गणित र विज्ञानका धेरै शिक्षक अनुत्तीर्ण- समाचार - कान्तिपुर समाचार

गणित र विज्ञानका धेरै शिक्षक अनुत्तीर्ण

सुदीप कैनी

काठमाडौँ — शिक्षक सेवा आयोगले मधेस प्रदेशमा निम्न माध्यमिक तहका ३५ जना विज्ञान शिक्षकका लागि आवेदन माग्दा ३२ जनाले मात्रै परीक्षा दिए । तीमध्ये ७ जना लिखित परीक्षामा सफल भए । मधेसमा मात्रै होइन देशभर निमावि तहमा ४ सय ४० स्थायी विज्ञान शिक्षक माग गर्दा २ सय ५७ मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् ।

वाग्मतीमा ८७ जना निमावि गणित शिक्षकको विज्ञापन गर्दा ७२ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । सातै प्रदेशमा ३ सय ७२ जना गणित शिक्षकका लागि खुला प्रतिस्पर्धा गराउँदा लुम्बिनीबाहेक अन्य प्रदेशमा माग संख्याभन्दा धेरै प्रतियोगी पास हुन सकेनन् । लुम्बिनीमा ३५ जना गणित शिक्षक माग गर्दा ४ सय ८९ मध्ये ४० जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरे । निमावि तहको १० वटा विषय शिक्षक परीक्षामा ८५ हजार ६ सय ७७ जना परीक्षामा सहभागी हुँदा २ हजार ५ सय १ जना मात्रै लिखित परीक्षामा सफल भएका छन् । माग संख्या २ हजार ६ सय ६ जना थियो ।

माध्यमिक तहमा पनि आयोगले माग संख्याअनुसार शिक्षक पाउन सकेन । आयोगको नतिजाअनुसार मधेसमा माग गरेभन्दा कम उम्मेदवारले मात्रै यी विषयको शिक्षक बन्न दरखास्त दिएका थिए । प्रदेश १ मा ७६ जना मावि गणित शिक्षक माग गर्दा २८ जना मात्रै सामान्य र विषयगत परीक्षा उत्तीर्ण गर्न सफल भए भने गण्डकी प्रदेशमा सोही विषयको ५५ जनाको रिक्त दरबन्दी पूरा गर्ने आयोगको लक्ष्य पनि पूरा हुन सकेन । त्यहाँ ३२ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण बने । कर्णालीमा ३५ र सुदूरपश्चिममा २९ जना मावि गणित शिक्षकको पदपूर्तिका लागि सञ्चालन गरिएको परीक्षामा २८ र २७ जना मात्रै पास भए ।

माध्यमिक तहका १५ विषयका लागि १ हजार ५ सय ५२ स्थायी शिक्षकको माग गरिएकामा ११ सय ८२ जना मात्रै नियुक्तिका लागि सिफारिस भएको आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले बताए । परीक्षा उत्तीर्ण नभएर रिक्त रहेको पदमा पुनः विज्ञापन गरिने आयोगले जनाएको छ । यी परीक्षामा सहभागीहरू गणित र विज्ञान विषय लिएर कम्तीमा निमाविका लागि कक्षा १२ र माविका लागि स्नातक उत्तीर्ण गरेका र अधिकांश अध्यापन अनुमतिपत्र लिएकाहरू हुन् ।

आयोगको नतिजा विश्लेषण गर्दा सबैभन्दा बढी शिक्षक गणित र विज्ञान विषयमा असफल भएका छन् । अंग्रेजी, सामाजिक, नेपालीलगायतका विषयमा पनि मागअनुसार शिक्षक उत्तीर्ण हुन सकेनन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सार्वजनिक गरेको कक्षा १० र १२ को नतिजामा पनि गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी सबैभन्दा बढी कमजोर भेटिएका थिए । ५२ प्रतिशत विद्यार्थीको नतिजा यी विषयमा नन–ग्रेडिङ (एनजी) आएको थियो । कक्षा १० को नतिजामा १ लाख ८८ विद्यार्थीको गणितमा न्यूनको जनाउ दिने ‘ई ग्रेड’ आएको थियो भने त्यसपछि विज्ञान र अंग्रेजीमा ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीको संख्या धेरै छ । कक्षा १२ को नतिजामा १ लाखभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन–ग्रेडिङमा परेका थिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक मुकुन्द क्षेत्री पठनपाठनको संस्कृति घट्दै गएकाले विद्यार्थी र खुला प्रतियोगिताको प्रतिस्पर्धाको नतिजा कमजोर आएको बताउँछन् । ‘फुर्सदमा पढ्ने संस्कृति बढ्दो छ, शिक्षक तयारीका लागि सहयोग छैन,’ उनले भने, ‘विश्वविद्यालयमा पनि गणित, विज्ञान, अंग्रेजीलगायत बिषय पढ्ने विद्यार्थीको संख्या घट्दै गएको छ ।’

देशभरका सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षकको सबैभन्दा बढी अभाव छ । २०७५ सालमा गरिएको अध्ययनमा ७१ वटा माविमा मात्रै यी विषयका दरबन्दीका शिक्षक रहेको पाइएको थियो । आयोगले रिक्त दरबन्दी पूर्तिका लागि लिएको परीक्षामा समेत शिक्षक पाउन मुस्किल भएको हो । मागअनुसार शिक्षक उत्तीर्ण नभएपछि आयोगका पदाधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव रामकृष्ण सुवेदीलगायत विश्वविद्यालयका उपकुलपतिहरूलाई जानकारी गराएका छन् । सामान्य र विषयगत परीक्षामा ५० प्रतिशत अंक ल्याउन नसक्ने परीक्षार्थी अनुत्तीर्ण हुने व्यवस्था छ ।

खुल्ला प्रतिस्पर्धाको निराशाजनक नतिजाका विषयमा शिक्षक मासिकले बिहीबार ‘शिक्षक अभाव, कारण र परिणाम’ विषयक छलफल गरेको थियो । छलफलमा सहभागी शिक्षाकर्मीले सार्वजनिक शिक्षाप्रति राज्यको बेवास्ता, शिक्षक पेसाप्रति वितृष्णा, सेवासुविधा, राजनीतिक हस्तक्षेप, विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन शैली र पाठ्यक्रमका कारण सन्तोषजनक नतिजा आउन नसकेको टिप्पणी गरे ।

महेन्द्ररत्न क्याम्पस ताहाचलकी अध्यापक अञ्जली अधिकारीले शिक्षक उत्पादन गर्न राज्यले ध्यान नदिएका कारण आयोगको नतिजा निराशाजनक आएको औंल्याइन् । ‘शिक्षक बन्न आकर्षण देखिँदैन, एसईईमा कमजोर ग्रेड ल्याउने विद्यार्थी मात्रै शिक्षा संकाय पढ्न आउँछन्,’ उनले भनिन्, ‘जबरजस्ती पास भएका विद्यार्थीले कसरी राम्रो अंक ल्याएर प्रतिस्पर्धामा उत्रन सक्छन् ?’ योग्य शिक्षक तयार पार्न राज्यले लगानी गर्नुपर्ने र न्यून ग्रेड ल्याएर उत्तीर्ण विद्यार्थीले शिक्षा संकाय पढ्न पाउने मापदण्ड नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

प्राध्यापक विनय कुसियतले अब्बल विद्यार्थीलाई शिक्षक बनाउने नीति राज्यले नलिएसम्म शिक्षक अभाव भइराख्ने बताए । ‘राम्रो शिक्षक तयार पार्न विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ राम्रो हुनुपर्छ, वर्षौंदेखि विश्वविद्यालय र सेवा आयोगको पाठ्यक्रम परिवर्तन भएको छैन,’ उनले भने । राजनीतिक दलले निजीलाई पोस्ने नीति लिँदा सार्वजनिक शिक्षा धराशायी बन्दै गएको उनको भनाइ छ ।

गत साउनमा आयोगले सार्वजनिक गरेको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा १८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । १ लाख ८१ हजार जनाले लाइसेन्स परीक्षा दिएकामा ३३ हजार उत्तीर्ण भएको आयोगको तथ्यांक छ । करिब ७ लाख जनाले लाइसेन्स पाइसकेका छन् तर पनि माग संख्याअनुसार शिक्षक प्रतिस्पर्धामा सफल हुन सकेनन् ।

सानोठिमी क्याम्पस भक्तपुरका उपप्राध्यापक प्रीति मण्डलले अब्बल शिक्षक भेटिन छाडेको तर्क गरिन् । ‘पहिले मधेसबाट शिक्षक बनेर पहाड र हिमालसम्म जान्थे, अहिले मधेसमा नै शिक्षक पाउन मुस्किल हुन थाल्यो,’ उनले भनिन्, ‘शिक्षक बन्दाको प्रतिष्ठा, सेवा सुविधा र अति राजनीतिक हस्तक्षेपले क्षमतावान् विद्यार्थी शिक्षक बन्न चाहँदैनन् ।’ त्रिवि सेवा आयोगले सञ्चालन गरेको परीक्षामा पनि गणित, विज्ञानलगायतका विषयमा उत्तीर्ण दर न्यून रहेको छ । गतवर्ष उपप्राध्यापक, शाखा अधिकृत पदमा माग संख्या जति परीक्षार्थी पास हुन सकेका थिएनन् ।

त्रिविका उपप्राध्यापक बालकृष्ण अधिकारीले विद्यालय, विश्वविद्यालय, सेवा आयोग र पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन, परीक्षालगायत समग्र प्रणालीमा तालमेल नहुँदा आयोगको प्रतिस्पर्धा खुम्चिँदै गएको बताए । ‘शिक्षाप्रति नै विद्यार्थी र समाजको वितृष्णा बढ्दै गएको हो कि जस्तो देखिन्छ, विद्यालय र उच्च शिक्षाबीच आपसी समन्वय हुन जरुरी छ,’ उनले भने । ताहाचल शिक्षा क्याम्पसका उप्राध्यापक माधव गौतमले सामाजिक आर्थिक र राजनीतिक कारणले पनि नयाँ पुस्ता शिक्षा क्षेत्र, संकाय र शिक्षा पेसामा आउन नचाहेको टिप्पणी गरे ।

३७ सय शिक्षकका लागि अवसर

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रमा करिब ३ हजार ७ सय रिक्त दरबन्दी पूर्ति गर्न शिक्षक सेवा आयोगसँग माग गरेको छ । प्राथमिक तहमा ३ हजार, निमाविमा ३ सय र मावि तहमा ४ सय शिक्षकको दरबन्दी रिक्त रहेको केन्द्रका प्रवक्ता रुद्र अधिकारीले बताए । ‘रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न माग गरी पठाएको छौं, छिट्टै विज्ञापन खुल्छ होला,’ उनले भने ।

आयोगले केन्द्रको मागअनुसार विज्ञापन खोल्ने तयारी गरिरहेको जनाएको छ । गतवर्ष करिब १७ हजार शिक्षकको विज्ञानन खुलेको थियो । माध्यमिक तहको अन्तर्वार्ता सकेर नियुक्तिका लागि सिफारिस गरिएको छ । आयोगले सिफारिस गरेका शिक्षकलाई केन्द्रमार्फत शिक्षा विकास तथा समन्वय इकाइहरूले नियुक्ति गर्न थालेका छन् । ११ सय ८२ मावि शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेको हो ।

त्यस्तै, निमावि तहको लिखित परीक्षामा सफल २ हजार ५ सय १ जनाको अन्तर्वार्ता बुधबारदेखि सुरु भएको छ । अन्तिम नतिजा सार्वजनिक गरेर केन्द्रलाई शिक्षक सिफारिस गरिने आयोगले जनाएको छ । प्राथमिक तहको भने लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको छैन । आयोगले वार्षिक कार्यतालिका बनाएर लाइसेन्स, खुला प्रतिस्पर्धा, आन्तरिक बढुवाको काम अघि बढाएको छ । तिनै तहको शिक्षक सिफारिस गरेपछि अर्को विज्ञापन गर्ने र त्यसपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ ।

प्रकाशित : पुस १, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो कानुनसहितका दस्ताबेज मन्त्रालयबाटै गायब

शिक्षासम्बन्धी पुराना र महत्त्वपूर्ण कागजात पनि बेवारिस
सुदीप कैनी

काठमाडौँ — नेपालको शिक्षासम्बन्धी पहिलो कानुन इस्तिहार शिक्षा मन्त्रालयको भण्डारण शाखाबाटै हराएको आशंका छ । इस्तिहार खोजीको विषय बनिरहँदा मन्त्रालयका विभिन्न दस्ताबेजलगायतका पुराना कागजात पनि बेवारिस फेला परेका छन् । शिक्षा मन्त्रालयका महत्त्वपूर्ण निर्णय पुस्तिका, प्रतिवेदन, पुस्तकलगायत पुराना दस्ताबेज असरल्ल फ्याँकिएका छन् ।

मन्त्रालयको भण्डार शाखाको जिम्मामा रहेका दस्ताबेज सुरक्षित गर्नुपर्नेमा बेवास्ता गरिएको छ । मन्त्रालयसँग सम्बन्धित पुराना कागजात असरल्ल पार्दा केशरमहलको पुनर्निर्माणमा समेत अवरोध पुगेको छ । निर्माण कम्पनीले पुराना कागजातसहित काठपात हटाउन पटकपटक ताकेता गरे पनि मन्त्रालयलगायत सरोकारवाला निकायले बेवास्ता गरेको गुनासो छ । केशरमहल परिसरमा शिक्षा मन्त्रालयसँग सम्बन्धित १० देखि ४० वर्षसम्म पुराना पुस्तक, प्रतिवेदन, निर्णय पुस्तिका, टिप्पणी, फाइललगायत अन्य महत्त्वपूर्ण कागजात गलिसकेको अवस्थामा भेटिएका छन् ।

पुनर्निर्माणका क्रममा केशर पुस्तकालय परिसरमा पुस्तकलगायत केही महत्त्वपूर्ण कागजात बेवारिस देखिएपछि कबाडमा बेच्न लागिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठेको छ । ती सामग्री पुस्तकालयको नभए पनि मन्त्रालयसँग सम्बन्धित रहेको पुष्टि भएको हो । पुस्तकालय प्रमुख सुरेशकुमार यादवले पुस्तक, दस्ताबेजलगायत सामग्री चार वटा अस्थायी टहरा बनाएर सुरक्षित राखिएको जनाए । ‘पुस्तकालयको सामग्री रेकर्डसहित सुरक्षित राखिएको छ,’ उनले भने, ‘केशरमहलमा पहिले शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, युनेस्कोको कार्यालय थियो, तिनैको पुराना कागजात पुनर्निर्माणका क्रममा हटाइएको हो ।’

कोठाभित्र रहेका कागजात खुला आकाशमुनि चौरमा फालेपछि कवाडीले टिपटाप पारेर लैजाने तयारी भइरहेको छ । कुन कागजात आवश्यक र महत्त्वपूर्ण छन्, कुन–कुन अनावश्यक र अनुपयोगी छन्, ख्यालै नगरी ‘फोहोर जसरी’ थुप्रो लगाएर राखिएको प्रत्यक्षदर्शीहरूले बताए ।

निर्माण कम्पनी जेडसीजीआई/खानी जेभीले समेत यी निकायलाई ती कागजात हटाइदिन आग्रह गर्दै आएको थियो । करिब एक महिनाअघि मन्त्रालयको एनओसी र छात्रवृत्ति शाखा सानोठिमीमा सरेको थियो । कार्यालय सरेपछि भण्डारण गरेर राखिएको कागजात कम्पनीका कर्मचारीले बाहिर निकालेको त्यहाँका कामदारले बताए ।

आयोजना व्यवस्थापक रनकान्त सापकोटाले कागजात कुहिन थालेकाले फिँजाएर सुकाएको बताए । ‘हामीले कागजातसहित काठपात हटाउन भनेका थियौं, हटाइदिनुभएको छैन, मन्त्रालयलाई पत्राचार गर्दा कबाडमा बेच्ने कागजात हुन् भन्ने जवाफ आएको छ,’ उनले भने, ‘केही किताब भेटेर सुरक्षित राखिदएका छौं ।’

महत्त्वपूर्ण लागेका कागजात टिपेर र्‍याकमा राखिदिने गरेको उनले सुनाए । शिक्षा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव भगवान अर्याललगायत कर्मचारी आएर पटकपटक ती कागजात निरीक्षण गरी काम नलाग्ने भनेको कामदारहरूले सुनाए । अर्यालकै निर्देशनमा कम्पनीले कागजात कबाडमा बेच्न लागेको पुस्तकालयका कर्मचारीको भनाइ छ ।

पूर्वसचिव खेमराज रेग्मीले मन्त्रालयका कागजात वर्गीकरण गरेर छुट्टाछुट्टै भण्डारण र संरक्षण गरेर राख्नुपर्ने जनाए । ‘खासगरी मन्त्रालयसँग २/३ खाले कागजात हुन्छन्, कतिपय कहिल्यै नष्ट गर्न नहुने ऐतिहासिक हुन्छन्, केही कम महत्त्वका भए पनि निश्चित समयसम्म राख्नुपर्ने हुन्छ र तेस्रो प्रयोजन सकिएपछि तत्काल नष्ट गर्न सकिने हुन्छ ।’ ती सामग्री वर्गीकरण गरेर मात्र धुलाई गर्न सकिने उनको सुझाव छ । ‘ऐन, नियम, नीति, पुस्तकहरू ऐतिहासिक हुन्छन्,’ उनले भने, ‘भद्रगोल पार्नु हुँदैन, त्यस्ता कुरा संग्रह गरेर राख्नुपर्छ ।’

२०७२ को भूकम्प अघिसम्म शिक्षा मन्त्रालयसहितका ती निकाय केशरमहलमा थिए । पुनर्निर्माणका लागि ती निकाय हाल त्यहाँबाट हटाइएको छ । पुनर्निर्माण सकेपछि केशरमहलमा पुस्तकालय र चिकित्सा शिक्षा कार्यालयको स्थापना गर्ने तयारी छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले भूकम्पअघिका काम नलाग्ने कागजात त्यही भण्डारमा रहेको जनाए । ‘भूकम्पका बेला तत्काल प्रयोग हुने कागजातलगायत सामग्री लिएर सिंहदरबार सर्‍यौं,’ उनले भने, ‘प्रयोग नहुने कागजात त्यहीँ राखिएको थियो ।’

मन्त्रालयले काम लाग्ने कागजात भने पनि कतिपय पुस्तकचाहिँ पुस्तकालयमा राख्न मिल्ने किसिमको रहेको कर्मचारीहरू बताउँछन् । तीमध्ये अधिकांश कागजात घामपानीले गलेर काम नलाग्ने भइसकेको देखिन्छ । काठमाडौंका सम्पदाहरूको तस्बिर रहेको ४४ वर्षअघि प्रकाशित पुस्तक, शिक्षाका पुराना ऐन–नियमहरूको संग्रहलगायतका सयौं पुस्तक पनि फालिएको छ ।

‘शिक्षा मन्त्रालयले गैरजिम्मेवारीपूर्वक आफ्ना कागजात फालेर हिँडेको छ, कतिपय सामग्री त विद्यालयका पुस्तकालयलाई दिन सकिने खालका पनि छन्,’ कम्पनीका एक इन्जिनियरले भने । फालिएका ठाउँबाट महत्त्वपूर्ण लागेका पुस्तक कम्पनीका कामदारले टिपेर सुरक्षित राख्ने गरेका छन् । कतिपय सामग्री अनुसन्धानलगायत इतिहास पढ्न, बुझ्न र जान्न इच्छुकहरूका लागि पनि उपयोगी हुने खालका रहेका कर्मचारी बताउँछन् । प्रवक्ता शर्माले फालिएका कागजात केलाएर उपयोगी जति सुरक्षित राखिने आश्वासन दिए । ‘भवन बनिसकेपछि भित्रै राख्ने कुरा थियो, अलि ढिलाइ भएर समस्या भएको हो,’ उनले भने ।

पुराना कर्मचारीका अनुसार २०६८ सालमा शिक्षा मन्त्रालयको केही अंश सिंहदबार सरेदेखि नै ती सामग्री केशर पुस्तकालयमा अलपत्र थिए । २०७२ को भूकम्पपछि शिक्षा मन्त्रालय पूर्णतया सिंहदबार सरेको थियो । शिक्षा सेवाका पूर्वकर्मचारी नारायण झाले ४० को दशकमा प्रकाशित गरेको ‘नेपालको शैक्षिक दर्पण’ पुस्तकमा इस्तिहार शिक्षा मन्त्रालयको भण्डार शाखामा रहेको उल्लेख गरेको पत्रकार तथा राणाकालीन शिक्षा पुस्तकका लेखक प्रकृति अधिकारीले बताए । इस्तिहार १९९६ माघ ८ मा प्रकाशित भएको अनुमान गरिएको छ ।

तीन वर्षअघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले इस्तिहार जारी भएको दिन शिक्षा दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका थिए । तर प्रधानमन्त्री कार्यालयले इस्तिहारको खोजी गर्दा भण्डार शाखामा भेटिएन । ‘मन्त्रालय सिंहदबार सरेका बेला पुराना कागजात केशरमहलमै छाडिएको थियो,’ उनले भने, ‘इस्तिहार पनि केशरमहलमै छुटेर हराएको हुन सक्छ ।’ मन्त्रालयमा आवश्यक र अनावश्यक सामग्री छुट्याएर राख्ने परिपाटी नै नभएको कर्मचारीहरू बताउँछन् । इस्तिहार नभेट्दा शिक्षा दिवस मनाउने दिन पनि टुंगो लाग्न सकेको छैन ।

प्रकाशित : मंसिर २२, २०७९ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×