भूतपूर्व गोर्खाका मागबारे बेलायतसँग तेस्रो वार्ता, पेन्सन र वेलफेयरमाथि छलफल- समाचार - कान्तिपुर समाचार

भूतपूर्व गोर्खाका मागबारे बेलायतसँग तेस्रो वार्ता, पेन्सन र वेलफेयरमाथि छलफल

नवीन पोखरेल

लन्डन — भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा तेस्रो चरणको वार्ता भएको छ । बिहीबार बिहान र दिउँसो गरी दुई सत्रमा झन्डै ५ घण्टा भएको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको भूतपूर्व गोर्खाहरुले बताएका छन् । 

लन्डनस्थित नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) को रक्षा मन्त्रालय एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच प्राविधिक स्तरको तेस्रो चरणमा त्रिपक्षीय वार्ता भएको हो ।

उक्त वार्ताको बिहानी सत्रमा भूतपूर्व गोर्खाहरुको औषधि उपचार, शिक्षा, रोजगारीलगायत अन्य कल्याणकारी विषय (वेलफेयर) र दिवा सत्रमा अघिल्लो चरणमा बाँकी रहेका पेन्सनसम्बन्धी विषयमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

वार्तामा नेपाली पक्षले उठाएका माग सम्बन्धमा रक्षा मन्त्रालयका पदाधिकारीहरुले सूक्ष्म रूपमा चासो राखी आगामी दिनमा थप छलफलका लागि आफूहरू तयार रहेको बताएको वार्तामा सहभागी दूतावासका द्वितीय सचिव रामबाबु नेपालले जनाए । 'बेलायती प्रतिनिधिले दूतावास र गोर्खाहरुका कुरा राम्ररी सुनेपछि अर्को वार्तामा थप अध्ययन गरी आउँछौँ भनेका छन्,' नेपालले कान्तिपुरसँग भने ।

अर्को वार्ता मितिबारे आफ्नो सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको पनि नेपालले जानकारी दिए । भूतपूर्व गोर्खाहरुका तर्फबाट मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले वेलफेयर र पेन्सनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाए ।

यसपटकको वार्तामा नेपालबाटै भर्चुअल सहभागिता जनाएका गुरुङले वार्ता सकारात्मक दिशातर्फ बढेको जनाउँदै बेलायती अधिकारीहरुले पेन्सन ‘नीति’ परिवर्तनका लागि थप अध्ययन गर्नुपर्ने भए पनि 'नीति कार्यान्वयन' पक्षका केही कमजोरी भए सच्याउन कुनै समस्या नरहेको बताएका उल्लेख गरे ।

उक्त छलफलमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपाल सहभागी थिए भने बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालय एवं सो अन्तर्गत विभिन्न निकायका पदाधिकारीहरु थिए ।

भूतपूर्व गोर्खाहरुका तर्फबाट अवकासप्राप्त तीनजना गोर्खा मेजर जुदबहादुर गुरुङ, टिकेन्द्रदल देवान र उदयबहादुर गुरुङ एवं केशबहादुर गुरुङ तथा धर्मबहादुर तामाङ सहभागी थिए । भूतपूर्व गोर्खाहरुले गोरा सैनिक सरह समान पेन्सन र अन्य सेवा सुविधा पाउनुपर्ने अडानसहित लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : पुस १, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

प्राध्यापक सुवेदीलाई बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका

नवीन पोखरेल

लन्डन — बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो । ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानुनका प्रबुद्ध विद्वानहरूको मध्यस्थता (आर्बिट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो ।

त्यहीप्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानुनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय कानूनका थुप्रै शीर्षस्थ विद्वान भएको बेलायतबाट छानिने ६ जनाको नाममा आफ्नो नाम पनि समावेश भएकामा प्राध्यापक सुवेदीले आफू गौरवान्वित भएको बताएका छन् ।

प्रकाशित : पुस १, २०७९ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×