कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९
काभ्रे बस दुर्घटना

दाजुभाइले उठाए परिवारका ८ शव

परिवारका शव जिम्मा लिने कोही नभएपछि ६ महिनामै फर्किए विदेशिएका दाजुभाइ 
एकै परिवारका आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन सकेनन्, आफन्त र गाउँले भावविह्वल बने
ज्योति श्रेष्ठ

काभ्रे — बनेपा–११ सल्लेका अमर–जयराम तामाङ दाजुभाइ वैदेशिक रोजगारमा गएको ६ महिना पनि भएको थिएन । बेरोजगारीले सताएपछि २३ वर्षीय अमर असारमा जापान र दाजु जयराम असोजमा मलेसिया उडेका थिए । चार दाजुभाइमध्ये अमर कान्छो र जयराम साइँलो हुन् ।

दाजुभाइले उठाए परिवारका ८ शव

केही वर्ष विदेशमै पसिना चुहाएर घर फर्किने योजनामा उनीहरू ढुक्क बन्दै थिए । तर, मंगलबारको घटनाले छोटो समयमै स्वदेश फर्किनुपरेको छ ।

उनीहरूको परिवार बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा भान्जाको छेवर (व्रतबन्ध) मा सहभागी हुन गएका थिए । शुभकार्य सकेर फर्कंदै गर्दा उनीहरू चढेको बा३ख ४३८५ नम्बरको बस बेथानचोक–४ चलाल गणेशस्थानमा दुर्घटनामा पर्‍यो । १७ जनाले ज्यान गुमाएकामा तामाङ परिवारभित्रकै आठ सदस्य परेका थिए ।

दुर्घटनामा उनीहरूले ७९ वर्षीया हजुरआमा निर्मलामाया तामाङ, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया जेठी भाउजू मञ्जु, ११ वर्षीय भतिज पुष्कर, ३० वर्षीय माइलो दाइ बुद्ध, २७ वर्षीय माइली भाउजू कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमालाई गुमाए । गम्भीर घाइते भएका जेठा दाइ राजनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ६ वर्षीया भतिजी श्रेया घाइते छिन्, उनले दुर्घटनामा आमाबुबा दुवैलाई गुमाइन् ।शव जिम्मा लिने व्यक्ति नहुँदा चार दिनदेखि आठ वटै शव धुलिखेल अस्पतालमा राखिएको थियो ।

काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको मृत्यु

बिहीबार राति मात्रै दाजुभाइ फर्किएपछि शुक्रबार दिउँसो अस्पतालले जिम्मा लगाएको थियो । शव गृहबाट एकै परिवारको आठ वटा शव निस्किँदा दाजुभाइ सम्हालिन सकेनन् भने सँगै गएका आफन्त र गाउँले पनि भावविह्वल बने । बुद्ध धर्म मान्ने भएकाले मृतक सबैको अन्त्येष्टिका लागि काठमाडौंको स्वयम्भू लगिएको बनेपा नगरपालिका–११ का वडाध्यक्ष शिवकुमार थापाले बताए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका अरू ९ जनाको बुधबार नै अन्त्येष्टि गरिएको थियो ।

दुर्घटनामा २२ जना घाइते भएकामा ३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धुलिखेल अस्पतालमा पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, ३३ वर्षीया निरुमाया तामाङ, ३९ वर्षीय पेमा तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ र ३७ वर्षीय रवि तामाङ उपचाररत छन् । ३२ वर्षीय विकास तामाङ, ४१ वर्षीया कविता तामाङ, सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, २९ वर्षीय देवराज तामाङ र ३३ वर्षीय विजय वाइबाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंको वीर अस्पताल ट्रमा सेन्टर, ३ वर्षीय सुशान्त तामाङ, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङ र १९ वर्षीय निर्मला तामाङको अन्नपूर्ण न्युरो अस्पताल, बेथानचोक–५ का १३ वर्षीय योगेश तामाङको बालमैत्री अस्पताल, बनेपाका २० वर्षीय रूपक तामाङको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार पीडित, यातायात व्यवसायी र स्थानीय जनप्रतिनिधिबीच भएको छलफलमा घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन यातायात व्यवसायी सहमत भएका छन् ।

प्रकाशित : पुस २, २०७९ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?