प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : पुस ७, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

शपथअघि सांसदको भावभंगी

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा २६ जनाले भने मातृभाषा रोजेका छन् । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दिउँसो १ बजे संसद् भवनमा उनीहरुलाई शपथ खुवाउने छन् ।

शपथअघि बानेश्वरस्थित संसद् भवनमा सबै सांसदहरू विभिन्न भेषभुषामा आएका छन् । केही सांसदहरूले मौलिक पोसाक रोजेका छन् भने केहीले मिश्रित । यसपटक संसद्‍मा नयाँ दल मात्र होइन, पहिलो पटक नै सांसद बन्नेको बाहुल्यता पनि देखिन्छ । संसद्‍मा यस पटक नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दलका रूपमा प्रवेश गरेका छन् । संसद्‍मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी कैलालीकी सांसद रञ्जिता श्रेष्ठ चौधरी थारु पोसाकमा आएकी छिन् । त्यस्तै सांसदहरू तामाङ, गुरुङ, मगरलगायत विभिन्न संस्कृति झल्कने पोसाकमा समेत संसद्‍मा आएका छन् ।


प्रकाशित : पुस ७, २०७९ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×