बलिउडलाई बहिष्करणको चोट

सामाजिक सञ्जालमा बलिउडविरोधी सन्देश लेखिरहने १ लाख ६७ हजार ९ सय ८९ अकाउन्टमध्ये १२ हजार ८ सय ८९ भने यो २ वर्षमै खुलेको अध्ययनले देखाएको छ 
रीना मोक्तान

काठमाडौँ — बलिउड अहिले एउटै विषयले तातिएको छ– बोयकट पठान । ‘पठान’ शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म हो, जसले आगामी आइतबार परेको क्रिसमससँगै प्रदर्शन मिति घोषणा गरिसकेको छ । सामाजिक सञ्जालमा यो फिल्म यतिबेला चर्को विवादको सामना गरिरहेको छ । जति समर्थक छन्, त्योभन्दा बढी सामाजिक सञ्जालमा ‘बोयकट’ अर्थात् बहिष्करणको ह्यासट्याग पोस्ट गर्नेहरू छन् ।

बलिउडलाई बहिष्करणको चोट

बहिष्करणको लहर सार्वजनिक रूपमै बाहिरिएको छ । यो फिल्म कसरी यस्तो निसानामा पर्‍यो ? पत्ता लगाउन हालै सार्वजनिक भएको यसको एउटा गीततिर फर्कनुपर्छ ।

गत मंसिर २६ (डिसेम्बर १२) मा निर्माण कम्पनी यशराज फिल्मस्ले ‘पठान’ को पहिलो गीत ‘बेसरम रंग’ युट्युबमा सार्वजनिक गर्‍यो । शिल्पा रावको स्वरमा विशाल–शेखरले संगीतबद्ध गरेको उक्त गीतमा शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण छन् । एउटा दृश्यमा अभिनेत्री पादुकोणले केशरी (गेरुवा) रङको पहिरन लगाएकी छन् । उनको लुगाको त्यही रङलाई गीतमार्फत ‘बेसरम’ अर्थात् निर्लज्ज भनिएको भन्दै सत्ताधारी भारतीय जनता पार्टीनिकट समर्थकहरू अहिले फिल्मको चर्को विरोधमा छन् । विरोधकै कारण सामाजिक सञ्जालमा ‘बोयकट पठान’ ट्रेन्डिङमा छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले एउटा अन्तर्वार्तामा दीपिकाको पहिरन आपत्तिजनक रहेको बताउँदै दूषित मानसिकता भएकाहरूले यस्तो भिडियो बनाएको धारणा राखे । उनी त्यतिमै रोकिएनन् । उक्त दृश्य नहटाएसम्म मध्यप्रदेशमा फिल्म प्रदर्शन गर्न नदिनेसम्मको चेतावनी दिए । ‘गीतमा पहिरन निकै आपत्तिजनक छ’ भन्ने मिश्रको अभिव्यक्तिलगत्तै उनका कार्यकर्ता र हिन्दुवादीहरूले सिनेमा नै बहिष्कार गर्नुपर्ने भन्दै विरोध सुरु गरे । त्यही भीडमा मिसिए भाजपाकै अर्का नेता प्रदेश प्रवक्ता गौरव गइल । उनले त अभिनेत्री दीपिकाको जेएनयू (जवाहरलाल नेहरू विश्वविद्यालय) पुग्दाको तस्बिर राख्दै ट्वीटरमा लेखे, ‘कसैको व्यक्तिगत विरोधी त होइन । तर, देशका विरोधीहरूका विरोध अन्तिम साससम्म गरिरहनेछु ।’ मध्यप्रदेशबाट सुरु भएको विरोध क्रमशः अन्य राज्यहरूमा पनि फैलियो ।

त्यस्तै महाराष्ट्रका भाजपा नेता रामकदमले पनि गीतले हिन्दुत्वको अपमान गरेकाले फिल्मलाई आफ्नो प्रदेशमा प्रदर्शन गर्न नदिने भन्दै ट्वीटरमै लेखे । बिहारमा त बजरंग दल र विश्व हिन्दु परिषद्ले फिल्मको प्रदर्शनमा रोक लगाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेर जबलपुरमा भइरहेको शाहरूखको अर्को फिल्मको छायांकनसमेत रोक्न धम्की दिए । मुजफ्फरपुरको जिल्ला अदालतमा शाहरूख र दीपिकाविरुद्ध निवेदनसमेत पर्‍यो । युट्युबमा सार्वजनिक गरेको ११ दिनमै ११ करोडभन्दा बढी भ्युज प्राप्त यस गीतले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दु दक्षिणपन्थीसहित भाजपाका सदस्यहरू अन्तर्वार्तादेखि ट्वीटरमा ‘बोयकट पठान’ अभियान चलाउँदै छन् ।

शाहरूखको पठानले मात्र होइन, पछिल्लो समय ट्रेन्ड नै बनेको ‘बोयकट संस्कृति’ ले बलिउडका अरू फिल्मलाई पनि विवादमा तानिसकेको छ । आमिर खानको ‘लालसिंह चड्ढा,’ अक्षय कुमारको ‘रक्षा बन्धन,’ ऋतिक रोशन–सैंफ अलीको ‘विक्रम वेधा,’ तापसी पन्नुको ‘दोबारा,’ रणवीर कपुरको ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ लाई पनि प्रदर्शनअघि बहिष्कार गर्नेहरू निस्किएका थिए । सामाजिक सञ्जालमा गरिएको बहिष्कारकै कारण बलिउडका केही सिनेमाहरूले त ठूलो नोक्सानीसमेत खेप्नुपरेको छ । हप्तौं ट्वीटरको ट्रेन्डिङमा ‘बोयकट लालसिंह चड्ढा’ ट्रेन्ड चलेपछि आमिरले त भारतप्रतिको आफ्नो प्रेम प्रकट नगरी फिल्म प्रदर्शन गर्नै सकेनन् । ‘म मेरो देशलाई निकै प्रेम गर्छु भन्ने कुरामा तपाईंहरू विश्वस्त हुनुस् । त्यसैले कृपया मेरो फिल्मलाई बोयकट नगर्नुस्,’ आमिरले फिल्म प्रदर्शनको १० दिनअघि मिडियामार्फत भन्नुपरेको थियो ।

सन् २०१४ मा धार्मिक असहिष्णुताले भारत असुरक्षित लाग्न थालेको भन्दै भाजपा सरकारका विरुद्ध बोलेको अन्तर्वार्ताको सानो अंश राख्दै सामाजिक सञ्जालमा फिल्मको विरोध गर्नेहरू बढे । त्यति मात्रै नभई सन् २०१५ मा प्रदर्शनमा आएको ‘पीके’ को प्रसंग उठाउँदै आमिरलाई हिन्दुविरोधी करार गरिदिए । ‘पीके’ ले धर्मका नाममा हुने अन्धविश्वासमाथि प्रहार गरेको थियो । चर्को विरोधबीच वर्षौं लगाएर ठूलो बजेटमा निर्माण गरेको ‘लालसिंह चड्ढा’ प्रदर्शनमा आयो । तर, सामाजिक सञ्जालमा गरेको प्रहार बक्स अफिसको नतिजामा देखियो । ‘दंगल’ बाट बलिउडमा सर्वाधिक व्यापार गर्ने फिल्मको ट्याग कमाएका स्टार आमिरको ‘लालसिंह चड्ढा’ फ्लप हुनुलाई धेरैले ‘बोयकट संस्कृति’ ले पारेको प्रभावका रूपमा पनि व्याख्या गरेका छन् । अहिले ‘बोयकट संस्कृति’ बलिउडका लागि चिन्ताको विषय पनि बन्न थालेको छ ।

त्यसो त ‘लालसिंह चड्ढा’ सँग एकै दिन प्रदर्शनमा आएको ‘रक्षा बन्धन’ पनि विवादरहित बन्न सकेन । यसअघिका केही फिल्ममा हिन्दु राष्ट्रवादीहरूलाई आकर्षित गर्न सफल अक्षय कुमारको यो फिल्मलाई पटकथाकारको पुरानो ट्वीटकै आधारमा विरोध गरे । गौ मूत्र, हिजाब बन्देज, साम्प्रदायिक हिंसाको विरुद्धमा पटकथाकार कणिका ढिल्लोंले लेखेको ट्वीटलाई लिएर फिल्मको बोयकट गरियो । अक्षयलाई हिन्दुविरोधीसँग काम गरेको भन्दै प्रश्नहरू थुप्रै निस्किए । अक्षयले नै एक मन्दिरको धार्मिक विधिमा दूध खेर फालेको भन्दै गरिएको पुरानो ट्वीटलाई कारण बनाउँदै फिल्मको विरोध गर्नेहरू थपिए । अन्ततः फिल्मले देशको अर्थतन्त्रमा प्रभाव पार्ने हुँदा आफ्नो फिल्मलाई बहिष्कार नगर्न अक्षयले अपिल नै गर्नुपर्‍यो । त्यस्तै, ऋतिक रोशनले ‘रक्षा बन्धन’ को तारिफ गर्दै दर्शकलाई के फिल्म हेर्न आह्वान गरेका थिए, उनी अभिनीत ‘विक्रम वेधा’ पनि बोयकटमा तानियो । त्यस्तै, अभिनेता रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चनका पुराना भिडियो सार्वजनिक गर्दै ‘ब्रह्मास्त्र’ लाई पनि बोयकट अभियानमा सामेल गरियो । रणवीरले मासु खाँदै गरेको भिडियोको क्लिप ट्वीटरमा सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता उनको फिल्मविरुद्ध खनिए । यद्यपि ‘ब्रह्मास्त्र’ हिन्दुको पौराणिक कथामा आधारित भएको हुनाले पनि आमिरको फिल्मको जस्तो गति भएन ।

‘बोयकट’ राजनीति

बोयकट शब्द आयरल्यान्डबाट सुरु भएको मानिन्छ । त्यतिबेला चार्ल्स कनिंघम बोयकट भन्ने बेलायती कर उठाउने व्यक्ति थिए । उनी यति निरंकुश थिए कि उनका विरुद्धमा सन् १८८० ताका किसानहरू विरोधमा उत्रिए र उनलाई काममुक्त गराइदिए । त्यहीँबाट बोयकट शब्द जन्मियो । त्यससँगै बोयकट शब्द विरोध र सामूहिक मागका लागि संसारभर प्रचलनमा आउन थाल्यो ।

तर, छिमेकी राष्ट्र भारतमा भने यो शब्दलाई अनावश्यक कारण देखाउँदै विरोध गरिएका फिल्महरूमा व्यापक प्रयोग गरिँदै छ । शाहरूखको ‘पठान’ उदाहरण ज्वलन्त भइहाल्यो । कोभिडपछि प्रदर्शनमा आएका फिल्महरू सामाजिक सञ्जालमा यसरी प्रहारमा परिरहँदा बलिउडमा ‘बोयकट संस्कृति’ मौलाउँदै गएको देखिन्छ । तर, कोभिडअघि पनि थुप्रै फिल्मले बोयकटको सामना गर्नुपरेको थियो । यसअघि ‘माई नेम इज खान,’ ‘पद्मावत,’ ‘लिपिस्टिक अन्डर माई बुर्का,’ ‘दंगल,’ ‘पीके’, ‘हैदर,’ ‘द डर्टी पिक्चर,’ ‘गोंलियों की रासलीला रामलीला,’ र ‘छपाक’ जस्ता फिल्महरू बोयकटमा परे । कुनै बेला बोयकटमा पर्ने फिल्महरू निकै कम हुन्थे, जस्तो कि दीपा मेहताको ‘फायर’ र ‘वाटर ।’

ठूलो लागतमा फिल्म बनाउने बलिउड सिने उद्योग कमजोरीमुक्त छैन । तर यसले अघिल्ला वर्षहरूमा यस्तो कडा प्रकारको बहिष्करणको सामना गर्नुपरेको अनुभव थिएन । एकातिर बलिउडमा दक्षिण भारतीय फिल्म हाबी हुँदै गएका छन्, अर्कातिर तारन्तार बोयकटको चोट पाउँदा मुम्बई सिने उद्योग स्तब्ध छ । युनिभर्सिटी अफ मिसिगनका एसोसिएट प्रोफेसर अफ इन्फरमेसन जोयोजित पल र अनुसन्धानकर्ता सेरिल अग्रवालले हालै ‘ह्यासट्याग बोयकट बलिउड’ माथि अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त अध्ययनले यसलाई सामाजिक सञ्जालमा संगठित रूपमा केही नाम नखुलाइएका अकाउन्टबाट नकारात्मक रूपले प्रस्तुत गरिएको तर दक्षिण भारतका फिल्मलाई भने मौलिकतासँग जोड्दै आएको देखाउँछ । त्यस्तै बलिउडविरोधी सन्देश लेखिरहने १ लाख ६७ हजार ९ सय ८९ अकाउन्टमध्ये १२ हजार ८ सय ८९ भने यो २ वर्षमै खुलेको र ती अकाउन्टको कुनै नाम र फलोअर्स नभएको पनि देखायो । बोयकटको प्रभाव कस्तो हुन्छ भन्ने अझै प्रस्ट छैन । तर, कोभिडपछि प्रदर्शनमा आएका २० फिल्ममध्ये ७७ प्रतिशत त फ्लप नै भए ।

खासमा फिल्मलाई वाक स्वतन्त्रताको अभ्यास हुने माध्यमका रूपमा चर्चा गरिन्छ । आफूले भन्न खोजेको कुरालाई निर्देशकले फिल्ममार्फत अभिव्यक्त गरिरहेका हुन्छन् । फिल्म, साहित्य र कला दबाइएकाहरूको आवाज बन्दै आएको छ । तर, अभिव्यक्ति स्वतन्त्रको अभ्यास हुने यही माध्यमलाई किन बहिष्कार गर्नेहरू बढ्दै छन् ? बोयकट संस्कृति पछाडिको खास कारण के हो ? बलिउडका स्टारहरू किन सत्ताधारीको लक्षित भइरहेका छन् त ?

अभिनेत्री स्वारा भास्कर बलिउड फिल्मले भारतको सत्तापक्ष दल भाजपाको हिन्दु राज्य विचारधारामाथि प्रहार गर्ने हुँदा यस्तो भइरहेको बताउँछिन् । ‘बलिउड यस्तो उद्योग हो जहाँ मुस्लिमहरूको उपस्थिति छ, यो क्षेत्रमा सफल पनि छन् । जुन कुराले हिन्दु अधिकारवालालाई पिरोल्ने नै भयो,’ भाजपाविरुद्ध बोल्दा मार्ने धम्कीसमेत पाएकी स्वाराले द गार्डियनलाई भनेकी छन्, ‘यदि मनोरञ्जनको यस्तो माध्यम नै धर्मनिरपेक्षता, बहुलवाद, विविधताका पक्षमा उभिन्छ भने हिन्दु राज्यको एजेन्डा र धर्मनिरपेक्षतालाई हटाउन उनीहरूले त्यही माध्यमलाई बदनाम बनाउँछन् नै ।’

बोयकट अभियानलाई यही अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजेको बताउनेहरू पनि छन् । एक फिल्मकर्मीले रेडियो फ्रान्स इन्टरनेसनललाई यो अभियान संगठित रूपमै हिन्दु दक्षिणपन्थीहरूले सुरु गरेको समेत बताएका छन् । स्वारा थप्छिन्, ‘यस्तो लक्षित प्रहारहरू सत्ता पक्षकै विचारधाराबाट आइरहेको छ भन्ने सायद बलिउडलाई थाहा छैन । यो विचारधाराले विचार र अभिव्यक्तिमा नियन्त्रण गर्न खोजेको छ ।’ यो अभियानले भारतमा मुस्लिमविरोधी भावना जन्माइरहेको पटकथाकार हुसेन हैदरीले गार्डियनलाई भनेका छन् । ‘यस्तो अभियानले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुस्लिमविरोधी भावना पैदा गराइरहेको छ,’ ताण्डव सिरिजमा मुस्लिम कलाकारले हिन्दु भगवान्को मजाक उडाएको भनिएको दृश्य हटाउन लगाइएको प्रसंग जोड्दै भने, ‘खासमा मुस्लिमलाई हिन्दुको विरोधीका रूपमा प्रस्तुत गरिएको कुरा उनीहरूका लागि खुराक भइहाल्छ ।’

केही समयअगाडि सिरिज ‘अ सुटेबल ब्वाय’ मा हिन्दु केटी र मुस्लिम केटाबीचको चुम्बनको दृश्यमाथि आपत्ति जनाउँदै एक भाजपा नेताले नेटफ्लिक्स इन्डियामाथि उजुरी नै हाले । भाजपा नेताहरूले आमिर खानलाई कालो धनको प्रशोधन गर्दै आइरहेको र ‘लालसिंह चड्ढा’ ले आतंकवादलाई महिमामण्डन गरेको समेत आरोप लगाए ।

‘अहिले सामाजिक सञ्जालमा फिल्महरूलाई ब्ल्याकलिस्टमा राख्ने प्रवृत्ति बढिरहेको छ,’ फिल्म समीक्षक उदय भाटियाले बीबीसीलाई भनेका छन्, ‘यो कार्य अर्गानिक होइन, दक्षिणपन्थीहरूले अगाडि बढाइरहेको काम हो ।’ बोयकटले समातेको हिन्दु–मुस्लिमको विषयलाई बुझ्न, ‘द कश्मीर फाइल्स’ प्रदर्शनताका देखिएको अनौठो दृश्य काफी छ । भारतका प्रधानमन्त्रीदेखि भाजपा नेताहरूले फिल्मको खुलेर समर्थन गरे । कति राज्यमा फिल्म हेर्न सरकारी कर्मचारीलाई छुट्टी दिइएको थियो भने उक्त फिल्मलाई कर छुटसमेत गरिएको थियो । सन् १९९० को कश्मीर हिन्दु पण्डितहरूमाथि गरिएको आक्रमण र उनीहरूको पलायनलाई मुख्य विषयवस्तु बनाइएको उक्त फिल्मलाई भारतकै प्रतिष्ठित फिल्म फेस्टिभलको जुरीले हालै ‘प्रोपोगान्डा’ घोषणा गरेको थियो । मुस्लिम पात्रलाई नकारात्मक मात्रै देखाइएको यो फिल्मलाई भाजपा सरकारले काँधमा बोकेरै हिँड्यो ।

बोयकटमा यसरी हिन्दु–मुस्लिमसँगै जोडेर आउने अर्को विषय हो– सुशान्तसिंह राजपुतको आत्महत्या । फिल्महरू बोयकटको अर्को कारण नातावाद (नेपोटिज्म) पनि रहेको भारतीय सञ्चारमाध्यमहरूले पनि स्विकार्दै आएका छन् । अभिनेता सुशान्तलाई बलिउडले आउटसाइडरका रूपमा व्यवहार गरेकै कारण उनले आत्महत्या गरेको कारण देखाउँदै बोयकट गर्नेहरू बढेको भन्नेहरू पनि छन् । आलिया भट्टको ‘सडक २’ ले ट्रेलरमा पाएको सवा करोडभन्दा बढी डिसलाइकलाई धेरैले नातावादसँग जोडेर गरिएको बोयकटकै नतिजा मान्छन् । बोयकट जुनसुकै कारणमा आधारित होस्, यो अभियान यसरी आक्रामक भएर आउनुको पछाडि बलिउड कलाकारको मौनता देख्छन् अभिनेता अर्जुन कपुर । ‘हाम्रो कामले नै जवाफ दिनेछ भन्दै बस्नु हाम्रो गल्ती हो ।

हामीले धेरै नै सहिसक्यौं तर यो मानिसहरूका लागि बानी बनिसक्यो । अब हामी एकजुट भएर आउनुपर्छ । यसरी ह्यासट्याग लेखेर गलत कुराहरू पोस्ट्याउनेका विरुद्ध हामीले केही गर्नैपर्छ,’ बलिउड हंगामासँगको अन्तर्वार्तामा उनले भनेका छन् । त्यस्तै, निर्देशक अनुराग कश्यपले इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘अहिलेको समय एकदमै अनौठो छ, अहिले जे पनि बोयकट भइरहेको छ । यो देशमा अहिले बहिष्कार संस्कृति मौलाउँदै गएको छ । यदि तपाईं बोयकटमै पर्नु भएन भने तपाईं गनिनु हुँदैन ।’

केही दिनअघि मात्रै ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’ मा अभिनेता शाहरूख खानले बोयकटको विषयलाई घुमाएर सामाजिक सञ्जालमा बढ्दै गरेको साँघुरो सोचसँग जोडे । ‘अहिले सामाजिक सञ्जालले हाम्रो विचार निर्माण गर्दै आएको छ । त्यसैले सामाजिक सञ्जालका नकारात्मक कुराहरूले फिल्मलाई पनि नराम्रो असर पार्न सक्छ भन्ने खालका विचार छन् तर मलाई लाग्छ, अहिलेको समयमा फिल्मले झनै महत्त्वपूर्ण भूमिका खेल्छ । सामाजिक सञ्जालमा त्यस्ता केही संकीर्ण विचारले पनि परिचालित हुन्छ, जसले अन्यका विचारलाई त्यसमै सीमित गराइदिन्छ,’ उनले भनेका थिए, ‘फिल्मले त मानव जीवनका नराम्रा पक्षहरूलाई पनि कथ्य वाचनमार्फत भनिरहेको हुन्छ । यसले त हामीलाई एकअर्कामा चिनिन पनि मद्दत गरिरहेको हुन्छ । साथै फिल्मले एउटा यस्तो धारणा पस्कन्छ, जसले मानवता, एकता अनि भाइचारालाई बढाइदिन्छ ।’

पठानको त्यही विवादित दृश्यलाई लिएर स्वाराले भने ट्वीटरमा भाजपाका नेताहरूलाई व्यंग्य गर्दै लेखेकी छन्, ‘हेर्नुस् यी हुन् हाम्रा देशका सत्ताधारी नेता । उहाँहरूलाई अभिनेत्रीहरूको कपडा हेर्नबाट फुर्सद पाए पो केही काम पनि गर्थे कि ?’

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : पुस १०, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?