प्रतिनिधिसभामा ४० दलको जमानत जफत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभामा ४० दलको जमानत जफत

प्रतिनिधिसभा र प्रदेशसभाका ५ हजार ६ सय ३६ उम्मेदवारमध्ये ४ हजार २ सय ८५ जनाको जमानत जफत
मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने ४० वटा दलको जमानत जफत भएको छ । बन्दसूची पेस गर्ने ४७ दलमध्ये प्रत्यक्षतर्फ सिट जितेका पाँचसहित ४० दलले समानुपातिकमा एक सिट पनि पाउन नसकेका हुन् ।

निर्वाचन कानुनमा प्रतिनिधिसभामा र प्रदेशसभामा कुनै दलले समानुपातिकमा कम्तीमा एक सिट प्राप्त गर्न नसके धरौटी जफत हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा ७ वटा दल मात्रै प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै जमानत जोगाएका हुन् । प्रत्यक्षमा १० सिट ल्याएको एकीकृत समाजवादी, ३ सिट ल्याएको नागरिक उन्मुक्ति, ४ सिट जितेको लोसपा, १ सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ दल छन् ।

त्यस्तै प्रदेशमा कुल सदरमतको १.५ प्रतिशतभन्दा बढी ल्याउने दलले समानुपातिकमा सिट पाएका छन् । दलले समानुपातिकमा भाग लिन प्रतिनिधिसभामा ५० हजार र प्रदेशमा २५ हजार धरौटी राखेका थिए ।

पाँच सय जनाको हस्ताक्षर पेस गरेर दर्ता भएको दलले ५ सय मत पनि ल्याउन नसकेको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । प्रतिनिधिसभामा विवेकशील साझा, एकीकृत शक्ति नेपाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, राष्ट्रिय मुक्ति आन्दोलन, मौलिक जरोकिलो, नेपाल समावेशी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, राष्ट्रिय नागरिक, नेस्नलिस्ट पार्टीले देशभरबाट ५ हजार मत पनि ल्याएका छैनन् । प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएकामा सबैभन्दा कम मत नेस्नलिस्ट पिपल्सले २ हजार १८ मत मात्रै पाएको छ ।

प्रदेश १ मा ३६ दलले समानुपातिकतर्फ उम्मेदवारी दिए पनि ३० दलको जमानत जफत भएको आयोगले जनाएको छ । प्रदेश १ मा १८ लाख ९९ हजार मत सदर हुँदा १ हजार मत पनि नकटाउने ६ वटा दल छन् । आयोगका अनुसार बहुजन शक्तिले २ सय ९१ मत मात्रै पाएको छ । प्रतिनिधिसभामा जमानत जोगाउन असफल एकीकृत समाजवादीले सातै प्रदेशसभामा जोगाउन सफल भएको छ । प्रतिनिधिसभामा जमानत जोगाएको जनमतले प्रदेश १, वाग्मती र कर्णालीमा जमानत गुमाएको छ ।

मधेस प्रदेशमा ३१ दलले समानुपातिकमा भाग लिएकामा २६ वटाले एक सिट पनि ल्याउन सकेनन् । मधेसमा २० लाख ८६ हजार मत सदर भएको थियो । वाग्मतीमा ४० दल सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको छ । अन्य प्रदेशमा जमानत जोगाउन नसकेको नेमकिपा र हाम्रो नेपाली पार्टीले वाग्मतीमा जोगाएका छन् । दुवैले प्रत्यक्षमा एक/एक सिट जितेका छन् । समानुपातिकमा नेमकिपाले २ र हाम्रो नेपालीले १ सिट पाएका छन् । वाग्मतीमा १९ लाख ७३ हजार मत सदर हुँदा राष्ट्रिय समाजवादी पार्टीले सबैभन्दा कम १ सय ७९ मत मात्रै पाएको छ । १ हजार मत पनि नल्याउनेमा ९ वटा दल छन् ।

आयोगका अनुसार गण्डकीमा ३१ दलले भाग लिएकामा २४ दलको जमानत जफत भएको छ । गण्डकीमा बहुजन शक्तिले ३९ मत मात्रै ल्याएको छ । त्यस्तै नेपाल संघीय समाजवादीले ७७, नेपाल लोकतान्त्रिक पार्टीले १ सय ७८ र लोसपाले १ सय ९५ मत पाएका छन् । काखमा बच्चा लिएकी आमा चुनाव चिह्न लिएर उठेका नेपाल आमा, नेपाल नौलो जनवादी, सचेत नेपाली र नेपाल सुशासन पार्टीले प्रतिनिधिसभामा १७ हजार मत पाएका छन् । सुदूरपश्चिममा ती पार्टीले ९ सय ८८ मत मात्रै पाएका छन् ।

लुम्बिनीमा ३२ मध्ये २२ दलको धरौटी जफत भएको आयोगले जनाएको छ । कर्णाली प्रदेशमा २८ दलले भाग दिएकामा समानुपातिकतर्फ २२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले भाग लिएकामा २८ वटाको धरौटी जफत भएको छ । सबैभन्दा कम नेपाल संघीय समाजवादीले कर्णालीमा ४० र १ सय ५० मत पाएको छ ।

दल दर्ता भएपछि खारेज गर्ने कानुनले कल्पना नगरेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । ‘हामीलाई पनि लाग्छ– ५ हजार मत नल्याउने दल कसरी चलेको छ ? दल दर्ता गर्न ५ सय जना मान्छेको प्रतिबद्धता पेस गरेको हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘भोट हेर्ने हो भने त्यही प्रतिबद्धता गर्ने मान्छेले पनि नदिएको हो कि भन्ने लाग्छ । जिल्ला, प्रदेश संरचना पनि बुझाएको हुन्छ ।’

प्रमुख नेताकै जमानत जोगिएन

प्रतिनिधिसभा र प्रदेशसभाका ५ हजार ६ सय ३६ उम्मेदवारमध्ये ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको छ । सदरमतको १० प्रतिशत ल्याउन नसक्नेको जमानत जफत भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा उम्मेदवारले १० हजार र प्रदेशसभा उम्मेदवारले ५ हजार धरौटी राखेका थिए ।

जमानत नजोगाउनेमा जसपा नेता राजेन्द्रप्रसाद श्रेष्ठ, लोसपा नेता लक्ष्मणलाल कर्ण, स्वतन्त्र उम्मेदवारी दिएकी सरिता गिरी, कांग्रेस कास्कीका पूर्वसभापति महादेव गुरुङ, तमलोपा अध्यक्ष बृषेशचन्द्र लाल, एमालेबाट उम्मेदवार बनेका टीकापुर नगरपालिकाका पूर्वप्रमुख तपेन्द्रबहादुर रावल, कांग्रेस बीपीबाट उठेका ९९ वर्षीय टीकादत्त पोखरेललगायत छन् ।

काठमाडौं–७ बाट उम्मेदवार बनेका श्रेष्ठले २ हजार ४ सय ६१ मत पाए भने पर्सा–१ बाट उम्मेदवार बनेका लोसपा नेता कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । सिरहा–१ बाट उम्मेदवारी दिएकी गिरीले ५ सय २ मत मात्रै पाइन् जबकि एमालेका रामशंकर यादवले २९ हजार ४ सय ६२ मत ल्याएर विजयी भए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष लालले १ हजार ८३ मत पाउँदा लोसपाका महन्थ ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर विजयी भए ।

कास्की कांग्रेसका पूर्वसभापति गुरुङले कास्की–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनले एकीकृत समाजवादीका श्रीनाथ बराललाई आधिकारिक उम्मेदवार उठाएपछि उनी बागी बनेका थिए । एमालेकी विद्या भट्टराईले १६ हजार ९ सय ९८ मत ल्याएर विजयी हुँदा गुरुङले १ हजार ३ सय ४० मत मात्रै ल्याए । ९९ वर्षीय पोखरेल गोरखा–२ मा उम्मेदवार थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले २६ हजार १ सय ९ मत ल्याएर जित्दा पोखरेलले १ सय ३० मत मात्रै पाए । टीकापुरका पूर्वप्रमुख रावल कैलाली–१ मा उम्मेदवार थिए । उनले ५ हजार ९ सय १० मत मात्रै पाए ।

प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना गरी ८ सय २५ जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पुरुष ३ सय ५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २ सय जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८६ वटा दल दर्ता भएकामा प्रत्यक्षतर्फ ६१ वटा दलले भाग लिएका थिए ।

प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७ सय ७२ र महिला १ सय ८९ गरी १ हजार ९ सय ६१ जनाको जमानत जफत भएको आयोगले जनाएको छ । त्यस्तै प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य १ गरी २ हजार ३ सय २४ जनाको जमानत जफत भएको छ । दुवै सभामा उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशतको धरौटी जफत भएको हो । प्रतिनिधिसभामा २ हजार ४ सय १२ र प्रदेशसभामा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए ।

मंसिर ४ मा एकै चरणमा भएको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएकोमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ जनाले (६१ दशमलव ४१ प्रतिशत) मतदान गरेको आयोगले जनाएको छ । यसमध्ये १ करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर भएको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ (६१.८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५.०९ प्रतिशत मत बदर भएको छ । प्रदेशसभातर्फ प्रत्यक्षमा ४.०७ प्रतिशत र समानुपातिकमा ६.५५ प्रतिशत मत बदर भएको छ ।

प्रकाशित : मंसिर २९, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

म्याराडोनालाई पछ्याउँदै मेसी

एपी

दोहा — आकासे र सेतो धर्से जर्सी लगाएका अर्जेन्टिनी समर्थकले एउटा नयाँ गीत बनाएका छन् । त्यसले भन्छ, ‘म्याराडोनाले स्वर्गबाट मेसीलाई जयजयकार गर्दैछन् ।’ 

दुवै अर्जेन्टिनी फुटबल इतिहासका महान् खेलाडी हुन् । उनीहरूलाई एकअर्कासँग दाँज्ने काम पनि खुब चलिरहेको छ । जसरी सन् १९८६ को विश्वकप डिएगो म्याराडोनाका लागि सम्झिने गरिन्छ, त्यसरी नै यसपालि विश्वकपमा मेसीले त्यत्तिकै उम्दा छाप छोड्दै छन् ।

उनको प्रदर्शनमा टिकेर अर्जेन्टिनाले फाइनल यात्रा तय गरेको छ । धेरैलाई लाग्दो हो– मेसीमा म्याराडोनाको केही न केही छनक पक्कै छ । जस्तो उचाइ, बल छलाउने कला, तीव्र गतिमा चाल्न सक्ने पाइला अनि शक्तिशाली देव्रे खुट्टा आदि आदि । यसपल्टको विश्वकपमा मेसीले अर्जेन्टिनाका लागि जुन प्रकारको नेतृत्व प्रदान गरेका छन्, जसरी आफैंले उदाहरण बन्दै राम्रो खेलेका छन् । ती सबैले जनाउन दिन्छ, साँच्चै म्याराडोनालाई पछ्याइरहेका छन् मेसी । ‘मेसीले अहिलेको विश्वकपमा म्याराडोनाको भूमिका निभाइरहेका छन्,’ जोर्गे भाल्डोना भन्छन् । सन् १९८६ को विश्वकप विजयी अर्जेन्टिनी टिमका सदस्य भाल्डानोले टीभीमा अन्तर्वार्ता दिँदै मेसीको खुबै प्रशंसा गरेका छन् । अझ क्रोएसिया जत्तिको बलियो टिमलाई हराउन अर्जेन्टिनाले जुन खेल प्रदर्शन गर्‍यो, त्यसमा कायल भएका छन् भाल्डोना । त्यसैले त अर्जेन्टिना छैटौंपल्ट विश्वकपको फाइनल पुगेको छ अनि तेस्रोपल्ट उपाधि जित्ने संघारमा ।

विशेषतः क्रोएसियाविरुद्धको तेस्रो गोलमा मेसीले जसरी अवसर सिर्जना गरे, त्यसमा सबै चकित छन् । मेसीले एकाएक सिर्जना गरेको मौकामा जुलियन अल्भारेजले गोल गरेका थिए । यसलाई मेसीको एक अर्को जादुयी प्रदर्शनभन्दा हुन्छ । मेसी आफैं भन्छन्, ‘व्यक्तिगत रूपमा मैले यस विश्वकपका खुबै मज्जा लिइरहेको छु । लाग्छ, मलाई भाग्यले पनि साथ दिइरहेको छ । मैले आफ्नो खेलबाट टिमलाई सहयोग गर्न पाएकोमा खुसी छु ।’

क्रोएसियाविरुद्ध पेनाल्टीमा पहिलो गोल गरेपछि अर्जेन्टिनाका लियोनल मेसी साथीसँग खुसी साट्दै । तस्बिर : एपी

त्यस खेलपछि अर्जेन्टिनी पत्रकारले आयोजना गरेको ‘पोस्टम्याच कन्फ्रेन्स’ मा मेसीले ठीकै भने । उनी भन्थे, फाइनलको नतिजा जस्तै होस् । उनी आफ्नो देशका प्रत्येक जनताको मनमा खुसी ल्याउन सफल भएका छन् । अहिले सबैको मनमा उनको देश बसेको छ । अब त मेसीका लागि अबको खेलमा जित–हारको पनि ठूलो अर्थ रहन छाडेको छ । उनले भनेका पनि छन्, ‘नतिजा के कस्तो रह्यो, त्यो अब महत्त्वपूर्ण रहेन । सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्जेन्टिनाले तय गरेको यात्रा हो ।’

तर, यी त भए भावनाका कुरा । मेसीले साँच्चै विश्वकप जित्ने सक्ने छन् भने उनी पनि त्यस्ता खेलाडीको सूचीमा पर्नेछन्, जहाँ पेले र म्याराडोनाजस्ता महान खेलाडीको नाम छ । उनी विश्व फुटबलका महान् खेलाडी हुन नै, विश्वकप जितेमा उनको नाममा जोडिएर आउने विवादले पनि सधैंका लागि पूर्णविराम पाउने छ । फेरि मेसीले यो विश्वकप नै आफ्नो अन्तिम भनिसकेका छन्, किनभने चार वर्षपछि त उनी ३९ वर्षका भइसक्ने छन् ।

म्याराडोनाको मृत्यु दुई वर्षअगाडि नै भइसक्यो । मेसीलाई लाग्छ, उनी स्वर्गबाट अर्जेन्टिनाको खेल हेरिरहेका छन् । नेदरल्यान्ड्सविरुद्धको खेल अर्जेन्टिनाका लागि वास्तवकै कठिन रह्यो । टिम गाह्रै परीक्षाबाट गुज्रिन बाध्य रह्यो । त्यसै खेलपछि मेसी भन्थे, ‘हामीलाई म्याराडोनाले स्वर्गबाट हेरिरहेका छन् । उनी हामीलाई राम्रो खेल्न भनिरहेका छन् । मलाई विश्वास छ, प्रतियोगिता नसकिएसम्म उनी हाम्रा लागि त्यहीं हुनेछन् ।’ सायद अहिले म्याराडोना पनि खुसी छन् स्वर्गमा ।

प्रकाशित : मंसिर २९, २०७९ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×