२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ट्युनिसियाली अभियन्ताको शान्ति सूत्र

नोबेल शान्ति पुरस्कार विजेता बाउचोमाई भन्छिन्, ‘नागरिक आपसमा संवाद गर्न सक्छन् भन्ने सरल मन्त्र विश्व शान्तिको आधार’
घनश्याम खड्का

काठमाडौँ — के अलग विचारले जीवनलाई जुनसुकै उमेरमा अलग दुनियाँमा पुर्‍याउँछ ? ‘एकदमै पुर्‍याउँछ,’ विडेड बाउचोमाईको मुस्कानपूर्ण उत्तर हुन्छ, ‘जीवनको बाटो हाम्रा धारणाहरूले नै तय गर्ने रहेछ, हामी जे सोच्छौं त्यस्तै हुँदारहेछौं ।’

ट्युनिसियाली अभियन्ताको शान्ति सूत्र

जीवनका ५५ वर्ष अरब संसारमा एक उद्योगपतिका रूपमा चिनिएकी उनको जीवनले सन् २०१५ पछि अचानक १८० डिग्रीको फन्को मार्‍यो जब आफ्नो देश ट्युनिसियामा निर्वाह गरेको भूमिकाका लागि नोबेल शान्ति पुरस्कार मिल्यो । ‘त्यो (नोबेल पुरस्कार) मेरो जीवनका लागि एक निर्णायक घटना भइदियो,’ आइतबार काठमाडौं उत्रिएकी उनले सोमबार ‘नेपाल संवाद सम्मेलन’ लाई सम्बोधन गरेपछि कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘किनभने, मैले पारिवारिक विरासतमा पाएको उद्योग व्यापारको काम सम्हालेर बस्ने फुर्सद पाइनँ, जीवनले सुम्पेको नयाँ जिम्मेवारी लिएर संसारका कुनाकाप्चा पुग्दैमा समय पुगेन ।’ तानाशाहीविरुद्ध सन् २०११ मा भएको जनआन्दोलनपछि अस्तव्यस्त बन्न पुगेको देशमा शान्ति, संविधान र लोकतन्त्रको स्थापनामा लागिपरेकी बाउचोमाई नोबेल पुरस्कार पाएपछि कति देश पुगिन् र क–कसलाई भेटिन् भन्ने हिसाबै देखाउन सक्दिनन् । ‘नोबेल लाउरेट’ भएदेखि उनी ट्युनिसियामा फेलै पर्न मुस्किल हुने गरी संसारभर शान्ति स्थापनाका उपायहरूका बारेमा बोल्दैमा व्यस्त छिन् । नेपालमा आउनुअघि उनी दक्षिण कोरिया थिइन्, इटलीको शान्ति सम्मेलन टुंग्याएर मोरक्को पुगेकी थिइन् । पहिलो पटक नेपाल आइपुगेकी उनी केही दिनको सम्मेलन र घुमघामपछि युरोप फर्कनेछिन्, त्यहाँ शान्ति स्थापनाका आफ्ना अनुभव सुनाएपछि लेबनान गएर द्वन्द्व समाधानका उपायहरूबारे कुरा गर्नेछिन् । ‘मेरा लागि घर एउटा बिसौनीजस्तो भएको छ,’ उनी भन्छिन्, ‘जहाँ जाँदा पनि मानिसहरू प्रेमले स्वागत गर्छन्, नेपालमा पनि ज्यादै माया पाएँ ।’ दिनरात व्यापार व्यवसायको जीवनबाट अचानक शान्तिको वाहक भएर निस्कनुमा उनलाई आफ्नो व्यापारी हजुरबा अहमेदको भविष्यवाणीले काम गरेजस्तो लाग्दो रहेछ । ‘तिमीमा एक खास गुण छ जसका कारण एक दिन संसारले नै तिमीलाई चिन्नेछ,’ उनी सानी छँदा अहमेदले भनेका रहेछन्, ‘यो कुरा कहिल्यै नबिर्सनू ।’

हजुरबाले भनेको उनले बिर्सन त बिर्सिनन् । तर, दशकौं बित्दा पनि त्यस्तो खासै चमत्कार भने कहिल्यै भएन । पारिवारिक उद्यम सम्हाल्दै र दुई छोरा हुर्काउँदैमा उनका वर्षहरू बिते । व्यापारबाट मनग्य पैसा कमाए पनि नागरिक स्वतन्त्रता नभएकाले ट्युनिसियाको अवस्थासँग उनी सन्तुष्ट हुन सकिरहेकी थिइनन् । फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भएको ५ वर्षपछि सन् १९६१ मा उनी ट्युनिसियामा जन्मेकी हुन् । त्यहाँ ३१ वर्षसम्म हबिब बर्गग्विवाले शासन गरे । सुरुमा प्रधानमन्त्री र पछि राष्ट्रपति भई सर्वसत्तावादी भएका हबिबको तानाशाहीबाट ट्युनिसियालीहरू वाक्कदिक्क थिए । डाक्टरहरूले हबिबविरुद्ध आन्दोलन सुरु गरेपछि उनका प्रधानमन्त्री बेन अलीले सत्ता हत्याए र आफैं राष्ट्रपति भए । अलीले तानाशाही खत्तम गर्नु त कता हो कता, आफूलाई हबिबभन्दा पनि कठोर बनाएर ट्युनिसियालीलाई दबाए । हरेक पाँच वर्षमा नाम मात्रको चुनाव गराएर भारी बहुमतका साथ उनी राष्ट्रपति भई नै रहे । संसारको सबभन्दा आधुनिकमध्ये एक भइकन पनि सबभन्दा दबाइएको देश भनेर बेलायती पत्रिका गार्जियनले सन् २०१० मा लेखेको थियो ट्युनिसियाबारे ।

सन् २०११ मा उनी ट्युनिसियाको उद्योग तथा हस्तकला महासंघको अध्यक्ष चुनिइन् । अरब देशमा उद्योग महासंघको महिला अध्यक्ष यसअघि कोही भएको थिएन । महासंघको अध्यक्ष हुनु नै उनको जीवनको नयाँ यात्राको सुरुवात थियो । फ्रान्सेली पत्रिका ज्युन अफरिफका अनुसार अफ्रिकाका अग्रणी २५ उद्योगी महिलामध्ये एक उनले आँखै अगाडि वेन अलीको तानाशाही पतन भएको देखिन् ।

दमनको पराकाष्ठा मानिने बेन अलीको राज्यमा सडकमा हिँडिरहेकाहरूलाई प्रहरीले पक्राउ गर्ने पूर्ण अधिकार राख्थ्यो । एक २६ वर्षीय ठेला व्यापारी मोहम्मद बौवाजीजीलाई महानगरका प्रहरीले पक्रेर उसका सबै सरसामान खोसिदिएपछि र अपमानपूर्वक व्यवहार गरेपछि त्यसको विरोधमा उनले १७ डिसेम्बर २०१० मा आफैंलाई आगो लगाएर आत्महत्या गरे । त्यस घटनाले ट्युनिसियाली जनताको दीर्घ असन्तुष्टिलाई आक्रोशमा बदलिदियो । घटनाको विरोध गर्नेहरूलाई बेन अलीले दबाउन खोजेपछि ४ जनवरी २०११ मा देशव्यापी प्रदर्शन सुरु भयो र त्यसले तुरुन्त विद्रोहको रूप लियो । सरकारबाट आजित भइसकेका जनता सडकमा उत्रिए । आन्दोलन सुरु भएको दसौं दिनमा अली ज्यान जोगाउन भागेर अरब पुगे, जहाँ गएको वर्ष उनको निधन भएको थियो ।

महँगी, भ्रष्टाचार, बेरोजगारी र दमनका विरुद्ध मूलतः श्रमिकहरूले सुरु गरेको ट्युनिसियाली आन्दोलनले उस्तै अवस्थाका पूरै अरबी देशहरूमा विरोधको राँको सल्काउने काम गरे पनि आन्दोलनको उद्गमस्थल स्वयं ट्युनिसिया भने गम्भीर द्वन्द्वमा फस्ने जोखिममा थियो । सन् २०१३ मा दुई राजनीतिज्ञको हत्या भएपछि त्यहाँका श्रमिक, मानवअधिकारवादी, कानुनविद् र उद्योगपतिहरूको संगठन मिलेर ‘राष्ट्रिय संवाद चौतरी’ गठन गरे, जसमा उद्योग क्षेत्रलाई महासंघको अध्यक्षका हैसियतले बाउचोमाईले नेतृत्व गरिन् । व्यापारीहरूले बेन अलीको तानाशाहीमा धेरै कमाएको र आफ्नो जीवन भने कष्टकरको कष्टकरै रहेको श्रमिकहरूको आक्रोश थियो । ‘राष्ट्रिय संवाद चौतारी’ ले उद्योगी र श्रमिक संगठनका प्रतिनिधिहरूबीच संवादको थालनी गर्‍यो । ‘म आफैं क्रुद्ध श्रमिकहरूसँग कुरा गर्न अघि सरें,’ बाउचोमाई भन्छिन्, ‘सँगै बसेर छलफल गर्दै जाँदा हमीले एक अर्कालाई बुझ्यौं, असमानताहरू हट्दै गए ।’ अन्तमा, देशमा शान्तिपूर्ण परिवर्तन गर्ने पक्षमा सबै सहमत भए । अर्को वर्ष शक्ति पृथकीकरणको सिद्धान्तको पालना गर्ने प्रतिबद्धताका साथ मानवअधिकारको रक्षा गर्ने र देश धर्मनिरपेक्ष हुने गरी संविधान निर्माण भयो ।

ज्यादै जटिल मानिएको ट्युनिसियाको राजनीतिक संकट अन्तर्राष्ट्रिय मध्यस्थताबिनै नागरिकको अगुवाइमा समाधान भयो । यस्तो गर्न सकेकामा संवाद चौतारीका चारै सदस्यलाई सन् २०१५ मा विश्व शान्ति पुरस्कार मिल्यो । हाल पूर्ण प्रजातान्त्रिक मुलुकका रूपमा चिनिएको ट्युनिसियामा ९८ प्रतिशत जनसंख्या मुस्लिम बहुल भए पनि महिलाहरूले हिजाब लगाउनैपर्ने बाध्यकारी कानुन नभएको मात्रै होइन, युरोपेली मुलुकमा झैं लैंगिक समानता कायम छ भन्न पाउँदा आफूलाई ज्यादै खुसी लाग्ने बाउचोमाईले बताइन् ।

समाजमा द्वन्द्वका विविध कारण हुन्छन्, त्यसलाई शान्तिपूर्ण सुल्झाउन नागरिकहरू एकापसमा संवाद गर्न सक्छन् भन्ने सरल मन्त्र नै विश्व शान्तिको आधार मान्ने उनी संसारलाई युद्धबाट जोगाउने एउटै उपाय शान्ति नै हो भन्छिन् । यही सिद्धान्तको व्याख्या गर्न उनलाई संसारभरबाट निम्तो आउँछ जहाँ बाउचोमाई भ्याएसम्म पुग्छिन् ।

प्रकाशित : पुस ६, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?