३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तु चोरी सिकार

सांसदको घरलाई सेल्टर बनाएर संगठित रुपमा वन्यजन्तुको तस्करी

काठमाडौं, पर्सा — पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकारी भइरहेको पाइएको छ । अघिल्लो साता निकुञ्ज टोलीले पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जैसवालको घरबाट मृत जरायोको सिंहसहितको टाउको र हातहतियारसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
पुस ४ गते राति निकुञ्जको नियमित गस्ती गर्नेक्रममा सांसद जैसवालको नाममा रहेको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेर गाडी चोरीतस्करीमा प्रयोग भएको पाइएको थियो ।

सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तु चोरी सिकार

निकुञ्ज अन्तर्गतको चौरभेया रेन्जपोस्ट र नेपाली आर्मीको संयुक्त गस्ती टोलीले कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गोली चलेको आवाज सुनेको थियो । त्यसपछि गस्ती टोली गोली चलेको तर्फ हिँडेरै गयो । त्यहीक्रममा कुदिरहेको बोलेरो गाडीबाट गस्ती टोलीमाथि गोली प्रहार भएको पर्सा निकुञ्जका वार्डेन अशोक रामले बताए । उनका अनुसार सेनाको टोलीले जवाफी फायर गर्दा उक्त गाडीको टायरमा गोली लागेको थियो ।

गाडीलाई पिछा गर्नेक्रममा गस्ती टोलीले उक्त गाडी अकुनिया गाउँमा पङ्चर भएको अवस्थामा मृत जरायोसहित फेला पारेको थियो । गस्तीका क्रममा तस्करहरु निकुञ्जको आडैमा रहेको प्रदेश सांसद जैसवालको घरबाट पक्राउ परेको संरक्षण अधिकृत रामले जानकारी दिए ।

‘एउटा घरलाई सेल्टर बनाएर संगठित रुपमा चोरीशिकारी गर्ने किसिमले बन्दोबस्तीका सामान र हतियारसहित बसेको पाइयो,’ रामले कान्तिपुरसित भने, ‘उक्त घरबाट जरायोको सिंहसहितको टाउको र हातहतियार फेला पार्‍यौं ।’

निकुञ्जको सुरक्षा टोलीले सुखवा पुर्सौनी गाउँपालिका–१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा–६का ५० वर्षीय दामोदार अधिकारी, धादिङ गंगाजमुना गाउपालिकाका २ का करिब ५२ वर्षीय म्लाङ डोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

निकुञ्जका अवनुसार पक्राउ परेका लक्षमण सहनी भन्ने विशाल सहनी यअसघि गाँजा तस्करमा कारबाही भोगेको व्यक्ति हुन् भने अधिकारी नेपाली सेनाका पूर्व सिपाही/हवल्दार हुन् ।

तस्करीमा प्रयोग भएका गाडीहरु ।

उक्त घटनामा संलग्न उपेन्द्र यादव, कुमार तामाङ र विकास सहनी फरार रहेको निकुञ्जले जनाएको छ । यादव वन्यजन्तु चोरी तस्करीको कारोबारी रहेको र विकास सहनी सार्प सुटर रहेको रामले जानकारी दिए । उक्त घटनामा दिपक बस्नेत भन्ने व्यक्ति पनि फरार रहेको निकुञ्जका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

निकुञ्जको टोलीले काठमाडौं–१७ घर भएका सञ्जिव शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्ड क्रुजर गाडी एक थान, दुईवटा जरायो, १२ बोर नाल १ वटा, नाइट भिजन राइफल स्कोप, ९ थान गोली, टर्च लाइट, बन्दुक राख्ने २ वटा झेला, २ थान आईफोन, मोबाइल फोनलगायतका सामग्रीहरु बरामद गरेको छ । संरक्षण अधिकृत रामले भने, ‘घटनाको प्रकृति हेर्दा, एउटा घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरीशिकारी संगठित रुपमा भइरहेको देखिन्छ । बरामद गरिएका सामग्रीहरु पनि त्यही पुष्टि गर्छन् ।’ सिकारी टोलीले ड्रोनको समेत प्रयोग गर्ने गरेको पाइएको छ । पुस ३ गते पनि जंगलबाट जरायो मारेर सांसद जैसवालको घरमा लगिएको र मासु भागलगाएर तस्करी गर्न गाडीमा पठाइएको स्रोतले जनायो । गस्ती टोलीले त्यही जरायोको टाउको घरमा फेला पारेको थियो ।

सांसद जैसवालको घरबाट सुरक्षाकर्मीको टोलीले बरामद गरेका तस्करीमा प्रयोग भएका बन्दुक, गोलीलगायतका सामानहरू ।

तीन वर्षअघि पनि निकुञ्ज क्षेत्रमा तस्कर र सुरक्षाकर्मीबीच गोलीहानाहान हुँदा एक जना तस्करको मृत्यु भएको थियो यस्तै सेनाका एक जना जमदार घाइते भएका थिए । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.महेश्वर ढकालले यो घटना गम्भीर प्रकृतिको भएकाले संलग्न कसैलाई नछाड्ने बताए । उनले भने, ‘यो गम्भीर किसिमको संगठनिक रुपमा गरिएको अपराध जस्तो देखिन्छ । छानबिन भइरहेको छ, छानबिनबाट जे आउँछ त्यसको आधारमा प्रचलित कानुनको आधारमा हदैसम्मको कारबाही गर्न निकुञ्ज प्रतिबद्ध छ । ’

जंगल नजिकै निर्माण गरिएको सांसद जैसवालको घरको प्रवेशद्वार । स्थानीयका अनुसार कम्पाउन्डलगाइएको यो घरभित्र विगतदेखि नै शंकास्पद गतिविधि हुँदै आएको छ ।

यसैबीच सांसद प्रमोद जैसवालले घटना भएको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताए । उनका अनुसार स्थानीय प्रकास केसीलाई घर हेर्ने जिम्मा दिएको बताए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै अनुसन्धानमा सघाउने प्रतिक्रिया दिएका छन् । उनले बोलेरो गाडी आफन्तलाई बेचेको दाबीसमेत गरे । उनले स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुअघि र निर्वाचित भएपछि आफूमाथि विभिन्न खालका षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गरे । यस्तै, उनले पक्राउ परेका व्यक्ति तथा तस्करीको विषयमा भने अनुसन्धानपछि मात्रै भन्न सकिने उल्लेख गरेका छन् ।

जंगल क्षेत्रमा रहेको सांसद जैसवालको घर । शिकार गर्नका लागि अन्यत्रबाट आउने शिकारीहरु यही घरमा बस्ने र रातको समयमा शिकार गरेर वन्यजन्तु मारेर ल्याउने गरिएको थियो । सांसद जैसवाल यो घरमा नबसेपनि उनी बेला बेला 'रिफ्रेसमेन्ट'का लागि बस्न आउने गरेको स्रोतले बताएको छ ।

निकुञ्जको टोलीले घरबाट जरायोको टाउको र अवैध हातहतियार बरामद गरेपछि सांसद जैसवाल सम्पर्कविहीन भएका थिए । उनले प्रयोग गर्दै आएको मोबाइल समेत नलाग्ने बनाएका थिए । कान्तिपुरले सांसद जैसवाललाई घटनासँग सम्बन्धित समाचारको विषयमा कुरा गर्नुपर्ने छ भन्ने म्यासेज पठाएपछि मात्र सम्पर्कमा आएका थिए । निकुञ्ज कार्यालयले बरामद भएको गाडी र घटना घटेको घर सांसद जैसवालको खुलेको पछि उनीसँग बयान लिने तयारी गरेको छ । वार्डेन रामका अनुसार कानुनी प्रक्रिया पूरा गरेर सांसद जैसवाललाई पत्र काट्ने तयारी भइरहेको बताए ।

(तस्बिरहरुः पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय)

प्रकाशित : पुस ८, २०७९ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?