कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको नयाँ बासस्थान बसन्ता र लालझाडी

कैलालीको बसन्ता र मोहना–लालझाडी जैविक मार्ग आसपास देखिन थाल्यो बाघ
मोहन बुडाऐर

धनगढी — कैलालीको बसन्ता र मोहना–लालझाडी जैविक मार्ग आसपासका बस्ती छेउछाउ बाघ देखिन थालेको छ । घाँसदाउराका लागि वनभित्र पस्नसमेत स्थानीय डराइरहेका छन् । राति खोर र गोठभित्रका बाख्रा, बंगुर र गाईगोरुसमेत खान लागेको स्थानीयले बताएका छन् ।

बाघको नयाँ बासस्थान बसन्ता र लालझाडी

मोहना–लालझाडी जैविक मार्गभित्र पर्ने गंगाजमुना सामुदायिक वनकी अध्यक्ष अस्तिनु चौधरीले दिउँसै बाघ देखिन थालेकाले स्थानीयलाई वनको छेउछाउ जान पनि डर लाग्ने गरेको बताइन् । रामजानकी बस्तीको अर्को बस्ती जाने मूल बाटो नै सामुदायिक वनको छेउ भएर जानुपर्छ ।

बसन्ता जंगलछेउका कैलाली ५ र ७ वडाका बासिन्दाले पनि एक सातादेखि बाघ बस्तीनजिकै देखिन लागेको बताए । जंगल छेउको खेतमा जाने क्रममा बाघ देखिएको वडा नम्बर ७ का खेमराज चौधरीको भनाइ छ । ‘बाघको घाँटीमा बेल्ट बाँधिएको थियो, वयस्क थियो,’ उनले भने, ‘५ नम्वर वडाका बासिन्दाले चार/पाँच दिनअघि यहीं बाघ देखेका रहेछन् ।’ स्थानीयलाई अहिले घाँस दाउराका लागि जंगलभित्र पस्नसमेत डर लाग्ने गरेको उनले बताए ।

डिभिजन वन कार्यालय प्रमुख केशव पराजुलीले घाँटीमा बेल्ट बाँधिएको बाघ सीमावर्ती भारतको दुधुवा नेसनल पार्कबाट आएको र अहिले फर्किसकेको बताए । ‘दक्षिणमा दुधुवा र उत्तरमा चुरेसम्म जोडिएको जैविक मार्गमा कहिलेकाहीं बाहिरबाट पनि बाघ घुम्न आउँछ,’ उनले भने, ‘घुम्न आएको बाघ एक–दुई सातामा फर्केको देखिन्छ ।’ तर कैलालीको चुरेदेखि दुधुवासम्म २५ हजार हेक्टरमा फैलिएको बसन्ता जैविक मार्गमा बाघको नयाँ बासस्थान बनेको डिभिजन वन अधिकृत पराजुलीको भनाइ छ ।

त्यस्ता बाघले घरपालुवा जनावर खाइदिने र कहिलेकाहीं मानवीय क्षतिसमेत पुर्‍याउने गरेका घटनाले कैलालीको राष्ट्रिय तथा सामुदायिक वनभित्र नयाँ बासस्थान बनाएको हुन सक्ने उनले बताए । पूर्व–पश्चिम राजमार्गको मसुरिया क्षेत्रमा देखिएका बाघ भने स्थानीय नै उनको भनाइ छ । ‘सुरुमा आहारा र नयाँ बासस्थानको खोजीमा कतैबाट यहाँ आएको हुन सक्छ,’ उनले भने, ‘वर्ष दिनभन्दा लामो समयदेखि मसुरियालगायत आसपास क्षेत्रमा बारम्बार उही बाघ देखिएको खबरले स्थानीय बाघ नै हो भन्न सकिन्छ ।’

मसुरिया, बसन्ता, गोदावरी र चुरेलगायत क्षेत्रमा एकै दिन बाघ देखिएका खबरले कैलालीको जंगलमा एकभन्दा बढी बाघ हुन सक्ने वन अधिकृत पराजुलीले बताए । ‘नयाँ बासस्थान बनाएर बसेका बाघको संख्यामा पनि वृद्धि भएको पनि हुन सक्छ,’ उनले भने, ‘कैलालीको वनमा बाघको ट्र्यापिङ गर्न आवश्यक देखिएको छ ।’ अहिलेसम्म यो क्षेत्रको वनमा स्थानीय बाघको क्यामरा ट्र्यापिङ नगरिएको उनले बताए । शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका प्रमुख किशोर मेहताले बर्दिया र शुक्लाफाँटा कम्प्लेक्सभित्रका बाघले नयाँ बासस्थान र आहाराको खोजीमा आफ्नो टेरोटेरी बढाउँदै लगेको बताए । बाघको बर्दिया र शुक्लाफाँटा कम्प्लेक्सको चार किल्लाभित्रमा कैलालीको बसन्ता र मोहना–लालझाडी वन क्षेत्रसमेत पर्ने गरेको छ । ‘कैलालीको चुरेदेखि बसन्ता वन क्षेत्र बर्दिया कम्प्लेक्समा पर्छ,’ उनले भने, ‘शुक्लाफाँटा कम्प्लेक्सको चार किल्लामा मोहना–लालझाडी, ब्रह्मदेवदेखि डडेलधुराको भित्री मधेस जोगबुडासम्म पर्छ ।’ शुक्लाफाँटा कम्प्लेक्सअन्तर्गत ३६ वटा पाटे बाघ गणनामा देखिएको उनले बताए ।

कैलालीको बसन्तालगायतको वन क्षेत्रमा पाटे बाघको स्थायी बासस्थानका विषयमा भने अध्ययन नै गर्नुपर्ने मेहता बताउँछन् । ‘पाटेबाघको पैताला खोज्नेदेखि क्यामरा ट्र्यापिङसम्मका कुरा आउँछ,’ उनले भने, ‘त्यसपछि मात्रै कैलालीको वनमा पाटेबाघको बासस्थान रहे/नरहेको पत्ता लगाउन सकिन्छ ।’

कैलालीको चुरेफेद नजिकका बस्तीमा बारम्बार देखिने पाटे बाघ नभएर चितुवा भएको उनी बताउँछन् । ‘स्थानीयले चितुवालाई पनि बाघ भन्छन्,’ उनले भने, ‘यसको अर्थ कैलालीको बसन्ता र चुरेफेदमा पाटेबाघ जाँदै जाँदैन भन्ने होइन । बच्चा जन्माउन माउ र बूढो भइसकेका बाघ सुरक्षित र आहारा पर्याप्त पाउने नयाँ बासस्थानको खोजी गर्छन् । ‘यही सिलसिलामा पछिल्लो समय जैविक मार्गमा वनको विकास र घाँसपात खाने वन्यजन्तुको वृद्धि भएकाले बाघले नयाँ बासस्थानको रूपमा बाघको छनोटमा पर्न गएको हुन सक्छ,’ उनले भने ।

कैलालीका वन अधिकृत पराजुलीले यसका लागि राष्ट्रिय तथा सामुदायिक वनमा देखिने बाघ वा चितुवाको गणना र अध्ययन पनि आवश्यक भएको बताए । ‘चुरे बसन्ता वन क्षेत्रमा एक पटक बाघको ‘सर्च’ गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘बढी बाघ भएमा संरक्षणको व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ ।’ मसुरियामा बाघको आक्रमणबाट गत वर्ष दुई जनाको मृत्युसमेत भएको थियो ।

प्रकाशित : पुस १२, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्