२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आमासँगै जेल

विभिन्न अभियोग लागेका महिलाका सन्तानलाई आफूसँगै कारागारमा राख्दा बाल मनोविज्ञानमा असर
अधिकारकर्मी भन्छन्– ‘यस्ता बालबालिकालाई अभिभावकविहीनको सूचीमा राखेर राज्यको स्वामित्वमा खाने, बस्ने र पढ्ने, लेख्ने व्यवस्था हुनुपर्छ’

बागलुङ, पर्सा, महोत्तरी र विराटनगर — ताराखोला गाउँपालिका–४ की खुमला परियार पति हत्या आरोपमा बागलुङ कारागारमा छिन् । आठ महिनाअघि पक्राउ परेकी उनी पुर्पक्षका लागि कारागार ल्याइएकी हुन् । भर्खरै कक्षा १ मा पुगेका ६ वर्षीय छोरा पनि आमासँगै कारागारभित्र छन् । परिवारमा अरू सदस्य नभएको र स्याहार गर्ने कोही नपाएपछि बालक कारागारमै बस्न बाध्य भएका हुन् ।

आमासँगै जेल

पति हत्या आरोपमा कारागार परेपछि पछुतो मानिरहेकी खुमलालाई बढी चिन्ता छोराको पढाइ छुटेकामा छ । ‘घरमा कोही छैन, मेरो जीवन त जेलमै जाने भयो, छोरा पढाउन पाए हुन्थ्यो,’ उनले भनिन्, ‘कसैको साथ र सहयोग पाएमा छोरालाई पढाउन दिने थिएँ ।’

बागलुङकै निसीखोला–५ की मोनिका बुढा पनि एक वर्षदेखि पति हत्या आरोपमा जेलमा छिन् । २२ वर्षीया मोनिकाको ४ वर्षका छोरा पनि उनीसँगै छन् । ‘विद्यालय भर्ना गर्ने उमेर त भयो तर कहाँ पठाउनु !’ उनले भनिन्, ‘घरमा कोही छैनन्, म जेलमै सड्ने भएँ ।’ उनले छोराको पढाइमा साथ दिनेको खोजी गरिरहेको बताइन् । कारागारमा हाल अभिभावकसँग तीन बालबालिका छन् । कारागार प्रमुख डिलबहादुर केसीले बाध्यताले परेका बालकहरूको विषयमा

केही गर्न नसकेको बताए । ‘बालकको दोष छैन, कारागारमा बस्नैपर्छ भन्ने भएन तर कता पठाउने, कता पढाउने ?’ उनले भने, ‘नजिकका विद्यालयमा भर्ना गरिदिऊँ भने पनि लाने ल्याउने कोही हुँदैन । शैक्षिक सामग्रीदेखि खाजा खर्चसमेतको जोहो गर्ने अवस्था छैन ।’ कर्मचारी काममै व्यस्त हुनुपर्ने भएकाले बालबालिका पढाउनका लागि व्यवस्थापन गर्न नसकेको उनले बताए । ‘अपराध गरेकाहरूले सजाय पाउने स्थानमा निर्दोष बालक पनि परेका छन्,’ उनले भने, ‘यो विषयमा अधिकारवादीको चासो बढ्नुपर्छ ।’ बाल अधिकारको हिसाबले यो अन्याय भएको उनले बताए ।

मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जीसीले बालबालिकालाई कारागारमा राखिनु बालअधिकारको हनन भएको बताइन् । ती बालकहरूको उचित स्थानान्तरणका लागि राज्यले नै व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘राज्यले नै केही व्यवस्थापन गर्नुपर्छर्, हामी पनि उनीहरूको भविष्यका लागि केही पहल गर्छौं,’ उनले भनिन्, ‘यस्ता बालबालिकालाई अभिभावकविहीनको सूचीमा राखेर राज्यको स्वामित्वमा खानेबस्ने र पढ्नेलेख्ने व्यवस्था हुनुपर्छ ।’

कारागारमा दुई वर्षकी बालिका पनि छिन् । आमा कुमारी विकको काखमा रहेकी उनको पढ्ने उमेर भइसकेको छैन । कुमारी गत साउनमा पतिको टाउको काटेर खोलामा फालेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी हुन् । चोरी मुद्दामा एक वर्षभन्दा बढी कारागार बसेका एक किशोरलाई स्थानान्तरण गरिएको छ । ढोरपाटन नगरपालिका–९ सुपुर्दुङका १६ वर्षीय किशोरलाई एक वर्षपछि मात्र बाल सुधारगृह पठाइएको हो । कान्तिपुर दैनिकमा उनीबारे समाचार प्रकाशित भएपछि अदालतले बालगृह पठाएको थियो । उनलाई कागजमा ३६ वर्ष उमेर बनाएर कारागार पठाइएको थियो । बारा मधुरीजब्दीका सञ्जय बन्ठा थारू र काजल लखेर दम्पती जीउ मास्ने, बेच्ने मुद्दामा जेल परे । जेल पर्दा गर्भवती रहेकी काजलले ०७३ असार २९ मा छोरा जन्माइन् ।

साढे ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय पाएका थारू दम्पती आउँदो फागुनमा रिहा हुँदै छन् । उनीहरू रिहा हुँदा जेलमै जन्मेका ६ वर्षीय छोरा कारागारको अग्ला पर्खालको घेराबाट पहिलो पटक खुला संसारमा टेक्नेछन् । अहिले ती बालक कारागार परिसरमा रहेको समता स्कुलमा कक्षा १ मा पढ्छन् । ‘हामी त जेलमा छौं, यो बालकको के दोष ?’ आमा काजल भन्छिन्, ‘यसको आधा बालापन त कारागारमै गुज्रने भो ।’

हाल वीरगन्ज कारागारमा आमासँग बसिरहेका उनी एक्ला बालक हुन् । यसअघि कारागारमा आमासँगै रहेका अन्य कैदीबन्दीका छोराछोरीलाई विभिन्न संघसंस्थाले पालनपोषण र शिक्षादीक्षाका लागि लगेका छन् । वीरगन्ज मुर्लीकी ममता मण्डल र उनका पति उमेश मण्डल लागूऔषध मुद्दामा साढे ११ वर्षदेखि कैद भुक्तान गरिरहेका छन् । उनीहरूका १५ वर्षीया छोरी, १२ र ११ वर्षका छोरालाई काठमाडौंस्थित पीए नेपालले लगेको ममताले बताइन् । चेलीबेटी बेचबिखन मुद्दामा डेढ वर्षदेखि कारागारमा रहेका भारत विहार मोतिहारीका ३० वर्षीय असगर मियाँ र २६ वर्षीया सकिना खातुनका ९ र ६ वर्षीय दुई छोरालाई काठमाडौंको एक संस्थाले संरक्षण दिएको छ । छोरासँग छुट्टिएर बस्नुपर्दा साह्रै नमज्जा लागेको सकिना बताउँछिन् । ‘हाम्रा कारणले छोराहरू आमाबुबाको मायाबाट वञ्चित छन्,’ उनले भनिन्, ‘के गर्ने भाग्यमा यस्तै लेखेको रहेछ ।’ मोतिहारीकै ३५ वर्षीया चन्दादेवी १० वर्षदेखि वीरगन्ज कारागारमा कैद भुक्तान गर्दै छिन् । कर्तव्य ज्यानमा सजाय पाएकी उनका १० र साढे ११ वर्षका छोरा परवानीपुरस्थित एक संस्थामा आश्रित छन् । चन्दाका पति कलिम खान साउदी अरबमा रोजगारीमा छन् । आउँदो फागुनमा कैदमुक्त हुन लागेकी चन्दालाई पति र छोरासँगै बस्ने इच्छा छ ।

भारत, रक्सौलकी ४० वर्षीया रञ्जना बैठा र उनका पति ४५ वर्षीय उपेन्द्र १० वर्षदेखि वीरगन्ज कारागारमा छन् । बैठा दम्पतीका १५ वर्षीय छोरा काठमाडौंको एक संस्थामा संरक्षित छन् । आमासँगै कारागारमा बसेका सुरजलाई उक्त संस्थाले संरक्षणका लागि लगेको थियो । लागूऔषध मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजाय पाएको यो दम्पतीले कैद भुक्तान भएपछि जरिवाना तिर्न नसके थप ४ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । ‘सधैं छोराको न्यास्रो लाग्छ । के खायो होला, कसरी बसेको छ होला भनेर चिन्ता हुन्छ,’ रञ्जनाले भनिन्, ‘कहिले कैदबाट छुटौं र परिवार एकसाथ बसौंजस्तो भएको छ ।’

आमासँग कारागार आउने नाबालकलाई कुनै संघसंस्थाले संरक्षण दिन चाहे कैदमा रहेका आमाबुबाको अनुमति लिएर जिम्मा लगाउने गरेको वीरगन्ज कारागारका सूचना अधिकृत नवराज बर्तौलाले बताए । ‘बालबालिकाको सुन्दर भविष्यकै लागि हामीले यस्तो गरेका हौं,’ उनले भने, ‘अपराध गरेर आएका कैदीबन्दीसँग बस्नु बालबालिकालाई उचित हुँदैन, कारागारभन्दा बाहिरको माहोल उनीहरूका लागि लाभदायक हुन्छ ।’ उनका अनुसार विभिन्न संघसंस्थाले यसरी कारागारमा आमाबुवासँग बस्ने बालबालिकालाई संरक्षण दिन इच्छा देखाउने गरेका छन् । १६ वर्षमुनिका नाबालकलाई आमा कारागारमा रहँदा सँगै बस्न दिने व्यवस्था रहेको उनले बताए । कारागारमा बस्ने बालबालिकाले दैनिक १ सय ५० ग्राम चामल र ३५ रुपैयाँ सिदा खर्च पाउँछन् भने अन्य कैदीबन्दीले ७ सय ग्राम चामल र ७० रुपैयाँ सिदा पाउँछन् ।

महोत्तरीको जलेश्वर कारागारमा जीर्ण बनेको महिलाबन्दी भवनमा रहेका ४९ महिला र तिनमा आश्रित ९ बालबालिकालाई गत असारमा सिन्धुली कारागार सारियो । १ सय ६६ वर्ष पुरानो जीर्ण भवन भत्कने जोखिम सारिएको हो । अहिले उक्त भवन भत्किसकेको छ । कारागार प्रमुख रामचन्द्र साहका अनुसार दुई कोठाको दुईतले जीर्ण भवन भत्किएपछि अहिले महोत्तरीमा महिला तथा बालबालिका राख्ने भौतिक संरचनाको अभाव भएको छ ।

मोरङ र झापाको महिला कारागारमा ६ शिशुसहित ८ बालबालिका आमासँगै आश्रित छन् । कर्तव्य ज्यान मुद्दामा ६ महिनादेखि मोरङ कारागारमा रहेकी इलाम माङसेबुङ–६ की महिलाले दुई महिनाअघि कारागारभित्रै छोरी जन्माइन् । कारागारका १ सय १ महिलामध्ये ६ जनाका सन्तान सँगै छन् । तीमध्ये चार जना कारागारभित्रै जन्मिएका र दुई आमासँगै आश्रित भएर आएका हुन् । कैद भुक्तानका लागि बच्चासहित आउने र गर्भवती भएर आएकाहरू कर्तव्य ज्यान, बहुविवाह र मानव बेचबिखन मुद्दाका छन् ।

मोरङ कारागार प्रमुख तुलसीलाल भगतका अनुसार सुत्केरीलाई प्रारम्भिक बाल विकास केन्द्रले पनि पौष्टिक आहार र लत्ताकपडाको व्यवस्था गर्दै आएको छ । त्यसबाहेक राज्यले दिने घिउ, तेल, ज्वानो र पौष्टिक आहारा पाउँछन् । आफन्त सुत्केरी स्याहार्न नआए कारागार प्रशासनले नै सुत्केरी र बच्चाको कपडा धुने, खाना बनाइदिनेलगायत बन्दोबस्ती गर्दै आएको उनले बताए । बालबालिका बिरामी हुँदा उपचारको व्यवस्था पनि कारागार प्रशासनले गर्दै आएको छ । कारागारमा रहेका ६ मध्ये दुई जना चार वर्षमाथिका छन् । चार बालबालिका एक वर्षमुनिका छन् । चार वर्षमाथिकाको शिक्षाका लागि विराटनगर रानीस्थित बालआश्रममा पठाउने तयारी भइरहेको छ । उक्त बालआश्रमले आमाको सहमतिमा निःशुल्क खाने, बस्ने र पढाउने गर्छ र आमा जेलमुक्त भएपछि इच्छाअनुसार जिम्मा लगाउने गरेको छ ।

झापा कारागारमा ७० महिला कैदीबन्दीमध्ये दुई जनाले बच्चा जन्माएका छन् । कारागारकी नायब सुब्बा हिमा पौडेलका अनुसार बहुविवाह अभियोगमा आएकी साइँली गुरुङ र लागूऔषध मुद्दामा सजाय भोग्दै आएकी रुकमणि चौधरीले कारागारभित्रै बच्चा जन्माएका हुन् । उनीहरू दुवै कारागार आउँदा गर्भवती थिए । सुत्केरीलाई पौष्टिक आहार, न्यानो कपडा, घिउ, तेल र ज्वानोको व्यवस्था कारागार प्रशासनले गर्दै आएको पौडेलले बताइन् ।

प्रकाशित : मंसिर २८, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?