‘सरकारमा जो आए पनि न्याय पाउन कठिन हुँदो रहेछ’- समाचार - कान्तिपुर समाचार

‘सरकारमा जो आए पनि न्याय पाउन कठिन हुँदो रहेछ’

'पहिले गृहमन्त्री नै सडकमा आएर हामीलाई न्यायको वचन दिनुभयो, तर त्यो पूरा भएन । अहिले अर्को सरकार छ, गृहमन्त्री पनि नयाँ हुनुहुन्छ, हिजो उहाँ सञ्चारकर्मी हुँदा टेलिभिजनमा हाम्रो विषयमा कार्यक्रम नै बनाउनुभएको थियो, हामी आएको चार दिन भइसक्यो, हामीलाई भेट्न समेत चासो दिनुभएको छैन ।- रुबी खान
प्रकाश धौलाकोटी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — मध्य पुसको कठ्याँग्रिंदो चिसो । घरिघरि घाम लागे पनि शरीर तात्दैन । बाँके परस्परकी ४३ वर्षीय आब्दा दर्जी माइतीघरको सडकपेटीमा एकसरो कार्पेट ओछ्याएर खाली खुट्टा सिकसिकाउँदै टोलाइरहेकी छिन् । सिरेटोले उनका ओठ कलेटी परेका छन् । आब्दाकै वरिपरि उस्तै गरी बसिरहेका छन्, १३ जना महिला । सडकमा सवारी चाप छ, ट्राफिकले सिठी फुकेर आवागमन गराइरहेका छन् । कोही त्यतै हेरेर टोलाएका छन्, अरु कोही आफैं मुखामुख गरेर ।

उनीहरू गाउँकी एकल महिला निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनामा छानबिन र दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेका हुन् । प्रहरीको रेकर्डमा निर्मला बेपत्ता छिन्, तर आन्दोलनरत उनीहरू भने निर्मलाको अपहरणपछि हत्या भएको दाबी गरिरहेका छन् ।

महिला अधिकार मञ्च बाँकेको ब्यानर लिएर यहाँ आइपुगेका उनीहरू निर्मलाका आफन्त पर्दैनन्, परिवारका सदस्य पनि होइनन् । उनीहरू महिलाको न्याय र अधिकारको लागि आफूहरूले संघर्ष गरिरहेको बताउँछन् । माइतीघरले सुकिला, मुकिला र पढेलेखेका थुप्रै अधिकारकर्मीहरूलाई भोग्दै आएको छ । तर, यिनीहरू पढेलेखेका छैनन्, शुद्ध नेपालीसमेत राम्रो नबोल्ने उनीहरू सामान्य मुस्लिम महिलाहरू छन् ।

निर्मलाको न्यायकै लागि उनीहरूको यो तेस्रो पटकको संघर्ष हो । कोही यसअघि पनि काठमाडौं आइसकेकाहरू छन् भने कोही पहिलो पटक यो संघर्षमा सामेल छन् । रुबी खान, सकिना तेली, निशा बेहेना लगायत पहिले पनि आएका थिए, सुकरानी चमार, माक्रोन दर्जी, रुपा सिंह, बानी चमार, फतिमा बेहना, सायदा दर्जी र फतिमा सलिमुन भने पहिलोपटक आन्दोलनमा काठमाडौं आइपुगेका छन् ।

आब्दाको छेवैमा भने गीता चमार एकल महिला पनि हुन् । ‘निर्मला पनि एकल महिला नै थिइन्, उनी आफूसँग भएको सम्पत्तिका कारण मारिइन्, भोलि आफैंलाई यस्तै नहोला भनेर कसरी विश्वास गर्ने ? अहिले निर्मलाले न्याय पाए हामीले पनि बाँच्ने आधार पाउँछौं भन्ने लाग्छ,’ उनले भनिन् ।


बाँकेबाट आएर कलंकीमा बास बसेका उनीहरू आइतबार विहान १० नबज्दै पैदल हि‌ँड्दै–हिँड्दै माइतीघर आइपुगेका थिए, साँझ ५ बजेसम्म सडक रुँघेर धर्ना दिए । बेलुका फेरि कलंकी नै पुगेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेकी अधिकारकर्मी रुबी खानले प्रहरीले मुद्दाको अनुसन्धानको क्रममा प्रमाण पुर्‍याएर अदालत लैजानुको सट्टा भएका प्रमाण नै नष्ट गर्न थालेको दुखेसो गरिन् । ‘हामीसँग सरकारले वार्ता गर्‍यो, तर सहमति भएबमोजिम केही पनि भएन । एउटा महिलासँग भएको सम्पत्ति हत्याउन उसको हत्या भएको छ,’ उनी भन्छिन्, ‘यस्तो जघन्य अपराधबाट बच्न अभियुक्तहरूले हामीमाथी धम्की र ज्यानमार्ने हमलासम्म गरिरहेका छन् । न्याय माग्दा हामी आफैं असुरक्षित भएका छौं ।’

यसअघि २० दिनसम्म पैदल हिडेर काठमाडौं आएर धर्ना दिएका उनीहरूले सरकारले न्याय दिने आश्वासन दिएपछि घर फर्किएका थिए । तर, सहमतिबमोजिम मुद्दाको छानबिन अघि नबढेपछि उनीहरूले फेरि ४३ दिनसम्म धर्ना दिए, अनसनमा बसे । त्यसपटक तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण आफैंले भेटेर प्रतिबद्धता जनाएपछि उनीहरूको आन्दोलन फेरि स्थगित भएको थियो । उनीहरूको आन्दोलनपछि प्रहरीले निर्मलाको अपहरण र हत्यामा बाँके–३ (२) का प्रदेश सांसद बादशाह कुर्मीसहित ८ जना विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म मुद्दा अदालतमा पुगेको छैन ।

अधिकारकर्मी खानले मुद्दा अदालतसम्म पुर्‍याउन र आफूहरूको सुरक्षाको ग्यारेण्टी गर्न फेरि सडकमै उत्रिनुपरेको बताइन् । ‘पहिले गृहमन्त्री नै सडकमा आएर हामीलाई न्यायको वचन दिनुभयो, तर त्यो पूरा भएन । अहिले अर्को सरकार छ, गृहमन्त्री पनि नयाँ हुनुहुन्छ, हिजो उहाँ सञ्चारकर्मी हुँदा टेलिभिजनमा हाम्रो विषयमा कार्यक्रम नै बनाउनुभएको थियो,’ खानले भनिन्, ‘हामी आएको चार दिन भइसक्यो, हामीलाई भेट्न समेत चासो दिनुभएको छैन । हामीलाई आशा त अझैपनि छ, तर सरकारमा जो भएपनि न्याय पाउन चाहिँ कठिन नै हुँदो रहेछ ।’

उनकाअनुसार यसपटकको आन्दोलनमा सरकार र अरु कुनै पनि निकायले चासो दिएका छैनन् । न महिला आयोगका पदाधिकारी पुगेका छन्, न त मानव अधिकार आयोगका । खान भन्छिन्, ‘उहाँहरू महिलाकै अधिकारका लागि सरकारी स्रोतको गाडी चढेर यहिँबाट कुदिरहनुभएको छ, हामीलाई भेट समेत दिनुभएको छैन ।’

केही सांसद र अधिकारकर्मीहरूले भने उनीहरूलाई भेटेका छन् । आइतबार डा. गोविन्द केसीले भेटेर उनीहरूको माग र स्वास्थ्य अवस्थाबारे चासो लिएका थिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम र नेता अरनिको पाण्डे पनि माइतीघर पुगेका थिए ।

‘उहाँहरूले आएर चासो राख्नुभयो, हामीले आफ्नो कुराहरू राख्यौँ,’ उनले भनिन्, ‘पहल गर्छौ‌ं भनेर आश देखाउनुभएको छ ।’


तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

घटनामा पीडित भनिएकी निर्मला कुर्मी नेपालगञ्ज उपमहानगरपालिका–१७, परस्परकी हुन् । उनका श्रीमान् ०६६ सालमा बिते । त्यसपछि उनी आफ्ना दुई छोराको आडमा बस्दै आएकी थिइन् । श्रीमान् बितेपछि निर्मलाको घर र साढे चार बिगाहा जमिन हडप्न गिरोह सक्रिय बनेको थियो ।

०६६ को मंसिरमा १० दिनको अन्तरमै उनका दुई छोराहरू १८ वर्षिय रामसागर र १४ वर्षिय सुरेशको शंकास्पद मृत्यु भयो । उनीहरूको मृत्युबारे न उजुरी पर्‍यो, न छानबिन । बरू संविधानसभा सदस्य समेत भइसकेका छिमेकी बादशाह कुर्मीले उनको जग्गाको कागज र नागरिकता कब्जामा लिएर उनको सम्पत्ति हडप्ने प्रपञ्च रचेका थिए । कुर्मीविरुद्व निर्मलाले ०६८ असोज ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । ०७५ पछि भने उनी बेपत्ता छिन् ।

निर्मलाको अवस्थाबारे गाउँले र महिला अधिकारकर्मीले खोजी गर्दा प्रहरीले ०७६ चैत १४ मा भारतमा मृत्यु भएको शंकास्पद सूचना दिने गरेको थियो । त्यसपछि महिलाहरूले आन्दोलन थालेका थिए ।

आन्दोलनकै कारण गतवर्ष बनेको सरकारी छानविन समितिले बादशाह कुर्मीसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यहीआधारमा प्रहरीले कुर्मीसहित ८ जनाविरुद्व जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरिरहेको छ । तर, अझैपनि आफूहरूले न्याय पाउने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

घटनामा मुख्य दोषीको आरोप लागेका कुर्मी भने नेपाली कांग्रेसका नेता हुन् । उनी बाँके–३ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । समितिको प्रतिवेदनबमोजिम प्रदेश सांसदमा निर्वाचित भएका कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहविरुद्व जोहरी परेको छ । प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छोडेको छ ।

प्रकाशित : पुस १७, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

'सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु,' पूर्वप्रधानमन्त्री ओलीले भने ।

राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड दिँदै उनले भने, 'हामीलाई ‘फाउल’ नखेल्ने सफल समाज चाहिएको हो, राजनीतिमा पनि धेरै फाउल खेल्यो भने ‘रेडकार्ड’ नै मिल्छ ।' उनले खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने बताए ।

'खेलकुद, खेलशिक्षाको क्षेत्रमा अभ्यास, खेल र व्यायाम सबै कुरालाई सँगसँगै मिलाएर लैजानुपर्छ, मदन भण्डारी स्पोर्टस एकेडेमीको धेरै राम्रो गरेर जानेछ,' अध्यक्ष ओलीले भने, 'त्यसले आफ्नो स्वास्थ्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म राम्रो मित्रता कामय गर्न सकिन्छ ।'

कूटनीतिमा पनि खेल क्षेत्र राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले भने, 'घनिष्ट मित्रता नभएको देशमा पनि खेलका माध्यमबाट मित्रता जोड्न सकिन्छ, खेल र अनुशासन एकअर्काको अभिन्न अंग हो ।'

प्रकाशित : पुस १७, २०७९ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×