स्ववियु निर्वाचन फागुन २८ मा गर्न प्रस्ताव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचन फागुन २८ मा गर्न प्रस्ताव

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आगामी फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बुधबार बसेको बैठकले विद्यार्थी संगठनसँगको परामर्शपछि निर्वाचन मितिबारे अन्तिम टुंगोमा पुग्ने निर्णय गरेको हो । 

त्रिविका ९ वटै संस्थान र संकायका डिनसँग चुनावी तयारीका विषयमा परिषद्ले छलफल गरेको थियो । विद्यार्थी भर्ना, पठनपाठन र परीक्षाको अवस्थाबारे जानकारी लिएको भुसालले जनाए । चुनावको मिति घोषणा भएपछि नयाँ विद्यार्थी भर्ना लिन नपाइने व्यवस्था छ । ‘फागुन २८ मा निर्वाचन गर्ने मोटामोटी सल्लाह भएको छ, निर्णय गरिसकेका छैनौं, विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुग्छौं ।’

विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको मिति तय गर्ने त्रिवि संगठन तथा शैक्षिक प्रशासन नियममा उल्लेख छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थीसँग परामर्श गरेपछि पुनः बैठक बसेर निर्वाचन मिति सिफारिस गरिने शिक्षाध्यक्ष भुसालले जनाए । निर्देशनालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी अघि बढाएको जनाएको छ ।

१४ वर्षपछि स्ववियु चुनाव हुँदै

त्रिवि शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।

त्रिविका पदाधिकारीले विद्यार्थी संगठन, राजनीतिक दल र सरकारको सहयोग रहे निर्वाचन सम्पन्न गर्न सकिने तर्क गर्दै आएका छन् । विद्यार्थी संगठनले भने त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखको इच्छाशक्तिमा चुनाव हुने वा नहुने निर्भर रहने बताएका छन् ।

२०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगित हुन पुगेको थियो । त्यतिबेला राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको विश्वविद्यालय पदाधिकारीको आरोप छ । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयले नचाहेको बताउँदै आएका छन् ।

०७३ मा निर्वाचित स्ववियुको थपिएको म्याद पनि सकिइसकेको छ । स्ववियुको म्याद ६/६ महिना गरी दुई पटक थप गर्न सकिने नियममा उल्लेख छ । निर्वाचन हुन नसकेका क्याम्पसमा ०७४ मा निर्वाचन गर्ने त्रिविको प्रयास सफल हुन सकेन । कार्यकारी परिषद्ले पुनः ०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गरेको थियो । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन् ।

२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ । यस प्रणालीमा मनोनयन गर्ने अन्तिम दिनसम्म २८ वर्ष पूरा नभएका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिवलगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा विद्यार्थीले आफ्नो संगठित वा स्वतन्त्र/व्यक्तिगत रूपमा पनि उम्मेदवारी दिन सक्नेछन् । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ । स्ववियुको संरक्षक क्याम्पस प्रमुख रहनेछन् ।

विद्यार्थीहरूको हक, हितको संरक्षण, संवर्द्धनका लागि सक्रिय रहने, विद्यार्थीको बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, क्याम्पसभित्रको पठनपाठनका लागि उपयुक्त वातावरण बनाउने, विद्यार्थीमा अनुशासन कायम राख्ने, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउने, क्याम्पसमा शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने स्ववियुका उद्देश्य छन् ।

प्रकाशित : पुस ७, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

१४ वर्षपछि स्ववियु चुनाव हुँदै

६२ आंगिक र १०४० सामुदायिक/निजी क्याम्पस रहेको त्रिविले २०६५ यता देशव्यापी स्ववियु चुनाव गर्न सकेको छैन
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले पटक–पटक स्थगित हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन तयारी थालेको छ । आगामी फागुनमा चुनाव गराउन विद्यार्थी संगठनसँग अनौपचारिक छलफलमा रहेको विश्वविद्यालयले मंगलबार डिनहरूसँग परामर्श गरेको छ । 

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषद्मा ९ वटै संस्थान र संकायका डिन सदस्य रहन्छन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले फागुन १४ गते नै चुनाव गराउने कि अघिपछि भन्नेमा टुंगो लागिनसकेको बताए । ‘बुधबार बैठक बसेर चुनावको निर्णय गर्छौं,’ अधिकारीले मंगलबार कान्तिपुरसँग भने, ‘मिति घोषणापछि विद्यार्थी संगठनबाट अनुमोदन गरेर अघि बढ्छौं ।’

२०६५ मा देशभरका त्रिवि क्याम्पसमा स्ववियु चुनाव भएको थियो । त्यसयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ मा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल म्याद थपपछि पनि सकिइसकेको छ । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक क्याम्पस र १ हजार ४० वटा सामुदायिक र निजी क्याम्पस छन् ।

स्ववियु चुनाव अनियमित हुँदा विश्वविद्यालय सभादेखि क्याम्पसका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । विद्यार्थीमा शैक्षिक अराजकता मौलाएको आरोपसमेत लाग्दै आएको छ । २०७४ र २०७६ मा पनि स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगन गरिएको थियो । राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा स्ववियु चुनाव अनिश्चित बन्दै आएको विश्वविद्यालयका पदाधिकारीहरू बताउँछन् । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयका पदाधिकारी गम्भीर नभएको गुनासो गर्दै आएका छन् ।

हरेक २ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविको कार्यतालिका छ तर २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि बिथोलिँदै आएको छ । यस प्रणालीमा २८ वर्ष पूरा नभएका मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिव, सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

विश्वविद्यालयले आंगिक क्याम्पसमा निर्वाचन गराउने र सामुदायिक/निजी क्याम्पसमा पनि सोही मितिमा गराउन आग्रह गरिने निर्देशनालयले जनाएको छ । निर्वाचन गर्न उपकुलपति धर्मकान्त बाँस्कोटाले कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत छलफल गरिसकेका छन् ।

देउवाले निर्वाचन गराउन निर्देशन दिएको त्रिवि स्रोतले जनाएको छ । उपकुलपति बाँस्कोटाले निर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका नेतासँग पनि छलफल थालेका छन् । राजनीतिक दल र विद्यार्थी संगठनका नेतृत्वबाट सकारात्मक प्रतिक्रिया पाएको त्रिविका पदाधिकारीहरूले बताए । ‘निर्वाचनका लागि तथ्याङ्क संकलनलगायतको काम भइरहेको छ, यसपालि जसरी पनि निर्वाचन गर्ने तयारी छ,’ निर्देशनालय प्रमुख अधिकारीले थपे ।

एमालेनिकट अनेरास्ववियुले स्ववियु निर्वाचन गराउन उपकुलपति बाँस्कोटालाई अघिल्लो साता ज्ञापनपत्र बुझाएको थियो । अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जुन कुनै हालतमा यही वर्ष निर्वाचन गरिनुपर्ने बताए । ‘स्ववियु निर्वाचन गराउनु विश्वविद्यालयको दायित्व हो, विगतमा विश्वविद्यालयका पदाधिकारीको लाचारीपनले चुनाव हुन सकेन,’ उनले भने, ‘यसपालि कुनै पनि बहानामा निर्वाचन टार्नु हुँदैन ।’

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन गराउन आफ्नो संगठन तयार रहेको बताए । ‘विश्वविद्यालयलाई निर्वाचनको तयारी अघि बढाउन आग्रह गरेका छौं,’ उनले भने, ‘नेविसंघ निर्वाचनको पक्षमा छ ।’ अब गठन हुने सरकार, राजनीतिक दल र विद्यार्थी संगठनले सहयोग गरे यो वर्षभित्रै निर्वाचन गर्न सकिने त्रिवि पदाधिकारीहरूको भनाइ छ । स्थानीय तह, प्रदेश र संघको पनि निर्वाचन सकिएकाले अब विद्यार्थी युनियनको चुनाव गर्न उपर्युक्त हुने उनीहरूको धारणा छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले विश्वविद्यालयसँग स्ववियु निर्वाचनको माग गर्दै आए पनि हुन नसकेको बताइन् । ‘चुनाव नहुँदा विद्यार्थी आन्दोलनको नेतृत्व उत्पादन गर्ने नर्सरी नै बन्द भएको छ,’ उनले भनिन् । क्रान्तिकारीले निर्वाचनको माग गर्दै आन्तरिक रूपमा तयारीसमेत थालेको उनको भनाइ छ ।

प्रकाशित : पुस ६, २०७९ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×