२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अयोध्या पठाइँदै कालीगण्डकीको शिला

पहिले जनकपुरस्थित रामजानकी मन्दिरमा राखिने, पछि अयोध्याको राममन्दिर लगिने
घनश्याम खड्का

म्याग्दी — कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ । बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो । ‘कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला पठाउँदै छौं,’ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले भने । 

अयोध्या पठाइँदै कालीगण्डकीको शिला

संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सैद्धान्तिक सहमति जनाएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक उदारता एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज्ने काम सुरु भएको थियो । गत साउन अन्तिम साता पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधि अयोध्याधाम पुगेर यसको पहल थालेका थिए । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने प्रस्ताव गरेका थिए । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि दाबी गरिएको ठाउँ नजिक रामको मूर्ति बनाउने जनाएको छ ।

अयोध्याको विवादित जग्गा राम जन्मभूमि वा बाबरी मस्जिद भन्नेमा वर्षौंदेखि विवाद रहँदै आएकामा तीन वर्षअघि भारतको सर्वोच्च अदालतले राम मन्दिरकै भएको फैसला सुनाएको थियो । आदेशपछि नै उक्त जग्गामा राममन्दिर निर्माणको बाटो खुलेको हो । अदालतले आफ्नो आदेशमा भारतको केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे विस्तृत कार्ययोजना बनाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार ट्रस्टमार्फत मन्दिर निर्माणको काम अघि बढेको हो । अदालतले मस्जिद बनाउनका लागि मुस्लिम समुदायलाई अन्य ठाउँमा पाँच एकड क्षेत्रफल जग्गा उपलब्ध गराउन पनि आदेश दिएको थियो ।

हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाश्रम सांख्यदर्शनका महामुनि कपिलको पनि तपोभूमि मानिन्छ । ‘यो क्षेत्र पुण्यभूमि हो, त्यसैले कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौं,’ शिला अध्ययन, उत्खनन तथा स्थानान्त्रण अभियानका सदस्य तथा कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भने, ‘शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ । त्यसपछि अनुकूल समयमा अयोध्याको राम मन्दिरमा लैजान्छौं ।’

शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पंकज पोखरा आइपुगेका छन् । नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पुर्‍याउने जिम्मा प्रदेश सरकारको रहने चालिसेले बताए । ‘अयोध्याको आकर्षणको केन्द्र रामको मूर्ति बनाउन शिला लैजान लागिएको हो,’ उनले भने, ‘यसले अयोध्या, जनकपुर र मुक्तिनाथबीच पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुनेछ ।’ शिला लैजाने मिति भने टुंगो लागिसकेको छैन ।

शिला अयोध्या पठाउने निर्णय अगाडि बढाएका तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले धार्मिक आस्थासँग जोडिएको हुनाले निर्णय गरिएको बताए । ‘कालीगण्डकीको शिला लग्ने निर्णय धार्मिक विषयसँग जोडिएको छ,’ उनले भने, ‘नेपाल र भारतबीचको भावनात्मक कुरा पनि हो ।’

प्रकाशित : पुस १९, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?