उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेहरूको भीड- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेहरूको भीड

बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ ।

त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् ।

उत्तरगया क्षेत्रमा टाढा–टाढादेखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको भीड लागेको छ । स्वर्गीय बाबु–आमा तथा आफन्तको नाममा भक्तजनहरूले नदी किनारमा श्राद्ध गरिरहेका छन् । पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन् । यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु–आमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।

पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । यस क्षेत्र आएर श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने विश्वास रहेको छ ।

सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइँकुण्ड गएको धार्मिक किंवदन्ती रहेको छ ।

तस्बिरहरू : गणेश श्रेष्ठ

यहाँ भारतका विभिन्न प्रान्तदेखि, काठमाडौं, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत विभिन्न जिल्लाबाट बर्सेनि हजारौं भक्तजनहरू श्राद्ध गर्न यहाँ आउने गरेका छन् ।

प्रकाशित : पुस ८, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशसभा रसुवा (२) मा गाेतामे निर्वाचित

बलराम घिमिरे

रसुवा — रसुवा जिल्ला प्रदेशसभा सदस्य क्षेत्र नम्बर १(२) मा नेकपा माओवादी केन्द्रका इन्द्र गाेतामे निर्वाचित भएका छन् ।

गाेतामे ८ हजार ५ सय ३३ मत सहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तेम्ब्रेल तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । गाेतामे २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित : मंसिर ६, २०७९ २३:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×