एकीकृत परिचयपत्रमा १६ अर्ब खर्च, सर्वसाधारण भोकप्यासै लाइनमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत परिचयपत्रमा १६ अर्ब खर्च, सर्वसाधारण भोकप्यासै लाइनमा

नागरिकतादेखि राहदानी, मतदाता परिचयपत्रदेखि सवारी चालक अनुमतिपत्रलगायत सम्पूर्ण सार्वजनिक सेवा ‘डिजिटल’ बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा आएको १३ वर्षसम्म सेवा प्रवाह शून्य
घनश्याम खड्का

काठमाडौँ — नेपालीजनको राष्ट्रिय बाध्यता के हो ? लाइन । नागरिकता लिन लाइन । सवारी चालक अनुमतिपत्र लिन लाइन । मतदाता परिचयपत्र बनाउन लाइन । अस्पतालमा लाइन । देशमा दुःख भयो, विदेश जान्छु भनेर राहदानी बनाउँदा लाइन । विदेशको भिसा आइसकेपछि श्रम स्वीकृति लिन पनि लाइन ।

सार्वजनिक सेवा लिन दिक्दारलाग्दो लाइनमा बस्नुपर्ने बाध्यता टार्न नागरिकले बिचौलियालाई पैसा तिर्नुपर्छ जबकि यी सबै सेवालाई ‘डिजिटल’ बनाउन राष्ट्रिय परिचयपत्र बनाउन थालिएको १३ वर्ष भएको छ, यो आयोजनामा राज्यकोषबाट १६ अर्ब खर्च भए पनि सर्वसाधारण लाइनमै छन् । सरकारले २०६६ मा घोषणा गरेको थियो– एउटै परिचयपत्रका भरमा घरमै बसीबसी सबै सरकारी काम अनलाइनमार्फत हुनेछन् ।

तर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई अहिले पनि वाचा दोहोर्‍याउँछन्, ‘परिचयपत्र पूर्ण रूपमा कार्यान्वयनमा आइसकेपछि लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, हामी सकेसम्म छिटो त्यो दिन ल्याउने प्रयत्नमा छौं ।’ तर, त्यो छिटो भनेको कति महिना वा वर्ष हो भन्ने जवाफ उनीसँग छैन ।

लागू गर्न खोजिएको अवधारणाअनुसार राष्ट्रिय परिचयपत्रमा एउटा चिप हुन्छ, चिपमा व्यक्तिको नागरिकता, राहदानी, मतदाता परिचयपत्र, प्यान कार्ड, सवारी चालक अनुमतिपत्र र लालपुर्जाजस्ता सबै कागजातको डिजिटल कपी हुन्छ । त्यसैले कुनै पनि सेवा लिन बाँकी कागज बोकेर सरकारी अड्डामा यताबाट उता धाउनु पर्दैन ।

हरेक नागरिकको जैविक र व्यक्तिगत विवरण एउटै कार्डमा समेटेर जीवनभरका लागि चाहिने सबै सेवा प्रवाह गर्न युरोप र अमेरिकाले यस्तो कार्ड दशकौंअघि पूर्ण रूपमा अभ्यासमा ल्याएका छन् । छिमेकी भारतले पनि १ अर्ब ३९ करोड जनसंख्यालाई ‘आधार कार्ड’ मा जोडेको छ । चीनले त सन् १९८५ मै ‘नेसनल रेसिडेन्ट कार्ड’ सम्बन्धी कानुन ल्याएर एकै विवरणमार्फत सबै सेवा दिन सुरु गरेको थियो ।

राष्ट्रिय परिचयपत्र प्रणालीलाई रूपान्तरणकारी योजना मानेर नेपाल सरकारले २० अर्ब ५८ करोड छुट्याएको छ । विभागका अनुसार हालसम्म १६ अर्ब ३ करोड खर्च भइसकेको छ । गत वर्षदेखि राहदानी विभागले ई–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ तर राहदानी दिनुअघि विभागले वैयक्तिक र जैविक विवरण आफैं संकलन गर्छ । यसरी सेवाग्राहीलाई झन्झट मात्र थपिएको छ ।

वैयक्तिक र जैविक विवरण दिएर बनाएको राष्ट्रिय परिचयपत्रका आधारमा राहदानी बनाउँदा फेरि उही विवरण दिनुपर्ने किन ? ‘परिचयपत्रको विवरणलाई नै आधार मानेर राहदानी दिँदा कुनै फरक पर्दैनथ्यो,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक अधिकारी भन्छन्, ‘तर राहदानी विभागले फेरि त्यही विवरण संकलन गर्छ जसले सेवाग्राहीलाई दोहोरो झन्झट भएको छ ।’

यसरी सेवा प्रवाहमा कुनै पनि सहजता ल्याउन नसक्ने गरी राष्ट्रिय परिचयपत्रका नाममा १६ अर्ब किन खर्च भयो ? यो प्रश्नमा पनि जिम्मेवार अधिकारी अलमल पर्छन् । ‘केमा कसरी खर्च भयो, त्यो हिसाब ननिकाली भन्न सक्ने अवस्था छैन, म यहाँ आएको एक वर्ष मात्र भयो,’ महानिर्देशक भट्टराई भन्छन्, ‘तैपनि काम धेरै चरणमा अगाडि बढेको छ ।’

उनका अनुसार सरकारले २०६६ मा राष्ट्रिय परिचयपत्र लागू गर्ने घोषणा गरे पनि सुरुवाती काम २०७५ मा भएको थियो । नमुनाका रूपमा पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारी गरी १ लाख १७ हजार जनाको वैयक्तिक र जैविक विवरण संकलन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको थियो । ‘त्यसरी संकलन गरेको विवरणले भनेजस्तै काम चल्छ भन्ने देखिएपछि विभागले यस्तो विवरण संकलन ७७ जिल्लामै विस्तार गरेको हो,’ भट्टराई भन्छन्, ‘त्यसकै लागि ३ करोड मानिसको बायोमेट्रिक र व्यक्तिगत विवरण संकलन गर्ने गरी ठूलो सर्भरसहितको प्रणाली बनाउन तीन वर्षअघि सरकारले ठेक्का लगाएको थियो ।’

फ्रान्सेली कम्पनी ‘इन्डेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स’ ले ८१ लाख युरो अर्थात् करिब एक अर्ब रुपैयाँको ठेक्का पाएको थियो । सबै नेपालीको बायोमेट्रिक विवरण संकलन गर्न १ हजार ८० वटा स्टेसन (फोटो खिच्ने ठाउँ) स्थापना भएको महानिर्देशक भट्टराईले बताए । ती ठाउँबाट दैनिक ३० हजार जनाको विवरण संकलन हुँदै आएको छ ।

विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीका अनुसार राष्ट्रिय परिचयपत्रको काम तीन चरणमा हुँदै छ । ‘प्राविधिक प्रणाली स्थापना, विवरण संकलन र सेवा प्रवाहमध्ये पहिलो चरणको काम पूरा भएको छ । दोस्रो चरणको कामअन्तर्गत हालसम्म १ करोड ५ लाख जनाको विवरण संकलन भइसकेको छ । तेस्रो चरणको काम (सेवा प्रवाह) सुरु हुनै सकेको छैन,’ उनी भन्छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ८, नारायणहिटी परिसरमा १०, काठमाडौं महानगरपालिकामा ४, उपत्यकाका सबै नगरपालिकामा एक/एक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा तीन स्टेसन चलिरहेका छन् । यी ठाउँमा परिचयपत्रका लागि विवरण टिपाउने र तस्बिर खिचाउनेको लाइन लागिरहन्छ ।

भीड कम होस् भनेर दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन र तारकेश्वर नगरपालिकाका वडा–वडामै घुम्ती शिविरमार्फत विवरण संकलन गरिएको थियो । अहिले त्यस्तै घुम्ती शिविर बूढानीलकण्ठ, गोकर्णेश्वर र कागेश्वरी नगरपालिकाका वडामा चलिरहेको विभागले जनाएको छ ।

प्रदेश १ मा मोरङ र सोलुखुम्बुबाहेक अरू सबैतिर विवरण लिने काम सकिएको छ । मोरङ, रामेछाप, काठमाडौं, धादिङ, गोरखा, बागलुङ, कपिलवस्तु, दाङ र बाँकेमा यस्ता शिविर अहिले जारी छन् । सुदूरपश्चिमको बझाङमा विवरण संकलन गरिसकेपछि घुम्ती टोलीले फागुनतिर बाजुरामा संकलन गर्नेछ । मधेसका ८ मध्ये सप्तरी र सर्लाहीमा विवरण लिने काम सकिएको र बाँकी ६ जिल्लाका पालिकामै स्टेसन राखिएको छ । यी सबै कामका लागि विभागमा डेढ सय कर्मचारी छन् ।

सरकारले कार्डको ठेक्का पनि उही फ्रान्सेली कम्पनीलाई दिएको छ । विभागका तत्कालीन महानिर्देशक जितेन्द्रदेव बस्नेतले डेढ वर्षअघि उक्त कम्पनीलाई १ करोड २० लाख कार्ड छाप्न ठेक्का दिएका थिए, त्यो पनि बिनाप्रतिस्पर्धा । यसको कुल ठेक्का रकम १ करोड २६ लाख ८ सय युरो अर्थात् करिब डेढ अर्ब रुपैयाँ भएको विभागले जनाएको छ । त्यसमध्ये अहिलेसम्म ८० लाख कार्ड आपूर्ति भएको छ भने ७ लाख कार्डमा विवरण छापिसकिएको छ ।

खाली आउने कार्डमा १० अंकको नम्बर र व्यक्तिगत विवरण छापेर सम्बन्धित व्यक्तिलाई दिइन्छ । महानिर्देशक भट्टराईका अनुसार एक घण्टामा ५ सयसम्म छाप्न सकिने मेसिनको क्षमता बढाएर ११ सयसम्म छाप्ने बनाइएको छ ।

गत जेठमा ८ करोड रुपैयाँमा उही क्षमताको अर्को मेसिन पनि किनिएको छ । दुवै मेसिनबाट हाल दिनमा ७ हजार हाराहारी कार्ड छापिन्छन् । तीन सिफ्ट गरेर चौबिसै घण्टा चलाउँदा दिनमा ३० हजार हाराहारी कार्ड छाप्न सकिने अनुमान विभागको छ । यसरी चलाउँदा यो वर्ष २० लाखजति कार्ड छापिने उनी बताउँछन् । दुवै मेसिनको उच्चतम प्रयोग गरेर रातदिन काम भएछ भने पनि तीन करोड नेपालीले परिचयपत्र पाउन कम्तीमा १५ वर्ष लाग्ने देखिन्छ ।

सफ्टवेयरको वार्षिक मर्मत र तथ्यांक सच्याउन पनि सरकारले थप पैसा तिर्ने सम्झौता गरेको छ । यस्तो पैसा नेपालस्थित स्थानीय साझेदारले गरे नेपाली रुपैयाँमा, मूल सम्झौता भएको फ्रान्सेली कम्पनीले युरोपभित्रबाट सेवा दिन परे युरोमा र युरोपबाहिरबाट सेवा दिन परे डलरमा तिर्ने सम्झौताका कारण राष्ट्रिय परिचयपत्र निकै महँगो सावित भएको छ ।

ठूलो धनराशि खर्च गरिसक्दा पनि भनेजस्तो प्रगति हुन नसकेपछि तिहारअघि महानिर्देशक भट्टराई, निर्देशक लक्ष्मण ढकाल, आईटी निर्देशक मुकेश रेग्मी र आईटी इन्जिनियर ज्ञानेश्वर बोहराको टोली भारत गएर आधार कार्ड सञ्चालन प्रणालीबारे अध्ययन गरेको थियो । ‘त्यहाँको लागत र फाइदाको अनुपात हामीले हेर्‍यौं,’ भट्टराई भन्छन्, ‘प्रविधि हाम्रैजस्तो रहेछ तर उनीहरूले चाहिने प्रविधि किनेर बाँकी आफैंले विकास गरेका रहेछन्, हामीले सबै नै किन्ने निर्णय गरेका रहेछौं ।’

प्रकाशित : पुस १५, २०७९ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्

ट्युनिसियाली अभियन्ताको शान्ति सूत्र

नोबेल शान्ति पुरस्कार विजेता बाउचोमाई भन्छिन्, ‘नागरिक आपसमा संवाद गर्न सक्छन् भन्ने सरल मन्त्र विश्व शान्तिको आधार’
घनश्याम खड्का

काठमाडौँ — के अलग विचारले जीवनलाई जुनसुकै उमेरमा अलग दुनियाँमा पुर्‍याउँछ ? ‘एकदमै पुर्‍याउँछ,’ विडेड बाउचोमाईको मुस्कानपूर्ण उत्तर हुन्छ, ‘जीवनको बाटो हाम्रा धारणाहरूले नै तय गर्ने रहेछ, हामी जे सोच्छौं त्यस्तै हुँदारहेछौं ।’

जीवनका ५५ वर्ष अरब संसारमा एक उद्योगपतिका रूपमा चिनिएकी उनको जीवनले सन् २०१५ पछि अचानक १८० डिग्रीको फन्को मार्‍यो जब आफ्नो देश ट्युनिसियामा निर्वाह गरेको भूमिकाका लागि नोबेल शान्ति पुरस्कार मिल्यो । ‘त्यो (नोबेल पुरस्कार) मेरो जीवनका लागि एक निर्णायक घटना भइदियो,’ आइतबार काठमाडौं उत्रिएकी उनले सोमबार ‘नेपाल संवाद सम्मेलन’ लाई सम्बोधन गरेपछि कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘किनभने, मैले पारिवारिक विरासतमा पाएको उद्योग व्यापारको काम सम्हालेर बस्ने फुर्सद पाइनँ, जीवनले सुम्पेको नयाँ जिम्मेवारी लिएर संसारका कुनाकाप्चा पुग्दैमा समय पुगेन ।’ तानाशाहीविरुद्ध सन् २०११ मा भएको जनआन्दोलनपछि अस्तव्यस्त बन्न पुगेको देशमा शान्ति, संविधान र लोकतन्त्रको स्थापनामा लागिपरेकी बाउचोमाई नोबेल पुरस्कार पाएपछि कति देश पुगिन् र क–कसलाई भेटिन् भन्ने हिसाबै देखाउन सक्दिनन् । ‘नोबेल लाउरेट’ भएदेखि उनी ट्युनिसियामा फेलै पर्न मुस्किल हुने गरी संसारभर शान्ति स्थापनाका उपायहरूका बारेमा बोल्दैमा व्यस्त छिन् । नेपालमा आउनुअघि उनी दक्षिण कोरिया थिइन्, इटलीको शान्ति सम्मेलन टुंग्याएर मोरक्को पुगेकी थिइन् । पहिलो पटक नेपाल आइपुगेकी उनी केही दिनको सम्मेलन र घुमघामपछि युरोप फर्कनेछिन्, त्यहाँ शान्ति स्थापनाका आफ्ना अनुभव सुनाएपछि लेबनान गएर द्वन्द्व समाधानका उपायहरूबारे कुरा गर्नेछिन् । ‘मेरा लागि घर एउटा बिसौनीजस्तो भएको छ,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि मानिसहरू प्रेमले स्वागत गर्छन्, नेपालमा पनि ज्यादै माया पाएँ ।’ दिनरात व्यापार व्यवसायको जीवनबाट अचानक शान्तिको वाहक भएर निस्कनुमा उनलाई आफ्नो व्यापारी हजुरबा अहमेदको भविष्यवाणीले काम गरेजस्तो लाग्दो रहेछ । ‘तिमीमा एक खास गुण छ जसका कारण एक दिन संसारले नै तिमीलाई चिन्नेछ,’ उनी सानी छँदा अहमेदले भनेका रहेछन्, ‘यो कुरा कहिल्यै नबिर्सनू ।’

हजुरबाले भनेको उनले बिर्सन त बिर्सिनन् । तर, दशकौं बित्दा पनि त्यस्तो खासै चमत्कार भने कहिल्यै भएन । पारिवारिक उद्यम सम्हाल्दै र दुई छोरा हुर्काउँदैमा उनका वर्षहरू बिते । व्यापारबाट मनग्य पैसा कमाए पनि नागरिक स्वतन्त्रता नभएकाले ट्युनिसियाको अवस्थासँग उनी सन्तुष्ट हुन सकिरहेकी थिइनन् । फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको ५ वर्षपछि सन् १९६१ मा उनी ट्युनिसियामा जन्मेकी हुन् । त्यहाँ ३१ वर्षसम्म हबिब बर्गग्विवाले शासन गरे । सुरुमा प्रधानमन्त्री र पछि राष्ट्रपति भई सर्वसत्तावादी भएका हबिबको तानाशाहीबाट ट्युनिसियालीहरू वाक्कदिक्क थिए । डाक्टरहरूले हबिबविरुद्ध आन्दोलन सुरु गरेपछि उनका प्रधानमन्त्री बेन अलीले सत्ता हत्याए र आफैं राष्ट्रपति भए । अलीले तानाशाही खत्तम गर्नु त कता हो कता, आफूलाई हबिबभन्दा पनि कठोर बनाएर ट्युनिसियालीलाई दबाए । हरेक पाँच वर्षमा नाम मात्रको चुनाव गराएर भारी बहुमतका साथ उनी राष्ट्रपति भई नै रहे । संसारको सबभन्दा आधुनिकमध्ये एक भइकन पनि सबभन्दा दबाइएको देश भनेर बेलायती पत्रिका गार्जियनले सन् २०१० मा लेखेको थियो ट्युनिसियाबारे ।

सन् २०११ मा उनी ट्युनिसियाको उद्योग तथा हस्तकला महासंघको अध्यक्ष चुनिइन् । अरब देशमा उद्योग महासंघको महिला अध्यक्ष यसअघि कोही भएको थिएन । महासंघको अध्यक्ष हुनु नै उनको जीवनको नयाँ यात्राको सुरुवात थियो । फ्रान्सेली पत्रिका ज्युन अफरिफका अनुसार अफ्रिकाका अग्रणी २५ उद्योगी महिलामध्ये एक उनले आँखै अगाडि वेन अलीको तानाशाही पतन भएको देखिन् ।

दमनको पराकाष्ठा मानिने बेन अलीको राज्यमा सडकमा हिँडिरहेकाहरूलाई प्रहरीले पक्राउ गर्ने पूर्ण अधिकार राख्थ्यो । एक २६ वर्षीय ठेला व्यापारी मोहम्मद बौवाजीजीलाई महानगरका प्रहरीले पक्रेर उसका सबै सरसामान खोसिदिएपछि र अपमानपूर्वक व्यवहार गरेपछि त्यसको विरोधमा उनले १७ डिसेम्बर २०१० मा आफैंलाई आगो लगाएर आत्महत्या गरे । त्यस घटनाले ट्युनिसियाली जनताको दीर्घ असन्तुष्टिलाई आक्रोशमा बदलिदियो । घटनाको विरोध गर्नेहरूलाई बेन अलीले दबाउन खोजेपछि ४ जनवरी २०११ मा देशव्यापी प्रदर्शन सुरु भयो र त्यसले तुरुन्त विद्रोहको रूप लियो । सरकारबाट आजित भइसकेका जनता सडकमा उत्रिए । आन्दोलन सुरु भएको दसौं दिनमा अली ज्यान जोगाउन भागेर अरब पुगे, जहाँ गएको वर्ष उनको निधन भएको थियो ।

महँगी, भ्रष्टाचार, बेरोजगारी र दमनका विरुद्ध मूलतः श्रमिकहरूले सुरु गरेको ट्युनिसियाली आन्दोलनले उस्तै अवस्थाका पूरै अरबी देशहरूमा विरोधको राँको सल्काउने काम गरे पनि आन्दोलनको उद्गमस्थल स्वयं ट्युनिसिया भने गम्भीर द्वन्द्वमा फस्ने जोखिममा थियो । सन् २०१३ मा दुई राजनीतिज्ञको हत्या भएपछि त्यहाँका श्रमिक, मानवअधिकारवादी, कानुनविद् र उद्योगपतिहरूको संगठन मिलेर ‘राष्ट्रिय संवाद चौतरी’ गठन गरे, जसमा उद्योग क्षेत्रलाई महासंघको अध्यक्षका हैसियतले बाउचोमाईले नेतृत्व गरिन् । व्यापारीहरूले बेन अलीको तानाशाहीमा धेरै कमाएको र आफ्नो जीवन भने कष्टकरको कष्टकरै रहेको श्रमिकहरूको आक्रोश थियो । ‘राष्ट्रिय संवाद चौतारी’ ले उद्योगी र श्रमिक संगठनका प्रतिनिधिहरूबीच संवादको थालनी गर्‍यो । ‘म आफैं क्रुद्ध श्रमिकहरूसँग कुरा गर्न अघि सरें,’ बाउचोमाई भन्छिन्, ‘सँगै बसेर छलफल गर्दै जाँदा हमीले एक अर्कालाई बुझ्यौं, असमानताहरू हट्दै गए ।’ अन्तमा, देशमा शान्तिपूर्ण परिवर्तन गर्ने पक्षमा सबै सहमत भए । अर्को वर्ष शक्ति पृथकीकरणको सिद्धान्तको पालना गर्ने प्रतिबद्धताका साथ मानवअधिकारको रक्षा गर्ने र देश धर्मनिरपेक्ष हुने गरी संविधान निर्माण भयो ।

ज्यादै जटिल मानिएको ट्युनिसियाको राजनीतिक संकट अन्तर्राष्ट्रिय मध्यस्थताबिनै नागरिकको अगुवाइमा समाधान भयो । यस्तो गर्न सकेकामा संवाद चौतारीका चारै सदस्यलाई सन् २०१५ मा विश्व शान्ति पुरस्कार मिल्यो । हाल पूर्ण प्रजातान्त्रिक मुलुकका रूपमा चिनिएको ट्युनिसियामा ९८ प्रतिशत जनसंख्या मुस्लिम बहुल भए पनि महिलाहरूले हिजाब लगाउनैपर्ने बाध्यकारी कानुन नभएको मात्रै होइन, युरोपेली मुलुकमा झैं लैंगिक समानता कायम छ भन्न पाउँदा आफूलाई ज्यादै खुसी लाग्ने बाउचोमाईले बताइन् ।

समाजमा द्वन्द्वका विविध कारण हुन्छन्, त्यसलाई शान्तिपूर्ण सुल्झाउन नागरिकहरू एकापसमा संवाद गर्न सक्छन् भन्ने सरल मन्त्र नै विश्व शान्तिको आधार मान्ने उनी संसारलाई युद्धबाट जोगाउने एउटै उपाय शान्ति नै हो भन्छिन् । यही सिद्धान्तको व्याख्या गर्न उनलाई संसारभरबाट निम्तो आउँछ जहाँ बाउचोमाई भ्याएसम्म पुग्छिन् ।

प्रकाशित : पुस ६, २०७९ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×