गाउँमा काम छैन, भोको पेटले मान्दैन

‘सरकारले सञ्चालन गर्ने विकासे योजनाहरुमा रोजगारी दिने विकास चाहिएको छ, रोजगारी दिने विकास भए कसैले गाउँ छोड्नु पर्दैन’
विद्या राई

मुगु — हुम्ला जोड्ने सडकमा काम पाएपछि छायानाथ रारा नगरपालिका लुमकी रामसरा कामीका दैनिकी फेरिए । उनका श्रीमान्ले मजदुरी गर्न भारत जानुपरेन । सडक निर्माणमा मजदुरी गरेर उनले पनि श्रीमान्‌कै सरह ज्याला पाइन् । मनग्य कमाइ हुन्थ्यो । छोराछोरीले नियमित विद्यालय जान पाए । नुन, तेल, चामल र लुगाफाटो किन्न ऋणपान गर्नुपरेन ।



सपरिवार सँगै बस्न पाउँदा खुसियाली थियो । उनलाई लाग्थ्यो, ‘श्रीमान्ले कमाइ गर्न इन्डिया जानुपर्ने दुःख काटिए ।’ ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण र्‍याप) अन्तर्गत २०७५ मंसिरदेखि ०७९ जेठसम्म मुगु–हुम्ला लिंकरोड निर्माणका क्रममा आसपास गाउँका बासिन्दा रामसराजस्तै पुकलित थिए ।

सडक निर्माणमा ४ हजार ४ सयभन्दा बढी स्थानीयवासीले काम पाएपछि मुगुको छायानाथ रारा नगर र हुम्लाको चंखेली गाउँपालिकाका बासिन्दाले मौसमी कामका लागि भारत जानुपरेन । ६७ किलोमिटर सडकको निर्माण कार्य जब सम्पन्न भयो, खानकै जोहो गर्न भारत जानुपर्ने नियति फेरि दोहोरियो । गत असोजमा आएको बाढीपहिरोले घर बगेपछि १३ परिवार बिचल्लीमा परेका छन् । उनीहरू छिमेकीको गोठ, पालमा ओत लागेका छन् । रामसराका श्रीमान् कमाउनलाई फेरि केही महिनाअघि भारत गएका छन् । ‘बस्ने बास छैन, खाने गाँस छैन, गाउँमा काम छैन, बड्डा (श्रीमान्) इन्डिया गइगए । नगएर के गर्नु, भोको पेटले मान्दैन,’ उनले भनिन् ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको २०१९ को ‘नेपालको आप्रवासन प्रोफाइल’ मा जनगणना–२०६८ मा अनुपस्थित ३७.२ प्रतिशत नेपाली भारतमा छन् ।

कर्णाली प्रदेशका बासिन्दाहरूका लागि भारत रोजगारीको मुख्य गन्तव्य रहँदै आएको छ । उनीहरू खेतीको सिजनमा गाउँ फर्कन्छन् । खेती भित्र्याएपछि भारत जान्छन् । जलवायु परिवर्तन, वातावरणीय ह्रास, प्राकृतिक र मानव निर्मित प्रकोपहरूले खेतीयोग्य जमिन र उत्पादनमा क्षति पुर्‍याएपछि जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा निर्भर हुनुपरेको छ ।

सडक निर्माणले गर्दा लुमकै अर्का स्थानीय ७० वर्षीय धनपति खड्कालाई पनि बुढेसकालमा छोराबुहारीको सहारा मिलेको थियो । हिउँदमा सधैं भारत जाने छोराबुहारीले सडक निर्माणमा काम पाएका थिए । केही समय गर्जो टार्न भारत जानुपरेन । सडक बनिसकेपछि रोजगारी पनि सकियो । दसैं/तिहार मनाएर तीन वर्षअघिझैं कमाउन भारत गए । ‘रोडले गर्दा सुबिस्ता आएको थियो, छोराबुहारी साथै रहने भए भन्ने लागेको थियो । रोडको रोजगारी सकिएपछि इन्डिया गइगए,’ खड्काले भने । मुगु सदरमुकाम गमगढीदेखि तीन घण्टा पैदल दूरीमा पुगिने लुम गाउँमा डेढ सय परिवार छन् । रामसरा र धनपतिको परिवारमा जस्तै कमाउन भारत नगएका कुनै घर छैनन् ।

भौगोलिक विकटता भएको यो ठाउँ राज्यको नजरमा समेत विकासमा पछाडि परेको छ । खेतीपातीबाट उब्जनी पर्याप्त नहुँदा बाल्यकालबाटै ६ महिना परदेसिनुपर्ने जानेका उनीहरूले सडक निर्माण परियोजनाबाट विकास निर्माण भए गाउँमै रोजगारी पाइने थाहा पाए । सडक परियोजनामा स्टोर किपरको काम गरेका रुगा गाउँका २६ वर्षीय रूपकर्ण थापाले भने, ‘रोडमा काम पाउन्जेल गाउँमै बसेकाहरू भटाभट इन्डिया गइसके ।’ १ सय ५६ परिवार बसोबास गर्ने रुगा गाउँका सबैजसो भारत गइसकेका छन् । ‘सरकारले सञ्चालन गर्ने विकासे योजनाहरूमा रोजगारी दिने विकास चाहिएको छ, रोजगारी दिने विकास भए कसैले गाउँ छोड्नु पर्दैन,’ उनले भने ।

गरिबी, विपन्नताले गर्दा शैक्षिकस्तर उक्सन नसकेको र यसले जनजीवन फेर्न अवरोध भइरहेको स्थानीय प्रकाश माविका शिक्षक रतनबहादुर राउतले बताए । १ देखि १० कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी छन् । तर कक्षा चढ्नेको संख्या सधैं कम हुन्छ । गरिबीकै कारण माथिल्लो कक्षामा विद्यार्थीको संख्या घट्दै जाने गरेको राउत बताउँछन् । ‘विद्यार्थीले न पढाइमा ध्यान दिन पाउँछन्, न उच्च शिक्षा पढ्न । अनि बाबुआमाले झैं ६ महिना खेतीपाती गर्ने ६ महिना भारत जाने, जीविका चलाउन मात्रै हुन्छ । शैक्षिकस्तर नउक्सेपछि विकटता रहिरहने रहेछ,’ उनले भने ।

मुगुका गाउँहरूमा मुस्किलले १० कक्षासम्म पढेका विद्यार्थी पाइन्छन् । यसपछि माथिल्ला तहमा पढ्न सदरमुकाम वा जिल्ला बाहिर जानुपर्छ । अधिकांश परिवारमा सन्तानको उच्च शिक्षाका लागि लगानी गर्ने हैसियत पुग्दैन । बरु उल्टै कमाउन अभिभावकलाई सघाउनुपर्ने हुन्छ । आईएलओ नेपालले गतवर्ष प्रकाशन गरेको ‘नेपालको बालश्रम स्थिति’ ले समेत कर्णाली प्रदेशको सहरी र ग्रामीण दुवै क्षेत्रमा बालश्रम दर उच्च (२४.६ प्रतिशत) रहेको देखाएको छ ।

१४ देखि १७ वर्षका बालबालिकाहरूको अनुभव विश्लेषणले घरायसी कामकाज, भाइबहिनीको हेरचाह तथा आयआर्जनमा अभिभावकहरूलाई सघाउनुपर्ने हुँदा पढ्दापढ्दै विद्यालय छाड्छन् ।

छायानाथ रारा–१३ का वडाध्यक्ष वीरबहादुर खड्काका अनुसार गमगढीदेखि लुम हिँडेर पुग्न तीन घण्टा लाग्छ । विकास योजना पर्याप्त नभएपछि जीवनस्तर उकास्न धौधौ परिरहेको उनले बताए । ‘सदरमुकामको नजिक भएर के गर्ने, नगरको काखैमा छौं, पछाडि छौं । शिक्षा राम्रो छैन, राम्रो शिक्षा पाउन आर्थिक चाहिन्छ, यहाँका मानिससँग आर्थिक छैन,’ उनले भने, ‘यो रोड निर्माण हुन्जेल स्कुल जाने बढेका थिए, विकाससँगै रोजगारी पो चाहिने रहेछ भन्ने त बुझियो ।’ सरकारले वडास्तरमा जनसंख्या र भूगोलका आधारमा बजेट र योजना उपलब्ध गराउनुपर्ने उनले बताए ।

मुगुका चार स्थानीय तहमध्ये छायानाथ रारा एक मात्रै नगरपालिका हो । सदरमुकाम गमगढी यही नगरमा पर्छ । २०६८ सालको जनगणनाअनुसार यस नगरको जनसंख्या २० हजार ७८ छ । नगरपालिकाको ४८ हजार ६९ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४ सय ३ हेक्टरमात्रै खेतीयोग्य जमिन छ । अधिकांश नगरवासीहरू कृषिमा निर्भर भए पनि जमिन भिरालो भएकाले मलिलो माटो बर्सेनि बग्दै जाँदा खेतीपाती पर्याप्त हुँदैन ।

उब्जनीले मुस्किलले बढीमा ६ महिनामात्रै खान पुग्छ । जसले गर्दा स्थानीयले जीविकोपार्जनमा कठिनाइ खेप्दै आएका छन् । बढ्दो जनसंख्यालाई खाद्य असुरक्षा हुँदा बालबालिका तथा महिलामा कुपोषण हट्न नसकेको छायानाथ रारा नगरपालिका मुगुको बहुक्षेत्रीय पोषण पार्श्वचित्रमा उल्लेख छ ।

प्रकाशित : पुस ३, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

अटोमा दैनिकी चलाएका महिला

सम्झना रसाइली

तनहुँ — ब्यास नगरपालिका–२ की ४५ वर्षीया रामकुमारी मजकोटी बिहान ६ बजेभित्रै उठ्छिन । घरकोठा सफा गर्छिन्, खाना पकाउँछिन् । अनि अटो रिक्सा लिएर बजार निस्किन्छिन् । विद्यालय समयमा घरमा गएर छोरीलाई स्कुल पुर्‍याउँछिन् । खाना खान्छिन् र फेरि अटो लिएर यात्रुको सेवामा हाजिर हुन्छिन् । 

उनले सिलाइकटाइ व्यवसाय गर्दै आएकी थिइन् । तर स्वास्थ्यमा समस्या देखिएपछि अटो रिक्सा चलाउन सिकिन् । अहिले त्यही अटो उनको घरव्यवहार चलाउने माध्यम बनेको छ । २ छोरीकी आमा रामकुमारीको दाम्पत्य जीवन सुखद नभएपछि अहिले उनको सहारा अटो बनेको छ । उनी पछिल्लो एक महिनादेखि सदरमुकाम दमौली आसपासका क्षेत्रमा अटो चलाउन थालेकी हुन् । खुट्टामा आएको समस्याले सिलाई मेसिन चलाउन नसक्दा आम्दानी सुकेपछि उनले विकल्पमा अटो चलाउन थालेकी हुन् ।

‘श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि घरखर्च चलाउन निकै समस्या पर्‍यो,’ उनले भनिन्, ‘त्यसैले अटो चलाउन थालेकी हुँ ।’ दुई छोरीमध्ये कान्छी आफैंसँग रहेको र उनको पढाइ र घरव्यवहार चलाउनुपर्ने दायित्व छ । उनी दैनिक १२ घण्टा पुरुष चालकसँग प्रतिस्पर्धा गर्दै अटो चलाउँछिन् । महिलालाई काम गर्न जता पनि गाह्रो हुने उनले सुनाइन् । ‘यात्रुले पनि महिलाभन्दा पुरुष चालकलाई नै बढी विश्वास गरेको पाएँ,’ उनले दुखेसो पोखिन् । मनग्य आम्दानी नभए पनि घरखर्च चलाउन समस्या नभएको उनको भनाइ छ । दैनिक १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म आम्दानी हुने उनले बताइन् ।

यसैगरी व्यास–१ भादगाउँकी ३१ वर्षीया श्रीधरा थापामगर पनि ३ महिनादेखि अटो चलाउँदै आएकी छन् । पहिला सिलाइकटाइ गर्दै आएकी उनी सोचेजस्तो आम्दानी नभएपछि अटो चलाउन सुरु गरेकी हुन् । श्रीधरा जिल्लाकै पहिलो महिला अटोचालक हुन् । उनकै सिको गरेर रामकुमारी पनि यसमा आँट गरेकी हुन् । श्रीधराका श्रीमान् नेपाल आर्मीबाट सेवा निवृत्त भएपछि काठमाडौंको एक होटलमा सेक्युरिटीको काम गर्छन् । उनी भन्छिन्, ‘सुरुमा अटो चलाएर हिँड्न लाज लाग्थ्यो । अझ यात्रुहरू अटो महिलाले चलाउने भन्ने थाहा पाएपछि चढ्न अप्ठ्यारो मान्दा नमज्जा लाग्थ्यो ।’ आफूले अटो चलाएर हिँड्दा यात्रुहरू फर्कीफर्की हेर्ने गरेकोमा अहिले भने त्यो हटेको उनले बताइन् । ‘अटो चलाउँछु भनेर सिक्न हिँड्दा छरछिमेकले छोरी मान्छे भएर गाडी चलाउने ? सबै पुरुषहरू मात्रै छन्, त एक्लै के गर्छेस् भन्थे,’ उनले भने, ‘अहिले परिवर्तन भएको छ । मसँग यात्रा गर्न कोही पनि डराउँदैन । पहिले कुरा काट्ने पनि अहिले राम्रो काम गरेकी छौं भनेर प्रशंसा गर्दा हौसला थपिएको छ ।’

उनी बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म राजमार्गको छेउछाउमा अटो चलाउँछिन् । कहिलेकहीं फोन आउँदा बिहानको ६/७ बजे नै निस्किने तर बेलुका भने ननिस्कने उनले जनाइछन् । उनको २ छोरी छन् । उनले अटो चलाएरै छोरीहरूलाई पठनपाठन र घरखर्च चलाउने गर्छिन् । ‘सिलाइकटाइबाट राम्रो आम्दानी हुँदैनथ्यो । २/४ रुपैयाँ चाहिए पनि श्रीमान्सँग माग्नुपर्दथ्यो,’ उनले भनिन्, ‘अहिले अटो चलाएर आफू र नानीको खर्च उठाउन सक्छु । आफ्नो आम्दानी भएपछि आफ्नै हिसाबबाट नै खर्च पनि गर्न सक्छु ।’

दमौलीका अटो व्यवसायीले दमौली अटो चालक समिति गठन गरेका छन् । उक्त समितिभित्र ३२ वटा अटो र समिति बाहिर ८ वटा अटो गरी दमौली आसपासका क्षेत्रमा ४० वटा अटो सञ्चालनमा छन् । यी चालकमध्ये २ जना मात्र महिला छन् ।

प्रकाशित : पुस ३, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×