गठबन्धनका नेताहरूले अहंकार देखाए सामना गर्न तयार छौँ : अध्यक्ष नेपाल

'कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ ।'

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताएका छन् ।

गठबन्धनका नेताहरूले अहंकार देखाए सामना गर्न तयार छौँ : अध्यक्ष नेपाल

सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए ।

नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए । आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि उनको भनाइ छ । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पारे ।

‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्नेकुरा चासोको विषय छ । कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलाउमात्रै हो । कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, अल्मल्याउने कुरा मात्रै हो । यस्ता कुरालाई हामी सहजै पत्याउन सक्दैनौँ । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ । गठबन्धनका पार्टी र अरु नेताहरूमा अहंकार छ भने उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न पनि हामी तयार छौँ,’ नेपालले भने ।

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतीको विषय भएको बताए । गणतन्त्रका विरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न उनले चेतावनी दिए ।

अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भए पनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताए । गठबन्धनमा अरु सबै पार्टीले क्षति व्यहोरे पनि कांग्रेसले फाइदा लिएको उनको भनाइ छ ।

प्रकाशित : पुस ४, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?