कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कहिले खुल्छन् सबै उत्तरी नाका ?

ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु किनेर ल्याउन सीमा क्षेत्रका बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ

सुर्खेत/मुगु/गोरखा/ताप्लेजुङ/दार्चुला/दोलखा/सिन्धुपाल्चोक — कोरोना संक्रमणको जोखिम बढेसँगै सन् २०२० को सुरुआतबाट बन्द भएका चिनियाँ उत्तरी नाका अझैसम्म नखुल्दा सीमा क्षेत्रका नेपालीको व्यवसाय र स्थानीय बासिन्दाको दैनिकी प्रभावित बनेको छ ।

कहिले खुल्छन् सबै उत्तरी नाका ?

ताप्लेजुङदेखि दार्चुलासम्म चीनसँग जोडिएका तीनवटा बाहेक नाका सञ्चालनमा नआउँदा स्थानीय उत्पादनको बिक्री ठप्प भएको छ भने आफ्नै सदरमुकामबाट दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय बासिन्दाले चर्को मूल्य तिर्नुपरेको छ । चीनसँगका नाकामध्ये रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारीबाट आयात सुरु भएको छ । ३५ महिनापछि गत साताबाट रसुवागढी नाकाबाट निर्यात पनि खुलेको छ ।

कोरोनाका कारण चीनले झन्डै ३ वर्ष बन्द गरेको हुम्लाको यारी नाका गत सोमबारदेखि एकतर्फी खोलेको हो । नाका खुलेसँगै चीनबाट १८ ट्रक सामान आएको छ । जुत्ता, चप्पल, कम्बल र विकास निर्माणका सामग्री हुम्ला सदरमुकाम सिमकोट आइपुगेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

कर्णालीकै मुगुको नाक्चेनाङ्ला र डोल्पाको मरिम नाका भने चीनले अझै खोलेको छैन । जसका कारण स्थानीय बासिन्दा दैनिक उपभोग्य सामग्रीको अभाव झेल्न बाध्य छन् । तिब्बतसँग डोल्पा र मुगुको व्यापारिक सम्बन्ध लामो समयदेखि टुटेको छ ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाका पेम्बाछेवाङ लामा तीन वर्षअघिसम्म वैशाखदेखि साउन अन्तिम सातासम्म तिब्बतको ताक्लाकोट पुग्थे । त्यहाँ मजदुरी गर्ने उनको कमाइ महिनामा एक लाख रुपैयाँसम्म हुन्थ्यो । ‘अहिले त परिवारै पाल्न मुस्किल भयो,’ उनले भने, ‘ऋण लिएर जीविका चलाउनुपरेको छ ।’

मुगुको मुगमकार्मारोङ गाउँपालिका–७ का कर्मा तामाङ पनि वैशाख लागेसँगै गलैंचा, बाँस, छाला, विभिन्न हस्तकलाका सामानसँगै मह, घिउ, छुर्पी, खुर्सानीलगायत कृषि उपज बेच्न ताक्लाकोट पुग्थे । ‘सामान बेचेर १/२ दिनमै सकिन्थ्यो, अनि ३ महिनाजति मजदुरी गर्थ्यौं,’ उनले भने, ‘उताबाट फर्कंदा वर्षभरि पुग्ने खाद्यान्न, लत्ताकपडा पनि ल्याइन्थ्यो ।’

चीनले नाका बन्द गरेपछि मुगु र डोल्पाका सीमावर्ती क्षेत्रका झन्डै ५ हजार जनाको रोजगारी गुमेको छ । ‘हामी त वर्षौर्देंखि तिब्बतमै निर्भर छौं,’ लामाले भने, ‘तर कोरोना महामारीले हाम्रो रोजगारी र रोजीरोटी नै गुम्यो ।’ उत्पादन कम हुने र सरकारी अनुदानको चामल पनि गाउँमा नपुग्ने भएकाले सीमा क्षेत्रका बासिन्दाले चिनियाँ खाद्यान्नको भर पर्नुपरेको छ । ‘वर्षमा एक बाली उवामात्र फल्छ,’ मुगमकार्मारोङ–४ का तेन्जिङगुरु तामाङले भने, ‘त्यो पनि ३ महिना खान पुग्दैन । सदरमुकामबाट ल्याउँदा चामलभन्दा ढुवानी खर्च ५ गुणा महँगो पर्छ ।’ उनले कार्मारोङ क्षेत्रमा उत्पादन हुने अत्तिस, कटुकी, वनलसुन, यार्सागुम्बुलगायत जडिबुटीले बजार पाउन नसकेको बताए ।

चीन सीमा पुग्न स्थानीयलाई एक दिन लाग्छ तर आफ्नै सदरमुकाम पुग्न कम्तीमा ३ दिन हिँड्नुपर्छ । पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदालगायत उपभोग्य सामान ल्याउनेहरू अहिले सदरमुकाम गमगढीबाट खाद्यान्न ओसार्न बाध्य छन् । ‘चीनबाट ल्याउँदा उपभोग्य सामान गमगढीको भन्दा तीन गुणा सस्तो पर्थ्यो,’ उनले भने, ‘अहिले गमगढी आउँदा सामानको मूल्यभन्दा महँगो ढुवानी भाडा तिर्नु परिरहेको छ ।’

अहिले गमगढीमा २५ किलो चामल बोराको २ हजारदेखि २१ सय रुपैयाँमा बिक्री हुन्छ भने मुगमकार्मारोङको चितै, डोल्फु र मुगुगाउँ पुग्दा ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ पर्ने गरेको छ । गमगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा ९ रुपैयाँ प्रतिपोका पर्ने नुन त्यहाँ पुग्दा ७५ रुपैयाँमा बिक्री हुने गरेको छ । नाका नखुल्दा महँगीको मारमा परेका स्थानीयलाई ऋण सापटी गरेर खाद्यान्न किन्न गमगढी आउनुपर्ने बाध्यता रहेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘यारी खुल्यो, अब यताको नाका पनि चीनले खुलाइदिन्छ कि भन्ने आस छ,’ उनले भने ।

गोरखाको चिनियाँ सीमा क्षेत्र चुमनुब्री गाउँपालिका–१ सामागाउँ र वडा ७ को छेकम्पारका बासिन्दा कोरोना कालअघिसम्म दैनिक उपभोग्यलगायत सामग्रीका लागि सीमापारिको बजारमा भर पर्थे । चामल, नुन, तेल, कपडा, जिम्बु, ऊनलगायतका सामग्री ढुवानीका लागि याक र घोडा लिएर चिनियाँ बजार पुग्थे । तिब्बतबाट ढुवानी ठप्प भएसँगै स्थानीयले गोरखाको आरुघाटबाट खच्चडमार्फत महँगो भाडा तिरेर दैनिक उपभोग्य सामग्री गाउँ पुर्‍याइरहेका छन् । चुमनुब्री–१ मा नेपाल–चीन ३५ नम्बर सीमास्तम्भमा अवस्थित रुइला र छेकम्पारको ङुइला नाका खुलाउन स्थानीयले पटकपटक माग राख्दै आएका छन् । बन्द हुनुअघिसम्म रुइला नाका वर्षमा एकपटक र ङुइला नाका बाह्रै महिना खुल्थ्यो ।

तिब्बतको बजारबाट अत्यावश्यक ढुवानी गर्दा आधा सस्तो पर्ने छेकम्पारका बुज्रीछिरिङ लामाले बताए । गोरखाको आरुघाटमा सामान खरिद गरी दोभानसम्म गाडीमा ढुवानी हुने सामग्री त्यहाँबाट खच्चडमार्फत सीमावर्ती गाउँसम्म पुर्‍याउने गरिएको छ । दोभानबाट चीन सीमा क्षेत्रको सामागाउँ पुग्न ४ र छेकम्पार पुग्न ३ दिन लाग्छ । ‘आरुघाटमा १८ सय बोराको चामललाई गाउँ आइपुग्दा ३८ सय पर्छ,’ लामा भन्छन्, ‘तिब्बतको बजारमा आफ्नै चौंरी र घोडा लिएर जान पाइन्छ, ढुवानी भाडामा खर्च गर्न परेन । सामानको जति छ, त्यति मूल्य तिरे हुने थियो ।’

छेकम्पारका बासिन्दाले खच्चडबाट ढुवानी गर्दा प्रतिकिलो ८० रुपैयाँसम्म ढुवानी भाडा तिर्नुपर्ने बाध्यता छ । बर्खाको बेला चुमनुब्री–६ चुम्चेतस्थित लोक्पा भीरमा पहिरो खस्दा तीन महिना ढुवानी ठप्प भएको स्थानीय बताउँछन् । अहिले बाटो मर्मत गरेपछि आउजाउ सहज बनेको छ । ‘बर्खाको बेला माथि नाका बन्द, तल पहिरोले थुन्दा ठूलो समस्या पर्‍यो,’ छेकम्पारका तेन्जिङ लामाले भने । नाका खुलाउन पर्याप्त पहल गरिए चैत–वैशाखमा सामान ढुवानी गर्न सहज हुने तेन्जिङ बताउँछन् । नाका खुलाउन दुई पटक गृह मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘कोरोना जोखिम कम भएपछि २०७८ कात्तिकमै पत्र लेखेर नाका खुलाउन पहल थालेका हौं, त्यसपछि दुई/तीन पटक पत्र पठाइसकेका छौं,’ उनले भने, ‘अहिले पनि पराराष्ट्र मन्त्रालयसँग निरन्तर सम्पर्क भइरहेको छ ।’

ताप्लेजुङको ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका तीन वर्षदेखि नखुल्दा स्थानीय बासिन्दाले गलैंचा, चौंरी, याक, घिउलगायतका सामग्री निर्यात गर्न पाएका छैनन् । चौंरीलाई खुवाउने नुन आयात गर्न सकेका छैनन् । जडीबुटी संकलन र बिक्री गर्ने स्थानीयको दैनिकी ठप्प भएको छ । पूर्ववडाध्यक्ष छेतेन शेर्पा भोटे एक किसिमले हात बाँधिएजस्तै भएको बताउँछन् । सदरमुकाम फुङलिङबाट शुक्रबार दिउँसो आफ्नो बस्ती पुगेका फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले नाका खुल्ने खबर ल्याउने आसमा स्थानीय बासिन्दा थिए । ‘गाउँमा सबैले नाकाको विषय के भयो भनेर सोध्छन्,’ छेतेनले भने, ‘सिंहदरबारमा त खै कसलाई पो सोध्नु, उता तिब्बतको प्रशासनलाई फोन गर्दा केही भएको छैन भन्छ ।’

हुम्लाको यारी नाका खुलेपछि यहाँ पनि खुल्ने आशा जागेको वडासदस्य टासी शेर्पा भोटे बताउँछन् । ‘ओलाङचुङगोला, याङमाकाको चाहना नाका खुला भए हुन्थ्यो भन्ने छ,’ उनले थपे, ‘ठूलो हिउँ परे नाका बन्द हुने भएकाले तत्कालै खुलिदिए राहत हुन्थ्यो ।’ टिप्ताला नाका ५३ सय मिटर उचाइमा छ । जाडोमा हिउँले ढाक्ने भएकाले नाका केही महिना स्वतः बन्द हुन्छ तर यो वर्ष अहिलेसम्म हिउँ नपरेकाले नाका खुलिहाले सामान आयात निर्यात गर्न पाइने आशा स्थानीयमा छ ।

दार्चुलाको ताक्लाकोट (टिंकर) नाका बन्द हुँदा व्यापारी मारमा छन् । वर्षको ६ महिना ताक्लाकोटमा व्यवसाय गरिरहेकाहरू नाका नखुल्दा समस्यामा परेको व्यास गाउँपालिका–१ का जितसिंह बोहराले बताए । कोरोना संक्रमणको सुरुआतपछि ताक्लाकोट बजार जान नपाउँदा आम्दानी शून्य भएको स्थानीय व्यापारी विमलकुमार बोहराले बताए । नाका सञ्चालनमा आउनेबारे अहिलेसम्म कुनै जानकारी नआएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । व्यास–१ छाङरु र टिंकरका अधिकांश व्यक्ति ताक्लाकोटमा व्यापार गर्दै आएका थिए । ‘ताक्लाकोट जान नपाएको तीन वर्ष पुग्न लाग्यो, सामान त के बाँकी होला र ?’ बोहराले भने ।

दोलखाको सीमावर्ती गाउँ लप्चीका बासिन्दाको किनमेल बजार चीनको फलाक र कुती हो । चार वर्षयता यो नाका बन्द हुँदा स्थानीय दुई दिन हिँडेर लामबगरबाट दैनिक उपभोग्य वस्तुको जोहो गर्दै आएका छन् । नाका बन्द हुँदा चिनियाँ बजारमा घिउ, चौंरीका बाच्छा पनि बेच्न पाएका छैनन् । चिनियाँ बजारमा

आफ्ना उत्पादन बेच्ने र उताबाट खाद्यान्न जोहो गर्ने उनीहरू थप संकटमा परेका छन् । चार वर्षअघि चिनियाँ पक्षले लप्चीमा सुरक्षा पोस्ट राखिए नाका सञ्चालनमा ल्याउन सकिने जनाएको थियो । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी लामबगरमा बस्दै आएको छ । त्यहींबाटै सशस्त्रले लप्ची नाकाको सुरक्षा गतिविधि नियाल्ने गरेको छ । लामाबगरबाट लप्ची पुग्न दुई दिन हिँड्नुपर्छ ।

रसुवागढी नाकामा चीनले गत साताबाट निर्यात खोले पनि तातोपानी नाकामा भने आयात नै सुस्त छ । गत मंगलबार रसुवागढीबाट ८ कन्टेनर सामान चीनतर्फ गएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट निर्यात ठप्प भएको सात वर्ष पुगेको छ । मितेरी पुलदेखि चीन–नेपाल दुवै क्षेत्रको करिब ५ किलोमिटर क्षेत्र अहिले सुनसान छ । ‘अहिले यहाँबाट दैनिक तीनवटा कन्टेनर मात्रै भित्रिन्छन्, त्यही कन्टेनर आएका बेला काम हुन्छ, अरू बेला सुनसान छ,’

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख अधिकृत दयानिधि केसीले भने ।

ती कन्टेनरमा स्याउ, मेडिकलका सामान, कपडाजस्ता वस्तु आउने गरेको उनले बताए । गत १२ अगस्टदेखि तिब्बतमा कोरोना महामारीविरुद्ध लगाएको निषेधाज्ञा अझै जारी छ । त्यसअघि तातोपानीबाट दिनमा १०/१२ कन्टेनर सामान आयात भएको चीन–नेपाल व्यापारमा संलग्न कम्पनी सिल्क ग्रुपले जनाएको छ ।

चिनियाँ सामग्री खासाबाट तातोपानी आइपुग्न कम्तीमा १२ देखि बढीमा १५ दिनसम्म लाग्छ । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने भएकाले व्यापारी तातोपानी नाकाबाट सामान ल्याउन चाहन्छन् । तर, चिनियाँ पक्ष अनुदार देखिँदा चर्चित व्यापारिक केन्द्र र यहाँका व्यापारी मारमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की बेइजिङको शून्य कोभिड नीतिमा परिवर्तन आएका कारण पछिल्लो समय चीनले नाका खोल्न थालेको बताउँछन् । ‘नेपालमा मात्र होइन, चीनको शून्य कोभिड–१९ नीतिका कारण पूर्वी एसियाका अन्य मुलुकसहित सबैलाई असर परेको थियो,’ उनले भने, ‘बेइजिङले केन्द्रीय कडा नीतिलाई अहिले फुकुलो बनाइदियो । त्यसैले नेपालसहित अन्य मुलुकमा प्रभाव देखिएको हो ।’

प्रकाशित : पुस १७, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?