कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पर्सा निकुञ्ज तस्करी प्रकरण : कांग्रेसका प्रदेश सांसद श्याम खड्का पनि मुछिए

प्रहरी,सीआईबी र निकुञ्जले छुट्टाछुट्टै अनुसन्धान गर्दै

(काठमाडौं) र (पर्सा) — पुस पहिलो साता पर्सा राष्ट्रिय निकुञ्जमा भएको तस्करीको घटनामा वाग्मति प्रदेश सभाका सांसद श्याम खड्का पनि मुछिएका छन् । खड्का कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५(२)बाट निर्वाचित प्रदेश सांसद हुन् ।

पर्सा निकुञ्ज तस्करी प्रकरण : कांग्रेसका प्रदेश सांसद श्याम खड्का पनि मुछिए

पुस पहिलो साता निकुञ्जको टोलीले रंगेहात ५ जनालाई मृत अवस्थाका दुईवटा जरायो, दुईवटा गाडी,हातहतियार र त्यसमा लाग्ने गोली,नगदलगायतका सामग्री बरामद गरेको थियो ।

ती व्यक्ति तथा सामग्रीहरु पर्सा ३(१)बाट निर्वाचित प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी गाउँपालिका- १ स्थित घरबाट निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । यो प्रकरणमा सांसद जयसवालका दाजु सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल पनि तानिएका छन् ।

निकुञ्जको टोलीले सोमबार जयसवाल दाजुभाइको बयान लिएको छ । यस्तै,यो घटनामा जोडिएका वाग्मतीका सांसद खड्काको बयान लिनका लागि निकुञ्जको टोलीले पत्र काटेको छ । जरायो मार्न प्रयोग भएको बन्दुक सांसद खड्काको नाममा रहेको खुलेको छ । स्रोतका अनुसार सांसद खड्काको सखुवा प्रसौनी–१ मा माछापोखरी रहेको छ ।

निकुञ्जले बरामद गरेको प्र २०३ ००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी जयसवाल इन्टरप्राइजेजको नाममा रहेको छ । उक्त इन्टरप्राइजेज सांसद जयसवालका दाजु प्रदीप जयसवालको नाममा छ । यस्तै, हतियार,वन्यजन्तुसहित व्यक्तिहरु सांसद जयसवालको घरबाट रंगेहात नियन्त्रणमा लिइएका थिए ।

निकुञ्जका वार्डेन अशोक रामले सांसद जयसवालको बयान लिइएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया चाँडै नै टुंग्याएर मुद्दा दायर गर्ने बताएका छन् ।

यस्तै, उक्त घटनाका आरोपी उपेन्द्र यादव,कुमार तामाङ, विकास सहनी र चालक सलुन मियाँ फरार छन् । उनीहरुको खोजी भइरहेको छ । निकुञ्जको नियमित गस्ती टोलीले पुस ४ गते राति निकुञ्ज आडमै रहेको प्रदेश सांसद प्रमोद कुमार जयसवालको घरबाट सखुवा प्रसौनी– १ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी, काभ्रे सांगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुले दिएको बयानको आधारमा निकुञ्जले सांसदद्वय जयसवाल र खड्कालाई पत्र काटेको थियो । सांसद यादवले सोमबार बयान दिएका छन् भने खड्का बयान दिनका लागि उपस्थित भएका छैनन् ।

निकुञ्जको टोलीले १२ बोल नाल, १२ बोल राउन्ड,०.२२ हतियारको ९ राउन्ड गोली, नाईट भिजन राइफल स्कोप,बोर साई केस, बन्दुक राख्ने दुईवटा झोला, ०.२२ को राइपफल साइटको ब्याट्री कम्पार्टमेन्ट बरामद गरेको थियो ।

टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो । उक्त गाडी प्रदीप जयसवालको नाममा रहेको छ । निकुञ्जको कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गुडिरहेको बोलेरो गाडीबाट चौरभेया रेन्जपोस्ट र नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथि गोली प्रहार भएको थियो । सेनाको टोलीले जवाफी फायर गर्दा गाडीको टायर पङ्चर भएको थियो । उक्त गाडी अकुनिया गाउँमा भेटिएको थियो ।

एउटा घरलाई सेल्टर बनाएर संगठित रुपमा चोरी सिकार गर्ने किसिमले बन्दोवस्तीका सामान र हतियारसहित सांसद जैयसवालको घरबाट जरायोको सिंहसहितको टाउको र हातहतियार फेला परेको थियो । निकुञ्जका अनुसार पक्राउ परेका विशाल सहनी यसअघि गाँजा तस्करमा कारवाही भोगेका व्यक्ति हुन् भने अधिकारी पूर्व सिपाही/हवल्दार हुन् । उक्त घटनामा सलग्न उपेन्द्र यादव, कुमार तामाङ, विकास सहनी फरार रहेको निकुञ्जले जनाएको छ । यादव वन्यजन्तु चोरी सिकारमा संलग्न र विशाल सहनी सार्पसुटर रहेको निकुञ्जले जनाएको छ । सहनी चेक बाउन्स मुद्दामा समेत फरार रहेको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जनाए । पालिकाको राजस्वको ९ लाख रुपैयाँ दाखिलाका लागि सहनीले दिएको चेक बाउन्स भएपछि पालिकाले प्रहरीमा मुद्दा दिएको यादवले बताए ।

जानकारका अनुसार सेनाको जवाफी कारवाहीमा सखुवाप्रसौनी गाउँपालिका– ५ बलुवाका उपेन्द्र यादवको खुट्टा गोली समेत लागेको थियो । उनी पनि फरार रहेका छन् । घटनाको भोलिपल्टदेखि सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल फरार रहेका थिए । निकुञ्ज प्रशासनले अनुसन्धानको क्रममा बयानको लागि पत्र काटेपछि मात्र उनी गत शनिबार गाउँमा देखिएका थिए । ‘आरोपितलाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनले अनुसन्धान र सोधपुछ गर्नुपर्ने हो,’ सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवले भने, ‘संगठित रुपले हुँदै आएको वन्यजन्तु चोरी शिकारीमा संलग्न रहेका आरोपितहरु दुई हप्तादेखि बाहिर घुमिरहेका छन् ।’

निकुञ्जको टोलीले काठमाडौं १७ घर भएका सञ्जिन शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी, १२ बोर बन्दुक, नाइट भिजन राइफल, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने दुईवटा झोला, दुई थान आईफोन, मोबाइल लगायत सामग्री पनि बरामद गरेको थियो । घटनाको प्रकृत्ति हेर्दा, एउटा घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी संगठित रुपमा भइरहेको देखिन्छ ।

बरामद गरिएका सामग्रीले पनि त्यही पुष्टि गरेका छन् । सिकारी टोलीले ड्रोनको समेत प्रयोग गर्ने गरेको पाइएको छ । सांसद जयसवालले घटना भउको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताउँदै आएका छन् । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । जैयसवालले स्थानीय प्रकाश केसीलाई उक्त घर भाडामा दिएको बताएका छन् । प्रकाश केसीले सांसद जयसवालले गलत आरोप लगाएको बताए ।

‘जयसवालको उक्त घरको नजिकै मेरो घर हो,’ केसीले भने, ‘उहाँहरु पहिले खानपिनको क्रममा आउँदा परिचय भएको थियो, उनको भाई गाउँपालिका प्रमुख हुँदा मलाई चालकको जागिर दिएका थिए, केही महिना पछि उक्त घरमा बाख्रा फाराम सञ्चालनमा ल्याएर मलाई रेखदेखको जिम्मा दिएका थिए, गत वैशाखदेखि म उक्त घरमा गएको छैन् ।’ केसी हाल गाउँपालिकाको वारुणयन्त्रको चालकको रुपमा कार्यरत रहेका छन् ।

प्रहरी,सीआईबी र निकुञ्जले छुट्टाछुट्टै अनुसन्धान गर्दै

यो घटनाको अनुसन्धान निकुञ्जसहित प्रहरी र सीआईबीले पनि आ–आफ्नो तरिकाले गरिरहेका छन् । निकुञ्जले वन्यजन्तु चोरी तस्करीमा, प्रहरीले खरखजना तथा हातहतियार र सीआईबीले उनीहरुको संलग्नताको नेटवर्क हेरिरहेको स्रोतले बताएको छ ।

वार्डेन रामले यो घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको बताउँदै दोषीलाई नछाडिने बताएका छन् । ‘अनुसन्धान गर्ने अवधि ४५ दिनको छ । हामीले चाडै नै अनुसन्धान सकाउने कोसिसमा छौं । मुद्दा छिटै दायर गर्छौं,’उनले कान्तिपुरसित भने । कानुनमा दोषी देखिएका सबैविरुद्ध मुद्दा दर्ता गर्ने बताएका छन् ।

प्रकाशित : पुस १८, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?