सुनिन छाड्यो टापको टक-टक- समाचार - कान्तिपुर समाचार

सुनिन छाड्यो टापको टक-टक

एकाबिहानैदेखि सडकबाट सुनिने घोडाका टापले ब्युँझने नेपालगन्ज नगरमा हराउँदै छन् टाँगा 
जे पाण्डे

नेपालगन्ज‚ बाँके — पढाइ छाडेर एउटा हातमा चाबुक र अर्कोमा घोडाको लगाम समातेर टाँगा हाँक्न थाल्दा रामदुलारे तमौलीको उमेर २० वर्ष पनि थिएन । पुस्तैनी पेसा सम्हाल्दै उनी एउटा घोडा भाडामा लिएर नेपालगन्जका सडकमा टाँगासहित निस्केका थिए ।

सहरका सम्पन्न परिवारहरूसँग पनि आफ्नै सवारीसाधन थिएन । छोटो दूरी आउजाउमा तमौली र अरू टाँगावालमा निर्भर थिए । त्यो बेला दैनिक हुने ५० रुपैयाँ कमाइले तमौलीको परिवारको गुजारा चलेको थियो ।

७२ वर्षीय तमौली हिजोआज ती दिनहरू सम्झन्छन् । विशेषगरी राजा वीरेन्द्रको सवारीमा साथीहरू टाँगा लिएर स्वागत जुलुसमा सहभागी भएको झनै स्मृतिमा छ । ‘मैले घोडा र टाँगा चिटिक्क सिँगारेर जुलुसमा लगेको थिएँ । टाँगाहरूको लस्कर नै थियो,’ नेपालगन्ज–८ भैरवगन्जका तमौलीले भने,’ ‘तर मलाई ठ्याक्कै भने तिथिमिति याद छैन ।’ पाखुरामा बल निख्रेरभन्दा पनि गुजारा चलाउन नसकिने भएपछि उनले ५ वर्षअघि टाँगा चलाउन चटक्कै छोडिदिए । छोराहरूले पनि पुर्ख्यौली व्यवसायमा कुनै सम्भावना नदेखेर सिलाइकटाइको काम सुरु गरे । ‘अहिले त सबैतिर टेम्पो, अटो रिक्सा र बसहरू छन् । टाँगामा चढ्ने यात्रु नै पाइँदैन,’ तमौली भन्छन् ।

एक समय नेपालगन्ज परिचय टाँगाहरूको सहरका रूपमा थियो । यात्राका निम्ति टाँगा निर्विकल्प थियो । तमौली सम्झन्छन्– जन्तीदेखि र मलामीसमेत टाँगामै हुन्थे । उनले भेरी अस्पताल बिरामी पुर्‍याए, अस्पतालबाट घाटसम्म शव पनि पुर्‍याए । बिहेका बेहुला र बेहुली बोके, रुपैडिहाबाट मालताल पनि बोके ।

विसं २०३० देखि ०५० सम्मको बीस वर्ष नेपालगन्जका सडकमा टाँगाको वर्चस्व थियो । तत्कालीन अञ्चल प्रहरी कार्यालयमा दर्ता भएरै ९ सय ५५ वटा टाँगा सञ्चालनमा थिए । दर्ता नभएकाको संख्या पनि जोड्ने हो भने एक हजार नाघ्थ्यो । कालान्तरमा बाँकेको यो पुरानो सहरका सडकहरूबाट घोडाको टापका आवाजहरू पातलिँदै गयो । यो क्रम सुरु भयो २०५१ बाट । त्यतिबेला लगानी गर्न सक्नेले काठमाडौं, वीरगन्ज र भारतको लखनउबाट तीनपांग्रे टेम्पो ल्याएर चलाउन थाले । त्यसलाई घोडा जसरी न दानापानी खुवाउने झमेला, न त फोहोर नै गर्ने । खुरुरु कुदने र टाँगाभन्दा छिटो गन्तव्यमा पुगिने विक्रम टेम्पोको सोझो मार टाँगा व्यवसायमा पर्न थाल्यो । त्यसो त २०३९ सालमा खजुराबाट राँझामा विमानस्थल सरेपछि नै टाँगाको विकल्प खोजी भइसकेको थियो । किनकि टाढाको विमानस्थल छोटो समयमा पुग्न टाँगा कामयाब साधन थिएन । टेम्पोको बढ्दो संख्या २०६३ माघमा रोकियो । किनकि तराईमा सुरु भएको राजनीतिक आन्दोलनबाट नेपालगन्ज पनि प्रभावित भयो । भारत हुँदै आउने इन्धन आयात रोकिँदा टेम्पो चल्न नसक्ने अवस्था आयो । टाँगाले पुनर्पवन पाएको जस्तो देखियो । सडकमा फेरि घोडाका टापको आवाज सुनिए ।

केही समय नबित्दै फाट्टफुट्ट ब्याट्रीरिक्सा र इलेक्ट्रिक अटोहरू देखिए । आन्दोलनको रापताप सकिएपछि धूँवा फाल्दै कर्कश आवाज निकालेर कुद्ने विक्रम टेम्पोभन्दा शान्तिपूर्वक कुद्ने इलेक्ट्रिक अटोहरू यात्रुको रोजाइमा पर्न थाले । परिवर्तनको यो मार पनि टाँगा व्यवसायमै पर्‍यो । २० वर्षसम्म नेपालगन्जमा टाँगा चलाएका साहिद ढपालीले सुनाए, ‘अहिले त बजारमा १५ वटा पनि टाँगा छैनन् । पेसेन्जर घोडा होइन इन्जिनले चल्ने साधन रोज्छन् ।’

२०७१ भदौमा सरकार र एसियाली विकास बैकको संयुक्त लगानीमा जमुनाह नाकादेखि कोेहलपुरसम्म २१ किलोमिटर राजमार्ग ४ लेनको बनाउन थालेपछि टाँगाहरू झनै मारमा परे । राजमार्गमा अटो र विक्रम टेम्पो हुइँकिने तर टाँगाहरूले तिनको गति भेट्न नसक्ने भएपछि विस्थापन नै सुरु भयो । तमौलीका अनुसार अहिले त सडकमा एक दर्जन टाँगा पनि भेटिन मुस्किल पर्छ । घोडा बेचेपछि बाँकी रहेका एक्का टाँगा पनि खुला आकाशमुनि कुहिँदै गएका र जीर्ण अवस्थामा कतैकतै देख्न सकिन्छ ।

नेपालगन्जको पुरानो नाका टोल छिर्ने हो भने बाटोको छेउछाउमा भग्न अवस्थाका टाँगाहरू भेटिन्छन् । पहिलेपहिले नाका टोलनजिकै भन्सार भएकाले टोलको नाम पनि नाका रहन गएको हो । धेरै कुदेका र हजारौं यात्रुहरू बोकेका टाँगाहरू परित्यक्त भएसँगै नेपालगन्ज बजारका सडकबाट घोडाहरूको टप–टप आवाजहरू पनि हराउन थाल्यो । नाका टोलका ७४ वर्षीय मोहम्मद उमरले जीवनका ३५ वर्ष घोडाको लगाम खिचेर सडकहरूमा टाँगा दौडाउँदै बिताए । २० वर्षको उमेरदेखि नै पुस्तैनी पेसा टाँगा चलाएका उनले अब त्यो युग सकिएको निष्कर्ष सुनाए ।

नेपालगन्ज–९ बाँके गाउँका राहिद ढपालीले दुई दशकपछि टाँगा चलाउने पेसा छाडे । उनका छोरा सुल्तान पनि टाँगामा केही वर्ष कुदे तर त्यसबाट हुने कमाइले उनी अडिन नसक्ने देखेपछि अटोरिक्सा किनेर कुदाउन थाले । ६३ वर्षीय चुन्नु ढपालीले जीवनमा ४४ वर्ष टाँगा चलाए । १५ वर्षको उमेरमा पहिलो पटक लगाम समातेका उनले ४ वर्षअघि यो पेसा छाडे । उमेरले त अझै गरिखान सक्छु भन्ने आँट थियो । तर, उनले जानेको पेसा नै धर्मराइसकेको थियो ।

नेपालगन्जमा अहिले सडक छेउछाउमा प्रशस्तै ग्यारेजहरू देखिन्छन् । ठाउँ–ठाउँमा पेट्रोल पम्पहरू पनि खुलेका छन् । तर टाँगाहरूको सहर भनेर चिनिएका बेला नेपालगन्जमा यी केही थिएनन् । थिए त टाँगावालालाई लक्षित गरी खुलेका पसलहरू । जहाँ घोडालाई खुवाउने दाना, दुबो घाँस, चना, खुदर, पिठो बेचिन्थ्यो ।

त्यतिबेला नेपालगन्जमा टाँगावालालाई लक्षित गरी खुलेका कैयन् पसल थिए । घोडालाई खुवाउने दाना–घाँस एउटै पसलमा पाइन्थ्यो । चुन्नुले हिजोआज सहरमा त्यस्ता पसल नगण्य भइसकेको सुनाए । एक समय नाका टोल र घसरीयन टोल टाँगावालाकै कारण चम्किएका थिए । नाका टोल छेउछाउमा टाँगाको लस्कर देखिन्थ्यो । किनकि त्यहाँ घोडाको दाना र घाँस बेच्ने पसलहरू थिए । घसरीयन टोल घोडालाई घाँस बेच्ने टोलका रूपमा प्रख्यात थियो । नगरभवन नजिकैको टाँगा स्टेसन छेउ घर भएका निजामुद्दिन सिद्दिकीले हिजोआज नाका टोलमा पहिलेजस्तो चहलपहल हुन छाडेको बताए । उनले भने, ‘हेर्दाहेर्दै टाँगा पनि देखिन छाडे । अनि त दाना बेच्ने धेरै दुकानहरू प्नि बन्द भए ।’

एउटा समय थियो, मोहम्मदको पुरै परिवार नै टाँगाको कमाइमा निर्भर थियो । उनका बाबु मोहम्मद सिद्दिकीदेखि काका मोहम्मद याकुव र हनिफ टाँगा नै चलाउँथे । त्यो बेला उनी हेर्दैमा खाइलाग्दो र सलक्क परेको घोडा किन्न भारतका लखनउ, इमामगन्ज, रिसिया, बहराइच, कानपुरसम्म धाउँथे । तीन–चार दिन लगाएर किनेका घोडा घर ल्याइपुर्‍याउँदा हेर्नेको ताँती हुन्थ्यो । रुपैडिहा रेल स्टेसनसम्मको भाडा ५ आना रहेको समयमा नेपालगन्जको बजार क्षेत्र बस्ती अहिले झैं फैलिइसकेको थिएन । नाकामा स्वागतद्वार पनि थिएन । उनी उपचारदेखि किनमेलसम्म र रोजगारीदेखि भेटघाटसम्म भारत जाने यात्रुदेखि पारिबाट कमाएर फर्केकालाई घर–घर पुर्‍याउन टाँगा दौडाइरहेका हुन्थे । आधुनिक यातायातको प्रबन्ध नभएको त्यो समयमा मोहम्मद टाँगाभरि यात्रु लिएर कहिले बर्दियाको राजापुर त कहिले कैलालीको टीकापुरसम्म पनि पुग्थे ।

भारतबाट फर्केका यात्रुदेखि मध्यपश्चिम र कर्णालीबाट रोजगारीको खोजीमा भारतको कालापहाड जाने मजदुरहरूको लर्को सबै टाँगावालहरूका सेवाग्राही थिए । भारतबाट नेपालगन्जको फत्तेवाल आँखा अस्पतालमा उपचारार्थ आउने बिरामीहरू पनि टाँगा नै रोज्थे । ओहोरदोहर गर्नेको चाप घटेको छैन, दिनदिनै बढेकै छ, यात्रुहरू त अहिले पनि उस्तै छन् । तर, उनीहरू यात्राका लागि टाँगाको सट्टा अटो रोज्छन् ।

अहिले गाडी सजाएजस्तै एक समय टाँगाहरू कसले आकर्षक तरिकाले सजाउँछ भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । सौखिन टाँगा चालकले यात्रा अवधिमा यात्रुलाई मनोरन्जन दिन क्यासेट राखेर गीतहरू बजाउँथे । कतिपयले घोडा र टाँगालाई विभिन्न रंगका मालाले सजाउँथे । घोडा वा घोडीको शिरमा रङविरंगी प्वाख, घाँटीमा घुंघरु बाँधेर थप आकर्षक तुल्याउने चलन पनि थियो । त्योभन्दा प्रतिस्पर्धा कसको घोडा महँगो र कसको आकर्षक छ भन्नेमा हुन्थ्यो । तमौलीका अनुसार सबैभन्दा महँगो घोडा अग्लो र सेतोलाई मानिन्थ्यो । जुन हत्तपत्त किन्न पाइँदैनथ्यो ।

बजारमा टाँगा चालकहरू बेला–बेलामा एकअर्कासँग कसको घोडाले कति यात्रु राखेर सबैभन्दा बढी दौडिन सक्छ भनेर प्रतिस्पर्धा गर्थे । तमौलीले सुनाए, ‘बलिया र अग्ला घोडा नियन्त्रणमा लिँदा निकै खतरा हुन्थ्यो । तत्काल रोक्दा टाँगा पल्टने डर हुन्थ्यो ।’ फाट्टफुट्ट मात्रै यान्त्रिक सवारीसाधन भएकाले नेपालगन्जका सडकहरूमा टाँगावालाहरूको व्यवसाय एकछत्र थियो । तर सडक कच्ची भएकाले उलारको जोखिम भने जतिबेला पनि हुन्थ्यो । उनले सुनाए, ‘बदमास घोडा त उफ्रन्थे । लगाम खिच्दा पनि रोक्न गाह्रो हुन्थ्यो । कहिलेकाहीं त उलार भएर आपत् ।’

समयक्रममा नेपालगन्जले स्वरूप फेरिसक्यो । टाँगा हराउँदै गए र त्यसको ठाउँ अटोहरूले ओगटे । भारतीय टाँगा चालक जुवेर अलीले रुपैडिहा–नेपालगन्ज सडकमा टाँगा दौडाउन थालेको ४० वर्ष भयो । टाँगा चढ्न यात्रुको हानथाप हुन्थ्यो, कामको चापले घोडा रोकेर दानापानी खुवाउने समय निकाल्न गाह्रो हुन्थ्यो । तर हिजो आज दैनिक चार सय खर्चेर घोडाका लागि दाना किन्ने पैसा पनि अभाव हुन्छ । भन्छन्, ‘अहिले त यात्रु पाउनै मुस्किल छ । कहिलेकाहीं खाली हिँड्नुपर्छ ।’

अहिले त नेपालगन्ज–रुपैडिहा रुटमा मात्र नेपाली र भारतीयका गरी दैनिक एक दर्जन टाँगा भेटिन्छन् । नेपाल टाँगा चालक संघका पूर्वअध्यक्ष सहादत अली शाह अटोसँग टाँगाहरूले प्रतिस्पर्धै गर्न नसकिने अवस्था रहेको बताए । उनले भने, ‘कम भाडा र छिटो पुगिने भएकाले सबै त्यतै लाग्छन् ।’

‘लुकेर टाँगा चढें’
- सनत रेग्मी‚ साहित्यकार

पहिलो पटक २००९ सालमा मैले पहिलो पटक टाँगालाई नजिकैबाट हेर्ने मौका पाएँ । म ७ वर्षको छँदा विद्युत् प्राधिकरणनजिकै बहादुरशमशेर राणाको सिनेमा हल पुगेको थिएँ । रामबागबाट राणा परिवारका सदस्य टाँगा चढेर त्यहीँ सिनेमा हेर्न जाँदै थिए । अरूले नदेखुन् भनेर उनीहरूले टाँगालाई सेतो कपडाले बेरेका थिए । त्यही मौकामा म पनि भित्र घुसेँ ।

त्यतिबेला धेरैजसो राणा परिवारका सदस्यहरू नै टाँगा चढ्थे । पुरैनामा जुद्धजंग राणाका खलक हुन् कि, रामबागका पद्मजंग जबराका खलक, जंगबहादुर खलकका केदारनरसिंहका छोरा र भतिजादेखि देवशमशेरका छोरा मसुरीशमसेरसम्म टाँगामै हिँड्डुल गर्थे । सर्वसाधारणले टाँगा चढ्न थालेको त धेरैपछि मात्रै हो ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्र खजुरा विमानस्थलमा उत्रेका बेला नेपालगन्जमा साहूमहाजनहरू टाँगा चढेर ८ किलोमिटर छिचोल्दै स्वागतमा पुगेका थिए । २०३६ मा बीपी कोइराला नेपालगन्ज आएर टाँगा चढेर नै ४० किलोमिटर पश्चिम बर्दियाको गुलरिया पुगेका थिए ।

सोही वर्ष नेपालगन्ज आएका गणेशमान सिंहले पनि टाँगा चढेरै सभा सम्मेलन भ्याएका थिए । एक समय बिहान ४/५ बजेदेखि नै टाँगाको ओहोरदोहोर सुरु भइसक्थ्यो । कति मान्छेहरू घोडाका टापको टक–टक आवाजबाटै बिहान भएको लख काट्थे । नेपालगन्जको पहिचान नै टाँगा थिए ।

प्रकाशित : पुस १८, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

वामपन्थीसँग प्रीत, राप्रपाबाट जित

२०५४ मा एमाले र २०७४ मा राप्रपाबाट मेयर बनेका धवलको केपी शर्मा ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग उस्तै सद्भावपूर्ण सम्बन्ध
जे पाण्डे

नेपालगन्ज, बाँके — बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदी तटीय बस्ती होलियाका हजारीलाल तेलीले धवलशमशेर जबराको नाम सुने पनि अहिलेसम्म भेटेका थिएनन् । तर, मंसिर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका धेरैमध्ये उनको रोजाइमा जबरा परे । हजारीले सबैका अगाडि गोप्य मतदानको रहस्य खोल्दै भने, ‘योपल्ट त भोट हलोलाई दियौं ।’ 

राणा शासनकालमा श्री ३ महाराज देवशमशेर जंगबहादुर राणा १२ औं प्रधानमन्त्री थिए । उनकै खलकका धवलले संघीय गणतन्त्र स्थापनापछि हजारीजस्ता धेरै निम्नवर्गीय किसानको मत पाएका छन् । राजतन्त्रको मुद्दा बोकेका जबराले राजनीतिमा एकपछि अर्को फड्को मारिरहेका छन् । उनले पटक–पटक संघीय सरकारको मन्त्री भइसकेका जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई फराकिलो मतान्तरले पराजित गरे । जबरा राप्रपाको युवक संगठनको जिल्ला सचिव हुँदा राई सदस्य थिए । चारपटक संसदीय अनुभव सँगाल्दै बाँके–२ मा लगातार जित्दै आएका राईलाई जबराले यस पटक २३ हजार ५ सय २० मतमा सीमित तुल्याइदिए । जबराले २९ हजार ५ सय ७७ मत प्राप्त गरे ।

राई २०६४ र २०७४ मा प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७० र २०७९ को निर्वाचनमा पराजित भएका भए । जबरा पनि २०५१ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला उनी मरीचमानसिंह श्रेष्ठनिकट मानिन्थे । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार भए तर तीनवटै निर्वाचनमा पराजित भए ।

राजनीतिक महत्त्वाकांक्षा बोकेका उनले हार मानेनन् । २०५४ मा एमाले प्रवेश गरे र नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भए ।

राजनीतिक व्यवस्था र राजतन्त्रविरुद्ध जनआन्दोलन सुरु भयो । संकटकाल लाग्यो । उनी शाही कदमको समर्थन गर्दै एमालेबाट बाहिरिएर पुनः राप्रपा प्रवेश गरे । त्यतिबेला राजतन्त्र र हिन्दु राज्यको मुद्दा उठाउँदा राजनीतिमा सफलता प्राप्त गर्न सकिने सुझाव दिनेमा भारतीय जनता पार्टीनिकट नेताहरू पनि थिए । ‘राजतन्त्र र हिन्दुत्वको एजेन्डा र नाराबाटै उठ्न सकिने ठानेर जबरा अघि बढेका हुन्,’ लेखक तथा विश्लेषक खगेन्द्र गिरी कोपिलाले भने ।

राप्रपामा फर्केपछि २०७४ को निर्वाचनमा जंगबहादुर राणाले बसालेको ऐतिहासिक सहर नेपालगन्ज उपमहानगरको प्रमुखमा निर्वाचित भए । संयोगवश मंसिर ४ को निर्वाचन पनि नेपालगन्ज सहर समेटिएको क्षेत्र–२ जबराका लागि फलदायी हुन पुग्यो । २०५४ मा एमाले प्रवेश गरेर नगर प्रमुख भएका जबराले प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्ने रणनीतिअनुरूप यसपटक पुनः एमालेसँग तालमेल गरेका हुन् । एमालेसँगकै तालमेलले उनी स्थानीय सरकारबाट संघीय सांसदमा फड्को मार्न सक्षम पनि भए । तर, यो चुनावमा कांग्रेसका अधिकांश नेता–कार्यकर्ताले पनि राणालाई सघाए । ‘एमाले र कांग्रेसका नेता–कार्यकर्ताको साथ र समर्थन हुँदैनथ्यो भने जित्ने सम्भावना थिएन,’ जबराले भने, ‘सबैको साथ र सहयोग रह्यो ।’

धवलशमशेरमा राजनीतिक संस्कार र गुण भएकाले धेरैको मन जित्न सफल भएको राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले सुनाए । २०६० साउन २९ मा माओवादी नेता बाबुराम भट्टराई र कृष्णबहादुर महरा सरकारी पक्षसँग वार्ता गर्ने उद्देश्यले नेपालगन्ज आएका थिए । तर, कहाँ बस्ने भनेर छलफल हुँदा कांग्रेस नेता मोती पहाडीको घरमा बिहान ४ बजे अँध्यारैमा पुग्ने निधो भयो तर पहाडी ३ बजे नै घरमा ताला ठोकेर हिँडे । जटिल समस्या खडा भयो । पिटरले धवलशमशेरलाई फोन गरे । केही नेतासहित गोप्य रूपमा घरमा बस्न चाहेको बताए । राजा ज्ञानेन्द्रसँगको सम्पर्कमै रहेका जबराले माओवादी नेतालाई सेल्टर दिन मञ्जुर गरे ।

भट्टराई र महरा घर आएको देख्दा जबरा चकित भए । ‘बजारको घरबाट गृहमन्त्री कमल थापासँग कुरा भयो, सेनाका पृतनापतिबाहेक कसैले थाहा नपाउने गरी मन्त्री थापा वार्ताका लागि आए,’ विश्लेषक पिटरले भने, ‘जबरामा उच्चस्तरको राजनीतिक संस्कार देखिन्छ । जसका कारण अहिले पनि सफलता चुम्दै छन् ।’

एमालेसँगको तालमेलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै जबराले पुनः सैद्धान्तिक र नीतिगत कुरामा अडान लिन थालेका छन् । अबको सत्ता साझेदारी आफ्ना एजेन्डालाई स्वीकार गर्नेहरूसँग मात्रै हुने उनले बताए । ‘यो त चुनावी तालमेल थियो,’ उनले भने, ‘अब हुने सरकार गठन र सहकार्य त राजतन्त्र र हिन्दु राज्यजस्ता प्रमुख एजेन्डा मान्नेसँग मात्रै हुन सक्छ ।’ तर पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्र नै छन्, जबरा । २०७६ कात्तिक १९ मा नेपालगन्जमा नेकपाको पार्टी कार्यालयमा आयोजना गरिएको एउटा भेलामा त्यतिबेलै दाहालले फकाउने प्रयास गरेका थिए । दाहालले शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्ति भन्दै नेकपामा आउन आग्रह गरेका थिए, ‘एकपटक सोच्नुहोस् । नेकपाका कार्यकर्ता तपाईंलाई स्वागत गर्न तयार छन् ।’ त्यतिबेला राणाले हाँसेर टारे ।

पार्टीभित्र पनि जबरा चतुर देखिएका छन् । कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका उनी थापाको तुलनामा राजेन्द्र लिङ्देन बलियो देखिएपछि खेमा परिवर्तन गर्दै महामन्त्री हुन सफल भए । निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकार गठनमा सहयोगको अपेक्षासहित जबरासँग फोनवार्ता गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोनमा कुरा भएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि सत्तामा जाने वा नजाने भन्नेबारेमा कुरा भएको छ । ‘पूर्वराजाले प्रतिपक्षमा बस्न सुझाव दिनुभएको छ,’ उनले भने, ‘तर हिन्दु राज्य वा धर्मनिरपेक्ष के चाहन्छन् जनता भन्ने रोज्न दिने गरी जनमतसंग्रह हुनुपर्ने हाम्रो प्रस्तावमा जो सहमत हुन्छ, उसैलाई समर्थन रहनेछ ।’

प्रकाशित : मंसिर १९, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×