गणित र विज्ञानका धेरै शिक्षक अनुत्तीर्ण

सुदीप कैनी

काठमाडौँ — शिक्षक सेवा आयोगले मधेस प्रदेशमा निम्न माध्यमिक तहका ३५ जना विज्ञान शिक्षकका लागि आवेदन माग्दा ३२ जनाले मात्रै परीक्षा दिए । तीमध्ये ७ जना लिखित परीक्षामा सफल भए । मधेसमा मात्रै होइन देशभर निमावि तहमा ४ सय ४० स्थायी विज्ञान शिक्षक माग गर्दा २ सय ५७ मात्रै अन्तर्वार्ताका लागि छनोटमा परेका छन् ।

गणित र विज्ञानका धेरै शिक्षक अनुत्तीर्ण

वाग्मतीमा ८७ जना निमावि गणित शिक्षकको विज्ञापन गर्दा ७२ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । सातै प्रदेशमा ३ सय ७२ जना गणित शिक्षकका लागि खुला प्रतिस्पर्धा गराउँदा लुम्बिनीबाहेक अन्य प्रदेशमा माग संख्याभन्दा धेरै प्रतियोगी पास हुन सकेनन् । लुम्बिनीमा ३५ जना गणित शिक्षक माग गर्दा ४ सय ८९ मध्ये ४० जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरे । निमावि तहको १० वटा विषय शिक्षक परीक्षामा ८५ हजार ६ सय ७७ जना परीक्षामा सहभागी हुँदा २ हजार ५ सय १ जना मात्रै लिखित परीक्षामा सफल भएका छन् । माग संख्या २ हजार ६ सय ६ जना थियो ।

माध्यमिक तहमा पनि आयोगले माग संख्याअनुसार शिक्षक पाउन सकेन । आयोगको नतिजाअनुसार मधेसमा माग गरेभन्दा कम उम्मेदवारले मात्रै यी विषयको शिक्षक बन्न दरखास्त दिएका थिए । प्रदेश १ मा ७६ जना मावि गणित शिक्षक माग गर्दा २८ जना मात्रै सामान्य र विषयगत परीक्षा उत्तीर्ण गर्न सफल भए भने गण्डकी प्रदेशमा सोही विषयको ५५ जनाको रिक्त दरबन्दी पूरा गर्ने आयोगको लक्ष्य पनि पूरा हुन सकेन । त्यहाँ ३२ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण बने । कर्णालीमा ३५ र सुदूरपश्चिममा २९ जना मावि गणित शिक्षकको पदपूर्तिका लागि सञ्चालन गरिएको परीक्षामा २८ र २७ जना मात्रै पास भए ।

माध्यमिक तहका १५ विषयका लागि १ हजार ५ सय ५२ स्थायी शिक्षकको माग गरिएकामा ११ सय ८२ जना मात्रै नियुक्तिका लागि सिफारिस भएको आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले बताए । परीक्षा उत्तीर्ण नभएर रिक्त रहेको पदमा पुनः विज्ञापन गरिने आयोगले जनाएको छ । यी परीक्षामा सहभागीहरू गणित र विज्ञान विषय लिएर कम्तीमा निमाविका लागि कक्षा १२ र माविका लागि स्नातक उत्तीर्ण गरेका र अधिकांश अध्यापन अनुमतिपत्र लिएकाहरू हुन् ।

आयोगको नतिजा विश्लेषण गर्दा सबैभन्दा बढी शिक्षक गणित र विज्ञान विषयमा असफल भएका छन् । अंग्रेजी, सामाजिक, नेपालीलगायतका विषयमा पनि मागअनुसार शिक्षक उत्तीर्ण हुन सकेनन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सार्वजनिक गरेको कक्षा १० र १२ को नतिजामा पनि गणित, विज्ञान र अंग्रेजी विषयमा विद्यार्थी सबैभन्दा बढी कमजोर भेटिएका थिए । ५२ प्रतिशत विद्यार्थीको नतिजा यी विषयमा नन–ग्रेडिङ (एनजी) आएको थियो । कक्षा १० को नतिजामा १ लाख ८८ विद्यार्थीको गणितमा न्यूनको जनाउ दिने ‘ई ग्रेड’ आएको थियो भने त्यसपछि विज्ञान र अंग्रेजीमा ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीको संख्या धेरै छ । कक्षा १२ को नतिजामा १ लाखभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन–ग्रेडिङमा परेका थिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक मुकुन्द क्षेत्री पठनपाठनको संस्कृति घट्दै गएकाले विद्यार्थी र खुला प्रतियोगिताको प्रतिस्पर्धाको नतिजा कमजोर आएको बताउँछन् । ‘फुर्सदमा पढ्ने संस्कृति बढ्दो छ, शिक्षक तयारीका लागि सहयोग छैन,’ उनले भने, ‘विश्वविद्यालयमा पनि गणित, विज्ञान, अंग्रेजीलगायत बिषय पढ्ने विद्यार्थीको संख्या घट्दै गएको छ ।’

देशभरका सामुदायिक विद्यालयमा गणित, विज्ञान र अंग्रेजी शिक्षकको सबैभन्दा बढी अभाव छ । २०७५ सालमा गरिएको अध्ययनमा ७१ वटा माविमा मात्रै यी विषयका दरबन्दीका शिक्षक रहेको पाइएको थियो । आयोगले रिक्त दरबन्दी पूर्तिका लागि लिएको परीक्षामा समेत शिक्षक पाउन मुस्किल भएको हो । मागअनुसार शिक्षक उत्तीर्ण नभएपछि आयोगका पदाधिकारीले शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव रामकृष्ण सुवेदीलगायत विश्वविद्यालयका उपकुलपतिहरूलाई जानकारी गराएका छन् । सामान्य र विषयगत परीक्षामा ५० प्रतिशत अंक ल्याउन नसक्ने परीक्षार्थी अनुत्तीर्ण हुने व्यवस्था छ ।

खुल्ला प्रतिस्पर्धाको निराशाजनक नतिजाका विषयमा शिक्षक मासिकले बिहीबार ‘शिक्षक अभाव, कारण र परिणाम’ विषयक छलफल गरेको थियो । छलफलमा सहभागी शिक्षाकर्मीले सार्वजनिक शिक्षाप्रति राज्यको बेवास्ता, शिक्षक पेसाप्रति वितृष्णा, सेवासुविधा, राजनीतिक हस्तक्षेप, विद्यालयदेखि विश्वविद्यालयसम्मका पठनपाठन शैली र पाठ्यक्रमका कारण सन्तोषजनक नतिजा आउन नसकेको टिप्पणी गरे ।

महेन्द्ररत्न क्याम्पस ताहाचलकी अध्यापक अञ्जली अधिकारीले शिक्षक उत्पादन गर्न राज्यले ध्यान नदिएका कारण आयोगको नतिजा निराशाजनक आएको औंल्याइन् । ‘शिक्षक बन्न आकर्षण देखिँदैन, एसईईमा कमजोर ग्रेड ल्याउने विद्यार्थी मात्रै शिक्षा संकाय पढ्न आउँछन्,’ उनले भनिन्, ‘जबरजस्ती पास भएका विद्यार्थीले कसरी राम्रो अंक ल्याएर प्रतिस्पर्धामा उत्रन सक्छन् ?’ योग्य शिक्षक तयार पार्न राज्यले लगानी गर्नुपर्ने र न्यून ग्रेड ल्याएर उत्तीर्ण विद्यार्थीले शिक्षा संकाय पढ्न पाउने मापदण्ड नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

प्राध्यापक विनय कुसियतले अब्बल विद्यार्थीलाई शिक्षक बनाउने नीति राज्यले नलिएसम्म शिक्षक अभाव भइराख्ने बताए । ‘राम्रो शिक्षक तयार पार्न विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ राम्रो हुनुपर्छ, वर्षौंदेखि विश्वविद्यालय र सेवा आयोगको पाठ्यक्रम परिवर्तन भएको छैन,’ उनले भने । राजनीतिक दलले निजीलाई पोस्ने नीति लिँदा सार्वजनिक शिक्षा धराशायी बन्दै गएको उनको भनाइ छ ।

गत साउनमा आयोगले सार्वजनिक गरेको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा १८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । १ लाख ८१ हजार जनाले लाइसेन्स परीक्षा दिएकामा ३३ हजार उत्तीर्ण भएको आयोगको तथ्यांक छ । करिब ७ लाख जनाले लाइसेन्स पाइसकेका छन् तर पनि माग संख्याअनुसार शिक्षक प्रतिस्पर्धामा सफल हुन सकेनन् ।

सानोठिमी क्याम्पस भक्तपुरका उपप्राध्यापक प्रीति मण्डलले अब्बल शिक्षक भेटिन छाडेको तर्क गरिन् । ‘पहिले मधेसबाट शिक्षक बनेर पहाड र हिमालसम्म जान्थे, अहिले मधेसमा नै शिक्षक पाउन मुस्किल हुन थाल्यो,’ उनले भनिन्, ‘शिक्षक बन्दाको प्रतिष्ठा, सेवा सुविधा र अति राजनीतिक हस्तक्षेपले क्षमतावान् विद्यार्थी शिक्षक बन्न चाहँदैनन् ।’ त्रिवि सेवा आयोगले सञ्चालन गरेको परीक्षामा पनि गणित, विज्ञानलगायतका विषयमा उत्तीर्ण दर न्यून रहेको छ । गतवर्ष उपप्राध्यापक, शाखा अधिकृत पदमा माग संख्या जति परीक्षार्थी पास हुन सकेका थिएनन् ।

त्रिविका उपप्राध्यापक बालकृष्ण अधिकारीले विद्यालय, विश्वविद्यालय, सेवा आयोग र पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन, परीक्षालगायत समग्र प्रणालीमा तालमेल नहुँदा आयोगको प्रतिस्पर्धा खुम्चिँदै गएको बताए । ‘शिक्षाप्रति नै विद्यार्थी र समाजको वितृष्णा बढ्दै गएको हो कि जस्तो देखिन्छ, विद्यालय र उच्च शिक्षाबीच आपसी समन्वय हुन जरुरी छ,’ उनले भने । ताहाचल शिक्षा क्याम्पसका उप्राध्यापक माधव गौतमले सामाजिक आर्थिक र राजनीतिक कारणले पनि नयाँ पुस्ता शिक्षा क्षेत्र, संकाय र शिक्षा पेसामा आउन नचाहेको टिप्पणी गरे ।

३७ सय शिक्षकका लागि अवसर

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चालु शैक्षिक सत्रमा करिब ३ हजार ७ सय रिक्त दरबन्दी पूर्ति गर्न शिक्षक सेवा आयोगसँग माग गरेको छ । प्राथमिक तहमा ३ हजार, निमाविमा ३ सय र मावि तहमा ४ सय शिक्षकको दरबन्दी रिक्त रहेको केन्द्रका प्रवक्ता रुद्र अधिकारीले बताए । ‘रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न माग गरी पठाएको छौं, छिट्टै विज्ञापन खुल्छ होला,’ उनले भने ।

आयोगले केन्द्रको मागअनुसार विज्ञापन खोल्ने तयारी गरिरहेको जनाएको छ । गतवर्ष करिब १७ हजार शिक्षकको विज्ञानन खुलेको थियो । माध्यमिक तहको अन्तर्वार्ता सकेर नियुक्तिका लागि सिफारिस गरिएको छ । आयोगले सिफारिस गरेका शिक्षकलाई केन्द्रमार्फत शिक्षा विकास तथा समन्वय इकाइहरूले नियुक्ति गर्न थालेका छन् । ११ सय ८२ मावि शिक्षकको नियुक्ति प्रक्रिया अघि बढेको हो ।

त्यस्तै, निमावि तहको लिखित परीक्षामा सफल २ हजार ५ सय १ जनाको अन्तर्वार्ता बुधबारदेखि सुरु भएको छ । अन्तिम नतिजा सार्वजनिक गरेर केन्द्रलाई शिक्षक सिफारिस गरिने आयोगले जनाएको छ । प्राथमिक तहको भने लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको छैन । आयोगले वार्षिक कार्यतालिका बनाएर लाइसेन्स, खुला प्रतिस्पर्धा, आन्तरिक बढुवाको काम अघि बढाएको छ । तिनै तहको शिक्षक सिफारिस गरेपछि अर्को विज्ञापन गर्ने र त्यसपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने कार्यतालिका छ ।

प्रकाशित : पुस १, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?