राजस्वले चालु खर्च धान्नसमेत कठिन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्वले चालु खर्च धान्नसमेत कठिन

मंसिरसम्म ४ खर्ब ६४ अर्ब १२ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य तर १ खर्ब ९ अर्ब रूपैयाँ कम अर्थात् जम्मा ३ खर्ब ५४ अर्ब राजस्व संकलन
चालुतर्फ मात्र ३ खर्ब ५४ अर्ब रूपैयाँ नै खर्च, कहाँबाट गर्ने पुँजीगत खर्च र वित्तीय व्यवस्थापन ? अर्थशास्त्री भन्छन्, ‘पछिल्ला दशकमा यस्तो अवस्था आएको सम्झना छैन’
सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिल्लीराज खनाल भन्छन्, ‘आयात र रेमिट्यान्स बढेका पछिल्ला दशकमा राजस्वले चालु खर्च नधान्ने यस्तो अवस्थाको सम्झना मलाई छैन, यसले मुलुकको सरकारी वित्तीय प्रणालीलाई दुर्घटनातर्फ लैजान्छ’ 
कृष्ण आचार्य

काठमाडौँ — देशको अर्थ नेतृत्व भद्रगोल हुँदा चालु आर्थिक वर्षमा पनि सरकारी खर्च र राजस्वको अवस्था नाजुक छ । सरकारले गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ, तर गत वर्षको यही अवधिको तुलनामा २० प्रतिशत कम राजस्व संकलन भएको छ । यसरी सरकारीे आम्दानीले चालु खर्च धान्न पनि कठिन हुने भएको छ । 


अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटअनुसार आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) सम्म ४ खर्ब ६४ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । तर, लक्ष्यभन्दा १ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ कम अर्थात् जम्मा ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा समेत ४ खर्ब ४३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी चालु वर्षको लक्ष्यभन्दा २४ प्रतिशत र गत वर्षको यही अवधिको उपलब्धिभन्दा २० प्रतिशत कम राजस्व संकलन भएको हो ।

आम्दानी र खर्चको तुलना पनि अत्यासलाग्दो अवस्थातर्फ छ । सरकारले संकलन गरेको राजस्वले चालु खर्च (कर्मचारी, शिक्षक, सैनिक, प्रहरीको तलब तथा भत्ता खर्च) का लागि समेत नपुग्ने अवस्था आएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मंसिरसम्म ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएकामा त्यति नै बराबर अर्थात् ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ चालु खर्च भइसकेको छ । पुँजीगत र वित्तीय व्यवस्थाका लागि बजेटबाट कुनै योगदान नहुने अवस्था छ ।

‘आयात र रेमिट्यान्स बढेका पछिल्ला दशकमा राजस्वले चालु खर्च नधान्ने यस्तो अवस्था आएको मलाई सम्झना छैन । तर यस वर्ष राजस्वले चालु खर्च नपुग्ने अवस्था आयो,’ अर्थशास्त्री तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिल्लीराज खनाल भन्छन्, ‘यसले मुलुकको सरकारी वित्तीय प्रणालीलाई दुर्घटनातर्फ लैजान्छ ।’

खनालले भनेझैं यस वर्ष राजस्वसहित अन्य स्रोतबाट प्राप्त आम्दानीले सरकारी खर्च नपुगेपछि गत आर्थिक वर्षको मौज्दातबाट खर्च भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार गत असारसम्म सरकारी ढुकुटीमा (संघ, प्रदेश र स्थानीय तहसहित) २ खर्ब २७ अर्ब रुपैयाँ मौज्दात थियो । यो रकम अहिले १ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ ।

राजस्व कम उठ्ने र उठेको राजस्वले पनि चालु खर्च नपुग्ने अवस्था आइरहँदा पुँजीगत खर्चको अवस्था पनि कमजोर छ । चालु आर्थिक वर्षको पाँच महिनामा करिब १० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पाँच महिनामा ३३ अर्ब ९९ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । जब कि वर्षभर खर्चिनुपर्ने यस्तो बजेट ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ हो ।

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने हालसम्म भएको पुँजीगत खर्च गत वर्षको तुलनामा प्रतिशत र अंक दुवै हिसाबले बढी भएको तथ्यांक अघि सार्छन् । तर कति ? ‘गत आर्थिक वर्षको यही अवधिमा विनियोजनको तुलनामा ७.५१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको थियो,’ उनी भन्छन् ।

डेढ वर्षअघि ३० असार ०७८ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि शर्माले प्रायः नछुटाउने वाक्य थियो– ‘हरेक महिना १० प्रतिशत पुँजीगत खर्च र लक्ष्यभन्दा २ सय प्रतिशत बढी राजस्व संकलन’ । दुर्भाग्य, यति धेरै महत्त्वाकांक्षी घोषणा गरेका शर्माको पहिलो बजेट कार्यान्वयन असफल जस्तै भएको थियो । गत वर्ष कुल विनियोजनको तुलनामा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भयो । राजस्व संकलन पनि लक्ष्यको तुलनामा ९० प्रतिशत मात्रै हासिल भएको थियो ।

अर्थ मन्त्रालयले आफ्नो कार्यक्षमताभन्दा विभिन्न सरकारी निकायका नीतिगत निर्णयलाई कारक ठानेको छ । ‘गत वैशाखबाट १० वटा वस्तुको आयातमा लगाइएको बन्देज, सेयरबाट प्राप्त हुने पुँजीगत लाभकरको विषय, घरजग्गाको कारोबारको कमीहरूले गर्दा राजस्व संकलन कम भएको हो,’ अर्थ मन्त्रालयका प्रवक्ता काफ्ले भन्छन्, ‘समग्रमा अहिले अर्थतन्त्रमा मागको कमी छ । यी विषय नीतिगत कारणसँग अन्तरसम्बन्धित छन् ।’

अर्थशास्त्रीहरूले भने अर्थ मन्त्रालयको नेतृत्व, राजस्व प्रशासनको कार्यक्षमता, नैतिकता र नीति तथा कार्यान्वयनबीचको तालमेलको अभावलाई नै यो अवस्थाको कारक मान्छन् । अर्थमन्त्रीका रूपमा शर्मा आएपछि राजस्व सचिव, राजस्व महाशाखादेखि भन्सार प्रमुखमा क्षमतावान्लाई पाखा लगाएर आफ्नालाई अघि सार्ने प्रवृत्ति बढेकाले त्यसको मूल्य राज्यले चुकाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकसँग समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि अर्थमन्त्रीमाथि छ । ‘सरकारका विभिन्न निकायहरूका नीति एकातिर लक्ष्य अर्कोतिर हुँदा राजस्व संकलन कम भएको देखिन्छ,’ पूर्वअर्थ सचिव शिशिर ढुंगानाको टिप्पणी छ, ‘राजस्वको लक्ष्य धेरै बनाइसकेपछि त्यो कसरी संकलन हुन्छ भन्ने आधार तयार पार्नुपर्थ्यो । राजस्व छुट हुने खालका नीति ल्याउनु हुँदैनथ्यो । एकातिर राजस्व बढाउने आधार तयार पारिएन, अझ राजस्वमा छुट दिने नीति अख्तियार गरियो ।’

समग्र अर्थतन्त्रमा माग आएकाले पनि राजस्वमा निराशाजनक प्रतिकूलता थपिएको ढुंगानाको भनाइ छ । भन्छन्, ‘बैंकबाट निजी क्षेत्रमा जाने कर्जा यस वर्ष निरन्तर घटिरहेको छ । कर्जा घटेपछि बजारमा माग कमी भयो । मागमा कमी आएपछि कारोबार घट्यो । कारोबार नै कम भएपछि राजस्व संकलन कम हुने नै भयो ।’

सरकारले सुरुमा गत कात्तिकमा २० वटा समूहअन्तर्गतका करिब साढे ४ सय वस्तु आयातका लागि खोलिने एलसी (प्रतीतपत्र) मा ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्‍यो । माघमा फेरि ४७ समूहअन्तर्गतका करिब साढे १२ सय वस्तु आयातका लागि खोलिने प्रतीतपत्रमा पनि ५० देखि १ सय प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था भयो । वैशाख १३ मा १० प्रकारका वस्तुको आयातमै पूर्ण बन्देज नै लगायो, जुन यसै महिनाबाट मात्र फुकुवा भएको छ ।

आयातमा निषेध तथा समग्र अर्थतन्त्रको मागमा आएको कमीका कारण गत कात्तिकसम्म आयात १८ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको कात्तिकसम्म ६ खर्ब ५० अर्बको सामग्री आयात भएकोमा यस पटक यही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँका सामग्री मात्रै आयात भयो । यसले भन्सार राजस्व लक्ष्यभन्दा कम संकलन भयो ।

‘चौथो कारण आयात नियन्त्रण गर्ने काम सँगसँगै खुला सिमानाको अनुगमन गरिएन । अनुगमन कम गर्दा अनौपचारिक माध्यमबाट सामग्री आए, सरकारले राजस्व गुमायो,’ पूर्वसचिव ढुंगाना भन्छन् । ढुंगानाले संकेत गरेझैं अहिले आयात कडाइ गरिएका सामग्री अनौपचारिक माध्यमबाट भित्रिइरहेका छन् । अनुगमन, निगरानी तथा नियन्त्रणमा सरकार अस्तव्यस्त छ ।

‘राजस्व संकलन कम हुनुको पाँचौं कारण राजस्व प्रशासनसँग सम्बद्ध छ,’ पूर्वसचिव ढुंगाना भन्छन्, ‘राजस्व प्रशासनका कर्मचारीहरू छिटो–छिटो सरुवा गरियो । कर्मचारीले दिगो योजना बनाई काम गर्न पाएनन् । राजस्वमा चुहावट पनि बढ्यो, त्यसैले प्रतिकूल अवस्था सिर्जना भएको छ ।’

चालु आर्थिक वर्ष प्राप्त आम्दानीले खर्च धान्न गाह्रो भएकाले अब खर्च घटाउन पनि ढिलाइ गर्न नहुने अर्थशास्त्री खनालको सुझाव छ । ‘राजस्व कम उठ्ने र चालु खर्च बढ्ने कारणहरूबारे हामीले अध्ययन गरेर आयोगको प्रतिवेदनमार्फत सुझाव दिइसकेका छौं । अब त्यसको कार्यान्वयन गर्न सरकारले ढिलाइ गर्नु हुँदैन,’ उनी भन्छन् ।

खनालका अनुसार पहिलो सुझाव, ‘मन्त्रालय, विभाग, संस्थान र कर्मचारी घटाउने मात्रै नभई प्रशासनिक खर्च तथा भत्ता शीर्षकको बजेट पनि कम गर्ने ठाउँ छ, अनियन्त्रित भत्ता बन्द घटाउनुपर्छ ।’ त्यस्तै, राजस्व र चालु खर्चबीचको सन्तुलन मिलाउन पुँजीगत खर्च पनि कटौती गर्नुपर्ने अवस्था छ । ‘पुँजीगत बजेट पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार झन्डै ६० देखि ७० प्रतिशत विकास आयोजना रुग्ण अवस्थामा छन् । नियमित बजेट छुट्याउनुपर्ने आयोजना पहिचान गरी विनियोजन गर्ने, काम नलाग्ने त्यस्ता आयोजनामा पूर्ण रूपमा बन्द गर्ने गर्नुपर्छ,’ खनाल सुझाउँछन् ।

तेस्रो सुझाव, ‘राजस्व चुहावट नियन्त्रण नै हो । मुख्यगरी मूल्य अभिवृद्धि कर (भ्याट) छुट तथा फिर्तामा ठूलो चुहावट छ । कर छुट तथा चुहावटका विषयमा अनुसन्धान भए पनि कसैलाई कारबाही भएन । त्यसको असरले अहिले पनि राजस्वमा ठूलो चुहावट छ,’ भन्छन्, ‘यसले समानान्तर अनौपचारिक अर्थतन्त्र मौलाउन सघाएको छ । त्यसलाई नियन्त्रण गरेर सरकारी आम्दानी बढाउन सकिन्छ ।’

प्रकाशित : पुस ३, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

अधुरा ‘काम’ फत्ते गर्न फर्काइए शर्मा

शर्माको काँधमा कुशासनको बन्दुक, पड्काउँदै देउवा–दाहाल
कृष्ण आचार्य

काठमाडौँ — वित्तीय विशृंखलता र पदीय अक्षमताले दुर्बल माओवादी नेता जनार्दन शर्मालाई अर्थ मन्त्रालय फर्काइएको छ । ‘सेटिङ’ मा अघि बढाइएका अधुरा ‘काम’ फत्ते गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनलाई नै मन्त्रालय ल्याएका हुन् । शर्माको एकवर्षे कार्यकालमै संकटोन्मुख बनेको अर्थतन्त्र उनको पुनरागमनसँगै थप जोखिममा परेको छ । 

यति छिटो मन्त्रालय फर्कनेमा शर्मा पनि विश्वस्त थिएनन् । संसदीय छानबिन समिति गठन भएसँगै २५ दिनअघि राजीनामा दिएर बिदा माग्न अर्थ मन्त्रालय पुगेका शर्माले निकट कर्मचारीहरूसँग भनेका थिए, ‘मैले सफाइ पाउँछु तर फर्केर आउने सम्भावना छैन, पार्टी महासचिव हुने हो, चुनावमा होमिने हो ।’

तर, छानबिन विशेष समितिको शैली देखेपछि उनलाई सुनियोजित सफाइ दिइँदै छ, विश्लेषण हुन थालेको थियो । बजेटको अघिल्लो राति अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका अनधिकृत व्यक्तिलाई बयानमा समेत नबोलाएपछि समितिको नियत प्रस्ट भइसकेको थियो । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नदिने नीति लियो भने समितिले त्यसलाई स्वाभाविक रूपमा लिँदै अनुसन्धानको दायरा फराकिलो बनाउन चाहेन ।

सत्ताको बलमा संसदीय छानबिन समितिलाई विफल बनाएर शर्मालाई ‘चोख्याउँदै’ मन्त्रालयमा फिर्ता गरिएको हो । आफ्ना स्वार्थ पूरा गर्न देउवा दाहालले शर्मालाई अर्थ मन्त्रालयमा फर्काएका हुन् भन्नेमा कांग्रेस र माओवादीका नेता स्पष्ट छन् । ‘तपार्इं फेरि पनि अर्थमन्त्री हुनुपर्छ भनेर शर्मालाई हाम्रै अध्यक्षले उक्साउनुभएको हो,’ माओवादीका एक नेता दाबी गर्छन् । ती नेताका अनुसार दाहालले शर्मामाथि लागेका आरोपको प्रतिवाद गर्ने आश्वासनसमेत दिएका छन् ।

ती नेताले भनेझैं संसदीय छानबिन समितिले गत शुक्रबार संसद्मा प्रतिवेदन बुझाएकै दिन दाहालले शर्मा निर्दोष रहेको दाबी गरेका थिए । ‘सबैतिरबाट बजेट राम्रो छ भन्दै थिए, राति १२ बजे अनधिकृत मान्छेलाई ल्याएर, करका दर हेरफेर गर्‍यो अर्थमन्त्रीले, यसलाई कारबाही गर्नैपर्छ भनेर प्रचार गरियो,’ उपत्यकामा आयोजित एक कार्यक्रममा दाहालले भने, ‘त्यसपछि हामीले, अझ मैले नै छानबिन गरौं भनें । खाएको विष पो लाग्छ, नखनाएको विष त लाग्दैन । छानबिन समितिले प्रतिवेदन बुझायो, केही प्रमाण भेटिएन । उहाँ निर्दोष हुनुहुन्छ ।’

दुई दिनपछि अर्थात् आइतबार दाहालले प्रधानमन्त्री देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न सिफारिस गरे । प्रधानमन्त्रीले तत्कालै मञ्जुरी दिए । आइतबार नै शपथ गराएर शर्मालाई फूलमालासहित मन्त्रालय लगिएको छ ।

आसन्न निर्वाचनअगावै धेरै ‘काम’ सक्ने योजनाअनुसार दाहाल–देउवा अघि बढेको बुझ्नुपर्ने मन्त्रिपरिषद्कै एक सदस्यको भनाइ छ । उनले भनेजस्तै अर्थ मन्त्रालय र मातहतका निकायले हाल विभिन्न आधा दर्जनभन्दा बढी विवादास्पद काम अघि बढाउन खोजेका छन् । ती कामको प्रक्रिया शर्माले राजीनामा दिनुअगावै सुरु गरिएको थियो । त्यस्ता कामका लागि अर्थमन्त्रीले बजेट रकमान्तर गरिदिने, निकासा गरिदिने वा सहमति दिनेलगायत काम गरिदिनुपर्ने हुन्छ । ‘मन्त्रिपरिषद्ले यसै साता संसदीय निर्वाचनको मिति घोषणा गर्दै छ, त्यही सेरोफेरोमा विभिन्न कम्पनीलाई लाइसेन्स बाँड्ने र सार्वजनिक खरिदको काम सक्नुपर्नेछ,’ ती मन्त्रीको दाबी छ ।

एउटा ‘काम’ हो, हेलिकोप्टर खरिद । सबैजसो राजनीतिक दल तथा शीर्ष नेतासँग सम्बन्ध राख्ने बिचौलियाले चार वर्षदेखि रुसबाट हेलिकोप्टर किन्न चाहेका छन् । रुसी कम्पनी ‘रोजोबोरोन एक्स्पोर्ट’ सँग दुईवटा ‘एमआई–१७ भी ५’ हेलिकोप्टर खरिदका लागि सेनाले ०७४ पुस १२ मा सम्झौता गरेको थियो । अर्थमा रोकिएको प्रक्रिया गत वैशाखमा फेरि अघि बढाइएको थियो, शर्मा, देउवा र दाहालले यो पुनः अघि बढाउन खोजेका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले हेलिकोप्टर खरिद गर्न गत वैशाखमा अघि बढाएका हुन् । त्यसका लागि आवश्यक करिब साढे ४ अर्ब रुपैयाँ बजेट अर्थ मन्त्रालयले रकमान्तर गरी व्यवस्था गरिदिनुपर्ने हुन्छ । ‘अर्थमा बजेट माग गरिएको छ । अर्थमन्त्री शर्माले मन्त्रीस्तरीय निर्णय गरी हेलिकोप्टर खरिद गर्ने बजेटको सुनिश्चितता गरिदिएका छन्,’ अर्थ स्रोत भन्छ । विदेशी विनिमय सञ्चितिका दृष्टिले मुलुक संकटोन्मुख रहेका बेला हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाइएको भन्दै आलोचना भएपछि यो प्रक्रिया तत्काललाई रोकिएको छ । ‘तर कमिसनको खेलमा निर्वाचनअघि नै सक्न खोजिएको छ,’ स्रोतको दाबी छ ।

कमिसनको चक्करमा सरकारले अन्तःशुल्क स्टिकर खरिद प्रक्रिया पनि अघि बढाउँदै छ । अर्थमन्त्री शर्माकै प्रस्तावमा सरकार–सरकार (जीटुजी) बीच अन्तःशुल्क स्टिकर खरिदका लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइसकेको छ । अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले गत असार पहिलो साता प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ ।

मदिराको बोतलमा सरकारले राजस्व असुलीका लागि टाँसिदिने अन्तःशुल्क स्टिकर छपाइ गर्न आन्तरिक राजस्व विभागले गत वर्ष अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो । टेन्डरमा सहभागी कम्पनीमध्ये भारतीय कम्पनी मद्रास सेक्युरिटिजको प्रस्ताव स्वीकृतिका लागि विभागले अघि बढाएको थियो । उक्त खरिद प्रक्रिया अघि बढेपछि स्वदेशी कम्पनीलाई प्रतिस्पर्धामा भाग लिन नदिइएको भन्दै नेपाली कम्पनी मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक मनोहरराज घिमिरेले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । जसको आगामी भदौ १५ मा पेसी तोकिएको छ ।

‘नेपाली कम्पनीले अन्तःशुल्क स्टिकर छाप्न पाउने/नपाउने भन्ने मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा फेरि जीटुजी अर्थात् प्रतिस्पर्धा नै नगराई विदेशी कम्पनीलाई सुम्पन खोज्नुको अर्थ कमिसनकै चक्कर हो,’ अर्थका एक अधिकारी दाबी गर्छन्, ‘यो शीर्षकका लागि छुट्टै बजेट विनियोजन भएको छैन ।

रकमान्तर गरेर अर्थ मन्त्रालयले निर्णय गर्नुपर्छ । जसमा अर्थमन्त्रीको भूमिका महत्त्वपूर्ण हुन्छ ।’ त्यसमा पनि लागत अनुमानभन्दा बढी बजेट खर्च गर्ने सरकारको तयारी छ । ‘प्रतिस्पर्धा गराउँदा डेढ अर्ब रुपैयाँमा सकिने काममा जीटुजी गरिए ३ अर्ब खर्च गर्नुपर्छ,’ ती अधिकारीले भने, ‘यति ठूलो अनियमितताको काम पनि चुनावअघि नै सक्ने योजना हो ।’

देउवा, दाहाल र शर्माले फत्ते गर्न चाहेको अर्को काम हो, इन्धन बिक्रीमा निजी क्षेत्रलाई प्रवेश गराउने । हाल डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास कारोबारको एकाधिकार पाएको सरकारी संस्थान हो– आयल निगम । ‘निगमलाई टाट पल्टाउने र यसले काम गर्न सकेन भनेर निजी क्षेत्रलाई प्रवेश गराउने योजना छ,’ एक अधिकारी भन्छन्, ‘भन्ने निजी क्षेत्र हो, बिचौलियाले निश्चित व्यापारिक घराना तयार पारिसकेका छन् । देउवा, दाहाल र शर्माले बिचौलियाले भनेकै व्यापारिक घरानालाई इन्धन बिक्रीको जिम्मा दिने हुन् ।’

त्यसका लागि गत जेठ १० मा मन्त्रिपरिषद्ले योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिसकेको छ । कार्यदलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू सदस्य छन् । ‘यो कार्यदलको बैठक एक पटक पनि बसेको छैन,’ एक सचिवले भने, ‘यस्ता कार्यदल माथिबाट जे आदेश भयो, त्यसैअनुसार प्रतिवेदन बनाउनका लागि गठन गरिन्छ । त्यसकारण यस कार्यदलले के अध्ययन र सिफारिस गर्छ, अहिले भन्न सकिँदैन ।’

ती सचिवको अनुमानमा कार्यदलले निगमको अवस्थाबारे सिफारिस गर्नेछ । ‘प्रधानमन्त्रीमा देउवा र अर्थमन्त्रीमा शर्मा आएलगत्तै निगमलाई निरन्तर घाटा, हानिनोक्सानी हुने गरी काम भएका छन्,’ ती सचिवले भने, ‘यस्तो अवस्थामा कार्यदलले निगमबाटै इन्धन बिक्रीवितरण गर्न नसकिने प्रतिवेदन दिन सक्छ ।’ त्यसपछि निजी क्षेत्रलाई इन्धनमा प्रवेश गराउने प्रक्रिया अघि बढ्ने उनको अनुमान छ । उनले अनुमान गरेझैं हाल इन्धनको मूल्य तोक्ने, करमा छुट नदिने र बिक्रीवितरणमा असहज हुने काम अर्थ मन्त्रालयले गरिरहेको छ ।

असार दोस्रो साता प्रधानमन्त्री देउवासहित शीर्ष दलका नेता, गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव, अर्थ सचिवसहितको बैठकले प्रतिलिटर पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार मूल्य घट्यो भनियो । अर्थमन्त्री शर्माले कर नघटाइदिएपछि निगमले इन्धनको भाउ वृद्धि गरिरहेको छ । सरकारको निर्देशनअनुसार अर्थले कर घटाइदिएको भए गत साउन १ देखि इन्धनको मूल्य थप घट्थ्यो । तर करकै कारण नोक्सानी रहेको भन्दै खुद्रा मूल्य घटाइएको छैन । निगमको नोक्सानी ५५ अर्ब रुपैयाँ पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट १ सय १७ रुपैयाँ ४२ पैसामा खरिद गरिएको पेट्रोलमा ६३ रुपैयाँ ३६ पैसा सरकारी कर/राजस्व जोडिन्छ । ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, विक्रेता कमिसन, ढुवानी भाडासहित जोडेर पेट्रोलको मूल्य १ सय ८१ रुपैयाँ तोकिएको छ । ‘कर पनि नघटाउने, निगमको नोक्सानी पनि नबेहोरिदिने गरेर निगम टाट पल्टाउने काम अर्थले गरिरहेको छ,’ एक अधिकारीले भने, ‘यसको अर्थ इन्धन बिक्रीमा निजी क्षेत्रलाई प्रवेश गराउने र कमिसन लिने भन्ने नै हो ।’

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र अर्थमन्त्री शर्माले फत्ते गर्न चाहेको अर्को काम हो, धितोपत्र ब्रोकरको लाइसेन्स थप । धितोपत्र ब्रोकरको लाइसेन्स वितरण गर्नकै लागि नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरिसकेको छ । प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँगको छलफलका आधारमा ब्रोकर थप्न लागिएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको दाबी छ । लिखित परीक्षाबिनै ब्रोकर लाइसेन्स वितरण गर्ने उक्त प्रस्ताव संघीय संसद्को अर्थ समितिको निर्देशनविपरीत हो । समितिले धितोपत्र कारोबार सम्बन्धमा तोकिएको विशिष्ट पाठ्यक्रममा आधारित जाँच लिई अनुमतिपत्र दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । हाल ५० वटा ब्रोकर छन् ।

धितोपत्रमा जस्तै चलखेल गरी नयाँ बिमा कम्पनीहरूको लाइसेन्स बाँड्ने योजना सरकारको छ । हाल भएका बिमा कम्पनीहरूको संख्या घटाएर पुँजीगत आधार र सेवाको गुणस्तर बलियो बनाउने नीतिविपरीत नियामक निकाय बिमा समितिले नयाँ लाइसेन्स बाँड्ने तयारी थालिसकेको छ । एकातिर संख्या धेरै भएको भन्दै बिमा कम्पनीहरूलाई गाभिन दबाब दिइएको छ भने अर्कातिर सातवटै प्रदेशमा लघु बिमा कम्पनीका लागि लाइसेन्स दिने तयारी समितिले गरेको छ । यो तयारी समितिले मात्रै गरेको होइन, अर्थमन्त्री शर्मा र समग्र सरकारकै इसारा रहेको छ । चालु आर्थिक बजेटमै अर्थमन्त्री शर्माले ‘लघु बिमा कम्पनी स्थापना गरिने’ उल्लेख गरेका छन् ।

बजेटमै उक्त बुँदा समेटिएपछि समितिले लाइसेन्स बाँड्ने प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ । ‘यो कामका लागि निजी क्षेत्रका पहुँचवाला अधिकारीहरूले पैसा उठाउन थालेका छन् । पैसा भन्नाले कम्पनीका लागि सेयर पुँजी र घूस दुवै हो,’ बिमा व्यवसायबारे जानकार एक व्यवसायीले भने । करिब चार वर्षअघि अन्धाधुन्ध लाइसेन्स बाँडेर बिमा कम्पनीको संख्या ४१ पुर्‍याएको समितिले पुनः लाइसेन्स वितरणको तयारी गरेकामा सरोकारवालाले भने विरोध गरिरहेका छन् ।

अर्थमन्त्री शर्मालाई नै अघि सारेर देउवा र दाहालले फत्ते गराउन खोजेका अर्को काम हो, निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज । त्यसको लाइसेन्सका लागि गृहकार्य भइरहेको छ । धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घुमाउरो भाषामा नयाँ स्टक एक्सचेन्जको विषयले प्रवेश पाइसकेको छ । धितोपत्रको दोस्रो बजारलाई थप प्रतिस्पर्धी बनाउने तथा हालको नेप्से र सीडीएसको सेयर संरचनामा सुधार गर्ने बोर्डको योजना छ ।

यस्तै, धितोपत्र बजार, धितोपत्र व्यापारी, धितोपत्र दलाल, मर्चेन्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, निक्षेप सदस्य, आस्बा सदस्य, क्रेडिट रेटिङ संस्था, विशिष्टीकृत लगानी कोष, योग्य संस्थागत लगानीकर्ता तथा अन्य धितोपत्र व्यवसाय गर्न प्राप्त आवेदनहरू अध्ययन गरी अनुमति/दर्ता प्रमाणपत्र प्रदान तथा नवीकरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘यसको अर्थ जुनसुकै बेला नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे निर्णय हुन सक्छ,’ अर्थका एक अधिकारीले भने, ‘खासमा धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा सोझै नयाँ स्टक एक्सचेन्ज खोलिने भन्ने राख्न लागेको थियो । तर अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएपछि सोझै त्यो भाषा प्रयोग नगरिएको हो । तर पनि यो काम निर्वाचनअगावै हुने सम्भावना छ ।’

देउवा–दाहाल र शर्माले फत्ते गर्न खोजेको अर्को काम हो– प्रहरीलाई हतियार खरिद । विदेशी विनिमय सञ्चिति अभाव भई मुलुक आर्थिक रूपमा संकटोन्मुख भइरहेको अवस्थामा सरकारले ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाइसकेको छ । इटालीको बेरेटा कम्पनीका एजेन्टमार्फत १ हजार १ सय ५० थान सटगन, हजार थान पिस्तोल, २५ हजार थान ग्यास सेलसहित गोलीगट्ठा किन्ने गृहकार्य अगाडि बढाइएको छ । अर्थमन्त्री शर्माले यसअघि पदबाट राजीनामा दिनुअगावै बजेट सुनिश्चितताको निर्णय गरिदिएका थिए । विवादका कारण अर्थ मन्त्रालयले बजेट निकासा भने गरेको छैन । ०७१ सालमा सुरु भएको हतियार खरिद प्रक्रिया अहिले फेरि अघि बढाइएको हो । अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की, सरकारका उच्च पदस्थ अधिकारीदेखि एजेन्टसम्मले जसरी पनि डेढ अर्ब रुपैयाँ बराबरका हतियार किन्न जोडबल गरेका थिए । ‘त्यति बेला सफल नभएको यो प्रक्रिया निर्वाचनअघि टुंग्याउने योजना देखिन्छ,’ अर्थका एक अधिकारीले भने, ‘प्रहरीलाई हतियार नभई नहुनेभन्दा पनि कमिसनको खेलमा अघि बढाउन खोजिएको देखिन्छ ।’

विश्लेषक हरि शर्माले नीति निर्माणमा व्यापारिक घराना र बिचौलियाको प्रभाव उच्चतम बिन्दुमा पुगेको ठानेका छन् । ‘नेपाली राजनीतिमा निकै पहिले मध्यस्थता गरिदिने जासुसजस्तो सुब्बा तहको व्यक्ति हुन्थ्यो, कार्यालय प्रमुख (प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी) को सरुवा हुन्थ्यो, सुब्बाको हुँदैनथ्यो,’ उनी भन्छन्, ‘कसले कहाँ नीतिगत भ्रष्टाचार गर्‍यो, त्यसले कसलाई फाइदा पुर्‍यायो भन्ने बाहिर थाहा हुँदैनथ्यो तर ०६२/६३ पछि खुलमखुला काम हुन थाल्यो ।’

विश्लेषक शर्माका अनुसार भ्रष्टाचार आर्थिक अनुशासनहीनता धेरै बिग्रिएको ०६२/६३ पछि हो । ‘बिचौलियाले मन्त्री नै नियुक्त गर्ने, उसका लागि सेवा गर्ने, सेवा गरेको सार्वजनिक हुने र मन्त्रीलाई सफाइ दिने र नेताहरूले फेरि उसैलाई नियुक्ति दिने कुरा नेपाली इतिहासमा नयाँ घटना हो,’ उनले भने, ‘अर्थमन्त्री शर्मा प्रकरणले अब मुलुकमा सक्नेले जे गरे पनि हुन्छ भन्नेतर्फ संकेत गरेको छ । राजनीतिक धर्म निर्वाह भएन । यो जंगलको राज्यजस्तो भयो ।’ लोकतन्त्रको सुन्दर पक्ष जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन लागू नभएको उनले बताए । ‘संसदीय समिति सीसीटीभी फुटेजमा मात्रै पस्यो, करको दर हेरफेर गरेको हो कि होइन भन्नेतर्फ ऊ छिर्दै छिरेन,’ उनले भने, ‘खासमा सरकारी गोपनीयता भंग नगर्ने, स्वच्छन्दता नदिने र पारदर्शिता नराख्ने भन्ने विषयको छानबिन संसदीय समितिले गर्ने होइन । अपराधका दृष्टिबाट छानबिन र अनुसन्धान गर्नुपर्छ ।’

प्रकाशित : श्रावण १६, २०७९ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×