१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालका दुई छिमेकी भारत र चीन तथा शक्तिराष्ट्र अमेरिकाले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग सम्बन्धलाई थप प्रगाढ बनाउने वाचा गरेका छन् । तीनै मुलुकका काठमाडौंस्थित राजदूतले प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरी बधाई दिएका छन् ।

दाहाल सरकारसँग सम्बन्ध प्रगाढ बनाउने छिमेकी र शक्ति राष्ट्रको प्रतिबद्धता

भेटवार्ताका दौरान तीनै राजदूतले आ–आफ्नो मुलुकको सन्देश प्रवाह गर्दै नेपालसँगको सम्बन्ध थप प्रगाढ बनाउने जानकारी दिएका छन् ।

भारत र चीनका राजदूतले आ–आफ्नो देशबाट प्रधानमन्त्रीहरूका तर्फबाट पठाएको सन्देश पनि दाहाललाई शुक्रबार बालुवाटार पुगेर हस्तान्तरण गरेका छन् । भारतले दाहाललाई पठाएको सन्देशमा ‘द्विपक्षीय विशेष सम्बन्ध’ मा जोड दिइएको छ भने चीनले ‘हिमाल र नदीले जोडिएका परम्परागत मित्रवत् छिमेकीको’ रूपमा व्याख्या गरेको छ । अमेरिकाले भने ‘लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउने’ विषयलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टाचार भेटवार्ता गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त भेटमा भारत र नेपालबीचको सम्बन्ध अझै मजबुत बनाउनेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । दाहाललाई सबैभन्दा पहिला बधाई दिने मुलुक भारत हो । दाहाल नियुक्त भएलगत्तै राजदूत श्रीवास्तवले टेलिफोन गरी बधाई दिएका थिए । त्यसलगत्तै मोदीले ट्वीटमार्फत दाहाललाई बधाई दिए ।

एक भारतीय च्यानललाई दिएको अन्तर्वार्तामा दाहालले पनि भारतसँगको विशिष्ट सम्बन्धलाई मिलेर प्रगाढ बनाउने बताएका थिए । साथै, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपाल सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू रहेको उल्लेख गरेका थिए । उनले घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय र अद्वितीय सम्बन्ध बढाउने कुरामा कुनै कमी नगर्ने प्रस्ट पारेका थिए ।

चीनले पनि नयाँ सरकारलाई प्राथमिकतामा राखेर बधाई दिएको छ । चीनले सम्बन्ध थप प्रगाढ बनाउने र राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई संयुक्त रूपमा अघि बढाउने उल्लेख गरेको छ । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ जिनले शुक्रबार प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गरी चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश दाहाललाई हस्तान्तरण गरेका छन् । चीनका प्रधानमन्त्री लीले बिहीबार दाहाललाई बधाई सन्देश पठाएका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार आफ्नो सन्देशमा लीले हिमाल र नदीले जोडिएका परम्परागत मित्रवत् छिमेकीका रूपमा चीन र नेपालले सधैं एकअर्कालाई सम्मान गरेको, समान व्यवहार गरेको र इमानदारीपूर्वक सहयोग गरेको उल्लेख गरेका छन् । लीले भनेका छन्, ‘हालैका वर्ष चीन–नेपाल सम्बन्धले स्वस्थ र स्थिर विकास कायम राखेको छ । र, विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगले फलदायी नतिजा हासिल गरेको छ । जसले दुवै देश र क्षेत्रलाई व्यापक रूपमा फाइदा पुर्‍याएको छ ।’ लीले दुई देशबीचको विकास र समृद्धिको स्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई अगाडि बढाउन र दुई देशका जनतालाई थप लाभ पुर्‍याउन प्रधानमन्त्री दाहालसँग काम गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।

भारत र चीनका राजदूतहरू बालुवाटार पुग्नु एक दिनअघि बिहीबार नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले दाहाललाई भेटेर बधाई दिएका थिए । उनले उक्त अवसरमा दुई पक्षबीच सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी गरेको दाहालको सचिवालयले बताएको छ । तीन दिनअघि नै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पनि ट्वीटरमार्फत दाहाललाई बधाई दिँदै अमेरिकाले नेपालको लोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्ने र दुई मुलुकबीच लामो समयदेखिको सम्बन्धलाई सुदृढ गर्न तत्पर रहेको उल्लेख गरेका थिए ।

काठमाडौंस्थित अमेरिकी दूतावास र राजदूत थम्प्सनले आइतबार दाहालले शपथ लिनेबित्तिकै आफ्नो ट्वीटर र फेसबुक पेजमार्फत बधाई दिएका थिए । दूतावासले भनेको थियो, ‘नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा हामी गर्व गर्छौं, दिगो आर्थिक वृद्धि, लोकतन्त्र र मानवअधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाको प्रवर्द्धन गर्न नेपाल सरकारसँग सँगै उभिरहने छौं ।’ दूतावासले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशका लागि उदाहरण रहेको पनि जनाएको थियो । ‘आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउँदै सहयोग गर्न तत्पर छौं,’ दूतावासले भनेको थियो ।

दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोनमार्फत बधाई दिएका हुन् । दुई नेताबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि दाहाललाई बधाई दिँदै द्विपक्षीय सहकार्य बलियो बनाउने बताएका थिए ।

प्रकाशित : पुस १६, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?