अझै पनि बालीघरे बोझ- समाचार - कान्तिपुर समाचार

अझै पनि बालीघरे बोझ

आयआर्जनको दरिलो विकल्प नपाउँदा शिक्षा, स्वास्थ्यमा पछि परेका दलित समुदाय अझै पनि बालीघरे प्रथा धान्दै
मधु शाही

काठमाडौँ — आगोको रापसँग खेल्नु ललितपुर गोदावरी–१० का साधुराम विश्वकर्माको दैनिकी हो । विष्टबराजु (नियमित ग्राहक) को काममा थोरै पनि ढिलासुस्ती नगरी उनी बिहानैदेखि जुटिहाल्छन् । बुधबार उनको आरनमा पुग्दा फलामका औजार बनाउन उनलाई भ्याइनभ्याई थियो ।

‘विष्टबराजुको काममा ढिला गर्नु हुँदैन भनेर बाउबाजेदेखि सिक्दै आएको छु,’ पुर्खौली हातेपंखा चलाउँदै फलाम तताइरहेका साधुराम भन्छन्, ‘काम छिट्टै सक्छु, समयमै बुझाउँछु ।’

उमेरले सात दशक पार गरेका उनी विष्टको सेवामा जति समर्पित छन्, उति परिश्रमको मूल्य पाउँदैनन् । वर्षभरि काम गरेबापत उनले पैसा होइन, एकपाथी अन्नबालीमा चित्त बुझाउनुपर्छ । त्यो पनि विष्ट बराजुले मनपरि हिसाबले दिन्छन् । बाउबाजेको पालामा जे जति अन्न दिइन्थ्यो, अहिलेसम्म त्यही चलन रहेको उनले सुनाए । भन्छन्, ‘उहिले पनि एकपाथी धान दिन्थे अहिले त बरु घट्दै गएको छ ।’

दलित समुदायले परम्परादेखि विष्टबराजु बनाएर सेवा गरेबापत अन्नबाली दिइने चलनलाई बालीघरे प्रथा भनिन्छ । परम्पराको नाममा निरन्तरता पाइरहेको बालीघरे प्रथा आधुनिक समयसम्म आइपुग्दा निर्मूल हुन सकेको छैन । दलित समुदायभित्रका विश्वकर्माहरूले परम्परागत कामका रूपमा हँसिया, कोदालो, कुटी, खरुवालगायत फलामका औजार बनाउँछन् भने परियारहरूले लुगा सिलाउने गर्छन् ।

साधुरामको तीन पुस्ता बालीघरेमै भर परिरहेको छ । महँगीले आकाश छुन लागे पनि श्रमको मूल्य बढ्न सकेको छैन । उनका ३० वर्षे छोरा पनि आरन चलाउँछन् । गाउँमा बेरोजगार हुनुभन्दा बाबुले गर्दै आएको काममा लाग्दा खाली बस्नु नपरेको उनको भनाइ छ । तर मेहनतअनुसारको मूल्य नपाउँदा उनको जाँगर मर्दै गएको छ । ‘दुःख धेरै गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्नको सट्टा पैसा माग्दा धेरैले आनकानी गर्छन् । कसैले त त्यही अन्न पनि दिँदैनन् ।’ वर्षभरि काम गरेर एक घरबाट १५ सय पनि नआउने उनले गुनासो गरे । सादुरामका पुर्खौली विष्टबराजु ३० देखि ३५ जना छन् । ‘सबैले वर्षमा अन्नको सट्टा १५ सय रुपैयाँ दिए भने पनि ५० हजार हुने रहेछ,’ साधुरामकी पत्नी कालु भन्छिन्, ‘अन्न लिएर वर्षभरि खान पुग्दैन, नुनतेल जुटाउन पनि गाह्रो पर्छ ।’

उनीहरूको आयआर्जनको स्रोत नै परम्परागत सीप हो । आरन चलाएरै परिवार पाल्नुपर्ने बालीघरे प्रथा हट्न नसकेको वडा सदस्य सुजाता विकले बताइन् । गोदावरी–१० कै ४५ वर्षीया सुनिता परियारको परिवार पनि यही प्रथामा धानिएको छ । उनी विष्टका लुगाफाटा सिलाउने गर्छिन् । ६ महिना, वर्ष दिन कुरेर अन्न थाप्न जानुपर्छ । ‘त्यही अन्नबाली पनि राम्रो परे त हुन्थ्यो नि,’ सुनिता भन्छिन्, ‘कुहिएका मकै दिएर पठाउँछन् । मन रुवाउँदै घर फर्किन्छु ।’

उनकै छिमेकी मदन परियारले पुर्खादेखि सिलाइ गर्दै आए । पढाइ छैन, विदेश जान लगानी चाहिन्छ । गाउँमै बसेर जीविकोपार्जन गर्न प्रशस्त जमिन छैन । ‘बालीघरे काम नगरे अरू उपाय छैन, काम गर्दा पनि सम्मानजनक व्यवहार नपाउँदा झनै दुःख लाग्छ,’ उनले भने, ‘पैसा दिँदैनन्, अन्न लिँन जाँदा हेपेर दिन्छन् ।’

बाँकेको राप्तीसोनारी–९ खैरी गाउँका घनश्याम विकको परिवारले पुर्ख्यौली आरन चलाउँदै आएको छ । बालीघरे कामले गुजारा नभएपछि ३२ वर्षीय घनश्याम रोजगारीका लागि काठमाडौं आए । घर बनाउने काम गर्दागर्दै महँगीले उनी आत्तिए, फेरि फर्किएर गाउँमै आरन चलाउन थाले । महँगी बढे पनि उनका विष्टबराजुले दिने अन्नबालीको मात्रा बढेको छैन । पछिल्लो समय उनले परिश्रमको मूल्य पैसामा दिन अनुरोध पनि गरे । तर, धेरै अन्नबालीमै चित्त बुझाऊ भन्दै जवाफ दिने गरेका छन् । ‘कसैले त पैसा दिइहाल्छन्, कोही चाहिँ परम्परा हो अन्न नै लैजाऊ भन्छन्,’ घनश्यामले भने ।

पाल्पाको रैनादेवी छहरा–६ खड्कबहादुर विकले चार जना छोराछोरी बालीघरे गर्दागर्दै हुर्काए । उनले अहिले पनि तीन पुस्ता पुरानो आरन चलाइरहेका छन् । ‘विष्टको सोखमा हाम्रो ज्याला अडिएको छ । मन खुसी भए दिइहाल्छन् नभए रित्तै पठाउँछन्,’ उनले भने, ‘भोकै बस्नुभन्दा थोरैमा चित्त बुझाउनुपर्ने बाध्यता छ ।’

०००

बालीघरे प्रथाले दलित समुदायको श्रम र सीपको शोषण गरेको भन्दै विगतमा दलित आन्दोलन पनि भए । १९९७ सालमा दलित अधिकारकर्मी भगत सर्वजित विश्वकर्माको नेतृत्वमा बालीघरे प्रथाविरोधी आन्दोलन भएको इतिहास छ । परम्परागत बालीघरे प्रथाले उत्पीडित भएका दलित समुदायमाथि श्रम शोषण भएको र आर्थिक विकासमा दमन भएको भन्दै आन्दोलन चर्किएको थियो । विश्वकर्माले आरनको टुँडो भाँचेर, परियारले लुगा सिलाउने कल बन्द गरेर, सार्की समुदायले छालाको काम बन्द गरेर विरोध गर्ने घोषणा गरेका थिए ।

कुनै स्थानीय तहले बालीघरे प्रथा अन्त्य गर्न आधुनिक सीप सिकाउने तालिमको पनि व्यवस्था गरे । अर्घाखाँचीको मालारानी–५ वडामा गएको आर्थिक वर्ष १० जनालाई सुधारिएको आरन व्यवस्थापनसम्बन्धी तालिम दिइएको थियो । दलित समुदायले खुसीले सहभागी भए तर, त्यसको नजितमा भने परिवर्तन नआएको वडासदस्य विष्णु सुनार बताउँछिन् । बालीघरे काम सीप र क्षमतासँगै विभेदकारी सोचसँग जोडिएकाले अन्त्य गर्न कठिन भएको उनको बुझाइ छ । ‘तालिम पाएर राम्रै काम गरे पनि विष्टहरूले परम्परा हो भन्दै अन्नबाली नै दिन्छन्,’ उनले भनिन्, ‘परम्परा तोड्न चुनौती छ ।’

०००

चार वर्षअघि बागलुङको काठेखोला गाउँपालिकाले बालीघरे प्रथा अन्त्य गर्ने अभियान थालेको थियो । तत्कालीन वडा सदस्य सुन्तली विकको अध्यक्षतामा ‘बालीघरे प्रथाविरुद्ध साझा अभियान’ चलेको हो । घरदैलोमा पुगेर दलित समुदायलाई आर्थिक व्यवसाय गर्न सुझाव दिइएको थियो । अभियानपछि गाउँपालिकामा ७० प्रतिशत दलितले बालीघरे प्रथालाई रूपान्तरण गरेर आर्थिक व्यवसाय अपनाउन थालेको काठेखोला–३ का वडाध्यक्ष कुलबहादुर विकले बताए । उनका अनुसार बालीघरेसँगै हलिया प्रथा गाउँमा अझै कायम छ । यसलाई हटाउने थप योजना बनाउन लागिएको उनले बताए । ‘दलितले नै पैसा विना काम नगर्ने भन्ने सिकाएपछि प्रथा हट्न थालेको छ,’ उनले भने, ‘बिस्तारै पुरै हटाउँछौं ।’

नेपालगन्जमा २०६२/६३ तिर अधिकारकर्मी ५८ वर्षे रेशम परियारको नेतृत्वमा बालीघरे र खली प्रथाविरुद्ध अभियान थालिएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा दुई वर्षसम्म लगातार प्रथा विरोधी अभियानका गतिविधि गरिएको रेशमको भनाइ छ । एउटा पाइन्ट सिलाएको वर्षभरि एक पाथी धान दिन्थे । पछि लुगा सिलाएको ज्याला उचित रकममा लिन थालेपछि दलित समुदायको आर्थिक अवस्थामा सुधार आएको रेशमको अनुभव छ । उनी भन्छन्, ‘परियार समुदायमा बालीघरे प्रथा निकै कम भइसकेको छ, यद्यपि सुदूरपश्चिमतिर बाँकी छ ।’

अनुसन्धानकर्ता सीताकुमारी विश्वकर्माले ‘बालीघरे प्रथा र दलित समुदायमा पारेको प्रभाव’ विषयमा शोध गरेकी छन् । सामाजिक समावेशीकरण अनुसन्धान कोषको लागि प्रस्तुत गरिएको प्रतिवेदनमा बागलुङ जिल्लाका तीन बस्तीका दलित समुदायको पेसागत अवस्था पारे नमुना अध्ययन गरिएको छ । जसमा ५८ घर दलित समुदायको घरधुरीमध्ये ४७ प्रतिशत दलित समुदाय बालीघरे पेसामा आबद्ध भएको तथ्यांक छ । ७७ प्रतिशत फलामको काम गर्छन् भने २३ प्रतिशत कपडा सिलाउने तथा बाजा बजाउने गर्छन् । बालीघरे प्रथा अपनाउँदै आएकामध्ये ८०.७० प्रतिशतले आर्थिक आय राम्रो नभएको बताएका छन् । प्रतिवेदनमा दलितहरूले बालीघरे पेसा गरेबापत वार्षिक प्रतिघर ४ देखि १० पाथी मकै, १ देखि ५ माना फापर पाउने गरेका छन् । जसअनुसार बालीघरे पेसा अपनाउने दलितको औसत परिवार संख्या ५ जना छन् । उनीहरूलाई ३ महिनासम्म पनि खान नपुग्ने अवस्था अनुसन्धानले देखाएको छ ।

बालीघरे प्रथा हटाउन विभिन्न समयमा दलित समुदायले आफ्नै शैलीले विरोध गरिआए पनि राज्यस्तरबाट केही भएको छैन । अधिकारकर्मी जेबी विश्वकर्माका अनुसार दलित समुदायलाई पृथ्वीनारायण शाहको पालादेखि नै श्रमको आधारमा दास प्रथा कायम गर्ने परम्परा बसेको थियो । सीपको आर्थिक रूपान्तरण गराउँदा दलितको पुँजीमाथि अधिकार हुन्छ भन्ने मान्यता थियो । पुँजीले अधिकार र प्रश्न गर्ने हिम्मत जुटाउछ । जसले गर्दा दासत्व कम हुँदै जाने डरले शासकले दलितको श्रमको नियन्त्रण गर्न खोजिएको उनको मत छ ।

‘अहिलेसम्म पनि जीवित कुप्रथा हुनुको कारण दमित दास मनोभावको संकेत हो,’ उनी भन्छन् । संविधानले सबै प्रकारका विभेद र शोषण हटाउनुपर्छ भनिरहँदा बालीघरे दास प्रथा पनि एउटा मुल मुद्दा पर्छ । तर, यसको मुख्य जिम्मेवारी जनप्रतिनिधिको हुने विश्वकर्माको बुझाइ छ । आधुनिक सीपको विकास गर्ने, आयआर्जनको वैकल्पिक बाटो देखाउने र जागृत गराउन सके बालीघरे प्रथाको अन्त्य हुने उनको भनाइ छ ।

प्रकाशित : पुस ३, २०७९ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

भूमिहीन दलित कहाँ लाग्नु ओत !

मधु शाही

काठमाडौंस्थित सिनामंगलको सुकुम्बासी टहरामा बस्छन्, २५ वर्षीय शिव सार्की । उनले आफ्नो पुर्ख्यौली थलो सिन्धुलीमा रहेको सुनेका छन् तर जानेबुझेदेखि नै सुकुम्बासी छन् । बाबुआमाले मजदुरी गरेर उनलाई १२ कक्षासम्म पढाए । त्यहाँबाट शैक्षिक उकालो लाग्न उनलाई आर्थिक अवस्थाले दिएन ।

साँझबिहान छाक टार्नुपर्ने बाध्यतामाझ पढाइको उचाइ उनीजस्ता भूमिहीन दलितका लागि दुःस्वप्न नै हो । झरी पर्दा चुहिने छानोमुनि रात बिताउँदा शिवलाई त्यति पीडा भएन, जति आर्थिक अभावकै कारण फार्मेसी पढ्ने उनको रहर अपुरो रह्यो । ‘जग्गा मात्रै भएको भए बैंकमा धितो राखेर भए पनि पढ्न पाउँथें,’ उनी भन्छन्, ‘जग्गा नहुँदा न पेटभरि खान पाइएको छ, न पढ्न ।’

भूमिमाथिको स्वामित्व नहुँदा लाखौं दलितका सपना अपुरै छन् । शिक्षा लिन होस् या अर्थोकमा, भूमि अपरिहार्य छ । बाँकेस्थित कोहलपुर नगरपालिकाको प्रेमनगरका दिनेश परियार तीन पुस्तादेखि जग्गाविहीन छन् । उनका बाजे दैलेखबाट जीविकोपार्जनका लागि भारत पुगे । भारतमै मजदुरी गर्दै उतै जीवन बिताए । दिनेशका आमाबुबा बाँकेमा सुकुम्बासी भई बस्न थाले । ऐलानी जग्गामा छाप्रो बनाएका उनीहरू पटक–पटक लखेटिँदै, फेरि बस्दै आएका छन् । बासकै ठेगान नहुनुको पीडामा दिनेशको पढाइ अलपत्र छ । ९ कक्षासम्म मात्रै पढ्न सकेका उनी परम्परागत सिलाई पेसा गर्दै आएका छन् । अब कतैबाट पैसा जुटाएर बिदेसिने सुर कस्दै छन् । विदेशको कमाइले जग्गा किन्ने उनको ठूलो इच्छा छ । भूमिहीन दलितहरूलाई सरकारले जग्गा दिने भन्दै धेरै पटक नेताले आश्वासन दिए, दिनेशहरूले भोट हालेर जिताए पनि । तर, अब थाकिसके । ‘जग्गाले आत्मनिर्भर बनाउँथ्यो होला’, उनी भन्छन्, ‘बास छैन, गाँस छैन । शिक्षा त झन् परैको कुरो हाम्रो लागि ।’

भूमि नभएकै कारण समाजमा दिनेशहरूले अनेक थरीका विभेद भोग्दै आएका छन् । भूमिमाथिको स्वामित्व नहुँदाको पीडा शिव र दिनेशजस्ता मुलुकका झन्डै ७० प्रतिशत दलितले भोग्दै आएका छन् । राष्ट्रिय जनगणना–२०६८ अनुसार दलितको कुल जनसंख्या १३.८ प्रतिशत अर्थात् ४१ लाख २४ हजार ३९ छ । संविधानले दलितमाथि गरिने सामाजिक विभेदको निर्मूल गरी समाजलाई समतामूलक बनाउन पर्याप्त अधिकार प्रत्याभूत गरेको छ । तैपनि सामाजिक तथा सांस्कृतिक, शैक्षिक, मानव विकासका दृष्टिले बहिष्करण र वञ्चितीकरणमा परिरहेकै छन् उनीहरू ।

मानव अधिकारको मूल आधार भूमि हो । भूमिले बास र गाँस दुइटैमा पहुँच स्थापित गर्छ । सामाजिक र शैक्षिक प्रतिष्ठा जोड्ने तत्त्व पनि भूमिमै छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको दलित समुदायको मानव अधिकारको अवस्था प्रतिवेदन (२०७६–७७) अनुसार पहाडमा १५.३२ प्रतिशत र तराईमा ४४ प्रतिशत दलित भूमिहीन अवस्थामा छन् । यसमा पनि कृषि भूमिहीन दलित पहाडमा ७७ प्रतिशत र तराईमा ९० प्रतिशत छन् । त्यस्तै, राष्ट्रिय दलित आयोगले कुल जनसंख्याको २३ प्रतिशत दलितसँग एक टुक्रा पनि जग्गा नभएको दाबी गर्दै आएको छ ।

अनुसन्धानकर्ता पूर्ण नेपालीका अनुसार, ८७ प्रतिशत दलित भूमिहीन छन् भने १३ प्रतिशत गैरदलित भूमिहीन छन् । भूमिमाथि पहुँच नभएकै कारण दलितहरू जमिनदारकहाँ कामदार बनेका छन् । अधिकांश दलित कि त भूमिहीन सुकुम्बासी कि अत्यन्त कम जग्गा भएका किसान छन् । आफ्नो जग्गाजमिनको उत्पादनले जीविकोपार्जन हुँदैन । त्यसैले अरूका जग्गामा काम गरी हातमुख जोर्नुपर्ने बाध्यता छ ।

अधिकारकर्मी आहुति दलित वर्णव्यवस्था सुरु भएदेखि नै दलित भूमिहीन भएको बताउँछन् । झन्डै तीन हजार वर्षदेखि दलितलाई राज्यले नै सुव्यवस्थित तवरमा भूमिहीन बनाउँदै आएको हो । २०६२–६३ सालपछिको राजनीतिक परिवर्तनसँगै भूमिहीन दलित समुदायलाई क्षतिपूर्तिस्वरूप जग्गाजमिन उपलब्ध गराउनुपर्ने नीतिगत निर्णयहरू भएका छन् । नेपालको संविधानले दलितको भूमि अधिकारमा विशेष व्यवस्था गरेको छ, राज्यले भूमिहीन दलितलाई कानुन बनाएर एक पटक भूमि उपलब्ध गराउनुपर्ने भनेको छ । सुकुम्बासी आयोग नै गठन गरिएको छ । दलितको भूमिमाथिको अधिकार मौलिक हकमा सुनिश्चित गरेर राज्यले सकारात्मक विभेदको सन्देश दिन खोजे पनि कानुन बनाएर भूमि दिने भन्ने शब्दावलीले फेरि दलितको हकमाथि अंकुश लगाउन खोजिएको आहुतिको बुझाइ छ । कानुन बनाएरै कसलाई जमिन दिने या नदिने भन्ने नियमबाट दलित समुदायको मौलिक अधिकार कुण्ठित हुन सक्ने उनको तर्क छ । ‘कानुन बनाएर ढिलाइ गर्न पाइने, राज्यको निम्ति बाध्यकारी नहुने भयो’, उनी भन्छन्, ‘यी शब्द भूमिहीन दलितका लागि घातक छन् ।’

सरकारले गरेको गरिबी सम्बन्धी विश्लेषणमा आर्थिक वर्ष २०७४–७५ मा नेपालको करिब १८.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । त्यसमा पनि दलित समुदाय सबैभन्दा पीँधमा छ । गरिबी निवारणका सरकारी नीतिहरूमा विपन्न र गरिब वर्गप्रति विभिन्न स्वरूपमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने उद्देश्य राखिने गरेको छ । तर त्यस्ता उद्देश्य पूर्तिका लागि पनि भूमिहीन दलितका समस्या समाधान हुन आवश्यक छ ।

भूमिहीन दलितले हातमुख जोर्नै समस्या झेल्नुपरेका बेला शिक्षाको खुट्किला चढ्नु असम्भवजस्तै हो । यद्यपि संविधानको धारा १८ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहको शिक्षा अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । मानव अधिकारको प्रतिवेदनले पनि भूमिहीनता, गरिबी र आर्थिक अभावका कारण दलितका अन्य सामाजिक पाटासँगै शैक्षिक विकासमा बाधा पुगेको प्रस्ट पारेको छ । दलितहरूको साक्षरता दर ५२.४ प्रतिशत मात्र छ जबकि राष्ट्रिय औसत ६५.९ प्रतिशत छ । त्यसमा पनि तराईका दलितको साक्षरता दर जम्मा ३४.५ प्रतिशत छ । प्राथमिक तह पढ्ने दलितहरू अलि बढी नै देखिए पनि १० कक्षासम्म पुग्नेहरूको संख्या १.६ प्रतिशत छ । त्यो दर स्नातकसम्म पुग्दा ०.८ प्रतिशत पुग्छ । दलित महिलाको साक्षरता दर ४५.५ प्रतिशत मात्र छ ।

पूर्ण नेपालीको शोध पुस्तक ‘एक्सेस अफ दलित कम्युनिटी टु ल्यान्ड एन्ड दलित इन्क्लुजन एन एनालाइसिस फ्रम इन्टरसेक्सनालिटी पर्स्पेक्टिभ’ अनुसार, भूमिहीन दलितको संख्या मधेश प्रदेशमा सबैभन्दा बढी ५८.४१ प्रतिशत छ । सातै प्रदेशको अध्ययन गर्दा पहाडे दलितमध्ये २९.७४ प्रतिशत भूमिहीन छन् । दार्चुला जिल्लामा ४२ प्रतिशत दलित भूमिहीन छन्, भूमि भएकासँग पनि कृषियोग्य जग्गा २ रोपनीभन्दा कम छ । त्यस्तै, कैलालीमा ७१ प्रतिशत दलित समुदायसँग जग्गाधनीपुर्जा छैन, तीमध्ये जम्मा १.१ प्रतिशतले भूमिका लागि सुकुम्बासी आयोगमा निवेदन दिएका छन् । भूमि नभएकै कारण उनीहरू शैक्षिक, सामाजिक, आर्थिक र समावेशीकरणजस्ता विषयमा पछि परेका छन् ।

नेपाल मधेश फाउन्डेसनको ‘सिचुएसन अफ मधेशी दलित्स अफ मधेश प्रोभिन्स’ शीर्षक अनुसन्धान अनुसार, मधेशमा ६४.१ प्रतिशत दलित साक्षर छैनन् । स्नातक गरेका १.२ प्रतिशत मात्रै छन् । अनुसार मधेशी दलितको सामाजिक स्तर कमजोर देखिनुको मूल कारण आर्थिक अभाव भएको अनुसन्धानकर्ता एवं अधिकारकर्मी हीरालाल विश्वकर्मा बताउँछन् । आर्थिक अभाव हुनुको मूल कारण भूमिहीन हुनु नै हो । मधेशका ५५.२ प्रतिशत दलितले मोही, गुडी, जमिनदार, ऐलानीका रूपमा बिनालालपुर्जा जग्गा उपभोग गरिरहेका छन् ।

संविधानले दलितलाई एक पटक भूमि दिने नीति ल्याए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । आर्थिक रूपले सबल नहुँदासम्म कुनै पनि समुदायको अस्तित्वरक्षा जटिल हुन्छ । त्यसैले भूमिहीन बनाइएका सीमान्तीकृत दलित समुदायलाई न्याय भनेकै जमिन उपभोग गर्ने वातावरण बनाइदिनु हो । बस्ने थलो नभएका समुदायले समाजमा कस्तो परिवर्तन ल्याउलान् ? र राज्यले उनीहरूको समृद्धिको अपेक्षा कहिलेसम्म गर्न मिल्छ ?

प्रकाशित : मंसिर २२, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×