कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

देउवा र दाहाल दुवैको दाबीले सत्ता गठबन्धनबाट सरकार निर्माण पेचिलो

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि सात दिनको समयसीमा राखेर राजनीतिक दलहरूलाई दाबी पेस गर्न आइतबार आह्वान गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकसी सुरु भएको छ । दुवै नेताले पहिले आफैं प्रधानमन्त्री हुन दाबी गरेपछि सहमति जुटाउन गठबन्धनमै सकस उत्पन्न भएको छ ।

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आइतबार आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने संस्थागत निर्णय लिएको छ । संसद्को ठूलो दलको हैसियतले आफैंले नेतृत्व लिँदा ‘प्राकृतिक हुने’ कांग्रेसको तर्क छ । कांग्रेसलाई सरकार निर्माणका लागि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीको ४ र राष्ट्रिय जोमोर्चाको १ सिटले पुग्दैन । कांग्रेसको ८९ सहित सत्ता गठबन्धनमा १ सय ३६ सिट छ । सत्ता गठबन्धनलाई बहुमतका लागि थप २ सिट अपुग छ । त्यसका लागि देउवाले ६ सिट रहेको जनमत पार्टी र ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन फकाइरहेका छन् ।

देउवाले अन्तर्राष्ट्रिय शक्तिको विश्वास आर्जन गर्ने, पार्टीभित्र संसदीय दलको नेता बन्ने र सरकार गठनका लागि बहुमत जुटाउने गृहकार्य एकसाथ अघि बढाइरहेकै बेला माओवादी अध्यक्ष दाहालले शनिबार बालुवाटार पुगेरै यस पटक सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यसबाट झस्केका देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाटै कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गराएका हुन् । ‘प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलको हैसियतले कांग्रेसले संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हुन्छ,’ केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ, ‘यसर्थ, कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरू लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्न यो बैठक निर्णय गर्छ ।’

अर्कातिर माओवादीले पनि संसदीय दलको नेता चयन गरेपछि राज्यशक्तिको पद बाँडफाँटका विषयमा संस्थागत धारणा राख्ने जनाएको छ । पार्टी नेता हरिबोल गजुरेलका अनुसार शनिबार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत पदहरूको बाँडफाँट प्याकेजमै हुनुपर्ने प्रस्ताव गरेका थिए । माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक नदिँदा गठबन्धनमा रहिरहन समस्या हुने माओवादी नेताहरू बताउँछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले माओवादीलाई राष्ट्रपति दिन नचाहेरै स्वतन्त्र व्यक्तिको नाम अघि सारिरहेको बुझाइ माओवादीमा छ । देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि शक्तिकेन्द्रको प्रभावमा परेर कार्यपालिका र न्यायपालिकाका पूर्वप्रमुख खिलराज रेग्मीलगायतका नाम राष्ट्रपतिका लागि अघि सारिरहेको माओवादीका एक नेताले बताए ।

देउवा र दाहाल दुवैले प्रधानमन्त्रीलाई ‘बटमलाइन’ बनाएर अघि बढे सत्ता गठबन्धन भत्कन सक्ने आशंका दुवै दलका नेताहरूमा छ । कांग्रेस प्रवक्ता प्रकाशरण महत भने माओवादीले सरकारको नेतृत्वमा दाबी गर्दैमा सत्ता गठबन्धन भत्किने आशंका गर्न नहुने बताउँछन् । ‘स्थानीय तह र प्रतिनिधिसभामा ठूलो दल भएकाले स्वाभाविक रूपमा कांग्रेसले नेतृत्व पाउनुपर्छ, प्रचण्डले आफू हुन खोज्नु अस्वाभाविक होइन । यसैलाई उहाँले बटमलाइन बनाउनुभएको हो भन्ने लाग्दैन,’ उनले भने, ‘संसदीय दलको नेता चयनको प्रक्रियासँगै यस विषयमा नेताहरूबीच अनौपचारिक संवाद हुन्छ ।’

माओवादीका एक नेताले यस पटक माओवादीको नेतृत्व देउवाले स्वीकार नगरे गठबन्धन भत्किन सक्ने चेतावनी दिए । उनको बुझाइमा दाहालको प्रस्ताव राष्ट्रपतितिर छैन । राष्ट्रपतिको निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको निर्वाचन मण्डलबाट हुने भएकाले कांग्रेस राष्ट्रपति दिन तयार भए पनि विदेशी शक्तिको चलखेलले हराइदिन सक्ने चिन्ता दाहालमा छ । त्यसैले प्रधानमन्त्री पदलाई उनले बटमलाइन बनाउन खोजेका हुन् ।

देउवासँग असन्तुष्ट कांग्रेसका कतिपय नेताले दाहालको अग्रसरतालाई बल पुर्‍याउने काम गरिरहेका छन् । देउवाको शासकीय कार्यशैलीप्रति असन्तुष्ट उनीहरूले कांग्रेसले राष्ट्रपति लिएर माओवादीलाई सरकारको नेतृत्व दिनुपर्ने मत भित्रभित्रै अघि सारिरहेका छन् । ‘देउवाको नेतृत्वमा सरकार गठन हुँदा आमजनतामा परिवर्तनप्रतिको कुनै आशा हुँदैन । यसले कांग्रेसलाई थप क्षति पुर्‍याउँछ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘यस पटक नयाँ शक्तिलाई समेत सरकारमा सामेल गराएर माओवादीका अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन गर्ने र कांग्रेसले राष्ट्रपति लिने बाटो नै उत्तम हुन्छ ।’ प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् । प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने म्याद पुस १० गते साँझ ५ बजेसम्म छ ।

दलमा देउवाको प्रतिस्पर्धी शेखर कि गगन ?

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल तथा प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । दलको नेताको चुनाव मंगलबार गर्ने कि बुधबार भन्नेमा सोमबार बिहान तय हुने समितिले जनाएको छ ।

संसदीय दल नेताका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा एक्ला उम्मेदवार छन् । उनलाई चुनौती दिने घोषणा धेरै समयअघि नै महामन्त्री गगन थापाले गरिसकेका छन् । थापालाई संसदीय दल नेतामा अघि सार्दा शक्ति विकेन्द्रित हुने ठानेर नेता शेखर कोइरालाले पनि उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी रहेका कोइरालाको प्यानलबाटै थापाले लोकप्रिय मतका साथ महामन्त्री जितेका थिए । ‘एकै पटक, यसै पटक’ भन्ने नारा दिएर गत वर्ष महाधिवेशनमा सभापति उठेका कोइरालाले त्यसपछि नेतृत्वमा युवालाई साथ दिने बताएका थिए । थापाको तयारी अघि बढिराख्दा मौन रहेका कोइरालाले पछिल्लो पटक एकाएक उम्मेदवार दिने मनस्थिति बनाएका हुन् । ‘कोइरालालाई उम्मेदवार नबनाउँदा आफ्नो प्रभाव घट्ने र गगनलाई नेता मान्नुपर्ने भन्दै संस्थापन इतरपक्षकै केही नेताको दबाबमा कोइराला उम्मेदवार बन्न खोजेका हुन्,’ संस्थापन इतरपक्षीय एक नेताले भने, ‘जतिसुकै नेतृत्व बदल्ने नारा दिए पनि सत्तास्वार्थका लागि देउवालाई सहयोग पुर्‍याउन खोजिएको छ ।’

केन्द्रीय सदस्य सञ्जय गौतमले संस्थापनइतर पक्षबाट एउटै उम्मेदवार बनाउने प्रयत्न जारी रहेको बताए । ‘दुइटा उम्मेदवार बन्दा पार्टीभित्र हाम्रो पोजिसन अझै कमजोर हुन्छ । यसलाई बुझेरै दुवै नेता एकठाउँमा आउनुहुन्छ भन्ने विश्वास अझै छ । प्रयत्न गरिरहेका छौं,’ उनले भने ।

१४ औं महाधिवेशनमा तटस्थ रहेका नेता रामचन्द्र पौडेलको सहयोग संसदीय दलमा कसलाई हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा रहेका एक मात्रै सांसद प्रदीप पौडेल देउवालाई साथ दिने मनस्थितिमा छन् । महाधिवेशनमा आफ्नै दाजु शेखरको विपक्षमा उभिएका पूर्वमहामन्त्री शंशाक कोइरालाले शेखर संसदीय दलको नेता उठे साथ दिने संकेत गरेका छन् । ‘दाजु (शेखर) उम्मेदवार नभए मेरो समर्थन शेरबहादुरजीलाई हुन्छ । दाजु हुनुभयो भने असहज हुन्छ,’ उनले भनेका छन् ।

८९ सांसद रहेको कांग्रेसमा शेखर र गगन पक्षमा ३२ सांसद मात्रै छन् । प्रकाशमान सिंह, सिटौला, शशांक र रामचन्द्र पौडेलको पक्षमा केही सांसद भए पनि बहुमत देउवाको पक्षमा छ । देउवा सहजै संसदीय दलको नेता चुनिने सम्भावना छ । संसदीय दलको नेतामा हार्ने निश्चित हुँदा पनि आफूलाई शेखरबाट सहयोग नभएको दुखेसो महामन्त्री थापाले पोख्दै आएका छन् । ‘जित्ने ठाउँमा तपाईंलाई अघि बढाउँछु, मैले निर्वाचनका बेला मुद्दा नै बनाएकाले हार्ने चुनाव मलाई लड्न दिनुहोस् भन्ने गगनजीको कुरा छ,’ एक केन्द्रीय सदस्यले भने, ‘तर, शेखर दाइले पनि प्रतिस्पर्धाको मनस्थिति बनाइसक्नुभएको छ ।’

प्रकाशित : पुस ४, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?