपाटी र सोह्रखुट्टे–चुनिखेल सडकको ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले लगाएको हो । अन्य को ठेक्का सडक डिभिजन कार्यालयमार्फत लगाइएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशी अहिले सबैतिर काम भइरहेको दाबी गर्छन् । ‘लामो समय प्रगति नदेखिएका सडकमा धमाधम काम भइरहेको छ,’ उनले भने, ‘चैत मसान्तसम्म सबै सडक बनिसक्छन्, काम नसके सिधै ठेक्का तोड्नुको विकल्प छैन ।’

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले काठमाडौं उपत्यकामा लामो समयदेखि रुग्ण बनेका सडकमा अहिले काम भइरहेको दाबी गरे । ‘लामो समय ठेक्का भएर पनि प्रगति नभएका सडक धेरै छन्,’ उनले भने, ‘अहिले त्यस्ता सडकमा काम भइरहेको छ, अब पनि काम नगरे सिधै ठेक्का तोडिनेछ ।’

प्रकाशित : पुस १९, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?