६ महिनामै रविको सत्तायात्रा- समाचार - कान्तिपुर समाचार

६ महिनामै रविको सत्तायात्रा

पार्टी स्थापना गरेको केवल ६ महिनामा नै सत्तामा पुग्नु रास्वपाका लागि ऐतिहासिक उपलब्धी हो भने नेपाली राजनीतिको पनि नयाँ परिघटना हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ। सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका रवि लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।
स्वरूप आचार्य

काठमाडौँ — आफ्नो व्यक्तिगत हुटहुटीपछि ६ महिनाअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आमनिर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै संघीय संसदमा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ साल आफू पहिलोपटक प्रधानमन्त्री हुँदा 'सिधा कुरा प्रधानमन्त्रीसँग' चलाउने अनुमति दिएर सञ्चारकर्मको दोस्रो इनिङको विधिवत सुरुवात गरिदिएको सात वर्षपछि लामिछाने उनकै आग्रहलाई टार्न नसकेर सरकारमा सामेल भएका हुन् भन्दा अत्युक्ति हुँदैन । अरुले नपत्याउँदा ओलीले त्यसबखत लगाएको गुन उनले आफ्नो पहिलो टीभी कार्यक्रम बन्द गरिदिने पुष्पकमल दाहालको नेतृत्वलाई समर्थन गरेर तिरेका छन् ।

सञ्चारकर्मीका रुपमा काम गर्दै गर्दा अमेरिका पलायन भएर उतैको नागरिकतासमेत लिएका लामिछानेले नेपाल आएर ६२ घण्टा लगातार ‘टक सो’ चलाएर विश्व कीर्तिमान राखेपछि केही चर्चा बटुलेका पात्र हुन् । विश्व किर्तिमानी टक सो चलाए पनि नेपाली मिडियाबाट अपेक्षाकृत चर्चा नपाएपछि भने आफूले अमेरिकी नागरिकता लिएको उनले बताउने गरेका छन् ।

आफूलाई महत्त्वाकांक्षी र छिटो निर्णय लिने व्यक्तिका रुपमा चिनाउने लामिछानेको सानिध्यता एमाले अध्यक्ष ओलीसँग नयाँ भने होइन । पहिलोपटक प्रधानमन्त्री भएसँगै ओली र लामिछानेको निकटता बढेको थियो । रविले तत्कालीन प्रधानमन्त्री ओलीलाई आफ्ना योजनाहरू सुनाउँदै 'सिधा कुरा प्रधानमन्त्रीसँग' कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन राजी गराएका थिए । ओली राजी भएर कार्यक्रम अनएयर हुन थालेपछि लामिछानेले १४ वर्षको अमेरिका बसाइँ छोड्ने निर्णय गरेका हुन् ।

लामिछानेले आफ्नो अमेरिका बसाइँ निकै उत्पादनमूलक रहेको दाबी गर्ने गरेका छन् । तर‚ उनलाई नजिकबाट चिन्नेहरू भने पारिवारिक कलहसँगको आर्थिक उतारचढावले गर्दा अमेरिका छोड्नु उनका लागि हितकर रहेको देखेरै लामिछाने नेपाल आएको बताउँछन् । अमेरिकामा रहँदाको पारिवारिक कलह कस्तो थियो भन्ने विषय उनकी पूर्वपत्नी ईशा लामिछानेले स्वयंले सार्वजनिक गरेकी थिइन् । त्यसबारे रवि र ईशा दुवैको आ-आफ्नो भनाइ बाहिर आएको थियो । जसले रविको अमेरिका बसाइ पारिवारिक रुपमा सुखद नरहेको भने स्पष्ट पारेको थियो ।

ओली प्रधानमन्त्रीबाट हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै उनको कार्यक्रम 'सिधा कुरा प्रधानमन्त्रीसँग' नेपाल टेलिभिजनबाट बन्द भयो । नेपाल टेलिभिजनबाट बिदा भएपछि उनले न्यूज २४ बाट 'सिधाकुरा जनतासँग' भन्ने कार्यक्रम चलाउन सुरु गरे । जसले उनलाई चर्चाको शिखरमै पुर्‍यायो । उनको प्रस्तुति शैलीले वाहवाही बटुलिरहेकै बेला २०७६ श्रावण २० गते पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानको क्रममा पुडासैनीको मोबाइलमा लामिछानेसहित अन्य तीन जनाका कारणले आफूले आत्महत्या गरेको उल्लेख गरिएको भिडियो फेला पर्‍यो । फल स्वरुप रवि लामिछानेलाई प्रहरीले प्रकाउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा नै चलायो । यद्यपि सो मुद्दामा अदालतबाट लामिछानेले सफाइ पाइसकेका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दा लागेर प्रहरी हिरासतमा पुग्नु उनका लागि भविष्यमा चितवनबाट आमनिर्वाचनमा विजयी हुने आधार नै बन्यो । त्यसबखत लामिछाने हिरासतमा रहँदा उनको समर्थनमा दिनहुँजसो चितवनको सडक अशान्त बनेको थियो । ११ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएको भोलिपल्ट रविले नारायणी किनारमा आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिन कार्यक्रम राखे‚ जसमा हजारौं सहभागी भएका थिए । त्यसबेला नारायणी किनारमा उर्लिएको भिडले नै रविलाई एक प्रकारको छुट्टै ढाडस दियो । रविलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यहाँ जम्मा भएको भीडले नै उनको मनमा कुनै दिन राजनीतिमा प्रवेश गर्न सकिन्छ भन्ने सोचलाई पनि अंकुरित गराइदिएको थियो ।

न्युज २४ को व्यवस्थापन पक्षसँग खटपट भएपछि उनले २०७७ फागुनमा नयाँ टेलिभिजन ग्यालेक्सी फोरके सञ्चालन गर्ने घोषणा गरेका थिए भने २०७८ असोज १५ गतेदेखि विधिवत रुपमा टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको थियो । तर‚ उनको नयाँ टेलिभिजन यात्रा त्यति सुखद भने रहेन । उनले गत असारमा उक्त टेलिभिजन छोडेर राजनीति गर्ने घोषणा गरे ।

एकातर्फ ग्यालेक्सीमा उनको खस्किँदो साख र अर्कोतर्फ स्वतन्त्रको नाममा काठमाडौं महानगरबाट बालेन्द्र शाह र धरान उपमहानगरबाट हर्क साम्पाङको उत्साहजनक जतिले उनको मनमा केही वर्ष पहिले नारायणी किनारमा अंकुरित भएको राजनीतिज्ञ बन्ने सोचलाई मलजल गरिदियो । त्यसैले उनले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे । परम्परागत पार्टीहरूको विकल्पमा काम गर्ने भन्दै राजनीतिमा होमिएका लामिछानेले अन्तत: विभिन्न अड्कलबाजीबीच चितवन-२ बाट उम्मेदवारी दिए ।

निर्वाचनको केही दिनअघि लामिछानेको नेपाली नागरिकताको वैधतामाथि विवाद भए पनि त्यो विषयले उनको राजनीतिक यात्रालाई धक्का दिन सकेन बरु थप बल पुर्‍यायो । त्यससँगै उनको राहदानीबारे पनि विवाद सतहमा आयो । उनको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी भने उपप्रधान तथा गृहमन्त्रीका रुपमा शपथ लिँदै सरकारमा सामेल भएका छन् ।

पार्टी स्थापना गरेको केवल ६ महिनामा नै सत्तामा पुग्नु रास्वपाका लागि ऐतिहासिक उपलब्धि हो भने नेपाली राजनीतिको पनि नयाँ परिघटना हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ। सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका रवि लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।

निर्वाचनमा परम्परागत दलहरूलाई चुनौति दिन लामिछाने स्वयंले पुराना नेताहरूको नेतृत्वमा सरकारमा नजाने बरु देशलाई बलियो प्रतिपक्षको आवश्यकता रहेको बताउने गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा एमाले अध्यक्ष केपी ओलीसँग उनको के विषयमा कुरा मिल्यो र रास्वपाले सरकारमा सहभागी हुने निर्णय गर्‍यो त्यो औपचारिक रुपमा स्पष्ट भइसकेको छैन ।

चितवन दुईबाट निर्वाचन जित्ने पक्कापक्की भएको बेला कान्तिपुरसँग कुराकानी गर्दै रवि लामिछानेले नेपालमा सबै दलहरु कुनै न कुनै किसिमले एक अर्कासँग मिलेकाले यहाँ बलियो प्रतिपक्ष नभएको प्रतिक्रिया दिएका थिए । 'लोकतन्त्रमा प्रतिपक्ष नहुनु भनेको सबैभन्दा खतराको बिषय हो । हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ,' उनले यसो भन्दै गर्दा सरकारमा सामेल हुनसक्ने आधार पनि बताएका थिए, 'तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला ।' तर रातारात उनीसहित बनेको ६ दलीय सत्ता गठबन्धनको नेतृत्व गरेका पुष्पकमल दाहालमा के देखे प्रश्न उठेको छ ।

प्रकाशित : पुस ११, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली चिकित्सककै नेतृत्वमा छाती नचिरी मुटुको ‘भल्भ’ प्रत्यारोपण

व्यावसायिक रुपमा भारतको जयपुरस्थित अस्पतालमा कार्यरत नेपाली चिकित्सक डा. अमीत चौरसिया यस प्रकारको शल्यक्रियामा विश्वमै अब्बल मानिन्छन्  । उनको नेतृत्वमा काठमाडौंको ह्याम्स अस्पतालमा आइतबार करिब दुई घन्टा लगाएर शल्यक्रिया गरिएको हो ।
स्वरूप आचार्य

काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रपछि ह्याम्स अस्पतालमा पनि छाती नचिरी मुटुमा रहेको समस्याग्रस्त ‘भल्भ’ प्रत्यारोपण गर्ने ‘ट्रान्सक्याथेटर एओर्टिक भल्भ ट्रान्सप्लानटेसन’(टाभी) शल्यक्रिया सफलताका साथ गरिएको छ ।

गंगालालमा केही महिनाअघि त्यस प्रकारको उपचार गर्दा भारतीय चिकित्सक प्रोक्टरका रुपमा सम्मिलित रहे पनि ह्याम्स अस्पतालमा भने नेपाली चिकित्सक डा. अमीत चौरसियाले शल्यक्रियाको नेतृत्व गरेका थिए । भारतमा करिब १५ सयभन्दा बढी ‘टाभी’ गरिसकेका डा. चौरसिया सम्मिलित टोलीले ह्याम्स अस्पतालमा करिब २ घण्टा लगाएर क्याथ ल्याबभित्र ७४ वर्षीय एक पुरुषमा भल्भ प्रत्यारोपण गरेका हुन् ।

ह्याम्स अस्पतालका मेडिकल निर्देशकसमेत रहेका वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतीन्द्र शर्माका अनुसार ती बिरामीको बायाँ भल्भ साँघुरिएर निकै समस्या भएको थियो । ‘उहाँको बायाँतर्फको एओर्टिक भल्भ साँघुरिएर समस्या भएको थियो । उहाँलाई स्वास फेर्नै पनि समस्या थियो,’ उनले भने, ‘यस प्रकारको समस्या देखिएका बिरामीलाई कि त ओपन हार्ट सर्जरी वा टाभी नै गर्नुपर्छ । मुटु नै खोलेर शल्यक्रिया गर्दाका आफ्नै जोखिमहरू हुने भएकाले अहिले टाभीलाई विकल्पको रुपमा लिइएको छ ।’ डा. शर्माका अनुसार भल्भमा समस्या देखिएपछि समयमा नै उपचार नगर्ने हो भने त्यस्ता बिरामीलाई ६ महिनादेखि २ वर्षसम्म मात्रै बचाउन सकिन्छ ।

यो शल्यक्रिया गर्न भारतबाट शनिबार काठमाडौं आएका डा. चौरसियाले ह्याम्स अस्पतालका चिकित्सकहरू डा. ज्योतीन्द्र शर्मा, डा. यादव भट्ट, डा. रवि बराल, डा. मुकुन्द शर्मा, डा. मुरारिराज उप्रेती, डा. सुरज लामिछानेको सहयोगमा टाभी गरेका हुन् । शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको डा. शर्माले जानकारी दिए ।

शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली ।

उनका अनुसार यो शल्यक्रिया केही महिनाअघि नै गर्ने तयारी भए पनि डा. चौरसियाको व्यस्तता र केही प्राविधिक कारणले गर्दा आइतबार गरिएको हो । भारतमा मात्रै नभई विश्वमा नै मुटुको भल्भ प्रत्यारोपण गर्नका लागि निकै रुचाइएको यो प्रविधि नेपालमा सफलतापूर्वक गर्ने ह्याम्स दोस्रो अस्पताल हो भने निजी अस्पतालमा पहिलो हो ।

शल्यक्रिया गर्नुअघि डा. चौरसियाले नेपालमा यस प्रकारको विशिष्ट प्राविधिक ज्ञान साट्नका लागि आउन पाएकोमा आफूलाई निकै खुसी लागेको बताएका थिए । वरिष्ठ छालारोग विशेषज्ञ डा. अशोककुमार चौरसियाका छोरा डा. अमीत चौरसिया हाल भारतको जयपुरस्थित इटर्नल अस्पतालमा कार्यरत छन् ।

एमबीबीएस भारतको पोडिचरीबाट गरेका डा. चौरसियाले भारतकै नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट एमडी गरेका हुन् । उनले डीएम भारतको त्रिवेन्द्रमबाट गरेर हंगेरीको बुधापेस्टमा छाती नचिरिकनै गरिने मुटुको शल्यक्रियामा फेलोसिप गरेका हुन् । उनी भारतमा मात्रै नभएर दक्षिण एसियमा नै खुट्टाको नलीबाट क्याथेटर छिराएर गरिने मुटुको भल्भ प्रत्यारोपणलगायत उपचारमा विज्ञ चिकित्सक मानिन्छन् । उनले हालसम्म एक हजारभन्दा बढीमा यस प्रकारको उपचार गरिसकेका छन् ।

डा. ज्योतीन्द्रका साथमा डा. अमीत चौरसिया (दायाँ)

उनी नेपालमा शल्यक्रिया गर्नका लागि भन्दा पनि आफूले जानेको ज्ञान बाँढ्नका लागि आएको बताउँछन् । ‘म वर्षमा धेरै वर्कसप गरिरहेको हुन्छु । मेरा सबै वर्कसपहरू भरिभराउ नै हुन्छन्,’ उनले भने, ‘डा. ज्योतीन्द्रसँग मेरो भेट केरलामा भएको एउटा सम्मेलनमा भएको थियो । त्यसैले पनि म यहाँ आएर यो उपचार सुरु गर्न उत्सुक भएको थिएँ ।’

उनका अनुसार नेपाली अस्पतालमा सबै नेपाली चिकित्सक र स्वास्थ्यकर्मीबीच शल्यक्रिया गर्दा आफूलाई निकै सहज महसुस भएको उनले बताए । ‘आफ्नो ठाउँमा, आफ्नो तरिकाले काम गर्न र जानेको कुरा सिकाउन पाउँदा सबैलाई खुसी लाग्छ । मलाई झन् धेरै खुसी लागेको छ किनभने यो मुटुको उपचारमा नेपालका लागि नयाँ विधा हो र त्यसमा म पनि जोडिन पाएको छु ।’ उनले डा. ज्योतीन्द्र, डा. यादवजस्ता नेपालमा नाम चलेका चिकित्सकहरुसँगै काम गर्न पाउनु सम्मानको विषय भएको पनि बताए ।

डा. अमीतका अनुसार विश्वमा निकै रुचाउनका थालिएको उपचार पद्धति निकै महँगो मानिन्छ । तर, नेपालमा भने भारतभन्दा झन्डै आधा कममा यो उपचार गर्न सकिने हुँदा धेरैलाई सजिलो हुनसक्ने उनले बताए ।

‘मैले अहिले काम गर्ने अस्पतालमा यस प्रकारको उपचारका लागि अस्पतालले मात्रै पाँच दिन बसेको शुल्कसहित ५ लाख भारु लिन्छ,’ उनले भने, ‘त्यसमा बिरामीले भल्भलगायत औषधिलाई पर्ने थप रकम बुझाउनुपर्छ । जुन करिब २५ लाख भारुभन्दा बढी नै हुन्छ ।’ उनका अनुसार यो प्रविधि अहिले विश्वमै महँगो रहेको छ । भारतभरमा हाल महिनाको १ सयदेखि डेढ सय जनासम्मको यस्तो पद्धतिबाट शल्यक्रिया गर्ने गरिएको उनले बताए ।

ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतीन्द्रका अनुसार नेपालमा भारतको तुलनामा करिब आधा मूल्यमै यो उपचार गर्न सकिने देखिएको छ । ‘हामीले भारतमा भन्दा आधा सस्तोमा यो उपचार गर्न सक्ने देखेका छौं,’ उनले भने, ‘अहिलको अवस्थामा विदेशमा हुने उपचार नेपालमा पनि सम्भव छ भन्ने सन्देश दिन जरुरी भएकाले पनि सरकारी मात्र नभई निजी अस्पतालमा पनि यो प्रकारको उपचार सुरु गर्ने कोसिस गरेको बताए ।’

प्रकाशित : श्रावण ९, २०७९ १३:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×