पेरिसमा लिलामीमा राखिएको दिपंकर बुद्ध सप्तपुर महाविहारको प्रमाणित

सम्पदा फिर्ता गरिदिने प्रतिबद्धता
देवेन्द्र भट्टराई

काठमाडौँ — फ्रान्सको पेरिसस्थित अन्तर्राष्ट्रिय कला-सम्पदा लिलामी गृह ‘बोनह्याम्स’ले लिलामीमा राखेको दिपंकर बुद्धको काठले बनेको टाउको प्रतिमा ललितपुर, च्यासलस्थित सप्तपुर महाविहारबाट २५ वर्षअघि चोरिएको प्रमाणित भएको छ ।

पेरिसमा लिलामीमा राखिएको दिपंकर बुद्ध सप्तपुर महाविहारको प्रमाणित

यो प्रतिमा आउँदो बिहीबार (डिसेम्बर १५) लिलामीमा जान लागेकोमा सम्पदाको पहिचान र उत्पत्तिको आधार पुष्टि भएपछि ‘बोनह्याम्स’ले आइतबारबाटै लिलामीको सूचीबाट हटाएको छ । दिपंकर प्रतिमासहित अरु ४ सम्पदा ‘बोनह्याम्स’ लिलामीमा राखिएको बारे सम्पदा खोजबिनको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ले गत साता जानकारीमा ल्याएको थियो । त्यसपछि सुरु भएको पहिचान प्रक्रियामा महाविहारका गुठियार अमिर शाक्य, राजेन्द्र शाक्य, सुरेन्द्रराज शाक्यसहितले २०५५ साउन २८ गते उक्त दिपंकरको टाउकोको प्रतिमा महाविहारबाट चोरी भएको र त्यसबारेमा प्रहरी जाहेरीसहित उपलब्ध गराएका थिए ।

यो सम्पदाको यथास्थिति पहिचान भएको र आफ्नो सम्पत्ति घरफिर्तीका लागि अनुरोध गर्दै सप्तपुर महाविहार सुधार समितिका अध्यक्ष राजेन्द्र शाक्यसहितले आइतबार पुरातत्त्व विभागमा समेत निवेदन दिएका छन् । दिपंकर बुद्धको टाउको लिलामीमा राखिएकोबारेमा पेरिसस्थित नेपाली दूतावासले पनि उक्त लिलामी तत्काल रोक्न ‘बोनह्याम्स’लाई पत्र पठाएको थियो ।

महाविहार सुधार समितिका सदस्य एवं कलाकार अमिर शाक्यका अनुसार २०५५ सालमा दिपंकर बुद्धको टाउको चोरिँदा त्यसमा रहेको मुकुट र तलको हातको काष्ठ आकृति भने लगिएको थिएन । पुरानो प्रतिमा चोरिएपछि नियमित पाठपूजाका लागि अर्को प्रतिरुप बनाएर राखिएको छ । अरु विहारमा यस्ता दिपंकर बुद्धको प्रतिमा तामाको राखिने भए पनि विशेष कलाकौशल भरिएको काठको दिपंकर टाउको यो महाविहारमा मात्रै रहेको गुठियारले जानकारी दिए ।

‘बोनह्याम्स’ले नेपाललाई ‘उत्पत्तिको थलो’ मानेरै जारी गरिएको लिलामी सूचनामा, पन्ध्रौं शताब्दीको दिप‌ंकर बुद्धको काठले बनेको टाउकोको मूल्य २० देखि ३० हजार युरोसम्म राखिएको थियो । ‘बोनह्याम्स’का तर्फबाट स्थानीय प्रशासक जिङ वेनले जारी गरेको सूचनामा ‘यो सम्पदा मल्लकालीन समयको नेवारी काष्ठशिल्पीको उत्कृष्ट नमुना हो’ भनिएको छ । ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, दिपंकर बुद्धको टाउकोको लिलामी रोकिएको र यो सम्पदाका हकवाला ‘ल ट्राय कलेक्सन अफ हिमालयन आर्ट’ले यो सम्पदा घरफिर्ता गरिदिने जनाइसकेको छ ।

पाटनमा रहेका १८ बहाल र १८ बहिलमध्येको मुख्य बहील (कचावा) का रुपमा चिनिएको सप्तपुर महाविहार झन्डै १५ सय वर्षअघि स्थापित भएको मानिएको छ । यसमा गुठियार ६० र संघ परिवार १ सय ६० रहेका छन् ।

प्रकाशित : मंसिर २६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?